नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै पार्टीको मूल कार्यभार हो – विप्लव, महासचिव, नेकपा

biplavनेत्रविक्रम चन्द ‘विप्लव’
महासचिव
नेपाल कम्युनिस्ट पार्टी

»»यहाँको पार्टी क्रान्तिलाई कसरी अगाडि बढाइरहेको छ ?

 दलाल पुँजीवादी राज्य सत्ता र नेपाली जनताबीचको अन्तरविरोध चर्किदै गएको छ । संसदीय व्यवस्थाको पक्षमा एकथरी सत्ताबाट सक्रिय छन् भने अर्काथरी देशलाई नै टुक्र्याउने नारा लिएर सडकमा छन् । यी दुवैको केन्द्र एउटै छ, त्यो हो दिल्ली प्रशासन । जनता भने दलाल संसदीय व्यवस्थाको विरुद्ध संघर्षरत छन् । श्रमिक जनता आफ्नै सत्ता निर्माणको प्रकृयामा छन् । हाम्रो पार्टीले जनताको नेतृत्व गर्दै क्रान्तिलाई अगाडि बढाउने पहल गरिरहेको छ । 

»»यहाँको पार्टीले थबाङ महाधिवेशनमा गरेको मुख्य मुख्य संश्लेषण के के होलान् ?

 आठौं महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिका लागि विशेष महत्वको रहेको छ । यसले संश्लेषण गरेका वैचारिक, राजनैतिक, संगठनात्मक, अर्थनीति, संस्कृतिको बारेमा जे संश्लेषण गरेको छ तिनले नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि महत्व राख्नेछन् । दर्शनमा हामीले दुईलाइन संघर्ष र विपरीतको एकत्वसम्बन्धी गलत बुझाइलाई विकास गरेका छौं । ती दुवैलाई घालमेल गर्ने प्रवृत्तिलाई सच्याउँदै विपरीतको संघर्ष र दुईलाइन एउटै होइन । पार्टी जीवनका लागि विपरीतको एकत्व अनिवार्य छ भने दुईलाइन अनिवार्य छैन ।
दुनियाँलाई बदल्नुसँगै बदलिएको वस्तुलाई निरन्तर रक्षा र विचारको विकास गर्नुपर्ने विचार निर्माण गरेका छौं ।
राजनैतिक रूपले बिसौं सदीमा समाजवादले भोगेको असफलतालाई विश्लेषण गर्दै जनवाद र अधिनायकत्वलाई वैज्ञानिक समाजवादमा विकास गर्नुपर्ने विचार अगाडि सारेका छौं ।

अर्थतन्त्रमा नेताहरूको हकमा क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम हुने र जनताको हकमा कामअनुसारको दाम हुने विचार निर्माण गरेका छौं । संस्कृतिमा कम्युनिस्ट समाजको निर्माण गर्ने विचार साथै पाकालाई सम्मान र नयाँ पुस्तालाई पुरस्कृत गर्ने विचार बनाएका छौं । यी यस्ता संश्लेषण र निर्णय हुन् जसले धेरै परसम्म अर्थ राख्ने छ ।

»»यहाँले नेपालमा क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद आउने सम्भावनालाई कसरी हेर्नुहुन्छ ?

क्रान्ति, प्रतिक्रान्ति र क्रान्ति पुँजीवादी व्यवस्था र शासन विश्वमा रहेसम्म चलिरहने प्रकृया हो । मानवजातिमा वर्ग रहेसम्म वर्गसंघर्ष र वर्गसंघर्ष रहेसम्म क्रान्ति अनिवार्य छ । समाजवादले केही असफलता बेहोरेको छ; समाजवादी क्रान्तिहरूले केही समस्या भोगेका छन् तर विश्वमा पुँजीवाद पूरै संकटग्रस्त बनिरहेको छ । यसले मानवजातिलाई युद्ध, विध्वंस र बर्बादीबाहेक केही दिएको छैन । यसबाट नागरिकहरू आजित भइरहेका छन् । नेपालमा त झन् जनताको चाहना आमूल परिवर्तन होस् भन्ने छ । यो स्थितिमा विश्वक्रान्ति आउनेछ भने नेपालमा दलाल संसदीय व्यववस्थालाई फालेर वैज्ञानिक समाजवादमा जाने क्रान्ति निकट भविष्यमा आउनेछ ।

»»वर्तमान सत्ता व्यवस्थाको चरित्रलाई यहाँले कसरी हेरिरहनुभएको छ ?

इमानदार कम्युनिस्टहरू कसैले पनि यस्तो भनेका छैनन् । यो भन्ने स्थिति नै छैन किनकि नेपालमा हिजोको भन्दा पनि गएगुज्रेको दलाल संसदीय व्यवस्था लादिएको छ । नेपाल दलालहरूको विगविगीले सताइएको छ । जसले यस्तो भन्छन् ती या दलालहरू हुन् या त क्रान्तिबाट भागेका भगुवा, आत्मसमर्पणवादी र दलालका पनि दलाल बेइमानहरू हुन् । यी तत्वहरूबारे जनता पनि खासै भ्रममा छैनन् । जब क्रान्ति अगाडि आउनेछ, सबै चिज ठीक भएर जानेछ ।

»»नेपाली समाजको सही विश्लेषणबिना राजनीति भइरहेको छ भन्नेबारे यहाँको भनाइ के छ ?

एकहदसम्म यो ठीक कुरा हो तर कसैले नगरेको भन्ने सही होइन् । हाम्रो पार्टीले नेपाली समाजका विशेषतालाई निकै सूक्ष्म र तथ्यपरक प्रकारले विश्लेषण गरेको छ । हामीले नेपाली समाजका ७ वटा विशेषता अगाडि सारेका छौं (जुन बँुदा धेरै ठाउँमा उल्लेख भएकोले यहाँ भन्न जरुरी छैन) ती विशेषता नै सबैभन्दा सही छन् । त्यसलाई पकडेर जाँदा क्रान्ति गर्न सकिन्छ र हामी गर्न सक्नेछौं ।

»»तपाईहरूले गर्नुभएको नयाँ संश्लेषणमा खास नयाँपन केही छैन भन्नेहरू पनि छन् नि ?

हाम्रो वैज्ञानिक संश्लेषण र वस्तुवादी विकासलाई बुझेका छट्टुहरूले यसको लोकप्रियतालाई दखल दिन यसो भनेका छन् । केही ‘लद्दुरामहरू’लाई पनि यस्तो लाग्न सक्छ विकासको उचाइ बुझ्न नसकेर । बाँकी क्रान्तिकारीहरूले यसको मर्म र सारलाई ठीक प्रकारले बुझेका छन् । तै पनि म स्पष्ट गर्न चाहन्छु नयाँ संश्लेषणहरू क्रान्ति र माओवादी आन्दोलनका सन्दर्भमा उठेका प्रश्न र भ्रमहरूलाई समाधान दिन र क्रान्तिको बागडोर सम्हाल्नका लागि गरिएका छन् । जसबारे निकै विश्लेषण भइसकेको छ ।  

»»खासमा एकीकृत जनक्रान्ति भनेको के हो ?

एकीकृत जनक्रान्ति भनेको २१औं शताब्दीमा विकास भएको विश्व र यसले सृजना गरेका अर्थ राजनैतिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैज्ञानिक कार्यदिशा हो । यसले लेनिनले सहरबाट गरेको विद्रोह र माओले गाउँबाट गर्नुभएको दीर्घकालीन जनयुद्धका अनुभव, शिक्षालाई ग्रहण गर्दै आज विकास भएको गाउँ र सहरको एकीकृत विशेषतालाई समाधान गर्नेछ । यसो गर्दा हामीले समाज, श्रमिक वर्ग, अन्तरविरोध, प्रविधिको विकास आदिलाई नयाँ उचाइमा ग्रहण र संश्लेषण गरेका छौं जसको प्रभाव क्रान्तिकारी आन्दालनमा देखिन थालिसकेको छ ।

»»तपाईहरूको स्थानीय निर्वाचनको पहिलो चरणको खारेजी अभियान कस्तो रह्यो ?

पहिलो चरणको चुनावलाई पार्टीले सशक्त प्रकारले प्रतिरोध र खारेज गरेको छ । यसक्रममा सीसीएम कमरेडहरू सन्देश पौडेल, केशबहादुर बाँठा, चन्द्रबहादुर खड्का, नारायण महर्जन, बन्धु चन्द, सुमन लिम्बुलगायत चार सय वरिपरि नेता र कार्यकर्ता गिरफतार पर्नुभयो; धेरैलाई झुट्टा मुद्दा लगाएको छ; केही कमरेडलाई जेल पठाइएको छ । कालिकोट, मुगुमा जनताले चुनावलाई शानदार रूपले खारेज गर्नुभएको छ । त्यसक्रममा कालिकोट मालकोटमा धनराज बटालाको सहादतसमेत भएको छ । तीन जना (वेशी बिक, पदम बटाला) गम्भीर घाइते हुनुभयो तर बुथ र सबै चुनावी सामग्री कब्जा गरेर खारेज गर्नुभयो । त्यस्तै मुगुमा साहसका साथ बुथका सबै सामग्री कब्जा गरेर खारेज गर्नुभयो । प्रतिरोध त देशैभरी सशक्त प्रकारले भयो । चुनाव भए पनि सत्ता समानान्तर प्रकारले चल्नेछन् ।

»»यहाँको पार्टीको आगामी कार्यभारका बारेमा बताइदिनुहोस् न ?

नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थालाई समाप्त गर्नु र नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापना गर्नु नै पार्टीको आगामी यात्रा हो । यसको लागि हामीले सबै मोर्चा र सबै क्षेत्रबाट सशक्त पहल अगाडि बढाइरहेका छौं । आउँदा दिनमा अरू शक्तिशाली बनाएर लैजाने छौं ।

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :