उद्योगीले मनोमानी कुखुराको भाउ घटाएको भन्दै किसानहरू आक्रोशित

काठमाडौँ : कोरोनाको कारण देखाउँदै सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेपछि पोल्ट्री बजार ध्वस्त बन्दै गएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले भदौ १२ गतेदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य १० रुपैयाँ घटाई १७० रुपैयाँ कायम गरेपछि कुखुरापालक किसानहरू आक्रोशित बनेका छन् ।

कुखुरापालक किसान सङ्घर्ष समितिका सदस्य निकेश कार्कीका अनुसार उद्योगीहरूको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले बजारको वस्तुगत परिस्थितिको आकलन नगरी मनोमानी ढङ्गले अन्धाधुन्ध कुखुराको मूल्य घटाएको, बजारमा औसत मासु खपत हुँदाहुँदै पनि व्यवसायीहरूले कोल्डरुम भर्नकै लागि किसानले पालेका कुखुराको मूल्य घटाएर व्यापारीहरूले कालोबजारी गरिरहेको आरोप लगाए । अहिले किसानसँग १५०–१६० मा किनेको कुखुरा २ महिनापछि दोब्बरभन्दा बढी मूल्यमा प्रतिकेजी ४०० रुपैयाँमा बेच्नका लागि मूल्य घटाएको उनको भनाइ छ ।

कुखुरापालक सङ्घर्ष समितिका अर्का सदस्य केशव खड्काका अनुसार उद्योगीहरूले ७०–७५ रुपैयाँमा बेचेको चल्ला र ३०००–३१०० रुपैयाँको दाना खुवाएको कुखुराको मूल्य २०–२५ दिनको अन्तरालमा रातारात ७० रुपैयाँ घटाउनु उद्योगीहरूको मनोमानी बढेको बताए । हाल कुखुराको लागत मूल्य २०० रुपैयाँ प्रतिकेजीभन्दा बढी परिरहेको उनको भनाइ छ ।

यस विषयमा वास्तविकता बुझ्न दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीले भने कुखुराको मूल्य घटाइएको स्वीकार गरे । उनले आफूहरूले मनोमानी गरेको नभई बाहिरबाट सस्तो मूल्यमा १३० देखि १४० रुपैयाँमा कुखुरा आएको र बजारमा प्रतिस्पर्धा उच्च भएकाले मूल्य घटेको दाबी गरे ।

कुखुरापालक किसान दीपक बास्ताकोटीले तथ्याङ्क प्रस्तुत गर्दै २०७६–४–१५ गते २५०, ४–२० गते २४०, ४–२३ गते २३०, ४–२६ गते २२०, ४–२९ गते २००, ५–२ गते १९०, ५–८ गते १८० र ५–१२ गतेबाट १७० का दरले लगातार यसरी मूल्य घट्नु भनेको उद्योगीहरूले चल्ला बेच्नका लागि गरेको बदमासी रहेको बताए । जङ्गबहादुर बीसीले भने किसानहरूसँगको सहमतिमै मूल्य घटाएको दाबी गरे । तर बास्ताकोटीले भने कुखुराको मूल्य घटाएर घाटामा परेका किसानहरूलाई उद्योगीबाटै क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :