कोरोनाविरुद्ध चिनियाँ र रुसी खोपको परीक्षण सफल बन्दै

कोरोना भाइरस सङ्क्रमणविरुद्ध चीन र रुसले बनाएका खोपहरूको परीक्षण सफल बन्दै गएको बताइएको छ । चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ भने रुसमा निर्मित खोप बहसका बीच सफल बन्दै गएका समाचारहरू प्राप्त भएका छन् । चिनियाँ अधिकारीहरूले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झन्डै ५० हजार मानिसमा परीक्षण भइरहेको छ । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामको कम्पनीले विकास गरेको हो ।
बायोटेक समूह कम्पनीले विज्ञप्ति जारी गर्दै कोभिड १९ विरुद्धको उक्त खोप बहराइन, यूएई, मोरक्को, पेरू, अर्जेन्टिनालगायत देशहरूमा परीक्षण भइरहेको जानकारी गराएको छ । चीनमा त्यसबाहेक अर्को खोप पनि विकास गरिएको छ । उक्त खोप सिनोभाक कम्पनीले विकास गरेको बताइएको छ । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
यसैबीच रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । नयाँ कोरोना भाइरसको खोप निर्माण गरेको रुसले खोपसम्बन्धी विवरण प्रकाशन गरेको हो । रुसी वैज्ञानिकहरूले “स्पुतनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो खोपलाई गत अगस्ट ११ मै स्वीकृति दिइसकेको थियो ।
गत शुक्रबार बेलायती मेडिकल जर्नल दि ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस नदेखिएको उल्लेख छ । तर लेखकहरूका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो । अध्ययनमा समेटिएको सङ्ख्या ज्यादै सानो भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ ।
यस अध्ययनमा सहभागी भएका पुरुषहरू २०–३० वर्षको हाराहारीका थिए । त्यसैले कोरोना भाइरसबाट सबैभन्दा बढी जोखिममा रहेका वयस्क वा वृद्ध व्यक्तिहरूलाई यो खोपले काम गर्छ भन्नेमा आशंका भने उब्जाइएको छ । खोप निर्माता रुसी अधिकारीहरू खोपले देखाएको प्रभावकारिताबाट निकै खुसी भएका छन् । मस्कोस्थित गामालेया इन्स्टिच्युटका निर्देशक प्राध्यापक अलेक्जान्डर गिन्ट्सबर्गले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा नयाँ खोपले मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास गरेको बताए ।
रुसी अनुसन्धाताहरूले खोपमा सहभागी सबै ४० जनामा एन्डीबडी विकास भएको र यसले सङ्क्रमण रोक्न मद्दत गर्ने जनाएका छन् । यो खोप लगाएकाहरूमा खोप लगाइएको ठाउँमा हुने दुखाइ, ज्वरो, टाउको दुख्ने र मांसपेशी वा जोर्नी दुख्ने समस्या देखिएको पनि बताइएको छ । जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य विद्यालयका डा. नाओर बार जिभले सानै भए पनि रुसी खोप उत्साहजनक रहेको बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माण भएको सन्देश राष्ट्रिय टेलिभिजनबाट प्रवाह गरेका थिए । उनले यस्तो खोप आफ्नी छोरीले लगाइसकेको र यसले रोग प्रतिरोधी क्षमता विकास गरेको बताएका थिए । रुसको राजधानी मस्कोका मेयर सर्गेई सोब्यानिन, रक्षामन्त्री सर्गेई सोइगुलगायत पदाधिकारीले यो खोप लिइसकेको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले खोप दिइएका व्यक्तिका बारेमा थप विवरण प्राप्त गर्न रुसी अधिकारीहरूसँग परामर्श गरिरहेको जनाएको छ ।
– एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :