कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल  : शिक्षामन्त्री

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् ।

शिक्षामन्त्री पोखरेलले शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले न्यूनतम् सिकाइको सुनिश्चितताका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन सुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापित गर्नका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रूपमा क्लोज युनिट ग्रुप (सीयूजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको पनि बताए । कतिपय जिल्लाका विद्यालयले अहिले व्यक्तिगत दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।

सञ्चारविद् डा. निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रूपमा उच्च गतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए । उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिए ।

आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश २ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए ।

स्रोत : राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :