रुकुम चौरजहारी हत्याकाण्ड जातीय अहंकारको निकृष्ट नमुना

रुकुम चौरजहारीको घटनामा मारिएका युवाहरूको गल्ती देख्ने अनि मद्रासी चलचित्रमा जस्तो १५–२० जना केटाहरूको ग्याङ लिएर केटी अपहरण गर्न गएपछि नमारेर के आरती उतारेर पठाउँछन् त ? भन्नेजस्ता कुतर्क गर्ने विभेदकारी, मानवताहीन मानसिकता भएका मनुवाहरूले एकपटक यो घटनालाई मानव मात्र भएर यथार्थ घटना बुझ्ने प्रयास गर्न आग्रह गर्दछु । केही मन्छेहरूको चिन्तन कति सङ्कीर्ण छ भने तिनीहरूलाई मानव मात्र भन्न पनि लाज लग्छ ।

के थियो घटना ?

सञ्चारमाध्यम, सामाजिक सञ्जाल, घाइतेको बयानलगायत विभिन्न स्रोतका अनुसार नवराज विकको टोली केटीले बोलाएपछि मात्र गएको हो । केटा र केटीबीच गहिरो, निस्वार्थ अनि चोखो प्रेम थियो । दुवै बिहे गर्न चाहन्थे तर केटीका परिवारले केटा दलित भएकाले उक्त सम्बन्ध अस्वीकार गरेका थिए । यसअघि पनि नवराज केटीको घर जाँदा केटीकी आमाले जातको कुरा उठाउँदै तथानाम गाली गरेर ज्यान मार्नेसमेतको धम्की दिएकाले आफ्नो सुरक्षाको ख्याल गर्दै विवाह गरी लैजानका लागि गत१० गते शनिबार नवराज साथीहरूको साथमा गएका थिए । तर जातीय अहंकार बोकेका नरपिचासहरू नवराज आउने थाहा पाएर योजनाबद्ध ढङ्गले मार्नकै निम्ति घरभन्दा तल भेरी नदीनजिक १००–१५० को सङ्ख्यामा भाला, ढुङ्गामुडा, बन्चरो लिएर बाटो छेकी बसेका थिए । उनीहरूले बाटो छेकेर बर्बरतापूर्वक आक्रमण गरेको र नवराजलगायतलाई कुटिकुटी मारेर भेरी नदीमा फालेका थिए । साँझको ५ बजेतिर नवराजसँगै उनका अरू ५ जना साथीहरूलाई पनि मारेर नदीमा बगाउँदा पनि प्रहरी प्रशासन बेखबर बस्यो र कतिले घटना मध्यरातमा भएको कुतर्क गर्दै ढाकछोप गर्ने प्रयास गरे ।

घटना भइसकेपछि ढिलो गरी पुगेको प्रहरीले उल्टै नवराजका बाँकी घाइते साथीहरूलाई समत्यो । एउटा बग्दै गरेको लास भेटिएर निकाल्दै गरेको भीडीओ सामाजिक सञ्जालमा चुहिएपछि बल्ल घटना भाइरल हुन पुग्यो । धेरै कुतर्कहरू सुनिए । उनीहरू आफैँ नदीमा हामफालेर मरेका हुन् भन्नेसम्मका । यस्तो हुन्थ्यो भने किन मृतकको टाउकोभरि धारिलो हतियारले हानेको चोट थियो ? प्रत्यक्ष लास निकाल्ने युवाले भनेका छन्– मृतकले पानी पिएका थिएनन् । पेट फुलेको पनि थिएन । आफैँ हामफालेर मरेको भए त पानी पिएर पेट फुल्नु वा ढाडिनुपर्ने होइन र ? त्यसैले बुझ्न सजिलो छ, हामफालेर मरेको हो कि, मारेर फालेको हो कि, मरोस् भनेर फालेको हो ।

के १५० जति हातहतियारसहित लिएर मान्छे मार्ने योजनासहित बसेका मानिसहरूबाट ज्यान गुमाएका नवराजहरू झडपमा परेर मरेका हुन् त ? यसो भन्नेहरूलाई मेरो प्रश्न छ– झडप नै भएको भए केटी पक्षका पनि त कोही न कोही घाइते हुनुपर्ने हो नि, होइन र ? केटीलाई नाबालिग भन्नेहरू, जब उनी आफ्नै इच्छाले २–४ दिन नवराजकै घरमा गएर बस्ने गरेको तथ्य बाहिर आएको छ, यसलाई कसरी लिने ?

यही समाज हो जसले केही दिनअगाडि रूपन्देहीमा एक १३ वर्षीया बालिकाको बलात्कार हुँदा बलात्कारीलाई सजाय दिएर कानुनको कठघरामा उभ्याउनुको साटो उल्टै बलात्कृत बालिकालाई जनप्रतिनिधिसहित बसेर बलात्कारीको जिम्मा लगाए र बालिकालाई मर्न बाध्य बनाए । खोइ, किन उठाएनन् त्यस घटनाविरुद्ध आवाज ?

धेरैलाई अहिले खुब टाउको दुखेको छ, कसरी रुकुमको घटनालाई तोडमोड गर्न सकिन्छ भनेर । दिनदहाडै एउटा नामको पछाडि जोडिने शब्दको कारणले देशका नौजवान युवाहरूलाई कुटीकुटी, काटीकाटी मारिन्छ अनि नदीमा फालिन्छ । यति क्रूर, घृणित र अमानवीय घटना प्रस्ट हुँदाहुँदै पनि गलतलाई गलत भन्न नसक्ने र उल्टै कुतर्क गर्ने अनि आफूलाई बडो विद्वान् सम्झिने मानिसहरूको यस किसिमको हर्कतले अझै पनि समाजमा जातीयतासम्बन्धी उनीहरूको विभेदपूर्ण धारणा प्रस्ट पार्छ ।

यो घटना किन भयो भनेर जति धेरै तर्क, बितर्क र बहस गरे पनि मूल कारण भनेको हाम्रो समाजमा युगौँदेखि जरा गाडेर बसेको जातीय विभेदपूर्ण मानसिकता नै हो ।

धेरैले भन्ने गर्छन् त्यहाँ दलित जातिका युवाको मात्र हत्या भएको छ र ? अवश्य पनि अन्य जातिका युवाहरूको पनि हत्या भएको छ । हो, यहाँ धेरैले भन्ने गरेको तर्कलाई सम्झनुपर्छ– ‘आक्रोश अनि झगडाको बेलामा वेद पढिन्छ र !’ ठीक त्यसैगरी जातीय अहंकार र ब्राह्मणवादी मानसिकताले ग्रसितहरू जो कथित तल्लो जात भनिएको नवराजलाई मार्ने योजना बनाएर तयारी अवस्थामा बसेका थिए, तिनीहरूले त्यो राक्षसरूपी आक्रोशमा नवराजसँगै गएका अन्य साथीहरूको पनि हत्या गरी नदीमा फालिदिए, जसले दलितविरुद्धको घृणा र क्रोधको वेगमा अन्य युवाहरूलाई पनि मारिदिए अर्थात् दलितलाई साथ दिने जोकोही पनि दुस्मन नै हुन् भन्ने सम्झिए । यो घटना हुनुअघि नवराजप्रति गरिएको जातीय गालीगलौज अनि दुव्र्यवहारले यस घटनाको मूल जड जातीय विभेद नै हो भन्ने निश्चित छ ।

‘एउटा कामी केटा भएर हामी उच्च ठकुरी जातका छोरीलाई बिहे गरी लाने हिम्मत गर्नु भनेको समाजमा दलित जातिको हामीप्रतिको डर कम हुनु हो र हाम्रो बराबरीमा आउन खोज्नु हो । तसर्थ यसखालको साहस गर्ने सानो जातका केटालाई तह लगाउनुपर्छ किनकि सानो जातको आउँदो पुस्ताले हाम्रो बराबरीमा आएर हाम्रा छोरीचेलीहरूसँग प्रेम सम्बन्ध राख्ने हिम्मत नगरून् । सधैँभरि थिचेरै राख्न सकियोस्’ भन्ने मानसिकता र समाजमा आफूलाई उच्च बनाइराख्न गराइएको नृशंस घटना हो यो ।

भौगोलिक हिसाबले हेर्ने हो भने रुकुम जनयुद्धको उद्गम अनि क्रान्तिकारी भूमि, हजारौँ नेता अनि क्रान्तिकारीहरूको जिल्ला । हिजो जनयुद्धका क्रममा यस्ता घटना गराउने हिम्मत रुकुम र देशैभरिका कथित उच्च जातिका मान्छेले गर्दैनथे किनभने माओवादीको जनसरकार थियो । बल प्रयोग गरेरै भए पनि रोकेका थिए तर आज समय बादलिएको छ । देशमा कथित गणतन्त्र आएको छ । रुकुमका धेरै नेताहरू शक्ति र सत्तामा छन् तर विभेद भने बढेर गएको छ । यसरी सरसर्ती हेर्दा रुकुममा यसखालको घटना हुनु अकल्पनीय लाग्छ तर विडम्बना ! हिजो यस्ता जघन्य अपराध, अन्याय, अत्याचारका विरुद्ध भाटे कारबाही गर्ने र समाजलाई आमूल परिवर्तन गर्नुपर्छ, जनताको अधिकार सुनिश्चित नभएसम्म आफ्ना सिद्धान्तबाट एक इन्च पनि दायाँबायाँ गर्नु हुँदैन भन्ने प्रतिबद्धता व्यक्त गरेका नेताहरू आज फरक कित्तामा छन् । सिद्धान्त अनि जनयुद्धकालीन जनताका मुद्दाहरू केही पैसा अनि पदका लागि साटिएको छ । हिजो दलित, महिला, जनजाति, किसान, पिछडिएका सर्वहरा वर्गको माया, साथ अनि बलिदानले माथिल्लो स्थानमा पुगेका नेताहरू आज सत्तामोहमा चुर्लुम्म डुबेका छन् अनि आफूलाई त्यहाँ पुर्याइदिने वर्ग र समुदायलाई चिन्न छोडेका छन् । आफ्नो पद र भोट बचाउनका निम्ति यिनीहरू जे पनि गर्न र जुनसुकै कित्तामा उभिन तयार हुन्छन् । यिनीहरू आफूलाई फाइदा हुन्छ भने अपराधीको संरक्षक पनि हुन्छन् । यिनीहरूको यही विचलनका कारण आज रुकुममा यो घटना हुन पुगेको छ ।

आमजनताका अगाडि घामजस्तै छर्लङ्ग भएको यती ठूलो आपराधिक घटनालाई समेत आफ्नो छुद्र राजनीतिक स्वार्थका निम्ति तोडमोड गर्ने दुस्साहस गरेको देखिन्छ । मूलतः हिजो एक दशक लामो जनयुद्ध गरेर आएकाहरू आज सत्ताका मालिक छन्, कानुन कार्यान्वयन गराउने अनि दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउने जिम्मेवारीमा छन् तर पनि उनीहरूको भूमिका सन्देहपूर्ण देखिन्छ र उल्टै अपराधीको संमक्षण गरेको जस्तो सुनिने अभिव्यक्ति तिनीहरूबाट आउँदा यस्तो लाग्छ जनयुद्धकालीन सामाजिक मुद्दाहरू उनीहरूको सत्तामा पुग्ने हतियार मात्र रहेछन् । हिजो सबैखाले अन्याय र अत्याचारका विरुद्ध लड्नुपर्छ भनेर सिकाउने र नेतृत्व गर्नेले नै आज दोषी बचाउने प्रपञ्च रचिरहेका छन् । त्यस्ताले कसैले बिर्सिनु हुँदैन जब अन्याय र अत्याचारले सीमा पार गर्छ त्यसपछि विद्रोहको सुरुआत हुन्छ र यसरी हुने विद्रोहबाट जस्तासुकै शसकहरूको पनि पराजय निश्चित हुन्छ ।

देश मात्र हैन, विश्व नै हल्लिने यति अमानवीय र क्रूर घटना हुँदा पनि आफूलाई विद्वान् ठान्नेहरू यस घटनालाई तोडमोड गर्ने र उल्टै मृतकलाई दोषी देखाउने अचम्म लाग्ने कुतर्क गर्दैछन् । कोरोनाको लकडाउन उल्लङ्घन गरेर त्यहाँसम्म पुग्नुलाई, यस्तो बीभत्स हत्याभन्दा पनि ठूलो गल्ती देख्ने तर्कले देखाउँछ– हाम्रो समाजभित्रको जातीय अहंकारको चिन्तन । अझै पनि हाम्रो समाज कुन युगमा छ ? के हामी साँच्चिकै २१ औँ शताब्दीका मान्छे भन्न लायक छौँ ? एकपटक छातीमा हात राखेर सबैले सोचौँ त ! कथित उच्च जातकी केटीसँग प्रेम गरेकै कारण हत्या भएको यस्तो जघन्य अपराधमा पनि विभिन्न बहाना बनाएर, कुतर्क गरेर दोषीको मनोबल बढाउने काम गर्नु एकल र उच्च जातीय अहंकारी चिन्तनको चस्मा होइन र ? हामीमा भएको उच्चजातीय दम्भ र घमण्डले गर्दा आज हामी मानवता भन्ने कुरा पनि बिर्सिन थालिसकेका छौँ । यो निकै दुःखद् अनि अहिलेको युगका निम्ति लज्जास्पद हो । हामी आफूलाई एक उन्नत प्राणी ठान्छौँ भने आज यही बिन्दुबाट नै यसखाले विभेदपूर्ण मानसिकताबाट मुक्त भएर यथार्थको धरातलमा उभिएर तर्क गर्ने बानीको बिकास गरौँ जसले समाजमा सामाजिक सद्भाव कायम राख्दै प्रगतिको बाटोतिर अघि बढ्न प्रेरित गर्दछ ।

देशका नगरिकहरू कथित सानो जात भएकै कारण मर्नुपरेको घटना आज मात्र होइन । नेपालमा हरेक वर्ष धेरैले कहिले चुलो छोएको, कहिले धारा छोएको, कहिले अन्तरजातीय विवाह गरेको निहुँमा मर्नु परिरहेको छ । हिजो पनि अन्तरजातीय विवाहकै कारण आजित मिजार, शिवशङ्कर दास, सेते दमाई, सङ्गीता परियार र अस्मिता सार्कीहरूको बर्बरतापूर्वक हत्या गरियो । आजसम्म कसैले पनि उचित न्याय पाएका छैनन् र यी तमाम घटनाहरूबाट हाम्रो समाजमा जातीय विभेदको जरा अझै पनि गहिरो छ भन्ने कुराको पुष्टि गर्दै कानुनी राज्य र गणतन्त्रका क्रान्तिकारी मसिहा हुँ भन्ने भन्नेहरूको धज्जी उडेको छ ।

खोइ कहाँ छ दलितका लागि राज्य अनि कानुन ? विगतको घटनाझैँ यस घटनाका दोषीले उन्मुक्ति नपाउनका निम्ति सम्पूर्ण सचेत नगरिक, बुद्धिजीवी, राजनीतिक दल र मिडियाहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दोषीलाई कारबाही गर्न दबाब सिर्जना गर्नु पर्दछ । जातीय विभेद भाषण अनि बोलीमा मात्र नभएर व्यावहारिक रूपमा अन्त्य हुन जरुरी छ । हामी सबैले यो विषयमा गम्भीर भएर सोच्न, सबैखाले विभेदपूर्ण, अमानवीय मानसिकताबाट मुक्त भएर आफूले आफैँलाई परिवर्तन गर्दै अघी बढेनौँ भने त्यसले निश्चय नै समाजमा द्वन्द्व निम्त्याउँछ । अहिलेसम्म दलित समुदाय आफ्नो हक, अधिकार र न्यायका निम्ति शान्तिपूर्ण ढङ्गले आफ्ना आवाजहरू बुलन्द पारिरहेका छन् । फेरि पनि राज्यले यस्ता घटनाका दोषीलाई उन्मुक्ति दिने चेष्टा गर्दै घटनालाई बेवास्ता गर्छ भने सम्पुर्ण दलित समुदाय साथै न्यायप्रेमी र क्रान्तिकारी तप्काहरू एक भएर विद्रोह गर्नुको विकल्प छैन ।

(लेखक नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :