दलाल व्यवस्थाको परिणाम चौरजहारी नरसंहार

पश्चिम रुकुम चौरजहारी सोतीमा जेठ १० गते नवराजलगायत युवाहरूको हत्या भएको त्रासदीपूर्ण घटनाले देश तातिरहेको छ । आक्रोशका ज्वालाहरू देशभरि फैलिरहेका छन् । नवराज विकलगायत आधा दर्जन युवाहरूको लासको प्रकृति, पोस्टमार्टम रिपोर्ट, प्रत्यक्षदर्शीहरूको बयान सबैलाई ध्यान दिँदा उनीहरूलाई पूर्वतयारीका साथ नियोजित रूपमा मारेको देखिन्छ । घटनापछि पीडित परिवारलाई हत्याराहरूमाथि कारबाही हुँदैन कि भन्ने ठूलो चिन्ताले सताएको छ । हत्याराहरूको पहुँच र पकड सदन र सरकारसम्म भएकाले वास्तविक पीडितले न्याय नपाउने, अपराधीहरू विविध बहानामा छुट्ने, देखावटी कारबाहीको नाटक गर्ने हुनसक्छ । नेपालमा हरेक घटनामा आवाजहरू उठ्ने, सुस्ताउने, अन्ततः केही समयको अन्तरालमा हराउने प्रचलन नै बनेको छ । राज्यले यो कुरा राम्रोसँग बुझेको छ । त्यसैले जनतालाई थकाउने, गलाउने, घटना सामसुम पार्ने समयको प्रतीक्षामा राज्य छ । हत्याराहरूलाई जोगाउने खेल भित्रभित्र भइरहेको प्रमाण खोज्न टाढा जानु पर्दैन, सदनमा सम्बन्धित जिल्लाका जनप्रतिनिधिले बोलेको कुरालाई हेर्दा पनि पुग्छ । कर्णाली प्रदेश सरकारको गम्भीर चासो नदेखिनुमा विगतकै जस्तो कमान्डरको प्रतिछाया मुख्यमन्त्रीमा परेन भन्न पनि सकिँदैन । कथनी र करनीमा अन्तर अवश्य हुने देखिन्छ । बाहिर पीडितका पक्षमा, भित्रभित्र हत्यारा जोगाउने खेलमा दोहोरो नाटक चौरजहारी घटनामा भइरहेको छ । अन्ततः न्यायका आवाजहरू मर्छन् । क्रमशः अन्यायपूर्ण खेलका वादशाहहरू जुर्मुराउँछन् । घटनामा को मर्यो भन्नेसँग होइन, काल पल्क्यो भन्नेसँग सावधान हुनुपर्छ । माउ खानेले बाच्छा राख्दैन । अजित मिजार, नवराज विकहरू प्रतिनिधिमूलक घटना र पात्रहरू हुन् । तर यस्ता घटना दिनहुँजसो समाजमा भइरहेका छन् । डर र त्रासमा यस्ता घटना समाजभित्र दबिन्छन् । शासकहरू दबाइरहन्छन् । अब दबिएर होइन, जुर्मुराएर उठ्नुपर्छ । नवराज विकहरूलाई न्याय दिलाउन सक्नुपर्छ । हत्याराहरू उम्कनु हुँदैन । अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ । मृतकलाई राज्यले उचित क्षतिपूर्ति दिलाउनुपर्छ । दलित भएकै कारण अबका दिनमा विविध बहानामा नवराज विकहरू मर्नु नपर्ने गरी हामीले सोच्नुपर्छ । यसका लागि जनदबाब र जनसङ्घर्षकै बलमा न्याय स्थापित गराउने गरी अब सबै जुट्नुपर्छ ।

यो घटनापछि थुप्रै बहसहरू सतहमा उठेका छन् । घटनाको खास कारण के थियो ? यसको खोजी भइरहेको छ । हरेक घटनाको पछि कारण हुन्छ । यी कारणहरू खोज्ने क्रममा आआफ्नो दृष्टिकोणअनुसार छलफल र बहसहरू भैरहेका छन् । कतिपय व्यक्तिहरूले रुकुम नरसंहारलाई पूर्वाग्रहवश जनयुद्धको उपज थियो भन्नेतिर मोड्न खोजिरहेका छन् । हिजोको आधारक्षेत्रमा भएको यस घटनामा माओवादी पृष्ठभूमि भएका समेत व्यक्तिहरू जोडिएका कारण यसलाई जनयुद्धसँग जोड्न खोजेको देखिन्छ । यो नितान्त गलत सोचाइ हो । चौरजहारी घटना जनयुद्धको उपज होइन, जनयुद्धको क्षयीकरणपछि भएको प्रतिक्रान्तिको उपज हो । माओवादीको उपज होइन, वास्तविक माओवादी नहुँदाको उपज हो । वास्तविक पीडित र असहायहरूले न्याय नपाउनु जनसत्ता, जनअदालत र जनसेना नहुँदाको कारण पनि हो । विगतमा जनयुद्धको उत्कर्षसँगै गाउँमा तास खेल्ने मानिस भेटिँदैनथे । रक्सी खाएर श्रीमती कुट्ने घटना घट्दैनथे । ओठ, आँखीभौँ र नाइटोमा मुन्द्रा लगाएर रातदिन नसामा डुब्ने युवाहरू भेटिँदैनथे । दलित र अछूत भनेर हेलाहोचो गर्ने समाज थिएन । कुप्रथा र कुसंस्कार हराउँदै नयाँ संस्कृतिको बीजरोपण भएको थियो । मान्छे जम्मा दुई जातमा सीमित थिए । समाजका हरेक ठाउँमा हुने हिंसाको ग्राफ एकदम घटेर गएको थियो । आर्थिक अभाव भएकै कारण हेलाहोचोमा परेका रामे र श्यामेहरू समाजमा ससम्मान रामबहादुर र श्यामबहादुरका नामले पुकारिन्थे । कथित मुखिया र साहूमहाजनहरूको नामोनिशान समाजबाट हराउँदै गएको थियो । के यो वास्तविकता हामीले भुल्नु हुन्छ ? अन्यायमा परेका जनता त्यतिबेला न्यायको अनुभूतिले रमाएको हामीले बिर्सनु हुँदैन ।

सत्ताभित्र कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका साथसाथै सुरक्षा, सूचना–सञ्चार, संस्कृतिलगायत पर्दछन् । जुन राजनीतिक विचारले सत्ताको निर्देशन गर्दछ अन्य संरचनाहरू पनि त्यस्तै बन्दै जान्छन् । पुरातन र पश्चगामी विचारले सत्ता चलेको छ भने समाज पनि पुरातन तरिकाले नै डोरिन्छ । नयाँ र अग्रगामी चिन्तनले राज्य चलेको छ भने समाज पनि त्यतै जान्छ । समाजमा विविध संस्कार, संस्कृति, मूल्यमान्यताहरू बर्सौंदेखि स्थापति हुँदै आएका हुन्छन् । जुन संस्कार, संस्कृति जनजनको मनमनमा आदतका रूपमा गाडिएर बसेको हुन्छ त्यो आदतको सत्ता ढाल्न निकै अप्ठ्यारो हुन्छ । नूतन र पुरातनको भीषण सङ्घर्षबाट नयाँ संस्कार। मूल्य र मान्यता स्थापित हुने हो । नयाँ सोचविचारले समाज डोरिए पनि सांस्कृतिक रूपान्तरण हुन धेरै समय लाग्न सक्छ । यसमा सचेतन पक्षको भूमिका महत्वपूर्ण हुन्छ । समाज आफैँ क्रमशः परिवर्तन हुँदै जान्छ भनेर त्यत्तिकै छाड्यो भने कहिल्यै रूपान्तरण हुँदैन । जनयुद्धमा यही सचेतन पक्षले मान्छे–मान्छेबीचको भेदलाई अन्त्य गर्दै लगेको थियो । आधार र उपरिसंरचनाबीचको तालमेल मिल्दै गएको थियो । अन्याय–अत्याचारविरुद्ध घरघरबाट विद्रोह गर्ने वातावरण बनेको थियो । यी सब रूपान्तरण सही राजनीतिक कार्यदिशा र कार्ययोजनाबाट सम्भव भएको थियो ।

अहिले परिस्थिति फेरिएको छ । माओवादी पार्टीको मुख्य नेतृत्वमा आएको राजनीति–वैचारिक विचलनसँगै समाज पुरानै ठाउँमा फर्किएको छ । यो अस्वाभाविक होइन । जब अग्रगामी विचार र नेतृत्वमा धमिरा लाग्छ तब जब्बर रूपमा रहेका समाजका पुराना कुसंस्कारहरूले स्वतः टाउको उठाउने मौका पाउँछन् । प्रचण्ड पुष्पकमल दाहाल हुँदै एमालेमा विलय भए । प्रभाकर जनार्दन शर्मामा फर्किएर एमाले भए भने डम्बरबहादुर मल्लहरूको के कुरा गर्नु ? मान्छेको मूल्याङ्कन अनुहार हेरेर हुँदैन । विगतमा के थियो भन्ने कुराले मात्र पनि हुँदैन । आज के छन् ? कुन चिन्तन र पद्धतिमा हिँडेका छन् ? यससँग जोडेर हेरिनुपर्छ । रत्नाकर डाँकु वाल्मीकि बने भने वाल्मीकिहरू पनि त रत्नाकर डाँकु बन्न सक्छन् । माओवादी जनयुद्धको मूल्यमान्यता सबै भुलेर बाटो बिराएकालाई हेरेर जनयुद्ध नै गलत थियो भन्ने बहस गर्नुको कुनै तुक हुँदैन । उनीहरू बिग्रिएका हुन्, जनयुद्ध होइन । उनीहरूले अहिले जनयुद्धलाई ट्रेडमार्कका रूपमा मात्र प्रयोग गरेका छन् । आन्दोलन सबथोक हो, उद्देश्य केही होइन भन्ने बर्नस्टिन पथलाई पछ्याउँदै कुर्सीका लागि अनिश्चितकालीन आमहडताल गर्दै क्रमशः एमालेमा विलोपीकरण भएका छन् । नयाँ जनवाद, वैज्ञानिक समाजवाद छाडेर दलाल संसदीय व्यवस्थाका असली पहरेदार बनेपछि समाजले राम्रो प्रतिफल कसरी पाउने ? होली वाइन र भैँसीपूजा गर्नेहरू नै कथित कम्युनिस्टका नेताहरू भएपछि असहायहरूको सहारा मठमन्दिर, चर्च र अदृश्य शक्ति नभएर के हुन्छ ? पापीहरूले धर्मको वकालत गर्छन् । दुनियाँलाई ठग्नेहरू नै फूलमालामा सजिएर कथित समाजसेवी बनी सामाजिक सञ्जाल र समाजभरि भाइरल हुन्छन् किनकि यहाँ पैसा र शक्तिको आडमा कानुन किन्न पाइन्छ । धर्म र समाजसेवा खरिद गर्न सकिन्छ । तिनैको गुणगान र पूजा गर्ने लावालस्कर खडा हुन्छन् । भरभराउँदो उमेरका कर्णधार नवराजहरू मारिन्छन् । मारिने परिवारहरूको आँसु सुकेर जान्छ । खुसीहरू खोसिन्छन् । अन्ततः मार्ने अपराधीहरूलाई दण्ड होइन, फूलमाला र अबिरले जयजयकार गरिन्छ किनकि यो दलाल पँुजीवादी व्यवस्था हो । सामन्ती जातीय उच्च अहंकारवादलाई संरक्षण यही व्यवस्थाले गर्छ । उच्चजातीय अहंकार कुनै नश्ल, जाति, समुदायविशेषमा मात्र हुँदैन । दलाल सामन्ती सोचाइ र चिन्तनका कारणले हेलाहोचो र उचनिच गर्ने हरेक व्यक्ति जाति र समुदायमा हुने गर्दछ । त्यसैले त उच्चजातीय अहंकारलाई मलजल गर्ने दलाल संसदीय व्यवस्थाकै उपज रुकुम नरसंहार हो ।

समाज अहिले झन भ्रष्ट हुँदै गएको छ । जातीय खाडल झन् ठूलो हुँदै गएको छ । महिला तथा घरेलु हिंसा एकदम बढेर गएको छ । हुनेखाने र हुँदा खानेबीचको दूरी फराकिलो बनेको छ । छोरी, दिदी, बहिनी भन्दैन समाज । घरमा श्रीमती हुन्छे, रमाइलो अरूसँग हुन्छ । हुने तारे होटेलमा, नहुने भट्टी पसलमा रमाइरहेका देखिन्छन् । विदेश जाने श्रीमान् एड्स बोकेर आउँछ, श्रीमती अर्कैसँग हिँडेकी हुन्छे । दलित सधैँको अछूत छ, महिला हिंसा घरघरमा छ । मधेसी सधै अपमानित हुन्छ । राज्य यसलाई प्रोत्साहन दिइरहन्छ किनकि दलाल पुँजीवादी व्यवस्थामा अपराधलाई पैसाले किन्न सकिन्छ । देखाउने पेसा एउटा हुन्छ, भित्री धन्दा अर्को हुन्छ । खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ । समाजलाई यसैमा अभ्यस्त पारिन्छ । अजित मिजार, नवराजहरू दिनहुँ मारिन्छन् । राज्यले हत्यारालाई संरक्षण दिन्छ । त्यसैले नवराज घटना जनयुद्धको उपज होइन, उच्चजातीय अहंकारवादलाई संरक्षण गर्ने दलाल संसदीय व्यवस्थाको उपज हो । देशको स्वाभिमान बेचेर आर्थिक भित्र्याउने व्यवस्था हो दलाल पुँजीवाद । एमसीसी लागू गर्न मरिहत्ते गर्नु यसैको उपज हो । यहाँ राष्ट्रघात गरेर सक्ता टिकाइन्छ । कोसी, महाकाली, गण्डकलगायत सम्झौता त्यसैका उपज हुन् । छाडा र अश्लील समाज यही व्यवस्थाको उपज हो । घरैपिच्छे हुने हिंसा र अन्यायको आवाज सुन्ने जनसेना, जनअदालत यहाँ यति बेला छैनन् । न्यायका आवाजहरू घरसमाजमा नै दबिएर रहेका छन् । त्यसैले समाजमा बर्सौंदेखि जरा गाडिएर बसेको सामन्ती उच्चजातीय अहंकारवादले पैदा गरेका यस्ता समस्या नामको पछाडि दलित वा बाहुन थर जोडेर क्षणिक चर्चा त होला तर सदाका लागि अन्त्य हुँदैन । जात र नश्लका आधारमा मान्छे–मान्छे फुटाएर राज गर्ने दलाल संसदीय व्यवस्थाले नै यो चिन्तनलाई मलजल गर्दै आएको छ । तसर्थ यो व्यवस्थाको अन्त्यसहित सांस्कृतिक रूपान्तरण गर्ने कार्यमा अब ढिला गर्नु हुँदैन ।

त्यसैले न्यायपूर्ण आवाजहरूले फेरि विद्रोह बोल्नुपर्छ । समानताका पाइलाहरू एकाकार भएर अघि बढ्नुपर्छ । नवराजलगायत मानिसका हत्याराहरूलाई सजाय दिने जनअदालत बनाउन सक्नुपर्छ । उत्पीडितहरूको रक्षा गर्नेहरूको पहरेदार जनसेना निर्माण गर्नुपर्छ । राष्ट्रघाती र जनघाती भ्रष्ट नेताहरू र दलाल पुँजीवादी व्यवस्थाको जरा उखेल्न नयाँ मोर्चाको तयारी गर्नुपर्छ । वैज्ञानिक समाजवादको सुन्दर फूल फुलाउन नयाँ क्रान्तिलाई अघि बढाउनुपर्छ । विश्वदृष्किोणको समस्या हल गर्ने सर्वहारा सास्ंकृतिक क्रान्तिलाई सँगै हिँडाउनुपर्छ । समाजमा जरा गाडेर बसेका पुरातन संस्कृतिलाई निरन्तर सांस्कृतिक क्रान्तिमार्फत अन्त्य गरी नूतन संस्कृतिको विकास गर्नुपर्छ । तब मात्र समानतामा आधारित वास्तविक प्रेमको सुन्दर फूल नवराजहरूले फुलाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :