नेपाली भूमिमा भारतीय ज्यादती : भूमि नेपालको, रजाइँ भारतको

काठमाडौँ : नेपाल–भारत सीमा छुट्ट्याउने जङ्गे पिलरलाई आधार मानेर स्ट्रिप नक्सा तयार नपार्दा नेपालको कैयौँ हेक्टर भूमि भारतमा परेको पाइएको छ जसको कारण नेपाल सरकारको नापी विभागले गरेको लापरबाहीका कारण गम्भीर गल्ती हुन पुगेको छ । त्यही कारण सीमा क्षेत्रको नेपाली भूमिमा भारतले लगातार हस्तक्षेप गर्ने र दुःख दिने काम गरिरहेको छ ।

यसरी भारतीय पक्षले लगातार दुःख दिन थालेपछि कञ्चनपुरका बासिन्दाले समस्या समाधान गर्न माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिए । उक्त उजुरीमाथि बुधबार भएको छलफलमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नापी टोलीले गम्भीर गल्ती गरेको कारण नेपाली भूमि भारतमा परेको स्वीकार गरिन् । उक्त समितिले बुधबार उजुरीकर्ता र परराष्ट्र, गृह र भूमि व्यवस्था मन्त्रालयसँग छलफल गरेको थियो । छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले पनि भारतले लगातार दुःख दिएको, नटेरेको, पिलर सारिदिने गरेको भन्दै निरीह अभिव्यक्ति दिएका थिए ।

नेपालको नापी विभागले गरेको गल्तीका कारण नेपालको कैयौँ हेक्टर जमिन मात्र होइन, निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्ग पनि ठाउँठाउँमा आफ्नो देशमा परेको भन्दै निर्माणकार्यमा भारतले हस्तक्षेप गरेको पाइएको छ ।

नापी विभागसँग भएको तथ्याङ्कअनुसार ०२४ देखि ०२९ सालसम्म र ०३६ सालमा नापी भएका जग्गाधनी पुर्जा वितरण गरिएको छ । यस्तै ०४५ देखि ०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा पनि स्पष्ट छ तर पछिल्लो समयमा ०५६ देखि ०६१ सम्म जमिनबाटै नक्सा तयार गर्दा नेपाली भूमि भारतमा परेको पाइएको हो ।

नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा रेखाङ्कन गर्दा जङ्गेपिलरलाई आधार बनाएर स्ट्रिप नक्सा बनाउनुपर्नेमा त्यसो नगरी नक्सा बनाउन कञ्चनपुर जिल्लाको नेपाली भूभागको सयौँ हेक्टर जग्गा भारततिर पर्ने गरी एकतर्फी रूपमा स्ट्रिप नक्सा तयार बनाइएको पाइएको छ जसको कारण हुलाकी राजमार्ग निर्माणमा भारतले अवरोध गर्नुका साथै सडक निर्माणकार्य बन्द गराएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीदेखि जिमुवा जाने सडकखण्डमा काम भैरहेको ठाउँमा भारतीय पक्षले काममा अवरोध गरेको हो । उक्त विषयमा भूमि व्यवस्थामन्त्री अर्यालले वार्ता र कूटनीतिक ढङ्गले नै समस्याको समाधान गर्ने बताएकी छिन् ।

नेपालको सत्ता र शक्तिमा रहनेहरू र अझ र जनताको पसिनाबाट जम्मा भएको राज्यको ढुकुटीबाट तलब खानेहरूको यस्तो गैरजिम्मेबार र लापरबाहीपुर्ण कार्यले गर्दा सीमा क्षेत्रमा नेपाली जनताले समस्या भोग्नु परिरहेको छ । कञ्चनपुर, नवलपरासीको सुस्ता, इलामको पशुपतिनगरलगायत दर्जनौँ ठाउँका जनताले भारतीय पक्षबाट समस्या भोग्नुपरेको छ । नेपालीहरूले लगाएको बालीनाली क्षति पुर्याउनुका साथै बेलाबेलामा नेपालीहरूमाथि भारतीयहरूले कुटपिट गर्ने र सीमा सुरक्षामा तैनाथ सुरक्षाकमीलाईसमेत आक्रमण गर्ने गरेका कयौँ दृष्टान्त छन् । पछिल्लो समय लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरिएपछि भारतीय पक्षले अन्य ठाउँहरूमा सीमा मिच्ने र विभिन्न काममा अवरोध पुर्याइरहेको छ । ठाउँठाउँमा पिलरहरू गायब बनाउनुका साथै कैयौँ ठाउँमा पिलर उखेलेर नेपालतर्फ फालिदिने, एकतर्फी सीमास्तम्भ खडा गर्ने कार्यसमेत गरिरहेको छ । यसमा सरकार भने मूकदर्शक बनेर बसिरहेको भन्दै चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :