दलाल पुँजीवादविरुद्ध मजदुर सङ्घर्ष

कुनै बेला उपत्यकामा मात्र झन्डै ४५ हजार मजदुर पार्टी सदस्य र लाखौँ मजदुरहरू पेसागत सङ्गठनको सदस्य रहेको तथ्य पेस गर्ने पुराना मजदुर सङ्घ, सङ्गठन र तिनका मजदुर नेताहरूले पार्टी नेतृत्वसामु सफेद झूटका दलिल पेस गर्थे । त्यस्ता मनगढन्ते रिपोर्टका आधारमा नेतृत्वले योजना निर्माण गर्दथ्यो जसले गर्दा उद्देश्य प्राप्त गर्न सकिँदैनथ्यो । फलस्वरूप आफ्नो आन्तरिक तथा बाह्य कारणले मजदुर आन्दोलन विर्सजन र विघटित भएको तीतो यथार्थ हामीले भोग्दै आयौँ । तिनीहरू यतिखेर संसद्वादमा पतन भइसकेका छन् ।

परिस्थिति फरक बनेको छ । विगतका भन्दा राजनीतिक कोर्स बदलिएको छ । हन्डर र ठक्करको बीचबाट सङ्गठनले आफ्नो त्राण बचाउँदै पार्टीको नवीनतम कार्यदिशा एकीकृत जनक्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ समर्पित भैरहेका छौँ । यात्रा कठिन छ तर क्रान्तिकारीको निर्विकल्प गन्तव्यमा हरेश नखाई लाग्नुको कारण श्रमजीवी वर्गको भविष्य यसमै अन्तरनिहित छ । मुलुक असफल संसद्वादी व्यव्स्थाको भुमरीमा फसेको बेला राजनीतिक, आर्थिक, सामाजिक मूल्यमान्यताहरू ध्वस्त भए । हिजोका अब्बल क्रान्तिकारीहरू प्रतिक्रान्तिका मतियार बनिसकेका छन् । देशमा अनिष्टको सङ्केत देखा पर्दैछ जसले अहिलेको राजनीतिक प्रणाली नै ठीक छ भनी दाबी गर्नेहरूबाट नै फुत्केको असन्तुष्टिको स्वर बजारमा छाताछुल्ल सुन्न सकिन्छ । तसर्थ हामी न्यायप्रेमी, उत्पीडित मजदुर वर्गको हिस्सा हुनुको कारण के नेपालमा सबै वर्ग, क्षेत्र, लिङ्गका जनताहरूले स्वतन्त्रता, न्याय, समानता र अधिकार प्राप्त गरिसके ? किमार्थ छैनन् तर हामीमा केही भ्रम भने पक्कै परेको छ । त्यो हो संसद्वादको भ्रम जुन कुराले हामीमा केही कुण्ठा र भयले मन र मस्किष्कलाई गिजोलिरहेको छ । आशा र विश्वासमा सङ्कट पैदा भएको छ । लक्ष्य र उद्देश्यप्रति उदासीन त भैरहेका छैनौँ ? यसबारेमा हाम्रो सङ्गठन चनाखो बन्न जरुरी छ । हामी पूर्ण सचेत भएनौँ भने भाबी पुस्ताले हामीलाई दुत्कार्नेछ । तर यो हुन दिनेछैनौँ ।

अहिलेको शताब्दीमा मानवीय मूल्यमान्यतामाथि दलाल पुँजीवादी हस्तक्षेप झन् निकृष्ट रूपमा बढेको छ । न्यूनतम् बाँच्न पाउने अधिकारमाथि हमला भैरहेको छ । नरकको जीवन बाँच्न बाध्य बनाइरहेका यी दलालहरूले कथित व्यवस्था लाद्नेछन् । बेलैमा सचेत भएनौँ भने श्रमिक, मजदुरमाथि शोषणका विभिन्न प्रपञ्च अपनाउनेछन् जसको कारण आधुनिक दास बन्नुबाहेक हामीसँग अन्य विकल्प रहनेछैन । त्यसैले आमश्रमिक वर्गले श्रम क्षेत्रमा हुने गरेका विभेद, अन्याय र अत्याचारका विरुद्ध लडेनौँ भने श्रमशक्तिलाई चरम दुरुपयोग गर्ने निश्चित छ । मुठीभर दलालहरूले मजदुरलाई स्वचालित यन्त्र मानवलाईजस्तै जोताउनेछन् । पुँजीवादी सत्ताधारीले मानवअधिकार, कानुनी राज्य र प्रजातान्त्रिक मूल्यमान्यताको धज्जी उडाउनेछन् जो अहिले श्रमिक मजदुरले प्रत्यक्ष जीवन व्यवहारमा भोगिरहेका छौँ ।

मजदुर तथा श्रमिक मित्रहरू ! यतिबेला नेपालको दलाल पुँजीवदी चरित्रको राज्यसत्ता सामाजिक फासिस्ट सरकार र त्यसको निर्देशनमा सञ्चालित कथित औद्यौगिक घरानाका मालिकहरूबाट श्रमिक मजदुरमाथि मजदुरविरोधी श्रम ऐनका दफा प्रयोग गर्दै प्राकृतिक महाविपत्तिका रूपमा देखिरहेको कोरोना भाइरस (कोरोना १९) को महामारीलाई देखाउँदै मजदुरलाई रोजगारबाट निष्कासन गर्ने खाइपाइ आएको तलबसुविधा कटौती गर्ने जागिरबाट निकाल्नेजस्ता अमानवीय कार्य बढाइरहेका छन् । अझ दुःखलाग्दो र घिनलाग्दो काम भने कथित मजदुर सङ्गठनका भ्रष्टाचारी नेतृत्वहरूले मालिकको पक्षपोषण गर्दै उनीहरूबाट गरिरहेको मजदुरविरोधी सम्झौतामा हस्ताक्षर गर्दै आफू मालिकको भरथेग गर्ने भरौटे हौँ भन्ने पुस्टि गरिरहेका छन् । उनीहरूको गलत गतिविधि र अभिव्यक्ति श्रमिकविरोधी त छँदैछ । क्रान्तिकारी तथा प्रगतिशील ट्रेड युनियन महससङ्घ एवम् पेसागत सङ्गठनहरूमाथि कुण्ठाले भरिएका आलोचना र घुमाउरो पाराले पुँजीपति वर्गको न्यानो काखको अपेक्षाबाट नै प्रस्ट भैसकेको विषय हो ।

प्रकृतिप्रदत्त अधिकारमाथि सबैको बरबरी हक हुन्छ । पृथ्वीमा उत्पत्ति भएका सम्पूर्ण साधन–स्रोतमाथिको सामूहिक स्वामित्वलाई निजी हित अर्थात् व्यक्तिगत मुनाफाका लागि परिचालन गरिरहेको पुँजीवाद भूमण्डलीकृत हुँदै बहुराष्ट्रिय निगम र दलाल पुँजीवादका रूपमा फेरिँदा त्यसले मच्चाइरहेको उद्दण्डताको सिकार श्रमजीवी मजदुरले हुनुपरेको छ । शोषणका बहुरङ्गी नखरा देखाइरहेका दलाल व्यवसायीहरूबाट दिनदहादै मजदुर लुटिँदा पनि सरोकारवाला निकायहरूको मौनताले पुँजीपन्थीहरू कतिसम्म निच छन् भन्ने कुरा उनीहरूको चलखेलबाट थाहा हुन्छ ।

प्राकृतिक, मानवीय विपत्मा पनि मजदुरमाथि अन्याय थोपर्ने शासक विगत भुल्दै गरिब जनताको झुपडी जलाइरहेका छन् । कतिलाई उठीबास लगाइसके । सामान्यतया सबै पुँजीवादी विकास सामन्तवादको गर्भबाट भएजस्तै समाजवाद पनि पुँजीवादकै गर्भबाट विस्फोट हुनेछ तर क्रान्तिकारी सचेत पहलकदमीको आवश्यकता पर्दछ । इतिहास साक्षी छ जुन बेला सर्वहारा मजदुरले सामन्तवादका विरुद्धको लडाइँमा पुँजीपतिलाई साथ दिए विभिन्न देशहरूमा पुँजीवादि क्रान्ति सफल भए तर उनीहरूले मजदुर–किसानलाई धोका दिए जसले गर्दा उनीहरूको चिहान खन्नुपर्ने अवस्था आयो । अहिले तिनै वर्ग श्रमिकमाथि दुव्र्यवहार गर्दै आफ्नो स्वार्थ पूर्ति गर्न मानवीय मूल्य–मान्यतामाथि नरसंहार र वितण्डा मच्चाइरहेका छन् । दूधको साक्षी बिरालो भनेझैँ डबल नेकपा कम्युनिस्ट नामको सरकारले कोरा कल्पना बाँड्दै सामाजिक सुरुक्षावापत १ प्रतिशात रकम कट्टी गर्न थालेयता २०७५ मङ्सिरमा योगदानमा आधारित समाजिक सुरुक्षा कोषको घोषणा गरिँदा नयाँ युगको सुरुआत भयो, अब कोही मजदुरले भोकै मर्नु पर्दैन भनेर प्रचार गरियो । आज तिनै मजदुर भोक र प्यासले छट्पटाउँदै रोदन र क्रन्दनका पीडा पोखिरहेका छन् । कुरोको चुरोमा नपुग्ने, प्रचारबाजीमा रमाउने केपी–पीकेमण्डली भ्रष्टाचार, कमिसन, राज्यकोषको चरम दुरुपयोगमा लिप्त छ । श्रमिक जनताको पसिनाको कमाइको करबाट तलबभत्ता, सेवासुविधा खाने शासक–प्रशासक न्यायोचित आवजलाई दबाउने र निरङ्कुशता लाद्न उद्यत छन् । उनीहरूले भन्ने कानुनी राज्य मानवअधिकारको बर्खिलाप गर्दै बाँच्न पाउने अधिकारमाथि हनन गरिरहेका छन् । हाल २० लाखभन्दा माथिको सङ्ख्यामा मजदुरहरू बेरोजगार बन्न पुगेका छन् । चोर दुलोबाट फाइदा लिन पल्केको पुँजीपति वर्ग अर्थात् दलाल तत्व यस्तो विपत् र दुःखको बेला पनि शोषित–पीडित मजदुरलाई बर्खास्त गर्ने, रोजगारबाट विस्थापित गराउने निकै निन्दनीय कार्य गर्दै आइरहेका छन् ।

२०७२ सालको महाभूकम्पको बेला होस् वा कोरोना भाइरसको महामारीमा होस्, विभिन्न बहाना बनाई श्रमिक कटौती गरिरहेका छन् । बिचौलिया ट्रेड युनियनहरू तिनै मजदुरको आँसु र पसिनाको व्यापार गरिरहेका छन् । प्रतिनिधिमूलक घटना उपत्यकालगायत नेपालका मुख्य सहरहरूमा देखिन थालेको छ । मालिकहरू मजदुरलाई तलबभत्ता खुवाउन सकिँदैन भन्ने, सरकारसँग बार्गेनिङ गर्ने, उनीहरू नै पुनर्कर्जाको माग गर्ने, कर छूटको अपिल गर्ने तर आफ्नै कारखाना, उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकमाथि दुव्र्यवहार गर्नेजस्ता अमानवीय काम दलाल पुँजीपतिहरूबाट भैराखेको छ । तिनीहरूको भ्रष्ट मतिका कारण मजदुरले दुःख पाइरहेका छन् । श्रमिकको श्रम लगानी, पुँजीपतिको पुँजी लगानीको दुवैको बराबर स्वामित्व हुनुपर्नेमा एकछत्र पुँजीपतिहरूको श्रम क्षेत्रमा रजाइँ छ । यिनै दलालहरूको रक्षक राज्य प्रशासन हुने गर्दछन् तर आममजदुरको श्रम अभ्यास गर्न पाउने कानुनी अधिकारको रक्षा गर्ने दायित्व कसको हो ? यतिविघ्न मजदुरमाथिको ज्यादतीमा किन राज्य मूकदर्शक छ ? किनकि राज्यको कानुन मजदुरको हितमा छैन । राज्यसत्ता वर्गविरोधीको हातमा छ । देश बिचौलियाहरूबाट सञ्चालित छ । शोषितपीडितले न्यायनिसाफ नपाउने मुख्य कारण नै यही हो । जबसम्म भिजिलान्ते सङ्घसङ्गठनको ज्यादतीविरुद्ध प्रतिवाद गर्न सक्दैनौँ आमश्रमिक भ्रमपूर्ण जीवन बाँच्न बाध्य हुनेछन् । यतिबेला मुलुकमा छरिएर रहेको श्रमजीवीको सहारा भनेको सङ्घर्षको बल हो । अधिकारको लडाइँमा सामेल हुनु न्यायका लागि विद्रोह गर्नु हो ।

श्रम ऐन–कानुनमा भएका सकारात्मक पक्षलाई कार्यान्वयन गराउन जोड दिनु, मजदुरविरोधी ऐनका दफाहरू खारेज गर्न सङ्घर्ष गर्नु र नयाँ कानुन बनाउने दिशामा अगाडि बढ्नु आवश्यक छ । मजदुर सङ्गठन भनेको आमश्रमिकको मेरुदण्ड हो । जबसम्म अन्यायका विरुद्ध लड्ने संस्कारको विकास हुँदैन, नीतिगत विषयहरू ओझेलमा पर्नेछ । हाम्रो मौनताको फाइदा उठाउँदै कथाकथित मजदुरविरोधी सङ्गठनहरूले दिउँसै रात पार्ने भ्रम दिने कोसिस गरिराखेका छन् । कथित मालिकहरू सार्वजनिक खरिद ऐनका प्रावधानमा टेकेर मजदुर खरिदबिक्री गर्ने, सप्लायर्स कम्पनीहरूबाट श्रमिक खरिद गर्नेजस्ता गैरजिम्मेवारी काम गर्दैछन् । श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ को धज्जी उडाउँदै नेपालको संविधानको धारा २९६ उपधारा (१) बमोजिम व्यवस्थापिका संसद्ले निर्माण गरेको श्रम ऐन र संविधान २०७२ को मौलिक हकअन्तर्गतको धारा ३३ र ३४ ले दिएको श्रम अभ्यासको अधिकार र रोजगारीको हकसम्बन्धी अधिकारलाईसम्म कुण्ठित तुल्याउँदै नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भई मजदुरहरूको माझमा सक्रिय क्रान्तिकारी मजदुर सङ्गठनलाई अवैधानिक करार गर्दै आफैँले बनाएका कानुन सरकार आफँैले कुल्चिँदैछ । यस्तो बेला हाम्रो महासङ्घमा आस्था राख्ने सबै पेसागत घटकहरूले कुशल नेतृत्वको विकास गर्न आवश्यक छ । मजदुरको माझमा निःस्वार्थ र निर्भीक ढङ्गबाट लाग्न र पेसाका अग्रपङ्क्तिको नेतृव पूर्णकालिन भई श्रमिकका बीचमा समर्पित भई काम गर्न जरुरी छ । यसै दिशामा महासङ्घले कठोर निर्णय गरी अगाडि बढ्नेछ । अनावश्यक चिन्ता र चासो गर्नुभन्दा पनि उद्देश्य प्राप्त गर्ने दिशामा हामी चुकिरहेका त छैनौँ ? त्यतातिर ध्यान दिन जरुरी छ ।

मजदुर सङ्गठन बुर्जुवाको जस्तो स्वतन्त्र सङ्गठन हुनै सक्तैन । यो त विचारद्वारा निर्देशित अग्रभागीय मोर्चा हो । त्यसकारण मजदुरका नेता तथा कार्यकर्ताले कानुनी राज्यको उपहास गर्नेहरूसँग टक्कर गर्नुपर्दछ । लेनिनले भन्नुभएझैँ मजदुर वर्गले आफ्नो उद्देश्य प्राप्तिका लागि आफ्नो वर्गलाई सङ्गठित गर्नु र आन्दोलित हुनु, ट्रेड युनियन उद्देश्यलाई नयाँ जीवन दिनु लाखौँ–करोडाैँलाई तालिम दिनु हो । देशैभरि अहिले मजदुरविरोधि गतिविधिहरू भैराखेका छन् र विशेषगरी उपत्यकामा झन्डै ६० लाख जनसङ्ख्याको जनघनत्व रहेको छ । हामीले कोसिस गर्दा ६० सय श्रमिक सडकमा उतार्न सक्छौँ त ? यसले नै भाबी योजनाका लागि मार्ग तय गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :