संसार झकझक्याइदिने र दुष्टहरूको निद्रा बिथोलिदिने गौरवशाली मृत्यु

कमरेड हेलिन बोलेक ! हामी तिम्रो बलिदानको पथमा हिँडिरहनेछौँ

समय समीक्षा

– ‘जबसम्म तानाशाहीहरूको हातबाट राज्यसत्ता खोसेर गरिबको हातमा सुम्पिन सकिँदैन तबसम्म हामी विश्राम लिनेछैनौँ । हामी मारिन सक्छौँ तर यो समस्या मर्नेछैन । हामीले रोपेका बीजहरू एक दिन उम्रनेछन् अनि वसन्तऋतुको बहार आउनेछ र सबै टर्किस जनताले शीतलता प्रप्त गर्नेछन् ।’
– ‘तिमीहरूले मेरा हात भाँच्यौ । मेरो गला दबायौ । मेरो भ्वाइलिन भाँच्यौ तर टर्कीका जनताको एकता भाँचिनेछैन, आवाज दब्नेछैन, बरु एकता र आवाज उभार भएर उठ्नेछ ।’
– ‘म मानवताका पक्षमा छु, न्यायका पक्षमा छु, समानताका पक्षमा छु र सत्यका पक्षमा छु । तिमी मलाई कम्युनिस्ट भन वा क्रान्तिकारी त्यो तिम्रो कुरा हो ।’

– सहिद हेलिन बोलेक
टर्कीकी विद्रोही संस्कृतिकर्मी

कोरोना भाइरसको सन्त्रासले संसार बन्द भएको बेला इस्तानबुलको झरीमा सबैभन्दा पहिला कमरेड हेलिन बोलेकको अन्त्येष्टिका लागि राता झन्डा र उनको समूहका केही कमरेडहरू निस्किए । हेर्दाहेर्दै इस्तानबुलको सहर दसौँ हजार मानिसको भीडमा परिणत भयो र कमरेड हेलिन बोलेकलाई महान् योद्धा र सहिदको उपाधि दिँदै टर्किस फासिवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध शक्तिशाली नारा लगायो । क्रान्तिकारी टर्कीबासीले लगाएका नारा र हृदयभेदी गीतले टर्कीका क्रूर शासकहरूको पाषाण हृदय त पग्लिने कुरा भएन तर तिनको फासिवादी सत्ताको मेरुदण्ड भने मक्कियो । हेलिनका प्रशंसकहरूले भने– उनको बहादुरीले टर्कीमा राता झन्डाको सम्मान अनि झन्डाले हेलिन बोलेक पाएको छ । हेलिन बोलेकसम्बन्धमा विभिन्न व्यक्तिहरूको लेख, संस्मरण, प्रतिक्रिया र चिठीलाई मूल स्रोत बनाएर यो आलेख तयार पारिएको छ ।

हो, यतिबेला टर्कीबाट आएको छ मुटु जलाउने, रगत उमालिदिने भयानक खबर र झकझक्याइदिएको छ यसले संसारभरकै न्यायप्रेमीहरूलाई– आमूल परिवर्तनका पक्षमा र सत्ताको फासिवादी दमन र प्रतिबन्धका विरुद्ध सङ्घर्षरत साङ्गीतिक योद्धा हेलिन बोलेक मारिइन् । उनको वीरगतिसँगै न्यायप्रेमी आवाजहरू समवेत स्वरमा बुलन्द भए– टर्कीको तानाशाह सरकार मुर्दावाद ! टर्कीको फासिवादी सत्ताको बफादार अमेरिकी साम्राज्यवाद मुर्दावाद ! क्रान्तिकारी हेलिन बोलेक जिन्दावाद । हेलिन अमर रहून् । क्रान्तिकारी आन्दोलन जिन्दावाद ।

 कमरेड हेलिन बोलेक !
भौतिक दूरी टाढा भए पनि
हृदयैबाट लालसलामको सलामी छ तिमीलाई !
तिम्रो गौरवशाली बलिदानलाई !!
एसियाको भूमिबाट, जनक्रान्तिको मैदानबाट ।

हो, यो समय नै यस्तै–यस्तै छ
जो राष्ट्रियताका लागि लड्छ
ऊ राजद्रोही घोषित हुन्छ र मारिन्छ
जनतन्त्र र जनजीविकाका लागि सङ्घर्षमा उत्रिएकाहरू
जनविरोधीमा डामिएर दण्डित हुन्छन्
र देश बेच्नेहरूले थाप्छन् राष्ट्रवादीको पगरी
जनता मार्नेहरूले पाउँछन् जनसेवकको पदवी
आफ्नो देशलाई हाम्रो हो भन्नेहरूका हातगोडामा
लाग्छन् हतकडी, नेल र कोचिन्छन् कारागारमा ।

उल्टो बहेको छ हावा बेस्सरी
र त्यो पनि प्रदूषित हावा
तिम्रो बलिदानीले पनि भनिरहेछ–
उठ ए जोदाहाहरू हो !
इतिहासको यो उल्टो गतिलाई सुल्ट्याउन
हतकडी र नेल लागे पनि हातगोडामा
गौरवशाली मृत्यु परे पनि आफ्नो भागमा
देशका लागि ठानेर उपहार
बुझेर इतिहासले सुम्पेको आवश्यकता
अन्तिमपटक झोक्किनुपर्ने समय हो यो
देश र श्रमिक वर्गका लागि ।

दिनु हुँदैन आँधी बन्न यो दूषित हावालाई
हुँदै–हुँदैन दिनु वेगको स्वरूप धारण गर्न
नष्ट गरिदिनुपर्छ बीचमै, विस्फोट भएर
सरिरहेको छ यो महाकोरोनाजस्तै
दृश्य/अदृश्य महामारी भएर
मारिरहेछ यसले हेलिना र मुस्तफाहरूलाई
र हतकडी लगाइरहेछ देशभक्त, क्रान्तिकारी
एचपी हिमाली, विरही र माइलाहरूलाई !

छैन यसको टेक्ने र समाउने स्थिर र भरपर्दाे ठाउँ
यो कलुषित र प्रदूषित ऐँजेरु पुँजीवाद हो
यो फासिवादी दलाल पुँजीवाद हो
घाँटी दबाएर, सास थुनेर र रगत निचोरेर मार्छ यसले
प्रतिस्थापन गरिदिनुपर्छ यसलाई
शक्तिशाली वैज्ञानिक समाजवादले
नष्ट गरिदिनुपर्छ यसलाई एकीकृत जनक्रान्तिले ।

हेलिन बोलेकका प्रशंसकहरूले भनेका छन् : टर्कीको इस्तानाबुलको एकान्त निवासमा २८८ दिनको भोक हडतालपछि ३ अप्रिल, २०२० मा विश्व–सर्वहारा वर्गलाई नयाँ ऊर्जा दिने २८ वर्षीया क्रान्तिकारी जनवादी गायिका हेलिन बोलेकले मृत्युवरण गरिन् । टर्कीको सत्तासीन पार्टी एकेपी, अमेरिकी साम्राज्यवाद र त्यसका घरेलु दलालविरुद्ध हेलिनले गीत र सङ्गीतका माध्यमबाट आम टर्कीका बासिन्दामा एउटा नवीनतम् क्रान्तिकारी चेतनाको बीज रोपिसकेकी थिइन् । शासक वर्ग हेलिनका जनवादी गीतबाट शासनसत्ताको चाबी गुम्ने डरले उनलाई आमरूपमा माफी माग्न गरेको आदेशलाई कायरताको संज्ञा दिँदै ठाडो अस्वीकार गरेकी थिइन् ।

स्रोतहरूका अनुसार, २८ वर्षीया हेलिन बोलेकको जन्म सन् १९९२ मा टर्कीको सबैभन्दा ठूलो सहर इस्तानाबुलमा भएको थियो । सानैदेखि क्रान्तिकारी स्वभावकी हेलिन १९८५ मा इस्तानाबुल विश्वविद्यालयमा स्थापना भएको समूह योरुमकी सदस्य बनेकी थिइन् । इस्तानाबुल विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै उनी यो समूहमा आबद्ध थिइन् । टर्किस विद्रोहको रक्तरञ्जित झन्डा बोकेकी हेलिन केवल एक क्रान्तिकारी कलाकार मात्र थिइनन्, उनी शोषितपीडित जनताको आवाज उठाउने कुशल योद्धा पनि थिइन् । उनी सदस्य रहेको समूहलाई साम्राज्यवादी शक्ति र टर्किस तानाशाही सत्ताले आँखाको कसिङ्गर ठानिरह्यो र झूट्टा मुद्दा लगाउँदै लखेटिरह्यो । टर्कीका सहर, गाउँ र झुपडीमा मानवता र समानताका आवाजÞ घन्काइरहेको यो समूह छिनभरमै हजारौँ मानिस जम्मा गरेर सहर, गाउँ र बस्तीमा लालक्रान्तिकारी आवाजले गुञ्जायमान बनाउँथ्यो । योरुमले गाएका गीतहरूका कारण हेलिनसँगै यो समूहका सम्पूर्ण सदस्यहरूलाई पूरै टर्कीभरि लोकप्रिय जनकलाकारका रूपमा स्थापित गरेको छ । टर्कीका गाउँबस्तीका निमुखा जनताको आवाजलाई जस्ताको तस्तै उजागर गर्ने यो समूहले टर्कीका शासक वर्गको मुटु हल्लाइदिएको थियो । यो समूह कति प्रख्यात थियो भन्ने कुरा सन् २०१७ मा हेलिन बोलेकले गाएको गीत इल्ले काभगा (जसको अर्थ हुन्छ हामीसँग अर्को विकल्प छैन, केवल सङ्घर्ष) ले पूरै पूर्वीएसिया र दक्षिणीयुरोपमा तहल्का मच्चाएको थियो । इस्तानाबुल विश्वविद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीले सुरु गरेको यो समूह अहिले योरुम ब्यान्डका नामले सुविख्यात छ । यसका केही सदस्यहरू टर्की कम्युनिस्ट पार्टीमा आबद्ध भएकाले पनि होला यसलाई कम्युनिस्ट भन्न थालियो र दमन गर्न थालियो ।

तानाशाहीको अन्त्यको माग गर्दै २८८ दिन लामो आमरण अनशनपछि श्रमिक वर्गका लागि योरुम समूही सक्रिय सदस्य हेलिनले बलिदान दिएको केही दिनपछि अर्का योद्धा मुस्तफा कोककको पनि बलिदानको दुःखद् खबर आयो ।

३ अप्रिल २०२० मा इस्तानबुलमा २८ वर्षीया क्रान्तिकारी संस्कृतिकर्मी हेलिन बोलेकको भौतिक शरीरको अन्त्य भयो तर उनले लेखेका गीत, गाएका गीत र दिएका सङ्गीतहरूले संसारभरका माक्र्सवादी संस्कृतिकर्मी र जनताको हृदयमा झन् ठूलो झन्झनाहट उत्पन्न गरिदिए । क्रान्तिकारी संस्कृतिकर्मीहरूको साङ्गीतिक फोरम योरुम समूह सन् १९८५ मा गठन भएको थियो । स्थापनाकालदेखि नै यो साङ्गीतिक समूहमाथि तानाशाही टर्किस सरकारले पटकपटक धरपकड ग¥यो । बारम्बार मुद्दा चलायो र आन्दोलनकारीहरूलाई जेल हाल्यो । कम्युनिस्ट पार्टीसँग संलग्न भएको आरोपमा हेलिनका साथीहरूलाई जेल हालेपछि उनले आफूहरूले मुक्तिका लागि गाउने गीतको रोजाइको अधिकारका लागि अहिंसात्मक भोक हडतालको बाटो रोजिन् । क्रूर तानाशाही सत्ताको हतियारका सामु हेलिन र उनका कमरेडहरूको शालीन विद्रोहले के स्थान पाउँथ्यो र ! हतियारधारी फासिस्ट सत्ताले अहिंसात्मक आन्दोलनको मर्म बुझेन । अन्ततः आमरण अनशनकै क्रममा २८८ औँ दिनमा उनको बलिदान भयो ।

क्रान्तिकारी संस्कृतिकर्मीहरू आबद्ध योरुम समूहले हजारौँ–लाखौँ दर्शकहरूका बीचमा कयौँ परिवर्तन पक्षधर क्रान्तिकारी गीतहरूका साथै चलचित्र र जागरण अभियान चलाएको थियो । टर्किस माक्र्सवादी लेनिनवादी पार्टीसँग आबद्ध रहेको योरुम समूह सरकारी यातना, दमन र हिरासत झेल्दै संसारका कयौँ देशमा पुर्यो र करोडौँ श्रमिक जनसमूहको हृदयमा गहिरो छाप बसाल्यो । हेलिन बोलेकले फासिस्ट सरकारसँग विचार, गीतसङ्गीत र जीवनलक्ष्य रोज्न पाउनुपर्ने माग गर्दै प्रतिबन्धित समूह र जेलहिरासतमा राखिएका आफ्ना कमरेडरुको मुक्ति हुनुपर्ने माग राख्दै गीत गाइन्, जेल र हिरासत बसिन् ।

हेलिन पछिल्लोपटक सन् २०१६ देखि विद्रोही साङ्गीतिक समूह योरुममाथि लगाइएको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्नो समूहका सदस्यहरूको रिहाइका लागि आमरण अनशन बसेकी थिइन् । उनका सहयोद्धा इब्राहिम गोसेक अस्पातलमा उपचार इन्कार गरेर अनवरत आमरण अनशनमा बसेका थिए ।

कमरेड हेलिन बोलेकले श्रमिक–उत्पीडित र प्रतिबन्धितहरूको मुक्तिका लागि आमरणन अनशनकै क्रममा गौरवशाली बलिदान गरेको डेढ महिनाभन्दा बढी समय बितिसकेको छ । संसारभरका सच्चा क्रान्तिकारी र विद्रोहीहरूले हेलिन बोलेकको बलिदानप्रति रक्तिम अभिवादन व्यक्त गरिरहेका छन् र टर्केली–अमेरिका साम्राज्यवादविरुद्ध घृणाका अभिव्यक्ति बर्साइरहेका छन् । कोरोना त्रासलाई पन्छाएर लाखौँ मुक्तिप्रेमीहरू हेलिन बोलेकको श्रद्धाञ्जलीसभामा उपस्थित भए र विश्व नै तरङ्गित भयो । कोरोना सङ्क्रमणको त्रास यतिविघ्न हुँदैनथ्यो भने करोडौँ विद्रोहीहरूको यो आवाजको बाढीले अमेरिकी कठपुतली टर्कीको तानाशाही पुँजीवादी सत्ता रछ्यानमा पुगिसकेको हुने थियो ! तर पनि हेलिन बोलेकको पक्ष र हत्यारा टर्केली सरकारका विरुद्ध विद्रोहका आवाजहरू घन्किइरहेकै छन् । फासिवादविरुद्ध चरम घृणा र आक्रोश बढिरहेको छ ।

जब हेलिन बोलेकको गौरवशाली मृत्युको खबर सात समुद्रपारिबाट सामाजिक सञ्जालहरू हुँदै यहाँका क्रान्तिकारीहरूका कान, आँखा र मस्तिष्कहरूमा आइपुग्यो, क्षणभरमै त्यो सुकेको खरमा लागेको डढेलोजस्तो भइहाल्यो । सत्ताका नग्न र भाटहरूबाहेक चेतनाको बन्धन नरुचाउने विद्रोही मस्तिष्कहरू त्यो आततायी हत्याका विरुद्ध जुरुक्क उठे ।

तिम्रो जीवन स्वयम्मा ऋणी छ, तिम्रा निधारका रेखाहरूको
तिम्रा आँखाका ज्वालाहरूको, तिमी हराएको कथा हौ मेरो दाजु
पहरा भत्काउने मजदुरहरूलाई, सजिलो होस् भनेर तिमी बोल्दैनौ भने
बगैँचा सजाउनेहरूलाई, नमस्कारसम्म नगरी छोडेर जान्छौ भने
तिम्रो जीवन स्वयम्मा ऋणी छ
– हेलिन बोलेक

स्रष्टा छवि सुवेदीले चैत २८ गते एक भावुक र क्रान्तिकारी पत्र लेखे कमरेड हेलिन बोलेकलाई सम्बोधन गर्दै ‘एक टर्किस योद्धालाई नेपालबाट शब्दगुच्छा’ शीर्षकमा । उनले चिठीमा भनेका छन् : तपाईंको मृत्यु मानवता र स्वतन्त्रताको निमित्त समर्पित छ । म नीलो आकाशको गहिराइमा तपाईंको गीत सुनिरहेको छु । आमजनताको गीतलाई मार्ने कुनै कानुन र हतियार यो बूढो र बहुलठ्ठी पुँजीवादसँग छैन । …सहर बन्द छ । गाउँ सुनसान छ । चैतको हावा हजारौँ यादहरू बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनुदिनु छ । म इस्तानबुलदेखि धेरै टाढा छु । यहाँ त्यहाँको जस्तो घनाबस्ती छैन । आकाश भने उस्तै छ, निखुर नीलो । सायद पालुवाहरू पनि उस्तै छन्, कलिला र जीवनप्रतिको प्रेमले फुरफुर गरिरहेका । सिमानालाई उल्लु बनाउँदै उड्ने चैते हुरीले एउटा खबर इस्तानाबुलबाट यो सानो बस्तीसम्म ल्याएको छ । भर्खरै पालुवा फेरेको मेलको रूखतर्फ हेर्छु, त्यसको हाँगामा बसेर ढिकुर कराउँदैछ । मानौँ शोकगीत गाइरहेको छ । प्रिय कमरेड, तपाईंको मृत्युको खबरले आहत बनाएको छ । तपाईंसँग कहिल्यै भेट भएन, कुराकानी भएन र पनि खबर सुनेर मन अमिलिएको छ । अट्ठाइस वर्षको कलिलो उमेरमा तपाईंले आफ्नो अमूल्य जीवन एउटा लक्ष्यका निमित्त बलिदान गर्नुभयो । तपाईंप्रति हार्दिक श्रद्धाका सुमनस्वरूप शब्दगुच्छाहरू समर्पण गर्दछु ।’

विचार र विचारसँग जोडिएका भावनाहरू कति शक्तिशाली हुन्छन्, त्यसको कुनै आयतन र आकार मापन गर्न कठिन छ । पेरूको पिँजडामा साम्राज्यवादीहरूले अनेक झूट्टा आरोप लगाएर तीन दशकदेखि थुनिराखेका पेरुभियाली क्रान्तिका नायक कमरेड अभिमायल गुज्मान ‘गोन्जालो’ लाई नदेखीकनै संसारभरका क्रान्तिकारीहरूले लाखौँ शब्दहरूले अभिवादन गरे, गरिरहेका छन् । श्रमिक/सर्वहारावर्गका लागि लड्ने पेरूको पेकपा साइनिङपाथमा आबद्ध क्रान्तिकारीहरू र टुपाक अमारुका याद्धोहरू हुन् वा उत्तरकोरियामा साम्राज्यवादको मुटु कँपाइरहेका शक्तिशाली योद्धा कमरेड किम जोङ उन हुन्, संसारभरकै क्रान्तिकारीहरूमा अचम्मको ऊर्जा बन्छन् । भारतीय साम्राज्यवादविरुद्ध लडिरहेका भाकपा माओवादीका छापामार गुरिल्ला हुन् वा नेपालमा नेकपामा आबद्ध जनमुक्ति सेना, एसिया हुँदै अफ्रिकादेखि युरोपसम्मका क्रान्तिकारीका लागि प्रेरणाका स्रोत बन्छन् । कमरेड हेलिन बोलेक पनि त्यस्तै ऊर्जाशील क्रान्तिकारी सांस्कृतिक योद्धा थिइन् टर्कीबाट घरेलु फासिवाद र अमेरिकी साम्राज्यवादविरुद्ध एकसाथ लडिरहेकी । त्यसैले उनको सङ्घर्ष र गौरवशाली बलिदानले संसारभरका क्रान्तिकारीहरूको मुटु छोयो, हृदय पगाल्यो र उनीहरू भावुक र आक्रोशित बन्दै गीत, कविता, संस्मरण र चिठीहरू लेखेर उनको आन्दोलनमा ऐक्यबद्धता जनाए ।

छवि आफ्नो पत्रमा हेलिन बोलेकको ज्यान मार्ने देश टर्की र त्यसको निद्रा समाप्त पार्ने योरुम समूहको परिचय दिँदै लेख्छन् : ‘युरोपको बिरामी’ भनेर चिनिने देश टर्कीको जन्म पहिलो विश्वयुद्धपछि सन् १९२३ मा भयो । राजनीतिक अस्थिरतामा रुमलिएको टर्कीमा सन् १९८० मा सैनिक ‘कू’ भयो । बोल्नलेख्नमा कडाइ गरियो । नाटकघरहरू बन्द भए । गीतहरू घन्किन छाडे । लेख्ने, बोल्ने र गाउने मानिसहरू जेलमा बन्दी बनाइए । सन् १९८५ को एक दिन विश्वविद्यालयको सानो कोठामा ४ जना विद्यार्थीले गीत गाएको सुनियो । अँध्यारो मौनता चिरेर गीत घन्किँदा सुन्नेहरू डराए । अँध्यारोप्रति असहमति जाहेर गर्ने उक्त चारजनाको समूहले एउटा सङ्गीत समूहको निर्माण गर्यो । समूहको नाम थियो– ‘योरुम समूह ।’ यो समूह पिर सुल्तान तथा नाजिम हिक्मतजस्ता हिम्मतिला तुर्केली कविहरूलाई आफ्ना आदर्श ठान्थ्यो । वर्गविभाजित समाजमा केही पनि तटस्थ हुँदैन । उक्त समाजको हरेक चीजमा राजनीति हुन्छ । सङ्गीतमा राजनीति नहुने कुरै भएन । ‘योरुम समूह’ माथि छिटै निरङ्कुश राज्यको नजर पर्यो । टर्कीमा सन् १९५५ देखि नै अमेरिकी सेना छ । योरुम समूहलाई सत्ताले आफ्ना नागरिकहरूको मुखमा ताल्चा लगाएको हर्कत पटक्कै मन परेको थिएन । त्यसैगरी अमेरिकी सेनाले टर्कीको सम्पत्तिको दोहन गरेकोमा पनि समूहको चित्त दुखेको थियो । यो समूहका गीतहरू जनताद्वारा औधी रुचाइए । गीतमा टर्कीका जनताले आफ्नै आवाज भेटे । सत्ताले जनता भड्किने डरले योरुम सङ्गीत समूहमाथि धरपकड सुरु गर्यो । हतियार र कानुनको डन्डाले लोकगीतको गला रोक्न सकेन । गीतहरू झन्पछि झन् बुलन्द बन्दै घन्किन थाले ।’

हो, कमरेड हेलिन बोलेक यही क्रान्तिकारी साङ्गीतिक समूहकी अभियन्ता बनेकी थिइन् । टर्कीका जनतालाई फासिवादबाट मुक्ति दिलाउने उनको अभीष्ट थियो । त्यसैले उनी सरकारबाट हुने कुनै पनि किसिमको दमनको परबाह नगरी सांस्कृतिक अभियान लिएर देशविदेशसम्म पुगिन् ।

टर्कीको अन्तरविरोधबारे छवि भन्छन् : कमरेड हेलिन, तपाईं म जन्मेको सात वर्षपछि मात्र एक कुर्दिस परिवारमा जन्मिनुभयो । तपाईंको परिवार दियाबरकिर भन्ने सहरबाट इस्तानबुलमा सर्यो । दियाबरकिर कुर्दिसहरूको बाहुल्य भएको सहर हो । सैनिक सत्ताले कुर्दिसहरूको भाषा खोस्यो । गाउँहरू जलाइदियो । दियाबरकिरका कुर्दिसहरूले सन्त्रासमा जिउनु पर्यो । तपाईंको मस्तिष्कमा पनि त्यो बीभत्स दमनले बिस्तारै चिमोट्न सुरु गर्यो । योरुम टर्कीमा मात्र नभएर यसको वरपर युरोप र एसियाका केही देशहरूमा लोकप्रिय भयो । समूहले इस्तानबुलको ओकमेदानीमा इदिल सांस्कृतिक केन्द्र खोल्यो । फासिवादका विरुद्ध आमरण अनशनका क्रममा सन् १९९६ मा मृत्युवरण गरेकी एयसे इदिल इर्कमेनका नाममा उक्त केन्द्रको नामकरण गरिएको थियो ।

अमेरिका र टर्कीले आतङ्कवादी घोषणा गरेको क्रान्तिकारी जनमुक्ति पार्टीसँग सम्बन्ध भएको आरोपमा सन् २०१५ मा टर्की सरकारले योरुम सङ्गीत समूहमाथि प्रतिबन्ध लगायो । कलाकारहरूलाई धमाधम गिरफ्तार गर्यो । इदिल केन्द्रमा आक्रमण ग¥यो । बाजाहरू भाँचिदियो । पुस्तकहरू फालिदियो । गीत गाउने गायकहरूलाई आतङ्ककारीको बिल्ला भिराइदियो ।

संसारकै क्रूर शासकहरू आफ्नो अन्त्यका लागि आफैँ खाडलहरू खनिरहन्छन् किनकि उनीहरू सत्ताको उन्मादमा आफ्नो लोकप्रियता अन्त्य हुँदै गएको पत्तै पाउँदैनन्, पत्तो पाएर पनि महसुस गर्न सक्तैनन् वा तिनको बोसो पलाएको मस्तिष्कले त्यो थाहा पाउँदैन । टर्कीमा पनि भइरहेको छ त्यस्तै जस्तो नेपालमा भएको थियो वा भइरहेको छ । निरंकुश राणा शासनमा मकैको खेती पुस्तकमा कृष्णलालले लेखेको कुरा त्यही त थियो जुन कुरा यतिबेला कमरेड हेलिनहरूले टर्कीमा भनिरहेका थिए । गङ्गालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त माथेमाहरूले भनेको पनि त्यही त थियो, शोषण, दमन नगर । जनतालाई अधिकार देऊ तर राणाशासकहरूले त्यसलाई राज्यविप्लव सम्झिए र फाँसी दिए । ०७ सालपछि चिनियाँकाजीहरूले भनेका कुरा, पञ्चायती शासनकालपछि झापाका विद्रोहीहरू वा आजाद, मित्रमणि र फणिन्द्रहरूले भनेको कुरा, २०५२ सालपछि तीफदि, कृष्ण सेनहरूले भनेको र २०७१–७२ पछि कुमार पौडेल र रामकुमारहरूले भनेको त्यही न हो– जनतालाई अधिकार देऊ । शोषण–दमन बन्द गर । तानाशाही अन्त्य गर । तर शासकहरू जनता र विद्रोहीहरूले दिएको सुझाव, उनीहरूले राखेका माग र आन्दोलन–विद्रोहहरूलाई कुल्चिएरै समाप्त पार्छु भन्ने धृष्टता गर्छन्, मूर्खता गर्छन् र आफ्नो आयु छोट्ट्याउँछन् ।

टर्कीको अवस्थाबारे हेलिनलाई मृत्युपछि लेखेको पत्रमा छवि भन्छन् : सरकार कठोर बन्दै जाँदा न्याय र स्वतन्त्रताका पक्षपाती युवाहरूको समूहप्रतिको लगाव घटेन । दमनको कालो बादलले इस्तानबुलको आकाश ढाकिँदै गएको बेला तपाईंले आफूलाई रोक्न सक्नुभएन । जनताको गीत घन्काउँदै देश–विदेशका विभिन्न ठाउँहरूमा जानुभयो । टर्कीमा मात्र होइन, ग्रिसमा पनि तपाईंको ख्याती बढ्यो । तपाईंले स्वतन्त्रता, समानता र सामाजिक न्यायका निमित्त गाउनुभयो । विदेशी हस्तक्षेपका विरुद्ध गाउनुभयो । गाउँदागाउँदै सरकारले झन्डै दुई वर्षअघि तपाईंलाई गिरफ्तार गर्यो । सरकारले जेलमा पनि यातना दिने अभियान नै चलायो । अमानवीय यातनाका विरुद्ध तपाईंलगायत केही साथीहरू जेलभित्रै अनशन बस्नुभयो । तपाईंहरूमाथि आतङ्कवादी सङ्गठन बनाएर राज्यविरुद्ध विद्रोहको योजना बनाएको अभियोग लगाइएको थियो । विश्वभरका लेखक, कलाकार, बुद्धिजीवीहरू, मानवअधिकारवादीहरूले तपाईंहरूको रिहाइका लागि टर्कीको सरकारसँग माग गरे । वकिलहरूको समूह रिहाइको माग गर्दै अनशनमा बस्यो । गएको नोभेम्बर १९ मा तपाईंहरूलाई रिहा गरियो तर योरुम समूहमाथि लगाइएको प्रतिबन्ध नहटाएसम्मका लागि तपाईंहरूले अनशन जारी राख्ने निश्चय गर्नुभयो । स्वास्थ्य एकदमै बिग्रन थालेपछि मार्च ११ मा तपाईं र इब्राहिम गोचेकलाई प्रहरीले अस्पताल लग्यो तर तपाईंहरूले आफ्ना मागहरू पूरा नभएसम्म उपचार स्वीकार नगर्ने भनी अडान लिएपछि पुनः घर फिर्ता गरियो । प्रिय कमरेड, महिनौँको भोको पेट कति कष्टपूर्ण भयो होला ? तपाईंका एकजना साथी मुस्तफा कोसाकले अनशनको २५० दिनमा भनेका थिए, ‘बितेका यी दिनहरूले मलाई धेरै सिकाएका छन् । प्रतिरोधका कठिनाइ र व्यथा पनि मैले भोगेको छु । जिउनु कति सुन्दर कुरा छ । म मर्न चाहन्नँ । म यो अन्याय चाँडो खत्तम भएको हेर्न चाहन्छु । मलाई बचाउनुहोस् ।’ तपाईंकी आमा यतिबेला सबैभन्दा धेरै दुःखी हुनुहोला । उहाँले केही समयपहिला भन्नुभएको थियो, ‘छोरीका स्नायुहरू सुन्निएका छन् । पीडाले ऊ निदाउन सक्दिन । म मेरी छोरीलाई पुनः स्टेजमा उभिएर जनताका गीत गाएको हेर्न चाहन्छु । म मेरो बच्चा मरिरहेको हेर्न सक्दिनँ । यस्तो राम्रो मान्छेले स्टेजमा उभिएर गीत गाएको मन पराउँदैनौ ? मेरा यी शब्द सुन्नेहरू कृपया केही गरिदिनुहोस् ।’

तनाशाहहरू जनताको आवाज कहाँ सुन्छन् र ? उनीहरूलाई जनताको पीडा र वेदनामा मनोरञ्जन लिने बानी परिसकेको हुन्छ जसरी नेपालको जनयुद्धको समयमा सैनिक तानाशाहहरू गिरफ्तार गरेर आफ्नो कब्जामा आइसकेका विद्रोहीहरूमाथि आततायी यातना दिएर, दिन लगाएर आनन्द लिन्थे र विद्रोह कहिल्यै नउठ्ने दिवास्वप्न देख्थे । कृष्ण सेन ‘इच्छुक’ जनयुद्धकालमा सत्ताको फासिवादी आतङ्क र दमन बेहोरेका अब्बल दर्जाका क्रान्तिकारी स्रष्टा थिए । यातना दिएर मनोरञ्जन लिइरहेका शासकहरूलाई निर्भयपूर्वक कृष्ण सेन ‘इच्छुक’ ले ललकारेझैँ कृष्णलालले पनि तत्कालीन राणाशाहीलाई ललकारेका थिए । हो, हेलिनको समूहले पनि टर्कीको फासिवादी सत्तालाई त्यसरी नै ललकारेको थियो । हेलिन र उनका सहयोद्धाहरूले हतियारको बाटो समातेका थिएनन्, उनीहरूले किन त्यसो गरे, यो पछि खुल्दै जाला । विद्रोही स्रष्टाहरूको क्रान्तिकारी सिर्जनाको शक्ति महान् हुन्छ र सत्ता गल्छ भन्ने विश्वासले जितेर पनि हुनसक्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीसँगै योद्धा बनेर हतियारमा सजिएकी हेलिनलाई खोज्ने आँखाहरू पनि छन् । जसरी नेपालमा हजारौँ दिलमाया र चुनुहरूले आततायी सत्तालाई आफ्नो कौशलले हायलकायल पारेका थिए त्यसरी पनि टर्कीको फासिवादी सत्तालाई परास्त गर्न सकिन्थ्यो र हतियारसहितको आततायी सत्तालाई समाप्त पारेर जनसत्ता स्थापना गर्ने यो नै एक मात्र बाटो पनि हो तर हेलिनले साङ्गीतिक विद्रोहमै शक्ति देखिन् ।

यही कुरा दृष्टिगत गर्दै छविले हेलिनलाई लेखेको पत्रमा भनेका छन् : तर टर्कीको सरकारले कसैको सुनेन । ऊ तपाईंको आवाजसँग अचम्मै डराएको थियो । तपाईंहरूले गाउने लोकगीत सरकारका लागि कोरोना भाइरसको आतङ्कभन्दा अझ डरलाग्दो थियो । सरकारले तपाईंको दारुण मृत्यु पर्खिरह्यो । आमरण अनशनको २८८ औँ दिन अर्थात् अप्रिल ३ तारिखको शुक्रबार तपाईंको जीवनको अन्तिम दिन बन्यो । प्रिय कमरेड हेलिन, तपाईंको मृत्यु मानवता र स्वतन्त्रताका निमित्त समर्पित छ । म नीलो आकाशको गहिराइमा तपाईंको गीत सुनिरहेको छु । आमजनताको गीतलाई मार्ने कुनै कानुन र हतियार यो बूढो र बहुलट्ठी पुँजीवादसँग छैन । अलबिदा कमरेड हेलिन ! हामी विश्वभरिका भुइँमान्छेहरू तपाईंलाई सदा सम्झिरहनेछौँ ।’

कमरेड हेलिन !

विचार र चेतनामाथि हतियार दागिरहेको फासिवादी सत्ताले तिम्रो कानुनी र वैध आन्दोलन सुनेन (संसारकै फासिवादी सत्ता र शासकहरूले सुन्दैनन् पनि) तिमी लड्नुपथ्र्यो एके फोर्टिसेभेन राइफलहरू भिरेर जसरी महान् जनयुद्धमा हाम्रा चेलीहरूले भिरेका थिए र सत्तालाई डगमगाइदिएका थिए . तिमीले दिलमाया बम्जनको नाउँ सुन्यौ कि सुनिनौ कुन्नि ! उनी पनि सांस्कृतिक मोर्चाकी सिपाही त थिइन् पहिले । जब शासकहरूले गीत–सङ्गीतको भाषा बुझेनन्, तिनको पाषाण हृदयले विचार, आवाजको भाषा बिर्सिए र बन्दुकको भाषा मात्र बोल्न थाले, उनले पनि गितार र मादल बिसाएर भरुवा बन्दुक बोकेकी थिइन् । भलै उनले तिमीले जस्तै वीरगति प्राप्त गरिन् तर उनले कब्जा गरेको बन्दुक लिएर लड्न थालेका योद्धाहरूले धमाधम युद्धमोर्चाहरू जित्दै गएका थिए र बस्तीहरूलाई मुक्त पार्दै लगेका थिए । भलै हाम्रो कमान्डर मैदान छाडेर भाग्यो, गद्दारी गर्यो । फेरि अर्को जनक्रान्ति आरम्भ भएको छ महान् युद्धका बाँकी कार्यभार पूरा गर्नका लागि । तिमीले बलिदानको बाटो त रोज्यौ नै, यसले क्रान्तिमा थप एउटा ऊर्जा र बलिदानको कोटामा थप एउटा बलिदान थप्यो । तिम्रा सहयोद्धाहरूको पनि बलिदान भई नै रहेको छ र टर्कीको फासिवादी सत्ता र अमेरिकी साम्राज्यवादको पतनमा त्यसले ठूलो अर्थ राखिरहेको छ ।

कमरेड हेलिनको बलिदानपछि थुप्रै नेपाली माक्र्सवादी, प्रगतिवादी र प्रगतिशील लेखकहरूले पनि कलम चोपेका छन् । इमानसिंह बटालाले ‘क्रान्तिकारी हेलिन २१ औँ शताब्दीकी चे ग्वेभारा’ शीर्षक दिएर लेख लेखेका छन् छविले जस्तै । त्यस्तै युरोपबाट उदयराज गौतमले पनि हेलिनको क्रान्तिकारी जीवनगाथा लेखेका छन् ।

बटाला हेलिनको योरुम समूहका बारेमा लेख्छन् : कुनाकन्दराका बस्तीबाट गीत रचना गर्ने यो समूह नेपालमा रक्तिम परिवार र सामना परिवारझैँ थियो । यो समूहले गीत र सङ्गीतबाट जति पनि आम्दानी गर्दथ्यो त्यो सबै लगेर गरिब बस्तीमा बाँड्थ्यो । हेलिन गरिबकी जीवित देबी हुन् । ती बस्तीमा गएर भन्ने गर्थिन्– जबसम्म तानाशाहीहरूको हातबाट राज्यसत्ता खोसेर गरिबको हातमा सुम्पिन सकिँदैन तबसम्म हामी विश्राम लिनेछैनौँ । हामी मारिन सक्छौँ तर यो समस्या मर्नेछैन । हामीले रोपेका बीजहरू एक दिन उम्रनेछन् अनि वसन्तऋतुको बहार आउनेछ र सबै टर्किस जनताले शीतलता प्रप्त गर्नेछन् ।’

हेलिनको योरुम समूहले हालसम्म जर्मनी, फ्रान्स, नेदरल्याड, बुल्गेरिया, सर्बिया, अस्ट्रेलिया, डेनमार्क र अस्ट्रियामा कन्सर्ट गरिसकेको थियो । बटाला अघि लेख्छन् : हेलिन नै कन्सर्टकी मुख्य पात्र हुन्थिन् । उनको प्रस्तुतिमा पूरै दर्शक मन्त्रमुग्ध हुने गर्दथे । यो हेलिनहरूलाई टर्कीको सरकारले १०० औँ पटक झूट्टा मुद्दा लगाएको थियो । हेलिनका कानुनी सल्लाहकारले भनेका छन्– हेलिनलाई कारागार लगिँदा प्रहरीले उनको बजाउने भ्वाइलिन टुक्राटुक्रा पारिदिए र बजाउने हात यही हो भन्दै हेलिनको दायाँ हातसमेत भाँचेको थियो । यति गर्दा पनि हेलिन बिनाहिच्किचाहट भन्ने गर्थिन्– तिमीहरूले मेरा हात भाच्यौ । मेरो गला दबायौँ । मेरो भ्वाइलिन भाँच्यौ तर टर्कीका जनताको एकता भाँचिनेछैन, आवाज दब्नेछैन, बरु एकता र आवाज उभार भएर उठ्नेछ ।

यस वर्षको आरम्भमा भोक हडताललाई ‘आमरण अनशन’ मा परिणत गरेपछि उनको समूहका सदस्य इब्राहिम गोकसेकसँग गैरकानुनी ब्यान्ड ग्रुप योरुमकी सदस्य बोलेकले चिकित्सा हस्तक्षेप गर्न अस्वीकार गरेकी थिइन् ।

‘सबैले हेलिनले गीत गाएको हेर्न चाहेका थिए । उनका गीतहरू स्वतन्त्र रूपमा बज्न पाउनुपथ्र्यो । टर्किस फासिवाद उनको मृत्युका लागि जिम्मेवार छ’, योरुम समूहले विज्ञप्ति निकालेर भनेको छ ।

ब्यान्डले हेलिनलाई सहिद घोषणा गर्दै र प्रतिरोध जारी राख्न आह्वान गरेको छ । यतिबेला पनि कम्तीमा १० जना योरुमका सदस्यहरू कारागारभित्र छन् ।

नेपालका विद्रोही माक्र्सवादी कवि बीपी विद्रोही ‘इच्छुकदेखि हेलिन बोलेकसम्म’ शीर्षक टिप्पणीमा भन्छन् : २०७६ साल चैत २३ गतेको साँझ नेपालमा फेसबुकका वालहरूमा एउटा विषय एकाएक भाइरल बन्यो । विषय थियो टर्कीकी एकजना चर्चित क्रान्तिकारी गायिका २८ वर्षीया हेलिन बोलेकको मृत्युप्रतिको श्रद्धाञ्जली । गायिका बोलेक टर्की सरकारले गीत–सङ्गीतमाथि लगाएको प्रतिबन्धविरुद्ध २८८ दिनदेखि कारागारभित्र भोक हडतालमा थिइन् । सोही क्रममा उनको मृत्यु भएको थियो । हुनत यो घटना तीन दिनअगाडिको थियो । दुईतीन दिनअघिदेखि फाट्टफुट्ट श्रद्धाञ्जलीका स्टाटसहरू भने नआएका होइनन् तर तीन दिनपछि एकाएक भाइरल हुनुको कारण भने अचम्मको छ । लेखक, पत्रकार, साहित्यकार, कलाकारमाथि दमन, धरपकड यातना र हत्याको क्रूर र पाशविक प्रवृत्ति नेपालमा मात्र नभई विश्वभर नै छ । यो पुँजीवादी व्यवस्थाको प्रमुख विशेषता नै हो । नेपालमा पनि कला, साहित्य र पत्रकारिता गरेकै आधारमा थुप्रै स्रष्टा/सर्जकहरूको राज्यले हत्या गरेको छ । भारतलगायत युरोप र पश्चिमा मुलुकहरूमा त्यो शृङ्खला जारी छ । जुन देशमा पुँजीवाद बलियो छ त्यहाँ स्रष्टा/सर्जकहरू सुरक्षित छैनन्, हुँदैनन् । जुन देशको भए पनि, जुन भूगोलको भए पनि स्रष्टा/सर्जकहरूमाथिको दमन, यातना र हत्याले सबै क्रान्तिकारीहरूको मन दुख्छ । हेलिन बोलेकको मृत्युप्रकरण अति नै दुःखद् कुरा हो । यो घटनाबाट फासिस्ट पुँजीवादको जति निन्दा गरे पनि कम नै हुन्छ । यो दुःखद् घटनाले सारा विश्वभरका क्रान्तिकारी स्रष्टा/सर्जकलगायत सम्पूर्ण श्रमजीवी वर्गलाई चिन्तित बनायो । सबैलाई स्तब्ध बनायो । सँगै आन्दोलनप्रतिको प्रतिबद्धता र निष्ठाको पाठ पनि सिकायो । विश्वभरका क्रान्तिकारीहरूले यसमा दुःख व्यक्त गरे र श्रद्धाञ्जली अर्पण गरे ।

नेपालमा भने एउटा अनौठो देखियो । जसले हिजो नेपालका महान् सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’, चुनु, शिल्पा, च्याङ्बा लामाहरूलाई हत्या गरे, हो तिनी र तिनीआसपासका मान्छेहरू हेलिन बोलेकको मृत्युमा फोस्रो श्रद्धाञ्जली अर्पण गर्न तम्सिए अथवा महान् सहिद कृष्ण सेनका हत्याराहरूसँग मिलेर सत्ता चलाइरहेकाहरूका घुँडाबाट धेरै आँसु बगे जसले आफ्नै देशमा एउटा कवि कविता लेखेकै भरमा जेल पर्दा, यातना भोग्दा एउटा शब्द बोलेन, बोल्दैन उही सबैभन्दा पहिला उफ्रीउफ्री बोलेकको मृत्युमा श्रद्धाञ्जली दिन आउँछ ! जो आफ्नै देशमा महिनौँदेखि हिरासतमा यातना बेहोरिरहेका जनकलाकार माइला लामालाई आतङ्ककारी देख्छ उसले टर्कीकी क्रान्तिकारी गायिका हेलिन बोलेकलाई दिएको श्रद्धाञ्जली हो कि श्राप ?

कवि बीपी विद्रोहीले लेखेजस्तै भएको छ नेपालको सांस्कृतिक, राजनीतिक आन्दोलनको इतिहासमा । नेपालमा भएको जनयुद्धलाई आतङ्ककारी क्रियाकलाप भन्ने तर पेरूको जनयुद्धलाई लालसलाम भन्नेहरू पनि यहीँ कम्युनिस्टका नाममा लाम लागिरहेका छन् । सङ्कटको बेलामा इच्छुकलाई बाससमेत नदिने, इच्छुक हिँडेको बाटोलाई सामाजिक फासिवादको बिल्ला भिराउने र राज्यलाई हत्या गर्न उक्साउने तर इच्छुकको बलिदान हुनासाथ तीन हात उफ्रेर मेरो आदर्श इच्छुक थिए भन्दै कविता, गीत र संस्मरण लेख्नेहरू पनि यहीँ विभिन्न खोलका कम्युनिस्ट मुखुन्डो लगाइरहेका छन् । कमरेड हेलिन बोलेकका सन्दर्भमा पनि त्यस्तै भएको छ । यो अवसरवाद र प्रतिक्रियावादको अमिल्दो घोल हो । यसको निराकरण हुनु आवश्यक छ ।

युरोपको डेनमार्कबाट ‘गुपचुप मृत्युवरण गर्ने एउटी क्रान्तिकारी सुन्दरी हेलिन बोलेक’ शीर्षकमा उदयराज गौतमले लेखेका छन् : टर्कीको कुनै एकान्त निवासमा २८८ दिन लामो कठोर भोक हडतालपछि यही अप्रिल महिनाको ३ तारिकमा एकजना योद्धा, एक महान् क्रान्तिकारी जनगायक हेलिन बोलेकले चुपचाप मृत्युवरण गरिन् । अमेरिकी साम्राज्यबाद र आफ्नै देशभित्रको क्रूर तानाशाही शासनविरुद्ध जनवादी गीतहरूको माध्यमबाट शासकहरूको मुटु थर्काउने हेलिनले जनताका नाममा गीत गाएबापत माफी माग्न कैयौँपटक टुर्किस सरकारले जारी गरेको ऐलानलाई घृणा गरिरहिन् । टर्किस विद्रोहको रक्तरञ्जित इतिहासमा हेलिन एक बिछट्ट क्रान्तिकारी कलाकार तथा शोषितपीडित जनताको आवाज बोल्ने जनकलाकार थिइन् । उनी आबद्ध गायन समूहले आफूलाई कम्युनिस्ट भनेर दाबी नगरे पनि राज्यले भने सधैँ कम्युनिस्ट भनेर धपाइरह्यो, लखेटिरह्यो । विकट बस्ती, झुपडी र गरिबका आवाज घन्काउने यो समूह यति इस्पातिलो थियो, क्षणभरमै लाखौँ मानिसलाई भेला पारेर आकाश गुञ्जायमान पार्नसक्ने सामथ्र्य राख्थ्यो । त्यो लोकगीत गायन समूह ‘योरुम’ ले रचना गरेका लोकगीतहरू, लाखौँ एल्बमहरू र सिनेमाहरूको लोकप्रियताले हेलिनजस्ता कलाकारहरूलाई टर्कीमा स्थापित गराएको थियो । झोपड बस्तीका विकलाङ्गहरूको आवाजलाई गीत–सङ्गीत र आफ्ना रचनाहरूको माध्यमबाट जनताको माझमा ल्याउने र शासकहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने बनाउन पूरै सफल थियो हेलिनहरूको गायन समूह । सन् २०१७ मा रिलिज भएको हेलिन बोलेकको एउटा एल्बमले निकै ठूलो तहल्का मच्चायो जसको शीर्षक थियो इल्ले काब्गा (Iflle Kavga) जसको अर्थ हुन्छ अब कुनै विकल्प छैन, केवल सङ्घर्ष मात्र । त्यसकारणले पनि उनीहरूलाई कम्युनिस्ट भनियो, लेफ्ट भनियो । ‘हामी सत्यको पक्ष र दमनको विरुद्धमा छौँ, कम्युनिस्ट भन वा लेफ्ट, त्यो तिम्रो कुरा हो’, उनीहरू जवाफ दिन्थे । सम्भवतः गायन समूहका केही सदस्यहरू टर्किस कम्युनिस्ट पार्टीसँग आबद्ध थिए । दक्षिणअमेरिकी गायन समूह Nueva Canyon बाट प्रेरित जनकलाकारहरूको समूह योरुम ग्रुप सन् १९८५ मा मार्मरा विश्वविद्यालयमा अध्ययन गर्ने ४ जना विद्यार्थीहरूको समूहले गठन गरेको थियो जसलाई योरुम ब्रान्डका नामले व्यापक चिनिन्छ । यो ब्रान्डले टर्किस र कुर्दिस लोकगीतहरूको बेजोड प्रस्तुति दिने गथ्र्यो । शताब्दियौँसम्म दबिएका जनआवाजहरूमा सङ्गीत भथ्र्यो र एल्बमहरूको बिक्री गरेर गरिबहरूका झुप्रामा रोटी बाँड्ने काम गथ्र्याे । ‘यहाँ देशको रक्षा र विकासको मात्र कुरो होइन, हामीले मालिकहरूको हातबाट टर्कीलाई खोसेर जनताको हातमा सुम्पिनुपर्छ । त्यसका लागि आवश्यक पर्छ भने समुद्रहरू पनि सुकाउनुपर्छ । हामी सधैँ अनौठो, शोषित, बेरोजगार किसान र जनताको साथ खडा हुनेछौँ । हामी मारिन सक्छौँ तर यो मामला सधैँ रहन्छ’ यस्तै बोल्छन् हेलिनका गीतहरूले । जीवन शर्माका जस्तै लाग्ने हेलिनका गीतहरूले मानवमस्तिष्कमा उद्वेग मच्चाउँछन् । सन् २०१० मा योरुम ब्यान्डको २५ औँ स्थापना दिवसमा इस्तानबुलमा आयोजित कन्सर्टमा १ लाख २५ हजार दर्शकले ८ घन्टासम्म लगातार भाग लिएका थिए । हेलिन जनगायक मात्र नभएर सुप्रसिद्ध रक स्टारसमेत थिइन् ।

गौतम अगाडि लेख्छन् : हेलिनको योरुम ब्यान्डले अस्ट्रेलिया, सिरिया, जर्मनी, फ्रान्स नेदरल्यान्ड, बेल्जियम, डेनमार्क र अस्ट्रियामा धेरै विशाल कन्सर्टको आयोजना भव्यतापूर्वक सम्पन्न गरेको थियो । ४०० पटकभन्दा बढी टर्कीको फासिवादी सरकारले यो ब्यान्डलाई मुद्दा लगाएको थियो । स्थापनाको सुरुआतदेखि नै टर्कीभन्दा बाहिरका देशहरूमा योरुम ब्यान्डले आफ्ना चर्चित कन्सर्टहरू प्रदर्शन गरिसकेको थियो जसमा हेलिनको भूमिका नै प्रथम स्थानमा थियो । अत्यन्त सुन्दरी हेलिनले स्टेजमा प्रस्तुति दिँदा मानिसहरूमा मन्त्रमुग्धता छाउँथ्यो ।

हेलिनका कानुन व्यवसायी तियानका अनुसार पुलिसले यातना दिने क्रममा बन्दीगृहमा हेलिनको भ्वाइलिन बजाउने दाहिने हात भाँचिदिएको थियो भने उनको प्रिय भ्वाइलिनसमेत टुक्राटुक्रा पारिदिएको थियो । ‘भ्वाइलिन टुक््रयाउन सके पनि तिमीहरूले मेरो अन्तरमनको आवाज कहिल्यै टुक्रा पार्न सक्दैनौ’ भन्ने उनको आवाज अहिले पनि इस्तानबुलका झुपड बस्तीहरूमा गुञ्जिरहेको छ । घरबारविहीन गल्लीमा सुत्नेहरूकी साक्षात् देवी हेलिनका सुन्दर फोटाहरूको बिक्री कोरोना भाइरसले त्रस्त टर्कीमा ह्वात्तै बढेको छ । मस्जिदमा महिलाहरू बत्ती बालिरहेका छन् । हेलिनको मृत्युपछि अन्त्येष्टिमा लेखिएको थियो– मानवअधिकारको रक्षा गर्ने व्यक्तिलाई सधैँ राज्य, पुँजीवाद र साम्राज्यवादद्वारा आतङ्कवादीका रूपमा देखाइन्छ किनभने यी व्यक्तिहरू जसले ३ सेन्टका लागि काम गर्छन् उनीहरूको अधिकारहरू चोरी गरिरहेका छन् र आफ्नै पाउच भरिरहेका छन् । तपाईं रगत बगाइरहनुभएको छ । अब शान्तसँग सुत्नुहोस् तर तपाईंका दुस्मनहरू भने अब निदाउने छैनन् ।’

उनी अगाडि लेख्छन् : टर्कीको तानाशाही शासनको सुरुआतसँगै जन्मेको योरुम ब्रान्डले साम्राज्यवादसँगको मिलोमतोमा जनताका आवाजहरूलाई दबाएको थियो । पुँजीवाद, साम्राज्यबाद र तानाशाहीतन्त्रविरुद्ध आगो ओकल्ने योरुम ब्रान्ड सरकारको दृष्टिमा सधैँ कसिङ्गर बन्यो । हेलिनलगायत जनकलाकारहरूविरुद्ध दमन, धरपकड तीव्र बन्यो । १८ जनवरी २०१३ मा हेलिनलगायत यो ब्रान्डका ५ सदस्यहरूलाई आतङ्ककारी समूह जनमुक्ति मोर्चाको सदस्य भएको आरोप लगाई गिरफ्तार गरियो । हेलिनलाई ३ दिनपछि रिहा गरियो । यद्यपि उनीविरुद्धको मुद्दा भने कायमै राखियो । नोभेम्बर २०१६ मा पुनः ८ जना जनकलाकारलाई राज्यविरुद्धको मुद्दा लगाएर पक्राउ गरियो र मुद्दाको सुनुवाइ नगरी जेलमा कोचियो । २०१९ को सुरुमै योरुम ब्रान्डको केन्द्रीय कार्यालयमा राज्यले छापामार्यो । वाद्यवादनका सम्पूर्ण सामग्रीहरू नष्ट गरियो । यो समूहका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाइयो । गीत, एल्बम तथा कन्सर्टहरूमा पूरै प्रतिबन्ध लाग्यो । घरघरमा यो समूहका गीतहरू सुन्नसमेत नपाइने नियम लागू गरियो । योरुम ब्रान्डमाथि प्रतिबन्ध लाग्यो । वर्तमान राष्ट्रपति रिसेप तैप एर्दोगानको तानाशाही सरकारले नाङ्गो नाच देखायो । कलाकारहरूको गीत गाएर जीविकोपार्जन गर्ने मौलिक हकमा डन्डा प्रहार गरियो भने संसारभर मानवअधिकारको ढुङ्ग्रो फुक्ने साम्राज्यबादको नाइके अमेरिकाले एर्दोगानका कुकृत्यलाई आँखा चिम्लेर समर्थन जनायो । विद्रोहस्वरूप हेलिन र उनका सहकर्मी इब्राहिम गोसेकले अनिश्चितकालीन भोक हडताल सुरु गरे । योरुम ब्रान्डमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने र जेलमा भएका सहकर्मीहरूको मुद्दा फिर्ता लिएर उनीहरूलाई रिहा गर्नुपर्ने मुख्य माग थियो जसलाई निरङ्कुश सत्ताले कुल्चिँदै गयो । इब्राहिमले जेलको कठघरामै र हेलिनले जेलबाहिर आफ्नो घरकै एउटा कुनामा बसेर भोक हडताल सुरु गरे । दुवैजनाको स्वास्थ्य नराम्रोसँग बिग्रन सुरु गर्यो । अन्ततः इब्राहिमलाई २५ फेब्रुअरी २०२० मा जेलमुक्त गरियो । जेलजीवनबाट छुट्कारापछि पनि इब्राहिमले घरमै भोक हडताल जारी राखे भने हेलिनको भोक हडताल पहिलादेखि नै जारी थियो । अकस्मात् दुस्मनका जल्लाद राज्यका सिपाहीहरूले हेलिन र इब्राहिम दुवैको घरमा जबर्जस्ती प्रवेश गरी दुवैलाई अस्पताल लग्यो । अप्रिल १ देखि नै हेलिनको शरीरमा अक्सिजनको मात्रा टुट्न लागिसकेको थियो । दुस्मनको सामुन्ने औषधि खाएर बाँच्नुभन्दा सगर्व प्राण त्याग्ने बाटो उनले रोजिन् । अन्ततः ३ अप्रिल २०२० मा उनले पहाडभन्दा गह्रौँ मृत्युवरण गरिन् ।

हेलिनको गौरवशाली बलिदानपछि नेपाल र विश्वभरकै क्रान्तिकारी स्रष्टा, संस्कृतिकर्मीहरूले टर्कीको फासिवादी सरकारका विरुद्ध र हेलिनका पक्षमा अभियान सञ्चालन गरे । अभियान हेलिनलगायत योरुम समूहका अन्य सदस्यहरूप्रति टर्की सरकारको क्रूरता र हत्याको विरोधप्रति पनि लक्षित थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिव अशोक सुवेदीको नेतृत्वमा सञ्चालित उक्त अभियानले नेपालको जेलमा रहेका संस्कृतिकर्मी एवम् नेकपाका नेता सुदर्शन, रणवीर, शिलु, माइला लामा, बन्धु चन्द, अभिलाश, सुमनसिंह पौडेल तथा भारतीय जेलमा रहेका कवि तथा विचारक बरबर राव, प्राध्यापक साइबाबालगायत अन्यायपूवर्क जेल र हिरासतमा राखिउका राजबन्दीहरूको रिहाइको माग गर्नुका साथै उनीहरूको आन्दोलनप्रति ऐक्बद्धता जनाएको थियो ।

‘गैरकानुनी बन्दी स्रष्टाको रिहाइ र हेलेन बोलेक हत्या–प्रकरणविरुद्ध विश्वव्यापी अभियान’ नाम दिइएको उक्त अभियानमा लामबद्ध हुन आह्वान गर्दै भनिएको थियो : आदरणीय, प्रिय मित्र, कमरेड, प्रियजनहरू ! संसारभरका प्रतिक्रियावादी शासकहरूले नेपाल, भारतलगायत संसारभरकै जेल र हिरासतमा गैरकानुनी रूपमा थुनामा राखेका स्रष्टाहरूको बिनासर्त रिहाइको माग गर्दै कोरोना सङ्क्रमणबाट समेत जोगाउन, न्यायको आवाज शक्तिशाली बनाउन र टर्कीमा हत्या गरिएकी संस्कृतिकर्मी हेलिन बोलेक प्रकरणविरुद्ध विश्वव्यापी अभियानमा समर्थन जनाउन तपाईंको समर्थनको भूमिका महत्वपूर्ण रहेको र तपाईंको पनि सहयोगको अपेक्षा गरिएकाले यो अभियानमा लामबद्ध बन्नुहोस् ।

अभियानको आह्वानमा भनिएको थियो : आज एकातिर नेपाल, भारतलगायत संसारभर अन्यायपूर्वक जेल–हिरासतमा राखिएका संस्कृतिकर्मी, स्रष्टा, राजनीतिक नेतृत्वको बिनासर्त रिहाइ र टर्कीमा मारिएकी संस्कृतिकर्मी हेलेन बोलेक हत्याविरुद्ध अभियान र माक्र्सवादी सांस्कृतिक आन्दोलनमाथिको प्रतिबन्धविरुद्ध आन्दोलन/अभियान जारी छ ।

अभियानमा रसुवाली कवि, बीपी विद्रोही, झपेन्द्रराज वैद्य– प्रेस स्वतन्त्रता सेनानी, नेपाल, माणिकबहादुर लामा, लेखक एवम् अभियन्ता, सुदर्शनराज पाण्डे, लेखक, पत्रकार, अग्निराज पौडेल अराप, नेपाल–जनगणतन्त्र कोरिया लेखक/पत्रकार मञ्च, महासचिव, वीरेन्द्र थपलिया– माक्र्सवादी साहित्य प्रतिष्ठान, क्यानाडा, सन्तोष थपलिया– गीतकार, गायक, अमेरिका, चेतनाथ चौलागाईं– हङकङ, चीन, हरि शिवाकोटी, सिनेकर्मी– क्यानाडा, हिमलाल पराजुली, नेपाल–रुस लेखक/पत्रकार मञ्च महासचिव, विश्वम्भर लामिछाने– अधिवक्ता एवम् जर्बुट्टा कलाकार, सिन्धुली, प्रसिद्धा शर्मा– माक्र्सवादी साहित्य प्रतिष्ठान, सिन्धुली, कल्पना पौडेल जिज्ञासु, अन्तर्राष्ट्रिय साहित्य सम्मेलन, जीवेन्द्र शाही ‘नीलगगन’, अम्बिका चन्द– साहित्यकार/पत्रकार, झनक श्रेष्ठ– साहित्कार/पत्रकार, सुविन न्यौपाने कान्जीभाइ लेखक, जितेन्द्र तामाङ लेखक तथा जनमुक्ति सेनाका पूर्वकमान्डर, रत्नप्रसाद अनामणि, साहित्यकार, विज्ञान शर्मा, लेखक, राजनीतिक विश्लेषक, तुलसी बास्कोटा, लेखक तथा फिल्म निर्देशक, घनश्याम तिमल्सिना, फिल्म निर्देशक, कलाकार, अर्जुन बुढाथोकी खेलाडी, राजनीतिकर्मी, योगेश बराल राजनीतिकर्मी, कुन्साङ कान्छा, अर्थराजनीतिक विश्लेषक, शङ्कर दुलाल, लेखक, फिल्म निर्माता, राज्य राई, फिल्म निर्देशक, वसन्त भेटुवाल, राजनीतिकर्मी, जीवन हमाल, लेखक, पत्रकार, दिपेन सिम्खडा, लेखक, सरोज सुनामी, लेखक, नमराज बिस्ट, लेखक, मुक्तककार, कब्बु कबेरी, लेखक, नवीन घिमिरे, कलाकार, सर्वश्रेष्ठ, लेखक, उत्तम श्रेष्ठ, लेखक, पत्रकारलगायत रहेका छन् ।

संस्थागत रूपमा माक्र्सवादी साहित्य प्रतिष्ठान, अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति, नेपाल–जनगणतन्त्र कोरिया लेखक–पत्रकार मञ्च, नेपाल–रुस लेखक–पत्रकार मञ्चलगायत क्षेत्रबाट समेत यो आततायी हत्याकाण्डका विरुद्ध घृणा व्यक्त गर्न र सङ्घर्षमा उत्रिन आह्वान गरियो ।
हेलिनको बलिदानपछि नेपालकी पत्रकार एवम् कवि अम्बिका चन्दले सामाजिक सञ्जालमा लेखिन् : मानिसमा जब निष्ठा र भविष्यप्रतिको विश्वास गहिरो हुन्छ उसको अगाडि मृत्यु पनि कायल हुँदोरहेछ । अनि त मृत्युको परिभाषा पनि बदलिन पुग्दोरहेछ । कोभिड १९ ले मरेका करिब एक लाख मानिस एकातिर, तिमी एक्लै अर्कोतिर । हार्दिक श्रद्धाञ्जली हेलेक बोलेक तिमीलाई । यसरी कयौा क्रान्तिकारी संस्कृतिकर्मीले हेलिनको बलिदानलाई लिएर चिन्ता र चासो व्यक्त गरे र सर्वहारा क्रान्तिप्रति ऐक्यबद्धता प्रदर्शन गरे ।

यतिबेला मातृभूमिको गाथा लेख्ने सुदर्शनहरूको हातमा राजद्रोहको हतकडी छ, राष्ट्रियताको गीत लेख्ने अनिल शर्मा विरहीहरू संगीनधारीहरूको घेरामा छन् अनि देश र जनताको मुक्तिका गीत गाउने, जीवन अर्पिने माइला लामाहरू जेलभित्रै राजद्रोहको मुद्दा झेलेर विद्रोहका कथा लेखिरहेका छन् । हो, यतिबेला यता मात्र होइन, उता टर्कीमा पनि हावा प्रदूषित नै चलिरहेको छ । जनताका गायक, सङ्गीतकार र अभियन्ता हेलिन बोलेक र मुस्तफा कोककहरूले प्रतिबन्धका विरुद्ध मुक्तिको गीत गाउँदागाउँदै आमरण अनशनमै बलिदान दिएका छन् श्रमिक वर्गको मुक्तिका लागि । यी बलिदानले पनि प्रमाणित गरेका छन्– यो भद्र अवज्ञा वा शालीन विद्रोहको होइन, संसारकै फासिस्टहरूका विरुद्ध आगो ओकल्दै सशस्त्र क्रान्तिमा लामबद्ध हुनुपर्ने समय हो ।

मूल स्रोतहरू :

छवि सुवेदी
इमानसिंह बटाला
उदयराज गौतम
अम्बिका चन्द
रसुवाली कवि
बीपी विद्रोही
ग्रुप योरुम न्युज
बीबीसी
र विभिन्न व्यक्तिका सामाजिक सञ्जालमा प्रस्तुत स्टाटसहरू ।

लेख स्रोत : दृष्टिकोण निर्माण मासिक, असार, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :