भारतीय भुमि रक्षाकोलागि नेपालीले ज्यान दिनुपर्ने कहिलेसम्म

काठमाडौँ : नेपाली शासकहरुले गरेको कमजोरीका कारण नेपालको राष्ट्रियता खतरामा परिरहेको बेला नेपाली युवाहरु अर्काको देशमा ज्यान गुमाउनु परिहहेको छ । नेपालको छिमेकी भारतले नेपालको सिमा क्षेत्रमा अत्याचार गर्ने सिमा मिच्ने र भारतीय मिडियाहरुले लगातार नेपालमाथि प्रहार गरिरहेका छन् । तर दुःखको कुरा नेपालका नौजवान युवाहरुले त्यही भारतमा गएर भारतको लागि ज्यान बलिदान गर्नु परिरहेको छ ।

भारतले पाकिस्तान र भारत होस अथवा भारत चीन सिमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई खटाउने गरेको छ । केही समय अगाडि विवादीत भूमि दोक्लाममा पनि चीन र भारतबीच तनाव उत्पन्न भएको बेला भारतले नेपाली फौजलाई सिमा क्षेत्रमा खटाएको थियो । हालै मात्र विवादीत भूमि लद्दाखमा भएको चीन र भारतीय सेनाबीच भएको दोहोरो झडपमा परी २० भारतीय सेनाको ज्यान गएको ठाउँमा पनि अहिले नेपालीहरु कार्यरत पल्टन खटाएको छ । उता बारम्बार गोली हानाहान हुने जम्मु कश्मीर क्षेत्रमा पनि अग्रमोर्चामा पनि भारतले नेपाली फौज खटाएको छ ।

शुक्रबार विहानमात्रै भारतीय सेनामा कार्यरत गोरखाका सम्बर गुरुङको भारतीत सिमा रक्षाको क्रममा ज्यान गयो । गोरखाको आरुघाट गाउँपालिका–१, मान्वुस्थित माझगाउँका सम्बर भारतीय सेनामा हवल्दार थिए ।

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) नजिक शुक्रबार सवेरै भारत पाकिस्ताबीच भएको गोलावारीमा पाकिस्तान तर्फबाट प्रहार भएको गोली लागेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नौसेरा क्षेत्रमा खटिएका सम्बरको मृत्यु भयो ।

उक्त क्षेत्रमा बारम्बार हुने गरेका झडपहरुमा नेपालीहरुको ज्यान गइरहेको छ । हरेक बर्ष अङ्ग्रेज साम्राज्यवादकालीन गोरखा भर्ती केन्द्रमा नेपाली युवाहरु भर्ती हुने गरेका छन् । सीमा क्षेत्रमा गोरखा रेजिमेन्ट खटाउने कुरा यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि छ । तर रोजगारको लागि भारतीय सेनामा भर्ती हुने र रोटी रोजीको जोहो गर्ने कार्य नेपाली युवाहरु निजी जीवनको लागि गर्वको विषय ठान्ने गर्दछन् ।

नेपाली सुरक्षाकर्मी सेना–प्रहरीको तुलनामा दुई गुणाभन्दा बढी पारिश्रमिक पाउने भएपछि नेपाली युवाहरु भारतीय सेनामा भर्ति हुन रहर गरिहरहेका हुन्छन् । यसको पछाडिको मुलकारण नेपाली दलाल शासकहरुले नेपालमा भएका उद्योगधन्दा, कलकारखाना बेचीखाने र रोगगारका कुनै पनि अवसर सिर्जना नगरेको कारण युवाहरु यसरी अर्काको देशमा गएर छाती थाप्नु परिहेको दुखान्त दृष्टान्त छन् ।

सीमा क्षेत्रमा एउटा देशको सिमा रक्षाको लागि अर्को देशका युवाहरु खटाउने कुरा असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्धको कार्य कहिलेसम्म रहन्छ र अर्काको देशको रक्षाकोलागि नेपालीहरुले ज्यान दिनुपर्ने कहिलेसम्म रहन्छ ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :