तीज र महिला

खस समुदायका हिन्दुहरूको सांस्कृतिक पर्व तीज संघारमा छ । यो चाड विशेषतः खस समुदायको भए पनि अरू समुदायका महिलाहरूले पनि यसैलाई मान्ने गर्छन् ।

तीज नजिक आएपछि यस विषयमा चर्चा–परिचर्चा बर्सेनि चल्दै आएको छ । तीज पर्वका धार्मिक र सांस्कृतिक पक्षहरू छन् । धर्म पनि संस्कृति हो तर सबै संस्कृति धर्म होइनन् । शिव र पार्वतीको मिथकमा आधारित तीज पर्वको सांस्कृतिक पक्ष एकदम बलियो छ । महादेव किराँत समुदायका गणनायक भएको सङ्केत विभिन्न पुराणहरूबाट बुझ्न सकिन्छ । आर्य समाजबाट आएका मनुवादी ऋषिहरू र अनार्य समुदायका नायक महादेवबीचमा भीषण द्वन्द्व र विभेद रहेको स्वस्थानी कथाको दक्षप्रजापति र सतीदेवीको प्रसङ्गले स्पष्ट पार्दछ । महादेव–पार्वती प्रेमकथा र पार्वतीको विजय तथा प्रेमविवाहको प्रसङ्ग सकारात्मक सांस्कृतिक पक्ष हो भन्न सकिन्छ । त्यस अर्थमा तीज पर्व मनाउनु ठिकै हुन सक्थ्यो होला तर तीजको मूल पक्ष भनेको धार्मिक नै हो । धार्मिक पक्षअनुसार समाजमा पुरुषलाई ईश्वर, नारीलाई चरणकी दासीका रूपमा उभ्याइएको छ । पुरुषवादलाई लाजमर्दो गरी स्थापित गरिएको छ । त्यसले आजको सभ्य समाजलाई गिज्याइरहेको छ र लज्जित बनाइरहेको छ । स्वास्थ्य विज्ञानको दृष्टिले पनि निराहार व्रत, चरणको पानी खानु, नारीले वरको सुस्वास्थ्यको कामना गर्नुपर्ने तर नरले नारीको सुस्वास्थ्यको कामना गर्नु नपर्ने । यसलाई स्वास्थ्य विज्ञानले समेत ठीक मान्दैन । समाज विज्ञानमा पनि त्यो त सारै अन्यायपूर्ण देखिन्छ । त्यसैले यो तीजको धार्मिक पक्ष अत्यन्त सामन्ती तथा उत्पीडक छ ।

धर्म मान्ने र नमान्ने दुवै अधिकार धर्मनिरपेक्ष मुलुकमा कानुनमा संरक्षित छ । तीज पर्वका पक्षमा प्रचार गर्न पाइन्छ भने विरोध पनि गर्न पाउनुपर्ने हो । तीज पर्व मान्नु ठीक हो कि बेठीक भन्ने बहसको विषय एकातिर हुनसक्छ । लोकतान्त्रिक राज्यमा कुनै पनि विषयमा बहस गर्न पाउनु नागरिकको अधिकार नै हो । विचारको बहसलाई लाठी, मुङ्ग्री र गुन्डागर्दी गर्नु असभ्यताको परिचायक हो ।

दक्षिणएसियामा फासिवादी जगजगी बढ्दै गएको छ । त्यो राजनीतिक तहमा पनि देख्न सकिन्छ । गत वर्ष पशुपति शर्माले लोकगीत लुट कान्छा, लुट्न सके लुट सार्वजनिक गरे । सत्तारूढ पार्टीका नेता, प्रशासनले उनलाई दबाब दियो । त्यो गीतलाई प्रतिबन्ध नै लगाइयो । समयक्रममा सरकारी पक्षले देश कसरी लुटेको छ भन्ने कुरा महामारीका लागि औषधी खरिद प्रकरणदेखि जनताको थाप्लोमा ऋणभार दिन–प्रतिदिन बढेकोबाट त्यो तीतो वर्तमान यथार्थलाई जस्ताको जस्तै देखाइदिने काम राम्रोसँग गरेको स्पष्ट गरेको थियो । पशुपति शर्माको गीतले समयको सही चित्रण समयअगावै गरेको रहेछ भन्ने बोध सत्तारूढ पार्टीकै धेरैले आजभोलि भन्न थालेका छन् । पशुपति शर्मालाई धम्की दिनेहरू पश्चाताप गर्दै होलान् कि चास्नीमा पौडी खेल्दै ?

दलाल पुँजीवादी पार्टीहरूमा नाजीवादका यथेष्ट शैली देखिन्छन् । नाजीहरू मूल पार्टी र नेताले संयमित भाषा प्रयोग गरेजस्तो गर्ने तर जनवर्गीय सङ्गठनलाई उद्दण्ड र हिंस्रक बनाएर आतङ्कको राज गथ्र्यो । भाजपाले शिवसेना, हिन्दु महासङ्घ, आरएसएसजस्ता थुप्रै सङ्गठनमार्फत उद्दण्ड र हिंस्रक राज कायम गर्दछ । त्यसको सिको नेपालमा पनि भैरहेको छ । कानुनबाट बच्ने–बचाउने धूर्त शैली प्रयोग गरिएको छ । कथित स्वतन्त्र जनसङ्गठनले अपराध र हिंसाद्वारा समाज नियन्त्रण गर्ने, सरकारले अपराधको संरक्षण गरेर मतपत्र प्रभावित गर्ने गरेर वैधानिक निर्वाचित फासिवाद लाद्ने काम भइरहेको छ । त्यसप्रकारको अवस्थालाई अधिकारकर्मी अर्चना थापाले ‘प्रतिगामी सोचको लहर समाजमा चलेको र त्यसैको एउटा स्वरूप यो गीतमा (सोफिया थापाको गीत) विरोध प्रकट भएको छ’ भनेकी छिन् । सोफियाको गीतको मूल हेरौँ –

‘अबको तीज, नो व्रत प्लिज
नो खट्टाको पानी
महिला–पुरुष दुवै नै बराबरी’

सोफियाले पुरुषको गोडा धोएको पानी खुवाउने अमानवीय परम्पराको विरोध गरेकी छिन् । त्यसैगरी कुखुराको डाको (अन्दाजी ३ बजे) देखि सूर्यास्त (बेलुकी करिब ७ बजेसम्म) १७ घन्टा उपवास वा व्रत बस्ने, आफ्नो शरीर ध्वस्त पारेर पुरुषका लागि व्रत गर्ने चलनमा सुधार आवश्यक छैन ? त्यो गीतमा तीज पूरैको विरोध पनि छैन । पुरुषले महिला स्वास्थ्य र दीर्घायुका लागि गर्ने तीर्थ, व्रत र चाडपर्व त केही छैनन् । त्यो त यो समाजलाई नचाहिने रहेछ । महिलाले मात्र पुरुषका लागि किन भाकल, जप, तप, पूजा आदि गर्नुपर्ने ? भन्ने एउटा सीधासादा प्रश्न मात्र त छ । त्यही पनि हिन्दु अतिवादीहरूलाई पच्न सकेन र सोफियालाई मार्ने धम्की दिए । उता राज्य भने मौन बसेर हिंसाको संरक्षण गरिरहेको छ । सोफियाविरुद्ध भएको हिंसाको छानबिन भएन । आखिर नेपालको सरकार र प्रशासन मनुवादी न छ ।

सोफियाको ‘नो व्रत प्लिज’ गीतको भङ्गिमा र शैलीका विषयमा अलगअलग बहस हुनसक्छ । उनको गीतको विचार र अधिकार अर्को छलफलको विषय हुन सक्ला । तीजलाई विस्तार र प्रश्रय गर्ने मुख्य शक्ति बहुराष्ट्रिय कम्पनी र बजारशास्त्रको स्वार्थ हुने नै भयो । उनीहरूलाई आफ्नो पत्रु सामान बजारमा बेच्नु छ । त्यसैले उनीहरू संस्कृतिको नारा र आवरणमा आफ्नो सामान बेच्न चाहन्छन् । आफ्नो सामान बेच्न संस्कृति र परम्पराको परिभाषा आफ्नो स्वार्थअनुकूल बदलिरहन्छन् तर जनस्तरबाट र अझ महिलाहरूले सांस्कृतिक परम्परा के फेर्नुपर्ने कुरा उठाए मात्र भने उनीहरूको धार्मिक सत्ताको जरा हल्लिन पुग्छ जसको फलस्वरूप यस्ता आवाज दबाउन न्वारानदेखिको बल लगाउँछन् ! यसरी विकृति र सामन्तवादी सोचाइको प्रचारप्रसार, संरक्षण गर्दछन । सञ्चार क्षेत्रले पनि विज्ञापन स्वार्थकेन्द्रित भएर त्यसलाई प्रश्रय दिन्छन् । यसरी तीजको खोक्रोपनको मिथक तयार हुन्छ । आजका महिलाहरूले यसलाई रूपान्तरण गर्ने हिम्मत गर्नै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :