जनविरोधी सरकार र दलालविरुद्ध सङ्घर्ष गर्ने ताम्सालिङ जनसत्ताको चेतावनी

काठमाडौँ : नेकपा सम्बद्ध ताम्सालिङ स्वायत्त प्रदेश, ताम्सालिङ प्रादेशिक जनपरिषद्ले जनता आहत बनिरहेको समयमा पनि शोषण, दमन, लूट र भ्रष्टाचारमा डुबेको सरकार र दलालहरूका विरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएको छ । जनपरिषद्का प्रमुख माणिक लामाले विज्ञप्ति जारी गर्दै जनविरोधी सरकार, सङ्घसंस्था र स्थानीय स्तरका दलालहरूका विरुद्ध सङ्घर्ष गर्न सम्बन्धित पक्षलाई हार्दिक अपिल पनि गरेका छन् ।

ताम्सालिङ जनपरिषद्का प्रमुख लामाको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड १९) का कारण हजारौँ नेपाली जनता सङ्क्रमित बनेका छन् । सयौँ जनताको मृत्यु भइसकेको छ । मुलुकका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले गर्दा धेरैले ज्यान गुमाए । थुप्रै बेपत्ता भएका छन् । वर्षायामको यो बेला किसानलाई मलको हाहाकार भइरहेको छ । यस्तो विपत्को बेला सामाजिक दलाल सरकारले जनविरोधी हर्कत गरिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राज्य प्रशासनको आडमा महँगी, भ्रष्टाचार, कालोबजारी र कृत्रिम अभाव चौगुना बढेको छ । नेपाल वायुसेवा निगम, ट्राभल्स एजेन्सीको मिलोमतोमा हवाईभाडा बढाइएको छ । वैदेशिक रोजगारमा गएका युवाहरू उतै अलपत्र अवस्थामा छन् । सरकारी निकाय कमिसनको चक्करमा ठेक्का सम्झौता गर्ने, वर्गीकरण नगरी जग्गा कित्ताकाटको बाटो खोल्ने र दलालको हितमा काम गर्ने गरिरहेको छ । संसद्वादीहरू संसदीय घृणित खेलमा रमाइरहेका छन् । राज्यको ढुकुटी ब्रह्मलुट मच्चाइरहेका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘दिनदिनै बलात्कारका घटनाहरू बढिरहेका छन् भने हजारौँले आत्महत्याको बाटो रोजिरहेका छन् । दुःखी, गरिब श्रमिक वर्ग आफ्नो जीवन धान्नकै लागि लावालस्कर लागेर पुनः भारततिर फर्किरहेका छन् । श्रमजीवी जनताहरू भोकभोकै सडकमा छट्पटाइरहेका छन् । जनताको रगतपसिनाको करबाट तलबभत्ता खाइरहेका दलालहरू आफ्नो निहित स्वार्थमा मस्तराम छन् । लकडाउनको दुःखद् परिस्थितिमा पनि जनताको सम्पत्तिमा गिद्देदृष्टि लगाउँदै बैङ्क र वित्तीय संस्थाहरूले ऋण असुलउपरका नाममा जनतालाई उर्दी जारी गर्ने, सूचना प्रकाशित गर्दै घरजमिन, जायजेथा लिलाम गर्नेजस्ता अत्यन्तै निन्दनीय कार्य गर्दै आएका छन् । यस्ता जनविरोधी हर्कत तत्काल रोकी विशेषगरी ताम्सालिङ स्वायत्त प्रदेशमा बसोबास गर्ने जनताको दैनिकीलाई सहज बनाउन र बाढीपहिरो पीडितलाई खाद्यान्न तथा बसोबासको व्यवस्था गर्न, कोरोना भाइरसका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न ताम्सालिङ स्वायत्त प्रदेश यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछ । साथै जनविरोधी सरकार, सङ्घसंस्था र स्थानीय स्तरका दलालहरूका विरुद्ध सङ्घर्ष गर्न पनि सम्बन्धित पक्षलाई हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :