हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा यस्तो लागिरहेको हुन्छ– यो दिनमा रात कहिल्यै नओर्लीयोस् अर्थात् यो रातमा बिहान कहिल्यै नउदाओस् किनकि दिनमा गरेको कल्पना र रातमा देखेको सपनाको सिलसिला नटुटोस् अनि सुखद अन्त्य होस् । यो लाखौँ मान्छेहरू बसेको सहरमा रात डुबेको बेला मेरो स्मृतिपटलमा कुनै आकृतिहरू र बिम्बहरू यसरी पल्टिल्छन्, तिनले मलाई लगातार बेचैन बनाउँछन् । कहिलेकहीँ त पानीपानी हुन्छु र आफूले आफैँलाई समाल्न पनि हिम्मत बटुल्नुपर्ने हुन्छ । कुनै घटना परिघटना वा सन्दर्भहरू यस्ता हुने गर्दछन् जसले मनमा निकै आक्रोश, आवेग वा उत्साहले तरङ्गित बनाउँछन् । मनमा पैदा हुने यस्ता संवेगहरू उद्वेलनहरू जसको मलाई शब्दमा बयान गर्न मुस्किल हुन्छ ।

आज फेरि अपरिचित भए पनि परिचितझैँ लाग्ने एउटा प्रेमिल अनुहारको प्रतिबिम्ब बेस्सरी नै हृदयको गहिराइमा गढेको छ जुन तस्बिरले मलाई रातमा निदाउन मुस्किल बनाएको छ । त्यो स्वप्नील तस्बिर हो एब्रु तिम्तिकको नेपाली समयअनुसार भदौ १४ गते आइतबार पृथ्वीबाट एउटा तारा अस्तायो । टर्कीकी एक होनहार क्रान्तिकारीको एक सफेद र स्निग्ध अनुहार भौतिक रूपमा यो संसारबाट बिदा भयो । उनको फूलजस्तो भौतिक शरीर र जुनजस्तो मुखाकृति आगोमा बलेको छ । टर्कीको माटोमा जन्मिएर विश्व–सर्वहारा वर्ग र सिङ्गो मानव जातिको न्यायका निम्नि लड्दालड्दै ४२ वर्षीय अधिकारकर्मी जो २३८ दिनदेखि भोक हडतालमा थिइन् । हेलिन बोलेकको निधन भएको केही समयपछि २३८ दिनको भोक हडतालबाट इब्रु तिम्तिकको निधन भएको भयो । रिभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोपमा सरकारले टर्कीका क्रान्तिकारीहरूलाई गिरफ्तार गरेर कठोर कारावास सजाय दियो र उनीहरू बन्द जेलभित्रबाट न्यायको लडाइँ लडिरहेका छन् र अहिलेसम्म ५ जनाले जीवनको आहुती दिइसकेका छन् तर उनीहरूले पहाडभन्दा गह्रौँ मृत्युवरण गरेका छन् ।

शासकहरूको अन्याय, अत्याचार र शोषण–दमनका विरुद्ध २३८ दिन लामो भोक हडतालपछि तिम्तिकको भौतिक शरीर टर्कीको माटोमा मिलेको दिन टर्कीका शासकहरूलाई लाग्यो होला– टर्कीको माटोमा एउटा रातो लालटिन निभेको छ तर उनको विचार क्रान्तिको मसाल बनेर दन्किएको छ । उनको आस्था झनै अजम्मरी बनेको छ । उनको उद्देश्य जूनजस्तै चम्किलो बनेर आकाशगङ्गा नापिरहेको छ जसलाई संसारका करोडौँ मुक्तिकामीहरूले एकैपटक चम्किएको जून नियालिरहेका छन् र श्रद्धाले शिर निहुराइरहेका छन् । मानव जाति र विश्वभरिका न्यायका पक्षपातीहरूलाई छोडेर गएको इब्रु तिम्तिकको यो साहस र महान् कार्य युगौँयुगसम्म बाँचिरहनेछ । महान् मान्छेले छोडेर गएका सपना र उद्देश्यहरू तिनको भौतिक जीवनभन्दा हजार गुणा अजम्मरी हुने गर्दछन् । मर्छ त केवल भौतिक शरीर तर उसको आस्था र विचार अजम्मरी हुने गर्दछ ।

महान् मान्छेहरूको सपना र लक्ष्य अक्सर उचो हुने गर्दछ । महान् मान्छेहरू एउटा उचो लक्ष्य लिएर गन्तव्य चुम्न अघि बढ्छन् । कार्ल माक्र्सले भन्नुभएको छ– मलाई त एउटा महान् र उचो लक्ष्य चाहिन्छ । त्यसका लागि आजीवन सङ्घर्षको अटुट सिलसिला चाहिन्छ । महामानव कार्ल माक्र्सले १८ वर्षको युवाअवस्थामा करिब २ सय वर्षअघि हामीलाई छोडेर गएको यो कविताको उचाइ र महत्व आज पनि उत्तिकै महत्वको र सान्दर्भिक छ । मलाई लाग्छ– पृथ्वीमा माक्र्सवाद प्रयोगमा सफल हुन कति समय लाग्ला तर माक्र्सको यो ओजस्वी विचार जबसम्म मानवसभ्यता रहन्छ त्यति बेलासम्म अमर रहनेछ । कार्ल माक्र्सको जस्तै अजम्मरी लक्ष्य बोकेर अजम्मरी यात्रामा मिसिएका छन्– अधिकारकर्मी इब्रु तिम्तिक, गायक हेलिन बोलेक र उनका अरू तीन सहकर्मीहरू । साम्राज्यवादको जुठोपुरो खाने टर्कीको फासिवादी सरकारले टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मीहरू, संस्कृतिककर्मीहरू इब्रु तिम्तिक, हेलिन बोलेकहरूको आवाजमा प्रतिबन्ध लाउने कोसिस गरेको छ । शासकहरूले राता मान्छेहरूको शरीर बन्धक बनाए पनि आस्थाको राँको झन् प्रज्वलनशील बनेको छ, बरु फासिवादी शासकहरूको नाङ्गो रूप र असली चरित्र उदाङ्गो भएको छ । टर्कीलगायत विश्वमै मरणासन्न अवस्थामा रहेको साम्राज्यवाद मर्ने बेलाको कमिलाले प्वाँख उमारेजस्तै दारा–नङ्ग्रा उमारिहेको छ तर यसको अवसानको घडी नजिकनजिक आइरहेको छ । हेलिन बोलेक र तिम्तिकलाई श्रद्धाञ्जली दिन टर्कीका सहरमा निस्किएका जनताहरूको भीड हेर्दा यस्तो लाग्छ– त्यो भीडले साम्राज्यवादको जुठोपुरो खाने शासकहरूको आयु धेरै लामो छैन र त्यो भीड टर्कीका शासकहरू र शासन व्यवस्था अन्त्य गर्ने मलामीको भीड हो ।

टर्कीका क्रान्तिकारी छोरीहरूलाई त्यहाँको शासन सत्ताले मारेको छ । ठीक यस्तै हाम्रो देशका शासकहरूले पनि कलम समातेको र कविता लेखेको आरोपमा कृष्ण सेनहरू र गीत गाएको आरोपमा चुनु गुरुङहरूलाई मारेका छन् । आज पनि क्रान्तिको गीत गाएको आरोपमा माइला लामाहरू र वैज्ञानिक समाजवादको बहस सिर्जना गरेको आरोपमा सुदर्शनहरू जेलको चिसो छिँडीमा फलामे साङ्लोमा बेरिएका छन् । क्रान्तिकारीहरूले यस्ता कठिनाइहरू अनिवार्य सामना गर्नुपर्दछ । कमरेड गोन्जालोले ‘यात्राका घुम्तीहरूमा भौतिक शरीर कतै धरापमा पर्नसक्छ’ भनेझैँ भौतिक शरीर त कतै अस्ताउन सक्दोरहेछ तर सपना उचो भएमा त्यो जून बनेर उदाउँदो रहेछ भन्ने साक्षी हुन हेलिन बोलेक र इब्रु तिम्तिक अनि कृष्ण सेन र चुनु गुरुङहरू । त्यसैले म माइला लामा र सुदर्शनहरूलाई नेकपाका महासचिव कमरेड विप्लवको शब्द सापटी लिएर भन्न चाहन्छु :

मेरो रगत बग्यो भने
यही पवित्र माटोमा मिलोस्
शरीर ढल्यो भने
प्रिय सहिद—सपूतहरूसँगै सुतोस् !
नलागोस् खोट, आदर्श बाँचिरहोस्
खपेर सारा चोट सपना चम्किरहोस् !

कार्ल माक्र्सले भनेझैँ कठिनाइहरूबिनाको शून्य जीवन राता मान्छेहरूका लागि कदापि स्वीकार्य हुँदैन । उनीहरूका तुफानी मनहरूलाई एउटा महान् र उचो लक्ष्य चाहिन्छ र त्यसका लागि जीवनभर सङ्घर्षको अटुट क्रम । उत्पीडन र लाचारीहरूका विरुद्ध उचो उद्देश्य लिएर बाँच्ने आकाङ्क्षा, आक्रोश, आवेग र अभिमानले असल मानिस भएर बाँच्ने यात्रामा हेलिन बोलेक र तिम्तिकहरूले आफ्नो नाम दर्ता गराएका छन् । हृदयमा गरिहाइका कहिल्यै नमेटिने आकृति छोडेर गएका तिनै राता मान्छेहरूलाई नेपाली भूमिबाट रातो सलाम । राता मान्छेहरूकै सम्मानमा एउटा गीतको हरफ :

संसारभरि कहाँ झुके खै क्रान्तिका राता सिपाही
झुकेनन् ती पेरूमा, झुकेनन् ती टर्कीमा
झुकेनन् ती फिलिपिन्समा, लड्दैछन् ती भारतमा…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :