पश्चिम रुकुम र साँस्कृतिक प्रतिक्रान्ति

रुकुम र जाजरकोट जनयुद्धको समयमा क्रान्तिका तुफानी केन्द्र हुन् । जनयुद्धको शुरुआतदेखि उत्कर्षको समयसम्म जातीय विभेदका विरुद्ध साँस्कृतिक क्रान्तिका केन्द्र पनि यीनै जिल्ला थिए । तर आज राजनीतिक प्रतिक्रान्तिसँगै साँस्कृतिक प्रतिक्रान्तिका केन्द्र पनि यीनै जिल्ला सावित भए । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वार्ड नम्बर ७ सोतीमा अन्तरजातीय प्रेम र बिवाहको विषयलाई लिएर भएको जघन्य सामुहिक हत्याले यसखाले साँस्कृतिक प्रतिक्रान्तिकारी हर्कतको पुष्टि गरेको छ । जाजरकोट भेरी नगरपालिका ४ रानागाउँ निवासी नवराज विक र पश्चिम रुकुम चौरजहारी नगरपालिका ७ सोती निवासी सुश्मा मल्ल बीचको प्रेमलाई बिवाहमा परिणत गर्न खोज्दा यस्तो मानवता बिरुद्धको अपराध घट्न गएको हो । यस घटनाले सिङ्गो नेपालको विश्व स्तरमा बदनाम भएको छ भने कथित दलाल लोकतन्त्रको उपहास गरेको छ ।

घटना यहीँ २०७७ जेठ १० गतेको हो । मिडियामा सार्वजनिक भएअनुसार लामो समय प्रेममा रहेको उक्त नवराज र सुश्माको जोडी कथित जातीयताका कारण मानसिक दवाव झेल्दै आएको थियो । केटी सुश्मा कथित उच्च जात मल्ल ठकुरी परिवारको र केटा कथित निच जात विश्वकर्मा परिवारको भएकाले केटी पक्षबाट उनीहरू बिचको प्रेम सम्बन्धलाई कुनै पनि हालतमा बिवाहमा परिणत हुन नदिने कोसिस हुँदै आएको देखिन्छ । किनकि नेपाली समाज सामन्ती हिन्दु धार्मिक अन्ध विश्वास र दलाल पुँजीवादी ढोंङ्गी राजनीतिक चिन्तनबाट ग्रसित छ । कथित उच्च जातीय आडम्बर र पुँजीवादी पाखण्डी ढोंगका कारण अहिले पनि नेपाली समाज जातीय छुवाछूत र बिभेदको सिकार हुँदै आएको छ । यसकै उपज हो चौरजहारी अपराधीक हत्याकाण्ड । यसमा मल्ल परिवार मात्रै दोषी छैन कि सिङ्गो दलाल पुँजीवादी राज्य व्यवस्था मुल दोषी छ । जबसम्म विश्वमा गिता, बाइबल र कुरान जस्ता धार्मिक ठेलीहरुमा हात राखेर कसम खाने पाखण्डी पुँजीवादी राजनीतिक प्रणाली कायम रहन्छ तबसम्म समाजमा जातिभेद, लिङ्गभेद, बर्णभेद, वर्गभेद र प्रेमको हत्या भैरहनेछ । भनिन्छ प्रेममा साम्यवाद हुन्छ । जब विपरीत लिङ्ग वा मानवीय प्रेम एक अर्काेमा बस्छ तब त्यहाँ जात, रुप, धर्म, बर्ग, उमेर र भुगोल सबै समाप्त हुन्छ । केवल एकले अर्कोलाई असल मानव मात्रै देख्छ । तर सामन्ती पुँजीवादी पाखण्डी समाजले यसको ठिक बिपरीत देख्छ र यसको अबरोध बन्छ । जसका कारण प्रेम बिछोडकै कारण कैयौं होनहार युवाहरूले अनाहकमा ज्यान गुमाउनु परेको छ । आज पुँजीवादी समाजका युवा युवतीबीच भ्यालेन टाइनको प्रेम बलिदानलाई लिएर भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाउने चलन खुब चलेको छ । नेपाली समाजमा यस्ता हजारौं भ्यालेनटाइनहरु जन्मिएका छन् तर हाम्रो धार्मिक पाखण्डी र पुँजीवादी ढोंङ्गी समाजले तिनलाई सम्मान गर्न सकेको छैन । सिङ्गो समाज र दलाल पुँजीवादी राज्यले त यसलाई मान्ने कुरै भएन तर वास्तवमा नवराज विक उत्पीडित दलित समुदाय र युवा पिंढीको निम्ति एक साँस्कृतिक योद्धा नेपाली भ्यालेन टाइन भएका छन् । उनीले आफुले मात्रै ज्यान गुमाएनन् सहयात्री साथी पनि सँगै लिएर गए । यो अन्यत्तै दुःखत् र एक्काइसौं शताब्दीको मानव समाजलाई नै कलंकित पार्ने घटना हो ।

यसका विषयमा धेरै कोणबाट सकारात्मक र नकारात्मक बिचारहरु अभिब्यक्त भइरहेका छन् । केही दलित जातीय उत्पीडनको कोणबाट, केही मानवअधिकार तथा प्राविधिक कानुनको कोणबाट, केही सामाजिक साँस्कृतिक कोणबाट, केही धार्मिक तथा कथित उच्च जातीय कोणबाट, केही राजनीतिक कोणबाट त केही समग्र वर्गीय दृष्टिकोणबाट सवालहरु उठ्ने गरेका छन् । यसलाई आ–आफ्नो दार्शनिक तथा वर्गीय दृष्टिकोणले बुझ्ने र विश्लेषण गर्ने कुरा स्वभाविकै हो । किनकि यो संसारलाई हेर्ने र बुझ्ने दुई विश्व दृष्टिकोणमा आधारित चिन्तनको उपज नै हो । त्यसकारण यो घटनाका बिषयमा निम्न तथ्यहरु सहित हेर्न, विश्लेषण गर्न र समाधान खोज्न आवश्यक देखिन्छ ।

१. आध्यात्मिक आदर्शवादले कुनै पनि घटनालाई अंशमा, भावनामा, ढोङ्मा र काल्पनिकतामा हेर्छ । यो अन्धविश्वास र बिज्ञानको योगमा चल्न खोज्छ । यो अध्यात्मवाद र भौतिकवाद, सामन्तवाद र पुँजीवादको अबैध गठबन्धनमा चल्ने चिन्तन प्रणाली हो । यो एकपाटे र एकांगी हुन्छ । तसर्थ यो घटनाका बारेमा जेहो त्यो भन्नको लागि भौतिकवादी दृष्टिकोण चाहिन्छ । यसको मुल दोषी बिभेदकारी वर्गीय समाज ब्यवस्था हो । तर वर्तमान समाज र पक्षले यसलाई त्यसरी हेर्न सकिरहेको छैन ।

२. द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादले हरेक बिषय वस्तुलाई बहुआयामिक पक्षबाट हेर्छ र विश्लेषण गर्छ । यसले बिज्ञानलाई मान्छ । मान्छे स्वयममा सर्वश्रेष्ठ जाति भएकोले यसलाई फरक–फरक उपमा दिएर जात ब्यवस्था कायम गर्नु गलत मान्छ र कम्युनिस्ट समाज व्यवस्था यसको लक्ष्य हो । जहाँ मानवजाती एउटै हुन्छ र सम्पूर्ण विभेदको अन्त्य हुन्छ । जात, धर्म, लिङ्ग , वर्ण र वर्गको आधारमा हुने शोषण, दमन र उत्पीडन मानता बिरोधी अपराध हुन् र यो घटनालाई पनि त्यहीरुपमा लिनुपर्छ । यो मानव सृजित सामाजिक विभेद हो । यसलाई बैज्ञानिक बिचारद्वारा अन्त गर्न सकिन्छ ।

३. यो घटनासँग नेपालमा राजनीतिक प्रतिक्रान्ति जोडिएको छ । हिजो जनयुद्धको बेलामा हजारौंहजार युवायुवतीले स्वइच्छाले अन्तरजातीय बिवाह गर्थे । भित्र मनमा जेसुकै भएपनि अभिभावक र समाजले यसलाई सहजले स्विकार गरेका थिए । समाजमा एक प्रकारले जात सोध्ने र जातीय आधारमा विभेद गर्ने संस्कारको अन्त्य जस्तै भएको थियोे जनयुद्धको समयमा तर जब प्रचण्डले जनयुद्धको बिसर्जन गरे र राजनीतिक प्रतिक्रान्ति भयो तब फेरि तिनै कथित उच्च जात भनिनेहरुले विभेद सुरुवात गरे । कतिसम्म भने सुदुरपश्चिम लगायत देशका विभिन्न ठाउँका बाहुनहरुले जनयुद्धको समयमा माओवादीले हामीलाई दलितको हातको पानी, खाना खुवायो र दलितहरू हाम्रो घरमा छिरायो भनेर हरिद्वार–काँसी गएर चोख्खिएर शुद्ध भएको प्रचार बाहिर आयो र फेरि पुरेत पण्डित्याइमा समाज फस्यो । कतिपय ठाउँमा माओवादी कालमा दलितले आफुलाई असुद्ध पारेको भनि प्रतिसोध लिएको पनि पाइएयो । यो भनेको राजनीतिमा मात्रै हैन संस्कृतिमा पनि प्रतिक्रान्ति भएको हो । यो घटना त्यहीँ प्रक्रियाको एक सिलसिला हो ।

४. राजनीतिक प्रतिक्रान्ति संस्कृतिमा र संस्कृति मानिसको जीवन व्यवहारमा अभिव्यक्त हुन्छ । हिजो भौतिकवादी दर्शनलाई आत्मसाथ गरेको माओवादी आन्दोलन र त्यसका नेताहरु अहिले मन्दिरमा पुजा गर्ने, धर्मको वकालत गर्ने, परम्परालाई मान्ने, (प्रचण्डको भैंसी पुजा, डोल पुजा, मन्दिरमा घन्टी बजाएर पुजा) जातभात मान्ने ठाउँमा पुग्नु, धामीझाँक्री तर्फ फर्कनु त्यसकै परिणाम हो । काँङ्ग्रेस र साविक एमाले पनि पहिले भौतिकवादी थिए, तर जब सामन्तवादसँग समन्वय र आत्मसमर्पण गरे तब तिनै शक्ति पछि गएर अध्यात्मवादी र प्रतिक्रियावादी भए । अहिले माओवादीको एक हिस्सा प्रचण्ड र बाबुराम पनि त्यस्तै भएका छन् । जाजरकोट र पश्चिम रुकुमको चौरजहारीमा जातीय आधारमा भएको यो क्रुर हत्यालाई पनि जनार्दन शर्मा र उनका कार्यकर्ताहरुले लकडाउनको बहानामा ढाकछोप गर्न खोज्नु त्यसकै उपज हो । यो बैचारिक तथा साँस्कृतिक पतनको संकेत हो ।

५. यो घटना स्थानीय जनता, स्वयं घटनामा घाइते भई बाँच्न सफल पीडित, मानवअधिकारकर्मी र सञ्चारकर्मी सबैले जातीय आधारमा भएको हो भन्ने प्रमाणित कुरा उजागर गर्दागर्दै त्यहीँ क्षेत्रबाट निर्वाचित सांसद, पुर्व गृहमन्त्री तथा सरकारी नेकपाका स्थानीय समिति सदस्य जनार्दन शर्माले लकडाउनको समयमा नवराज विकको समूह सुश्मा मल्लको गाउँमा आउँदा गाउलेले हल्ला गर्दा भागेर भेरी नदी तर्ने क्रममा मृत्यु भएको तथा रुकुममा जातीय विभेद नभएको भन्ने भ्रमाक रिपोर्ट जेठ १२ गतेको सदनमा पेश गर्न खोज्नु, उनको निर्देशनमा चल्ने उनकै पार्टीका पश्चिम रुकुम जिल्ला अध्यक्ष गोपाल शर्माले भ्रमपूर्ण काँइते विज्ञप्ति जारी गरेर पार्टीको तर्फबाट पुष्पा वादी लगायत सम्मिलित छानबिन समिति गठन गरेको भनेर घटनालाई बिषयान्तर गर्न खोज्नु, उनकै पार्टीबाट निर्वाचित चौरजहारी नगरपालिकाका भ्रष्ट मेयर निज गोपाल शर्माका दाइ बिशाल शर्माले एभिन्युज टेलिभिजनमा यो घटना अन्तरजातीय सवाल भन्दा पनि कोरोना लकडाउन र केटीको उमेरसँग जोडेर ढाकछोप गर्न खोज्नु, रुकुम घर भई हाल बाँकेबाट निर्वाचित सांसद महेश्वर गहतराजले १२ गतेकै सदनमा आफू पनि त्यहि उत्पीडित दलित जातिको भएको तर रुकुममा त्यस्तो जातीय विभेद नभएको लाचारीपूर्ण भनाइ राख्नु, अपराधी मध्यका नाइके सोही पार्टीबाट वडा अध्यक्ष निर्वाचित डम्बरबहादुर मल्ल र केटीको बुवा बीरबहादुर मल्ल पनि सरकारी नेकपाको कार्यकर्ता हुनु आदिले के साबित गर्छ भने यो सवाल प्रचण्ड समूहको पुर्व माओवादीमा आएको साँस्कृतिक तथा बैचारिक बिचलनको पराकाष्ठा हो । यो साँस्कृतिक प्रतिकान्ति हो । वर्ग बिचलनको उदाहरण हो । यसलाई आम जनताले माओवादी आन्दोलनलाई प्रचण्ड र बाबुरामले संसदवादमा पतन गराएको परिणामको रुपमा बुझ्नुपर्छ र पुनः त्यसका विरुद्ध क्रान्तिकारी आन्दोलनको बोध गर्नुपर्छ ।

६. अहिले पनि यो घटनालाई सरकारी नेकपाको एक पक्षले गलत ढंगले ढाकछोप गर्न खोजेको देखिन्छ । तर घटनामा संलग्न पीडित पक्षको भनाइले त्यसलाई पुरै खण्डन गर्दछ । जस्तो कि पीडित पक्षको भनाइ जो कुटपिटबाट घाइते भई उपचारपछि घर फर्किएका जाजरकोट भेरी नगरपालिका ४ का मदन शाही, सुदिप खड्का र सरोज भडेलले रमाइलो टिभी, एभिन्युज र न्युज २४ टिभीमा रवि लामिछाने लगायतका पत्रकारसँग भने, हामी नवराजले सुश्मा मल्ल भन्ने केटीलाई बिवाह गरेर ल्याउने भनेर लगे । केटीको घरमा नपुग्दै केटीको आमा प्रकाश मल्लले त डुम ठकुरीको छोरी लिन आउने, आज त डुम यतै मर्छस भनेर गाली गरिन । हामी केही नबोलेर तलको नाउलोमा आएर पानी खायौं । त्यहीँ ढुंगामा बसेर एकैछिन कुरा गर्दैगर्दा सयौंको संख्यामा आएका गाउलेले ढुंगामुढा गरेर आक्रमण गरे । हामी ज्यान जोगाउन भाग्यौ । हामी केही कुटाइ खाँदै नदी तरेर पारी जाजरकोट तर्फ गएपनि छोपेर पुलिसलाई बुझाए र उपचार पछि घर फर्कियौ । केही नवराज लगायतलाई गाउलेले भेरी नदीको छेउमा मरनासन्न हुनेगरी पिटेर नदीमा फाले । जस मध्य नवराज विक, टिकाराम सुनार र गणेश बुढाको शब फेला परेको छ भने लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दिप विक वेपत्ता छन् । हामीलाई जबर्जस्ती नदीमा हाम फाल्न बाध्य बनाए । नवराज लगायतको टाउको हसिया, चिर्पट, लठ्ठी र ढुङ्गाले हानेर टाउँको फुटाएको हामीले देखेका हौं । हामी पानीमा पसेकालाई पनि ढुंगामुढाले हानेका थिए । केटीको आमाले वडा अध्यक्षलाई ३ र ४ गाडी मान्छे ल्याउ यी डुमहरुलाई ठिक पार्नुपर्छ भनेर गुहारेकी थिइन र हामीलाई ठकुरीको छोरी लिने साले डुमहरु भनेर लखटेका हुन् । केटाकेटी (नवराज र सुश्मा) को पहिलेदेखि नै लभ थियोे । एकपटक नवराज विकलाई केटी पक्षले चौकीमा थुनाएको पनि सबैलाई थाहा छ । यस भनाइले पनि के पुष्टि गर्छ भने यो हत्या जातीय विभेदकै कारण भएको हो । यस बिषयमा भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीले रमाइलो टिभीको अन्तरवार्तामा स्पष्ट रुपमा भनेका छन् कि यो जातीय विभेदका कारण भएको अपराधिक हत्या हो र यसलाई बिषयान्तर गर्न मिल्दैन । लकडाउनको बिषय भएमा पक्राउ गरेर कानुनी कारवाही गर्न सकिन्थ्यो तर अन्तरजातीय बिवाहको बहानामा लखेटेर नदीको बालुवामा घिसारी घिसारी मारिएको छ । त्यसकारण यो जघन्य अपराध हो । दोषीलाई कडा कारवाही हुनुपर्छ । जाजरकोट कालेगाउँ र स्वयं चौरजहारी सोतीका केही स्थानीयको भनाइ पनि नवराज लगायतलाई कुटेर मारी नदीमा फालेको प्रतिक्रिया छ । वास्तविकता यहीँ हो । यसलाई विषयान्तर गर्न खोज्नु भनेको सुर्यलाई हत्केलाले छेक्नु जस्तै हो ।

७. यति हुँदा पनि यसमा राजनीतिक संरक्षण हुने आशंका सर्वत्र गरिएको छ । किनकि जनार्दन शर्माले अन्तरजातीय बिवाहका कारण हत्या भनि समाचार लेख्ने पत्रकारलाई धम्काएको भन्ने कुरा जेठ ११ गते नै सामाजिक सञ्झालमा आएको थियो । यो कुरा सही होकि भन्ने कुरा उनको जेठ १२ गतेको सदनको प्रस्तुतिले पनि बताउथ्यो । त्यस्तै जाजरकोटको डिएसपी किशोर श्रेष्ठले यो जातीय विभेद भन्दा पनि लकडाउनको कारण हुन सक्ने र केही संघ संस्थाले उचालेर नविल विक लगायतको लाश बुझ्न नदिएको भनाइ रमाइलो टिभीमै बोलेका थिए । यी डिएसपीलाई जातीय विभेद भन्न अनुसन्धान चाहिने तर लकडाउन उलंघन भन्न अनुसन्धान चाहिदैन ? त्यस्तै चौरजहारी इप्रकाको प्रहरी निरिक्षक, जाजरकोटको सिडिओ, पश्चिम रुकुमको सिडिओे र डिएसपी, नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाही, चौरजहारीका मेयर विशाल शर्मा, रुकमका डबल नेकपाका अध्यक्ष गोपाल शर्मा र स्वयं जनार्दन शर्माको अभिव्यक्ति र प्रतिक्रियाबाट पनि के शंका उठ्छ भने यसलाई राजनीतिकरण गर्ने, बिषयान्तर गर्ने र मुद्दालाई कमजोर पार्ने खेल हुनसक्छ । यसको जनस्तरबाट शसक्त प्रतिवाद हुन जरुरी छ । सत्य कुरालाई संसदीय राजनीतिको फोहरी खेलले ढाकछोप गर्न खोज्नु क्षणिक पानीको फोका र पिसाबको न्यानो जस्तै हो ।

८. जनार्दन शर्मा र उनका जिल्ला स्तरीय कार्यकर्ता, शक्तिको आदेशमा चल्ने प्रशासक, पुलिस अधिकारी र पिडक मल्ल परिवार पक्षधरहरुले मृतकहरु भाग्ने क्रममा आफै भेरी नदीमा हाम फालेर बगेका हुन् भन्ने सफेद झुठ प्रचार गरिरहेका छन् जो सतप्रतिशत झुठ हो । किनकि भेरी नदी आसपासमा बस्ने जो कोही पनि नागरिक सजिलोसँग उल्टा सुल्टा पौडी खेलेर नदी वारपार गर्ने कुरा घाम जत्तिकै सत्य हो । अझ त्यसमा पनि २० बर्ष उमेर आसपासका युवाहरू झन् नदी खेल्न नसक्ने कुरै भएन । त्यसकारण उनीहरु नदीमा डुबेर मरेको भन्दा पनि मारेर फालिएको हो भन्ने कुरा तथ्यगत रुपले नै सत्य हो । अझ यो घटना हुलविल वा अपरझठ घटेको नभइ योजनाबद्ध उद्योग देखिन्छ । नत्र भने एकाएक त्यति ठुलो जमात जुट्ने सवाल नै आउदैन र त्यसको नेतृत्व पनि वडा अध्यक्षले नै गरेको प्रस्टिन्छ । यसमाथि कोही पनि भ्रममा पर्नु हुँदैन र अनुसन्धानलाई विषयान्तर गर्नु हुँदैन । अर्को कुरा कतिपय कथित उच्च जातीय नस्लवादीहरुले उमेर नपुगेको केटीलाई हुल बाँधेर जवरजस्ती लिन खोजेको, लकडाउनको उलंघन गरेको जस्ता संवेदनहिन अभिव्यक्तिहरु दिएको पाइयो । जब कि मध्य नेपालको राप्ती तथा भेरी क्षेत्रमा मनपराएका केटाकेटी भागेर बिवाह गर्ने प्रेम बिवाहको पुरानो चलन हो । नवराजले पनि केटीको आग्रहमा त्यस्तै गर्न खोजेको देखिन्छ । बरु उनीले आफ्नो सुरक्षाको लागि अलि बढी साथी लिएको देखिन्छ । केटी पनि दलित केटासँग प्रेम गरेका कारण परिवार र समाजबाट बढी नै प्रताडित भएको देखिन्छ । यस बिषयमा अब दवाव र डरका कारण सुश्मा मल्लले नवराज विकका बिरुद्धमा बयान दिन सक्छिन तर यो ढोंङ्गी समाज र जातीय आडम्बरमा रमेको बिरबहादुर मल्लको परिवारले स्वयं छोरी सुश्माको इज्जत, भविष्य र आत्मसम्मानको बारेमा केही सोंचेको छ ? यदि उनी यो घटनालाई पचाउन नसकेर आत्महत्या गरिन भने यसको अपराधी पनि यहीँ जातीय आडम्बरी समाज र कथित उच्च जातीय अहंकारवादीहरु हुनुपर्छ । अझ त्यसमा पनि कथित जनप्रतिनिधि डम्बरबहादुर मल्लको नेतृत्वमा त्यस्तो घटना हुनु दलाल पुँजीवादी संसदीय व्यवस्थाको चरित्र उदाङ्गो हुनु हो । भारतमा कथित चुनावको नाममा ४३ प्रतिशत अपराधी संसदमा निर्वाचित भएको तथ्यांक छ भने नेपालमा पनि कथित चुनावको नामबाट करिब ३५ प्रतिशत अपराधी निर्वाचित भएको आँकलन छ । डम्बरबहादुर मल्ल र उनको पार्टीका केही नेतामा पनि त्यहीँ कोटीमा पर्छन् । त्यसकारण यो सामान्य सामाजिक घटना मात्रै नभएर सत्ता राजनीतिसँग जोडिएको बिषय हो । यसलाई कमजोर कानुनी नजरले मात्रै हेरेर पुग्दैन । वर्गीय राजनीति र साँस्कृतिकको दृष्टिकोणले हेर्नुपर्छ र सोही बमोजिमको हल खोज्नुपर्छ ।

९. अहिले विश्वमा पुँजीवाद वा उत्तर साम्राज्यवाद नयाँ ढंगले नश्लवादी दक्षिणपन्थको रुपमा आएको छ । अमेरिकामा बौरियर आएको ट्रम्प नस्लवाद श्वेत सर्वाेच्चतावादमा आधारित भएर अघि बढेको छ र त्यो भारतमा मोदीको हिन्दुवाद र नेपालमा केपी वलीको खच्चर (हिन्दु ंइसाई) नस्लवादसँग गाँस्सिएर आउदैछ । क्वालिटी ल्यावसको सर्वेक्षण अनुसार पछिल्लो चरणमा अमेरिकामा रंगभेद मात्रै हैन हिन्दुवादी जात व्यवस्था समेत हुर्किदै गएको छ । यसका बिरुद्ध पुँजीवादको खण्डन र माक्र्सवादको चर्चा पश्चिमी मुलुकहरूमा बढ्दै गएको छ । नेपालमा पनि दलाल संसदीय पुँजीवादको पुनःस्र्थापनाका कारण बिगत जनयुद्धको समयमा हराउदै गएको जातीय तथा लिङ्गीय विभेद र उत्पिडन पुरानै तर नयाँ भाष्यमा पुनःस्थापित भएको छ । यो देशलाई नै लज्जित हुने पश्चिम रुकुमको घटना पनि त्यसकै प्रतिनिधिमुलक उदाहरण हो । यसको प्रतिवाद सबै प्रगतिशील जनताले गर्न जरुरी छ ।

१०. युस घटनामा पनि खासमा गैर दलितहरु बढी बोल्नु पर्ने थियो । तर सदनदेखि सडकसम्म दलितहरू नै बढी चिल्लाउनु पर्ने दुःखत घटना दोहोरियो । यो मानवता बिरुद्धको अपराध हो तर कतिपय कथित उच्च जात भनिनेहरुले केटीको उमेर, जवर्जस्ती हुलइज्जेत लगायतका पगरी गुथाएर नकारात्मक टिप्पणी गरेको पाइयो । यो निकै दुःखद र खेदजनक सवाल हो । ढोङ्गी समाजको गलत आवरण आफै उत्रिन्छ भने झै कथित उच्च जातको आडम्बरले आज सिङ्गो समाज र स्वयं पिडक परिवारलाई पनि ठुलो क्षति भएको छ । यो कुराको सवालमा समाजवादी शिक्षा र संस्कृति निर्माणमा दलाल सामाजिक फासिवादी केपी वली सरकारको कुनै भूमिका देखिदैन । बरु सत्ता र शक्तिमा बसेर केपीले आडम्बर र ढोङभन्दा अरु केही जनतालाई सिकाएका छैनन् । उनी घोर दक्षिणपन्थी नस्लवादी र प्रतिक्रियावादी हुन् । हेर्दा सामान्यतया यो दुई परिवार र दुई जातीय लडाइँ जस्तो देखिएता पनि यसको मुल नेतृत्व नस्लवादी दलाल संसदीय पुजिवादले गरिरहेको छ । विभिन्न खाले जनआन्दोलन र जनयुद्ध यस्तै नस्लिय पुँजीवादका बिरुद्ध भएका थिए तर आज आएर राजनीतिक नेतृत्वको गद्दारी र बैचारिक बिचलनका कारण जनताले ठुलो धोका खानु पर्याे । विश्वमा जहाँ पुँजीवाद छ त्यहाँ यो समस्या जटिल छ । हाम्रो दक्षिणको छिमेकी भारतमा जातीय विभेदका कारण दैनिक कैयौं दलितहरूले ज्यान गुमाउनु परेको छ । अमेरिका जस्तो पुँजीवादको नायक कहलाएको देशमा पनि रंगभेद, लिङ्ग भेद र आदिवासी रेड इन्डियन लगायतका समुदायमा ठुलो उत्पिडन छ । तसर्थ नेपालमा पनि दलाल पुँजीवाद रहँदासम्म र बैज्ञानिक समाजवादले बिजय हासिल नगर्दासम्म यो समस्या रहिरहनेछ । प्रचण्डको प्रतिक्रान्तिकारी आत्मसमर्पणवाद, केपी वलीको नस्लिय दक्षिणपन्थ र हिन्दुपथिय दलाल संसदीय पुँजीवाद नै आज पश्चिम रुकुम र जाजरकोटको भेरी बगरमा नवराज विक लगायतका युवाको रगत पोखिएको हो । यस दुःखत र बर्बर घटनाका मृतकप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना र दोषीमाथि शख्त कारवाही होस् । अन्यथा जनसत्ताले जनकारवाही गर्नुपर्ने अवस्था आउन सक्छ । सबैलाई चेतना भया ।

मिति : १२ जेठ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :