नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती भएको खेलमा ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीले इटालियन क्लब एट्लान्टालाई २–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको २६ औँ मिनेटमा मारियो पासलिसले इटालियन क्लब एट्लान्टालाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्क्तिमा सुधार आयो । एम्बाप्पे र नेयमारको जोडीले दोस्रो हाफभर एट्लान्टालाई दबाबमा राख्यो ।

खेलको ९० औँ मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई जित दिलाए ।

नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए । खेलको अन्तिम मिनेटमा एट्लान्टाका लुइस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए ।

पेरिस सेन्ट जर्मन (पीएसजी) २५ वर्षको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :