कता जाँदैछ माओको चीन ?

नेपालमा चीन एकपटक फेरि विवादमा तानिएको छ । दिल्लीपरस्तहरूलाई ‘चीन पनि उस्तै हो’ भन्नका लागि मसला प्राप्त भएको छ । नेपालका सन्दर्भमा चीन हिजो पनि बेलाबेलामा विवादमा आउँथ्यो वा ल्याइन्थ्यो । तर हिजो र आजको चीन फरक छ । हिजो विश्व–भाइचारा चस्माले माओको चीनले विश्वलाई हेथ्र्यो । आज देङको चस्माले कालो र सेतो बिरालो चिन्दैन । पैसा मात्र चिनेको हुन्छ ।

चीन र नेपालका बीचमा सगरमाथा अर्थात् चोमोलुङ्मा कसको ? भन्ने विवाद चल्दा अध्यक्ष माओले ‘मैले नेपालको सगरमाथा चिनेको छु, त्यसभन्दा बढी बहादुर नेपालीलाई चिनेको छु’ भन्नुभएको थियो जसले एकैपटक सगरमाथाको स्वामित्व र नेपाली विरासतको सम्मान गरेको थियो । त्यसबेलाको चीनले नेपालका राजाहरूको सम्मान गथ्र्यो । भारतमा गणतन्त्र थियो, पुँजीवादी गणतन्त्र । सामन्ती शासन नेपालमा थियो । भारतको पुँजीवादी गणतन्त्र सारतत्वमा राजाविहीन सामन्ती शासन थियो । त्यसैले अध्यक्ष माओले ‘भारतका गणतान्त्रिक नेताहरूभन्दा नेपालको राजतन्त्र धेरै प्रगतिशील छ’ भन्नुभएको थियो ।

चिनियाँहरू विश्वमा जहाँ गए पनि जनताको सेवाका लागि जान्थे । विकास निर्माणमा जाँदा राता किताब, औषधी र सेवाभाव हुन्थ्यो । २०२४/०२५ सालतिर पोखरा–काठमाडौँ पृथ्वी राजमार्गको गजुरीखण्ड बन्दै थियो । चिनियाँहरू कम्युनिस्ट प्रचार गर्थे । महिलाहरूसँग आदरभाव राख्थे । बिरामीको उपचार गर्थे । धादिङ, छेवाङ गाउँ वरपर लोकगीत नै बन्यो —

‘छेपारालाई बिर्खे टोपी
पन्जाबीलाई फेटा
गजुरीमा चाइना आयो
कागजभन्दा सेता ।’

चिनियाँ नागरिकको सम्मानमा त्यो लोकगीत बनेको थियो । आज चिनियाँहरू बैङ्क तस्करी गर्छन् । ठगी र लुटपाट गर्छन् । ‘भारतीयहरू पाप–धर्मबाट डराउँछन्, चिनियाँहरूलाई त त्यो बन्धन पनि छैन, यिनीहरू मापाका हुन्छन्’ आज यस्तो जनमत बन्दैछ । यो पशुचेतको निर्माण हुनुको प्रेरक शक्ति के हो ? यसको पछाडि देङको जसरी पनि पैसा कमाऊ, ‘जे उपभोग छ त्यही सत्य’ भन्ने पुँजीवादी विचारले काम गरेको छ । पुँजीवादी जीवन, माक्र्सवादी जामाको असली चित्र हो आजको चीन ।

चीन आफैँ घेराबन्दीमा पर्दै गएको छ । हिजो हङकङमा चीनको स्वामित्व हुनुपर्छ भनेर हजारौँ मजदुर–किसान विद्रोह गर्थे । चीन सरकारका पक्षमा हङकङमा जनप्रदर्शन हुन्थ्यो । तर आज त्यहाँ चीनको झन्डा जल्दा एकजना पनि सडकमा देखिन्न । चीनका पक्षमा सरकार र प्रहरी मात्र देखिन्छ । चीनमा भएको हस्तक्षेपका विरुद्ध विश्वभरिका जनता उत्रन्थे । आज चीन फुटाउने घोषणा हुँदा कोही कतै बोल्दैनन्, बरु खुसीयाली मनाइन्छ । बन्दुक र डलरको थुप्रोले मात्रै स्वतन्त्रताको रक्षा हुन सक्दैन ।

गत वैशाख तेस्रो साता अर्थात् १ मईमा चीनकी काठमाडौँस्थित राजदूत होउ यान्छीले विभाजित हुनै लागेको सत्तारूढ पार्टीलाई फुटबाट बचाइदिएको चर्चा भयो । अहिले फेरि उनी बहुमत जनता, बहुमत सांसद, बहुमत पार्टी नेताको दैलोदैलो चहारिरहेकी छन् । चीन अल्पमतको शासन चाहन्छ ? चीन सूक्ष्म व्यवस्थापन गर्न चाहन्छ ? भारत र चीनको चरित्र र छिमेकीप्रतिको दृष्टिकोणमा भेद मेटिएको हो ? प्रश्न उठेको छ ।

सन् २०१५ मा चीन र भारतको बीचमा लिपुलेक भन्ज्याङ भएर व्यापारिक र धार्मिक पर्यटन मार्ग बनाउने सहमति भयो जुन भन्ज्याङ नेपालको थियो । ल्हासामा नेपाल र बङ्गलादेशले व्यापार गर्ने वा प्रयोग गर्ने सहमति गर्न सक्छन् ? तर चीनले त्यही ग¥यो । भारतसँग सीमा विवाद चर्किरहेको बेला चीनको सरकार नियन्त्रित सञ्चारले सगरमाथा चीनको भएको विवाद झिक्यो । सञ्चारगृहको असावधनी वा सनकको घटना मात्र थिएन । नेपालीको नाडी छाम्न खोजिएको थियो ।

केही वर्षअघि चीन भ्रमणका क्रममा साङ्घाईका पार्टीनेता ची पिङलाई बिदाइ कार्यक्रममा मैले ‘चिनियाँ पुँजी विश्वभरि फैलिँदै गएको छ । त्यसको रक्षार्थ पछिपछि सेना लग्नुहुन्न ?’ भन्दा ती नेताले ‘हामीले त्यत्रो दुःख भोगेर आयो, हामीले त्यही कसरी गरौँला र !’ नरम शैलीमा भनेका थिए । तर हामीले देखिरहेका छौँ, चिनियाँ सेना पाकिस्तान, श्रीलङ्का हुँदै अफ्रिकासम्म पुगिसकेको छ । उसले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्दछ । अब अमेरिका, चीन र भारत एउटै ड्याङका मूला भैसके ? प्रश्न उठेको छ– माओको चीन आज कता जाँदैछ ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :