नेकपामाथिको प्रतिबन्ध खारेज गर्न माग गर्दै पोर्चुगल बस्ने नेपालीले केपी वलीलाई पठाए ध्यानाकर्षणपत्र

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले पोर्चुगलका लागि नेपालका राजदूत दीपक अधिकारीमार्फत प्रधानमन्त्री केपी वलीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । केपी वलीको सामाजिक फासिवादी दलाल सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको भन्दै पोर्चुगल मोर्चाले उक्त प्रतिबन्धको खारेजी र दमन तथा धरपकड गरिएका राजनीतिक बन्दीहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको हो ।

मोर्चाले नेपालदेखि पोर्चुगलसम्मका बिचौलियाहरूले यहाँका नेपालीहरूलाई ठग्ने, श्रम र लैङ्गिक शोषण गरेका थुप्रै घटनाहरू भएकाले यस्ता घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न नेपाली दूतावासको मातहतमा उच्चखाले संयन्त्र बनाउन मोर्चाले माग गरेको छ ।

राजदूत अधिकारी आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन पहिलोपटक पोर्चुगल आइपुगेका र यहाँका सङ्घसंस्थालाई पालैपालो भेट्न समय दिएको बेला मोर्चाले शुक्रबार ध्यानाकर्षणपत्र बुझाएको हो । मोर्चाका महासचिव प्रदीप अधिकारीको नेतृत्वमा गएको टोलीले अध्यक्ष पूर्णबहादुर विकद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र बुझाएको थियो ।

ध्यानाकर्षणपत्रको पूर्ण विवरण यसप्रकार रहेको जनाइएको छ :

श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमांडौँ, नेपाल

बोधार्थ

श्री दीपक अधिकारी
महामहिम राजदूत
नेपाली दूतावास फ्रान्स,

45bis Rue des Acacias,

75017 Paris, , फ्रान्स

महोदय,

हाम्रो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगल नेपालमा वर्तमान दलाल तथा नोकरशाही संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि हुने नेपाली जनताको आन्दोलनमा, विश्वका सबैखाले न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने, नागरिकहरूको मानवअधिकारको रक्षार्थ सङ्घर्ष गर्ने, नेपाली राज्यसत्ताको कारणले बिदेसिन बाध्य पोर्चुगल वा संसारभरिका नेपालीहरूको समस्या समाधानमा पहल गर्ने, नेपाली तथा पोर्तुगिसहरूका बीचमा सामाजिक तथा सांस्कृतिक सम्बन्धमा अभिवृद्धिको विकासलगायत गतिविधिहरू गर्दै आइरहेको हाम्रो सङ्गठन यहाँमार्फत निम्नविषयहरूमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ :

१) नेपालको राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता सुनिश्चितताका लागि सङ्घर्ष गर्न पाउने नेपाली जनताको राजनीतिक अधिकारलाई हनन गर्दै सामाजिक फासिवादी सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दमन, धरपकड तुरुन्त बन्द गरी सम्पूर्ण राजनीतिक बन्दीहरूलाई बिनासर्त तत्काल रिहा गर्न र प्रतिबन्ध खारेजीको जोडदार माग गर्दछौँ ।

२) देशमा बढ्दै गएको भ्रष्टचार, कालोबजारी, हत्या हिंसा, बलात्कार, शोषण, सामाजिक ऊत्पीडन, मानवअधिकारको उल्लङ्घन, महँगी, शिक्षा, स्वास्थ्यजस्ता विषयमा हुने दलाली तथा व्यापारीकरण, राज्यद्वारा गरिएको अपारदर्शी कारोबार, नीतिगत भ्रष्टाचार र अनेकखाले काण्डहरूको बिनाकुनै हस्तक्षेप छानबिन गर्दै दोषीउपर उचित कारबाही गरियोस् ।

३) कोरोना परीक्षण, उपचार र क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन गरियोस् । कोरोना महामारीका कारण प्रत्यक्ष रूपले आम जनजीविकामा पर्न गएको असरलाई तत्काल राज्यद्वारा उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् ।

४) विदेशमा अलपत्र परेका नेपालीलाई यथाशीघ्र राज्यको पहलमा उद्धार गरियोस् ।

५) पोर्चुगलमा अहिलेसम्म करिब तीस हजारभन्दा बढी नेपालीहरू रहेको र यो सङ्ख्या दैनिकजसो बढ्दै गएको छ । यहाँ आइसकेपछि नेपालीहरूले गर्नुपर्ने प्रशासनिक काम र नेपाल–पोर्चुगल सरकार राज्यस्तरीय सम्बन्ध विस्तारका लागि पोर्चुगलमा नेपाली दूतावास र नेपालमा पोर्चुगलको कूटनीतिक नियोगको आवश्यकता रहेको छ । यसका लागि सम्बन्धित निकायबाट यथाशीघ्र पहल गरियोस् ।

६) हाल नेपाली राजदूतावास फ्रान्सले पोर्चुगल पनि हेर्नुपर्ने भएकाले यहाँका नेपाली समुदायलाई सेवासुविधा प्राप्त गर्न अत्यन्त कठिनाइ र असहज भैरहेको सर्वविदितै छ । त्यसको समाधानका लागि फ्रान्सस्थित नेपाली दूतावासले चुस्त र द्रुत सम्पर्क माध्यमको विकास गरोस् ।

७) पोर्चुगलमा नेपालीहरूको सङ्ख्या बढ्ने क्रममा मृत्युदर पनि बढ्दो छ । यो विषयलाई नेपाली राजदूतावास फ्रान्सले गम्भीरतापूर्वक लिन र ठोस योजना तय गर्न आग्रह गरिन्छ । हालसम्म अधिकांश मृतक व्यवस्थापनका लागि आमनेपाली समुदायसँग आर्थिक सङ्कलन गरी शवको व्यवस्थापन गरिँदै आएको छ । हामीले पोर्चुगलको लिस्बनस्थित अवैतनिक वाणिज्यदूत कार्यालयलाई यस विषयमा उपल्लो निकायसँग सम्पर्क गरी ठोस योजना बनाउन बारम्बार ध्यानाकर्षण गरिसकेका छौँ ।

८) वैदेशिक रोजगारीको सिलसिलामा नेपालदेखि पोर्चुगलसम्म बिचौलियाहरूले यहाँका नेपालीलाई ठग्ने, श्रम र लैङ्गिक शोषण गरेका थुप्रै घटनाहरू छन् । यस्ता घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसारको कारबाही गर्न नेपाली दूतावासको मातहतमा उच्चखाले संयन्त्र बनाइयोस् ।

९) नेपाली राजदूतावास पोर्चुगलस्थित आमनेपाली जनसमुदायको हकमा सरल सम्पर्क, सर्वसुलभ सेवा र सहयोगी माध्यमको कडी बनोस् ।

उल्लिखित बुँदाहरूमा ध्यानाकर्षण गराउँदै हाम्रो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगल यहाँका हरेक सामाजिक गतिविधिमा सधैँ सहयोग र सहकार्य गर्दै अगाडि बढेको र आगामी दिनमा पनि यसैअनुरूप अगाडि बढ्ने कुरा जानकारी गराउँछौँ ।
धन्यवाद

पूर्णबहादुर विश्वकर्मा
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगल

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :