वलीको सस्तो बोलीविरुद्ध जनकपुर, रौतहट र वीरगन्जमा प्रदर्शन

काठमाडौँ : सस्तो भाषण गरेर लोकप्रियता कमाउन पल्केका केपी वलीको राम जन्मभूमि अयोध्यासम्बन्धी भाषण भने नेपाल र भारत दुवैतिर चरम विवादमा परेको छ । यता पार्टीभित्रैबाट राजीनामा माग भइरहेको समयमा जनकपुरलगायत तराई क्षेत्रका जिल्लाहरूमा वलीको विवादास्पद अभिव्यक्तिविरुद्ध प्रदर्शनका साथै पुतला पनि जलाइएका समाचारहरू प्राप्त हुन थालेका छन् । भारतको बनारसमा त वलीको अभिव्यक्तिविरुद्ध कपाल नै मुण्डन गरेर नेपालविरुद्ध नारा लगाउन लगाइएको घटना सार्वजनिक भइसकेको छ ।

समाचारअनुसार प्रधानमन्त्रीको पदमा रहेका वलीले रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएको विरोधमा तराईका विभिन्न जिल्ला सदरमुकाममा विरोध प्रदर्शन भएको हो । जनकपुरधाम, रौतहट र वीरगन्जमा शनिबार वलीको अभिव्यक्तिविरुद्ध प्रदर्शन हुनुका साथै वलीको पुतलासमेत जलाइएको छ ।

जनकपुरधामका विभिन्न भागमा हिन्दु युवा परिषद् नेपाल, विश्व हिन्दु परिषद्, रामानन्दीय वैष्णव सङ्घलगायत विभिन्न धार्मिक संस्थाका ब्यानरमा वलीका विरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन भएको हो ।

केपी वलीले २०७ औँ भानुजयन्तीका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राम जन्मभूमि अयोध्या भारतमा नभई नेपालकै पर्साको ठोरीमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए । वलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएको भन्दै नेपाल र भारतमा व्यापक आलोचना, विरोध र प्रदर्शन भइरहेको छ ।

जनकपुरलगायत स्थानमा आयोजित प्रदर्शनमा आन्दोलनकारीले ‘धर्म र आस्थामाथिको राजनीति बन्द गर, हिन्दुत्वता नै राष्ट्रियता हो, धर्मनिरपेक्षता मुर्दावाद, तथ्यहीन विवाद बन्द गर, केपी वली मुर्दावादलगायत नारा लगाएको समाचारमा जनाइएको छ ।

रौतहटबाट प्राप्त समाचारअनुसार जिल्ला समन्वय समिति रौतहटका सदस्य अशोककुमार झाको नेतृत्वमा विश्व हिन्दु परिषद् रौतहट शाखाले वलीले रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । पर्साको वीरगन्जमा पनि वलीको अभिव्यक्तिका विरुद्ध प्रदर्शनका साथै उनको पुतला दहन गरिएको छ ।

विश्व नै कोरोना महामारीबाट त्रस्त र अस्तव्यस्त भइरहेको समयमा केही दिनअघि बेसारपानी खाएर हाछ्यूँ गरेपछि कोरोना भाग्छ भन्दै सस्तो अभिव्यक्ति दिएपछि वली उपहास र निन्दाको पात्र बनेका थिए । नेपालमा पानीजहाज चलाउने, घरघरमा ग्याँसका पाइप जडान गर्ने, टोलटोलमा रेल कुदाउनेजस्ता सस्तो लोकप्रियताका भाषण र उखानटुक्काहरुका कारण वली बारम्बार विवादमा पर्दै आएका छन् । अयोध्यासम्बन्धी अप्रामाणिक र विवादास्पद अभिव्यक्ति भने वलीका लागि महँगो साबित हुने लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :