सोनाम सिङ बललाई तत्काल विनासर्त रिहा गर – पासाङ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति मकवानपुरले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य सोनाम सिङ बललाई घरबाट दलाल सत्ताका प्रशासनले स्थानीय जनप्रतिनिधिको सड्यन्त्र, सुराकी तथा उक्साहटमा गरेको गिरफ्तारप्रति घोर निन्दा एवं भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी पासाङले विज्ञप्तिमार्फत सोनाम सिङ बललाई बिनाकारण गिरफ्तार गरेको भन्दै विनासर्त तत्काल रिहाई नगरेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् दलाल सत्ता र प्रशासन हुने चेतावनी दिएका छन् ।

जिल्ला सेक्रेटरी पासाङले विज्ञप्तिमा भनेका छन्, ‘दलाल फासिवादी सत्ताका नाइकेहरु कसरी विदेशी शक्तिका सामुन्नेमा लम्पसार पर्ने भनेर तँछाड मछाड गरेर प्रतिस्पर्धा गरिरहेका छन् । देश र जनतालाई भन्दा आफू र बिचौलियको भविष्य सुन्दर बनाउने अभियानमा दलाल सत्ताका नाइकेहरु लागि परिरहेका छन् । देश र समग्र समाज कोरोनाको महामारीमा ग्रस्त छ । यस्तो विषम परिस्थितिमा समेत मानवियताको सिमा नाघेर भ्रष्टाचार र कमिसनखोरीमा सरकार फसेको छ ।’

पासाङले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘जनता र समग्र राष्ट्रको हितमा तल्लिन नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु अकारण पक्राउमा पर्नु दलाल सत्ताको चाटुकारका निम्ति नौलो होइन । यसै सिलसिलामा बिरामी भएर आराम गरिरहेका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य कमरेड सोनाम सिङ बललाई घरबाट दलाल सत्ताका प्रशासनले यसै दलाल स्थानीय जनप्रतिनिधिको सड्यन्त्र, सुराकी तथा उक्साहटमा भएको गिरफ्तारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सेक्रेटरी पासाङले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘हाम्रो पार्टी यस्तो गैर कानुनी हर्कतको घोर भत्र्सना गर्दछ । गिरफ्तार कमरेड सोनाम सिङ बललाई तत्काल विना सर्त रिहाई गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । तत्काल रिहाई नगरेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् दलाल सत्ता यसको प्रशासन हुने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :