सीता गुफानजिकैको सीमास्तम्भ एसएसबीले फ्याँक्यो

वली–भाषणको दुष्प्रभाव

काठमाडौँ : केपी वलीले राम जन्मभूमि नेपालमै पर्छ भनेर चर्चामा आएको पर्साको ठोरीस्थित सीता गुफानजिकैको सीमास्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उखेलेर फ्याँकिदिएको समाचार प्राप्त भएको छ ।

स्थानीय बासिन्दा शनिबार बिहान सीताको पूजा गरेर फर्किएपछि एसएसबीले दिउँसो सीमास्तम्भ उखेलेको जानकारी ठोरी गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले सञ्चारमाध्यमलाई दिएका छन् । एसएसबीले दिउँसो उक्त स्तम्भ उखेलेर भारततर्फ नै फ्याँकेको प्रत्यक्षदर्शी ठोरीबासीले बताएको जानकारी कुँवरले दिएका छन् । यो सीमास्तम्भ भारतीयले उखेलेको भन्दै ठोरीबासीले नाराबाजी गर्दै विरोध गरेका छन् ।

सीता गुफादेखि झन्डै ५ फिटमाथि डाँडामा रहेको ४३६ नम्बरको सीमास्तम्भ एसएसबीेले नेपालीहरु नभएको अवस्थामा उखेलेर लडाएको नेपालीहरुले बताएका छन् । एसएसबीले गरेको यस्तो कार्यको विरोध भएपछि नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीसहितका प्रतिनिधि बसेर सीमास्तम्भ जहाँजहाँ छन्, त्यहीँ गाड्ने सहमति भएको् र अस्थायी रूपमा गाडिएको बताइएको छ । सीमाविद्हरु बसेर नक्साङ्कन गरेपछि स्थायी रूपमा बलियो स्तम्भ गाड्न सहमति भएको समाचारमा जनाइएको छ ।

पर्सा जिल्ला प्रशासन प्रमुख विष्णुकुमार कार्कीले भने सीमास्तम्भको जग कमजोर भएको र ढलेको हुनसक्ने बताएर घटनालाई ढाकछोप गरेका छन् । एक फिट मात्रै गाडिएकाले ढलेको हुनसक्ने उनले बताएका छन् । एसएसबीले सीमास्तम्भ फ्याँकेपछि अहिले त्यस क्षेत्रमा सशस्त्र प्रहरी राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :