नेकपा नेता बीसीलाई हिरासतमै कोरोना सङ्क्रमण, जीवनरक्षाका लागि परिवारको आग्रह

काठमाडौँ : झूट्टा मुद्दा लगाएर हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अदालतको रिहाइ आदेशपछि पनि पुनः गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर चितवन हिरासतबाट धरान लगिएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पार्टी कामको सिलसिलामा करिब २ महिनाअघि चितवनबाट प्रहरीले बीसीलाई गिरफ्तार गरी सुरुमा चितवन हिरासतमा राखेको थियो तर अदालतले रिहा गर्न आदेश दिएपछि पनि प्रहरीले उनलाई पुनः गिरफ्तार गरी झूट्टा अभियोग लगाई धरान हिरासतमा लगेपछि कोरोना सङ्क्रमण देखिएको हो ।

अखिल नेपाल शिक्षक महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका बीसी यतिबेला इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेको र विभिन्न रोगले ग्रसित उनको स्वास्थ्य उपचार तथा जीवनरक्षाका लागि पहल गरिदिन परिवारले आग्रह गरेको छ ।

केही दिनअघि चितवनको अस्पतालमा उपचाररत रहेका रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, लेखक, साहित्यकार तथा रातो खबरका निर्देशक अनिल शर्मा ‘विरही’ लाई पनि गिरफ्तार गरी सरकारले धनुषा लगेको छ ।

नेकपाका नेता–कार्यकर्तालाई अदालतले पटकपटक रिहा गर्न आदेश दिइरहेको छ तर सरकारले विभिन्न अभियोग लगाउँदै जेल र हिरासतमा घुमाइरहेको छ । कोरोना सङ्क्रमण फैलिरहेको बेला एक जिल्लाबाट अर्को जिल्ला नलैजान अदालतले आदेश गरिरहेको र अधिकारकर्मीहरूले समेत कैदीबन्दीका बारेमा चिन्ता व्यक्त गरिरहेको समयमा अदालतको आदेश र समाजको चिन्तलाई लत्याउँदै सरकारले झूट्टा मुद्दा लगाउँदै बारम्बार गिरफ्तार गरी एक जिल्लाबाट अर्को जिल्लाको हिरासतमा लगिरहेको भन्दै चौतर्फी आलोचना भएको छ ।

देशभर हिरासत र कारागारभित्र समेत कोरोना सङ्क्रमण बढिरहेको समयमा सरकारले भने नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण फरक राजनीतिक विचार र आस्थाकै कारण गिरफ्तार गर्दै एक जिल्लाबाट अर्को जिल्लामा घुमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :