देशभर सुरु भयो बाढीपहिरोको बितण्डा

कयौँको मृत्यु, कयौँ बेपत्ता


काठमाडौँ : देशका अधिकांश ठाउँमा बुधबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा कयौँको मृत्यु भएको छ भने कयौँ बेपत्ता भएका छन् ।

लमजुङ बेसीसहरमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । बिहीबार राती ११ बजे खसेको पहिरोले दीपक तामाङको घर बगाउँदा तीनजनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा परी मृत्यु हुनेहरूमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ छन् ।

अविरल वर्षा आज बिहानसम्म पनि रोकिएको छैन । यस्तै पोखराका विभिन्न ठाउँमा गएको पहिरोमा परी ९ जना घाइते भएको र केहीको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

यता सिन्धुपाल्चोकको भोटेकोसी र बाह्रबिसे गाउँपालिकामा गएको बाढीपहिरोले ३३ घर बगाएको छ । बाढीपहिरोमा परी हराइरहेका २१ जनाको अवस्था अझै खुल्न सकेको छैन । बिहीबार गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षा भैरहेको र पहिरोका कारण अरनिको राजमार्ग नै बन्द भएकाले सेना र प्रहरीलाई उद्धार तथा राहत सामग्री पु¥याउन पनि कठिन भएको प्रहरीले जनाएको छ ।

यस्तै लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका मराङमा सातजना बेपत्ता भएका छन् ।

घन्टीबाङमा आज बिहान खसेको पहिरोले दुई परिवारका सातजना बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :