देशभर बाढीपहिरो, मृतक र बेपत्ताको सङ्ख्या बढ्यो

काठमाडौँ : अविरल वर्षापछि गएको पहिरोमा परी कास्कीमा ९ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटमा गएको पहिरोमा परी टङ्कबहादुर थापा, उनकी श्रीमती सोममाया थापा, दुई नाती र इसिका थापाको ज्यान गएको हो । पोखरा २५ हेम्जामा पहिरोमा परी रामचन्द्र अधिकारी र उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको छ भने पोखरा २६ मा घर भत्किँदा दुर्गाबहादुर सुनारको मृत्यु भएको छ ।

यस्तै रुकुमको आठबिसकोटमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । उता जाजरकोटको बारेकोटमा पनि पहिरोले २ वटा घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । यस्तै म्याग्दीको मराङमा गएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार म्याग्दीका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परी ३२ जना हराइरहेका छन् । बिहीबार सिन्धुपाल्चोकमा निरन्तर वर्षासँगै आएको बाढीपहिरोमा परी ३३ वटा घर बगाएको थियो भने १९जना अझै हराइरहेका छन् । त्यहाँ २ जनाको मृत्यु भएको थियो ।

लगातार भएको वर्षाका कारण तराई क्षेत्रका कयौँ भूभाग डुबानमा परेका छन् । बिहीबारदेखि सुरु भएको मनसुन चार दिनसम्म सक्रिय रहने भएकाले देशैभरि बाढीपहिरोको जोखिम उच्च रहेको छ । यसरी लगातार परेको पानीले जमिन गिलो हुने भएकाले पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ भने तराईका विभिन्न क्षेत्रहरू डुबानको जोखिममा रहेका छन् । यस्तै नदीहरूमा पनि पानीको बहाव बढिरहेकाले नदी आसपासका बस्तीहरूमा बाढीको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :