जनताको मुख मोसेर सरकारी पार्टीका नेता र कर्मचारीले सिध्याए ‘दारुपानी’ मै २० अर्ब !

‘आफ्नै हात, जगन्नाथ’ भन्ने उखान त्यसै चलेको होइन । आफ्नो हातमा डाडुपन्यू भएपछि केकेसम्म हुँदो रहेछ र देख्न–सुन्न र हेर्न पाइँदो रहेछ भन्ने तथ्य हेर्न अन्यत्र कहीँ जानु पर्दैन, नेपालकै सरकार, तिनका कर्मचारीका काम हेर्दा प्रस्ट हुन्छ । भोक, रोग र चिन्ताले ग्रस्त जनताले पेट काटेर तिरेको करबाटै शासकहरूले तीन वर्षमा २० अर्बको चियापान मात्र गरे होलान् भनेर पत्याउन मुस्किल छ । त्यो रकम उनीहरूले दारुपानी, नातेदारलाई कोसेली, आफ्नो भान्छा र निजी ढुकुटीसम्म भरेको अनुमान लगाउन मुस्किल छैन ।
समाचार स्रोतहरूका अनुसार राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा सरकारी मान्छेहरूले २० अर्ब रुपैयाँ खर्च गरेका छन् । खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत शीर्षकमा खर्च बेहोर्ने व्यवस्था रहे पनि विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च भएको प्राप्त समाचारमा जनाइएको छ ।
सरकारी निकाय महालेखा परीक्षक कार्यालयले यस किसिमको अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७ औँ प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको समाचारमा उल्लेख छ ।
पूर्वमुख्यसचिव विमलप्रसाद कोइरालाले अनावश्यक खर्च रोक्नुपर्ने बताएका छन् । ‘यो फाल्तु खर्च हो, यसलाई रोक्नुपर्छ’, पूर्वअर्थसचिवसमेत रहेका कोइरालाले भनेका छन्, ‘शीर्षकअनुसार खर्च गर्नुपर्छ । विविधका नाममा यसरी जथाभाबी खर्च गर्नु हुँदैन ।’ अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित समाचारअनुसार सरकारी मान्छेहरूले यसरी ३ वर्षमै २० अर्ब चियापानी शीर्षकमा सिध्याएका हुन् ।
चियापानका नाउँमै यत्रो रकम स्वाहा पार्नेहरूले अरू वैध शीर्षकमा कति रकम समाप्त पारे होलान्, सबैले खोज्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :