कार्ल मार्क्स र समाजवादको बहस

विषय प्रवेश

माक्र्स जन्मेको २०० सय वर्ष पूरा भएको छ । उहाँले जर्मनेली दर्शनशास्त्र, बेलायती राजनीतिक अर्थशास्त्र र फ्रान्सेली राज्यक्रान्तिद्वारा दीक्षित भएर साम्यवादी दलको घोषणापत्र प्रकाशित गरेको एक सय ७१ वर्ष भएको छ । हजारौँ वर्षको शोषणकारी संस्कृति र पाँच सय वर्षको आफ्नै उमेरले कटकटिएको पुँजीवादलाई २३ वर्षमै यसले ढाल्यो र फ्रान्सको पेरिसमा कम्युनका रूपमा सर्वहारा वर्गको शासन कस्तो हुन्छ भनेर देखाइदियो ।

अनुभवको कमी र सर्वहारा वर्गको शासन अधिनायकत्वको ज्ञान नभएकाले ७२ दिनपछि पेरिस कम्युनले पराजय भोग्नुपर्यो र ऐतिहासिक बलिदान गर्नुपर्यो । आफ्नै अनुभवबाट सन् १९१७ मा अक्टोबर क्रान्ति विजयी भयो । युरोप र एसियाको पुलका रूपमा रहेको रुसी समाजवादी क्रान्तिले युरोप र एसियालाई आफ्नो विचारले छोप्यो । त्यसपछि एसियाको मङ्गोलियामा समाजवाद लागू भयो ।

दोस्रो विश्वयुद्ध र त्यसपछि पूर्वी युरोपका पूर्वी जर्मनी, अल्बानिया, युगोस्लाभिया, चेकोस्लोभाकिया, रुमानिया, बुल्गेरिया र हङ्गेरीमा भएको क्रान्तिले बूढो पुँजीवादी युरोपलाई नराम्रोसँग हल्लाइदियो । हिटलर, मुसोलिनीजस्ता फासिस्टको अन्त्य भयो । युरोपभरि स्टालिन र बोल्सेभिक क्रान्तिको भयले पुँजीवादी–साम्राज्यवादी काँप्न थाले । एसियाको सबैभन्दा ठूलो साम्राज्यवादी जापान र उसको पाल्तु च्याङ्काइसेकलाई पराजित गरेर माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति विजयी भयो । त्यसपछि भियतनाम, जनगणतन्त्र कोरिया (उत्तरकोरिया), क्युबा, कम्बोडिया इत्यादि मुलुकमा समाजवादी क्रान्ति सम्पन्न भए ।

स्टालिनको मृत्युपछि साम्यवादी दोसल्लाधारी खु्रस्चेभ आए पूर्वसोभियत सङ्घमा । उनले दिएको बिस्तारै लाग्ने विषले सन् १९९० मा सोभियत सङ्घकै विघटन भयो । त्यसपछि पूर्वीयुरोपका उल्लिखित समाजवादी देशमा पनि पुँजीवाद पुनस्र्थापना भयो । चीनलगायतउल्लिखित समाजवादी देशमा भने हिङ नभए पनि हिङ बाँधेको टालो बाँकी छ । यसरी माक्र्सको विचारधारा भौतिक शक्तिमा परिणत भयो । यो विजय र पराजयको प्रक्रियाबाट अघि बढिरहेको छ । आज माक्र्सले संश्लेषण गरेका दुईवटा प्रस्थावनामाथि हामीले विशेष महत्व दिनैपर्छ :

पहिलो, ‘दार्शनिकले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो ।’
दोस्रो, ‘माक्र्सवाद कुनै जडसूत्र होइन, बरु कार्यमा पथप्रदर्शक हो ।’

यसर्थ पहिलो, हामीले आफ्नो समयको दुनियाँबारे व्याख्या एवम् विश्लेषण गर्ने कुरा मुख्य होइन, त्यसलाई बदल्ने कुरामै जोड लगाउनुपर्छ । यसमा थप के गर्नुपर्ने भएको छ भने बदलिएको चीजलाई अथवा क्रान्तिबाट प्राप्त उपलब्धिलाई कसरी बचाउने भन्ने विधिको आविष्कार गर्नैपर्छ । यसमा लेनिन र स्टालिनले सोच्नुभएको थियो भने माओले सँस्कृतिक क्रान्ति संश्लेषण गरी प्रयोग गर्नुभएको थियो । त्यसमा पनि केही कमी थियो जस कारण समाजवाद बच्न सकेन । दोस्रो, माक्र्सस्वयम्ले माक्र्सवाद कुनै जडसूत्र नभएकाले पुँजीवादी औद्योगिक शोषणको जसरी अन्त्य गर्ने प्रक्रिया सोच्नुभएको थियो, आजको निगम पुँजीवादको शोषणको अन्त्य उही क्रान्तिप्रक्रियाले हुन सक्दैन ।

माक्र्सपछि लेनिन र माओले क्रान्ति सम्पन्न गर्नुभएको थियो । किनभने उहाँले आफ्नो समयको परिस्थितिको ठोस विश्लेषण गरी त्यसलाई बदल्ने सही कार्यदिशा सिर्जना गर्न सफल हुनुभयो । त्यसकारण समाजवादी क्रान्ति सफल हुन नसक्नुमा प्रधान अन्तरविरोध पत्ता लगाउन नसक्नु र पत्ता लगाए पनि त्यसलाई समाधान गर्ने विधि विकास गर्न नसक्नु हो ।

माक्र्सको २०० औँ जन्म वर्ष पूरा हुँदा माक्र्सवादको विकास गर्ने कुरामा आफ्नो अध्ययन– अनुसन्धान अघि बढाउने प्रतिबद्धता गर्न जरुरी छ । विश्वका संशोधनवादी र निगम पुँजीवादीले भनेजस्तै माक्र्सवाद पुरानो भएको छैन । आज विकास भएको विज्ञान र प्रविधिले गर्दा कतिपय संशोधनवादी र पुँजीवादीले माक्र्सको भौतिकवादी दर्शन असफल पार्न पदार्थ लोप भएको भ्रम फैलाउँदैछन् । लेनिनले सन् १९०८ मै जबाफ दिनुभएको थियो,‘पदार्थ लोप भएको होइन, हाम्रो ज्ञानको सीमा लोप भएको हो ।’ हामीले दलाल संशोधनवादीलाई माक्र्सवाद पुरानो भएको होइन, बरु तिम्रो ज्ञान पुरानो भएको हो भनी जबाफ दिनुपर्नेछ ।

कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको टकरावले श्रमजीवीवर्गको हितअनुकूल समाज व्यवस्था कायम गर्न समाजवादी क्रान्ति हुन्छ भन्ने कुरा पत्ता लगाउनुभयो । यसकारण उत्पादन सम्बन्धअनुरूप उत्पादकशक्ति हुँदैन, बरु उत्पादक शक्तिअनुरूप उत्पादन सम्बन्ध हुनु अर्थशास्त्रको नियम हो । उहाँले यसलाई राजनीतिक अर्थशास्त्र बताउनुभयो । अर्थतन्त्र जीवनको आधार हो भने राजनीति अर्थतन्त्रको केन्द्रीय उपरिसंरचना हो ।

कानुन, दर्शन, साहित्य, कला र धर्मजस्ता उपरिसंरचनाको कमान्डर राजनीति नै हो । उहाँले उपरिसंरचना उत्पादन सम्बन्धसँग गाँसिएकाले यो सङ्घटकलाई राजनीतिक अर्थशास्त्रका रूपमा लिनुभयो । पुँजीवादी उत्पादनप्रणाली र मानवले मानवमाथि गर्ने अतिरिक्त श्रमको धज्जी उडाउँदै वैज्ञानिक समाजवाद विकल्प रहेको निष्कर्ष उहाँले ‘पुँजी’ नामक प्रसिद्ध कृतिमा निकाल्नुभयो । तेस्रो,माक्र्सवादको सङ्घटक अङ्ग वैज्ञानिक समाजवाद हो ।

समाज शोषक र शोषित, धनी र गरिब, मजदुर र मालिक, किसान र जमिनदार दुई वर्गमा बाँडिएको छ । यो वर्ग–अन्तरविरोधको समाधान सशस्त्र सङ्घर्ष हो । त्यसकारण उहाँले सन् १८४४ मै निष्कर्ष निकाल्नुभयो, ‘हतियारको आलोचनालाई आलोचनाको हतियारले ढाल्न सक्दैन । भौतिक शक्तिलाई भौतिक शक्तिले नै ढाल्नुपर्छ । विचारले जति छिटो मानिसको दिलमा ठाउँ लिन्छ, त्यति छिटो त्यो भौतिक शक्तिमा बदलिन्छ ।’

माक्र्सले आफ्नो भव्य कृति पुँजीमा नै लेख्नुभएको छ, ‘हरेक पुरानो समाजबाट नयाँ समाज जन्माउन बलले धाईको काम गर्छ ।’ वर्गसङ्घर्षको यो उच्चतम प्रक्रियालाई सर्वहारावर्गको अधिनायकत्व भएको वैज्ञानिक समाजवादमा लैजान्छ । यसले राज्यसत्ताविहीन, वर्गविहीन र शोषणविहीन साम्यवादमा लैजान्छ । यही तीन सङ्घटक अङ्गबाट नै माक्र्सवाद बनेको छ भन्ने कुरा उहाँकासहयोद्धा एङ्गेल्सले ‘ड्युरिङ मत खण्डनमा’मा व्याख्या गर्नुभएको छ । त्यसरी नै ‘कार्ल माक्र्स’ नामक आलेखमा लेनिनले संश्लेषण गर्नुभएको छ ।

आज समाजवादी क्रान्ति अघि बढ्न र सफल हुन नसक्नुमा आफ्नो समयको प्रधान अन्तरविरोध पत्ता लगाउन नसक्नु र पत्ता लगाए पनि त्यसलाई समाधान गर्ने विधि विकास गर्न नसक्नु हो । महान् माक्र्सको २००औँ जन्म वर्ष पूरा हुँदा माक्र्सवादको विकास गर्ने कुरामा आफ्नो अध्ययन–अनुसन्धान अघि बढाउने प्रतिबद्धता गर्न जरुरी छ ।

समाजवादबारे बहस

पुष्पकमल दाहाल, बाबुराम भट्टराई, खड्गप्रसाद वली, माधव नेपाललगायतकम्युनिस्ट नेताले संविधान ‘समाजवादोन्मुख’ बनाएको भनी शोषित, उत्पीडित र श्रमजीवी नेपाली जनतालाई भ्रम दिँदै सामाजिक दलाल पुँजीवादी सत्ता चलाइरहेका छन् । कतिपय मूर्धन्य लेखकले समाजवादबारे व्यापक बहस चलाइरहेका छन् । यो बहस जनता र हामीजस्ता कार्यकर्ताबीच पुर्याउने ‘नयाँ पत्रिका’ दैनिकलाई धन्यवाद दिन चाहन्छु । तरदुःखको कुरा बहस समाजवादबारे भइरहेको छ, वैज्ञानिक समाजवादबारे होइन ।

समाजवाद हिटलर र मुसोलिनीका लागि पनि प्यारो थियो । गान्धी र नेहरूले पनि समाजवादकै कुरा गर्थे र भारतमा लागू भएको समाजवादै हो, बरु नेपालमा नेपाली काङ्ग्रेसका वैचारिक नेता विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो समाजवादलाई मूर्त गरी प्रजातान्त्रिक समाजवाद भनेका थिए । अहिलेका काङ्ग्रेसलाई विचारधारा र राजनीतिक मूल्यको कुनै महत्व छैन ।

आफू सत्तामा हुँदा प्रजातन्त्र र सत्ताबाहिर हुँदा अधिनायकत्व भन्दै हल्ला गर्छन् । प्रदीप गिरी र नरहरि आर्चायले कहिलेकहीँ प्रजातान्त्रिक समाजवादको कुरा उठाएको सुनिन्छ । डबल नेकपाका नेता जनताको रगत–पसिना चुसेर ढाडिएका छन् रमाक्र्सको समाजवाद पुरानो भइसकेको घोषणा गरिरहेका छन् । तिनका लागि माक्र्स, लेनिन र माओका किताब थोत्रा साबित भएका छन् भने बाइबल, कुरान, त्रिपिटक, रामायण, महाभारत र भागवत्गीता ताजा भएका छन् । परिणामस्वरूप ‘समाजवादी’ महोदयले जिसस क्राइस्टकी अवतार हानमुनको बाहुलीबाट वीर्य घोलिएको ‘होली वाइन’ ग्रहण गरिरहेका छन् । डेरा सर्न रुद्री पूजा गरिरहेका छन् र यज्ञ लगाइरहेका छन् । यति पतीत त भारतमा पश्चिम बङ्गालका ज्योति बसु पनि भएका थिएनन् ।

समाजवादबारे बहस चलाउने विद्वान् लेखकलाई माक्र्सको वैज्ञानिक समाजवादबारे अध्ययनै नगरी आलोचना गर्नुको के तुक होला र ? नत्र रूपचन्द्र बिष्टको शब्द सापट लिएर भन्नुपर्ने हुन्छ, ‘थाहा नभएका मानिसले थाहा नभएको विषयमा बोल्नु लज्जास्पद हो ।’

पहिलो, माक्र्स र एङ्गेल्सले काल्पनिक समाजवादको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नुभयो । वैज्ञानिक समाजवादका लागि माक्र्स– एङ्गेल्सको प्रेरक क्रान्ति फ्रान्सेली क्रान्ति थियो ।

सेन्ट साइमन, चाल्र्स फुरिये र रोबर्ट ओवेन वैज्ञानिक समाजवादका लागि प्रेरक हुन् तरउनीहरूको त्यतिबेलाको चिन्तन शोषित– पीडितको मुक्तिका लागि राज्यसत्ताविरुद्ध विद्रोह होइन, बरु राज्यसत्तामा रहेका शासकको मन पगालेर समाजवाद ल्याउनुपर्छ भन्ने थियो । रोबर्ट ओवेनले त आफ्नै कारखानामा मजदुरलाई १६–१८ घन्टाको श्रम समय घटाएर १० घन्टा मात्र बनाइदिए । उनीहरूका केटाकेटीका लागि विद्यालय खोलिदिए र उनीहरूको ज्याला बढाइदिए । यति गर्दा अझै नाफा भयो । दुई वर्षजति त उनको शासक, व्यापारी उद्योगपति र श्रमजीवीले जयजयकार गरे । तीन वर्ष नपुग्दै राज्यसत्ताले उनको हरिबिजोग पारिदियो । यसकारण उनीहरू काल्पनिक समाजवादी हुन् भनी माक्र्सले संश्लेषण गर्नुभयो ।

प्रतिक्रियावादी राज्यसत्तामा केही पनि नचलाईकन दाहाल, वली र भट्टराईले आर्थिक समृद्धि गर्छाैँ र समाजवाद ल्याउँछौँ भन्नु नयाँ रूपमा काल्पनिक समाजवादी हुनु हो र १८औँ शताब्दीमा पश्चगमन हुनु हो । उनीहरूले दलाल संसदीय व्यवस्थाको बोटमा सिँचाइ र मलजल गरिरहेका छन् । कुरा यही सत्य हुँदो हो त काउत्स्की र बर्नस्टिन छँदाछँदै लेनिन र स्टानिलको आवश्यकता पर्ने थिएन । केपी वली र माधव नेपाल हुँदाहुँदै ऐतिहासिक जनयुद्धमा १७ हजारको रगत बगाउनुपर्ने थिएन । दाहाल हुँदाहुँदै हामीले जनयुद्धको उद्देश्य पूरा गर्ने प्रतिबद्धता गर्नुपर्ने थिएन । हामीले वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेका छौँ । पुरानो राज्यसत्ता बलपूर्वक नढालीकन वैज्ञानिक समाजवादको कल्पना पनि गर्न सकिँदैन । कम्युनिस्टले झूटो कुरा गर्दैनन् । झूटो कुरा गर्ने हो भने किन पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने ? बाबुरामले जस्तै उदारवादी भने भइहाल्यो । यसो भयो भने जनतालाई भ्रम पनि हुँदैन ।

वैज्ञानिक समाजवाद भनेको के हो ? भन्ने माक्र्सले स्पष्ट पार्नुभएको छ, ‘समाजवाद स्थायी क्रान्तिको उद्घोष हो । यसमा सर्वहारावर्गको अधिनायकत्वले सम्पूर्ण वर्गविभेदको अन्त्य गर्ने, त्यो वर्गविभेद जन्मने सम्पूर्ण उत्पादन सम्बन्धको उन्मूलन गर्ने, त्यो उत्पादन सम्बन्धबाट उत्पन्न सम्पूर्ण सामाजिक सम्बन्धको उन्मूलन गर्ने र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारलाई क्रान्तिकारीकरण गर्ने सङ्क्रमणकालीन बिन्दुको काम गर्छ ।’माक्र्सको वैज्ञानिक समाजवादलाई पुरानो भन्ने मानिसलाई दिमाग सड्केको नभनेर के भन्ने ?

माक्र्सको यही प्रस्थापनामा आधारित भएर माओले उल्लिखित चार कार्य गर्न सर्वहारा अधिनायकत्वअन्तर्गत सँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो । आज सी जिङ पिङले समेत सँस्कृतिक क्रान्तिबारे पुनर्विचार गर्न थालेको कुरा उनका कैयौँ भनाइबाट स्पष्ट हुँदैछ । सँस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्तिसँगै समायोजन गर्न नमान्ने काल्पनिक तथा पुँजीवादी समाजवादी हुन् ।

माक्र्सले वैज्ञानिक समाजवाद र साम्यवाद इतिहासको अनिवार्य आवश्यकता भएको निष्कर्ष द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विश्व–दृष्टिकोणबाट भएको थियो । अधिभूतवादी आदर्शवाद र द्वैतवादको चस्मा लगाएर समाजवादका विषयमा कुरा गर्नु भनेको समाजवादको विकृतीकरण गर्नु हो । माक्र्सको दर्शन नपढेका र धार्मिक रूढिवादको दर्शन अपनाएकालाई वैज्ञानिक समाजवाद पुरानै भएको निष्कर्ष निस्कन्छ ।

हिन्दु धर्मशास्त्रले पनि कतिपय ठाउँमा पहिले सत्य, त्रेता, द्वापर र कलियुग आउँछ र भ्रष्ट कलियुगको समाप्तिपछि फेरि सत्ययुग आउनेछ भनेका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले के भन्छ भने– मानव समाजको उदयकालमा आदिम साम्यवाद थियो । त्यसपछि दासयुग, सामन्तयुग, रैतीयुग र पुँजीवाद आउँछ । कलियुग अथवा पुँजीवादी युगका मुठीभर अति केन्द्रीकृत तथा अति एकाधिकारवादी पुँजीपति र अति शोषितपीडित बहुसङ्ख्यक श्रमजीवीबीचको वर्गसङ्घर्षबाट वैज्ञानिक समाजवाद आउँछ । यो सङ्क्रमणकालीन अथवा पुँजीवादबाट विश्व– साम्यवादमा पुग्ने पुल हो ।

संसारका अधिकांश देशमा समाजवाद आइसकेपछि हामी पूर्ण मानवतावादी साम्यवादमा पुग्छौँ । आजको अति एकाधिकारवादी र अति केन्द्रित निगम पुँजीवादले साम्यवादलाई धेरै नजिक ल्याएको छ । उसले मजदुर र किसानको पङ्क्तिमा मध्यमवर्गको ठूलो सङ्ख्यालाई धकेलिदिएको छ । यसले निगम पुँजीवादमा निकट भविष्यमा सङ्कटको दुष्चक्र फैलनेछ । यसको चिहानमा वैज्ञानिक समाजवाद उदाउनेछ ।

साढे तीन अर्ब मानिस र एक प्रतिशत एकाधिकारवादी निगम पुँजीवादीको सम्पत्ति बराबर भएको तथ्यले के स्पष्ट गर्छ भने वैज्ञानिक समाजवाद इतिहासको आवश्यकता बनेको छ । नेपालमा मुठीभर दलाल पुँजीपतिको हातमा सारा सम्पत्ति थुप्रिनु, राज्यसत्तामा रहेका राजनीतिक नेतादेखि ठूला नोकरशाही अधिकृत भ्रष्टाचारमा चुर्लुम्म डुब्नु, भूमाफियाको हातमा सरकारी जग्गासमेत पर्नु, शिक्षा, स्वास्थ्य र विकास निर्माणमा दलाल पुँजीपतिको हालिमुहाली चल्नु, जलमाफियाले नदीनाला कब्जा गर्नु आदिले वैज्ञानिक समाजवादको विकल्प नरहेको स्पष्ट हुन्छ ।दलाल संसदीय व्यवस्था त यी सबै विकृति र विसङ्गतिको कारक हो ।

वैज्ञानिक समाजवाद ल्याउन साम्यवादी दलको नेतृत्व हुनुपर्छ । साम्यवादी दल भनेको शोषित– पीडित–श्रमजीवी जनताको अग्रदस्ता हो । कार्ल माक्र्सको शब्दमा साम्यवादी हुनु भनेको निजी सम्पत्तिको अन्त्य गर्नु हो । निजी सम्पत्ति विस्थापन गर्नु भनेको सामाजिक सम्पत्ति स्थापना गर्नु हो । जसले नेपालमा समाजवादउन्मुख संविधानको गीत गाइरहेका छन्, उनीहरू निजी सम्पत्ति अथाह भण्डारका मालिक भएका छन् । जनताको करबाट उठेको राजस्वबाट भ्रष्टाचार गरेर होस् वा सरकारी जग्गा जमिन र साधन–स्रोत लुटेर अर्बपति हुँदैछन् ।

डबल नेकपाका नेता जनताको रगत–पसिना चुसेर ढाडिएका छन् र माक्र्सको समाजवाद पुरानो भइसकेको घोषणा गरिरहेका छन् । तिनका लागि माक्र्स, लेनिन र माओका किताब थोत्रा साबित भएका छन् भने बाइबल, कुरान, त्रिपिटक र भागवत गीता ताजा भएका छन् ।

सामूहिक उत्पादन र निजी स्वामित्वको अन्तरविरोध समाधान गर्न हिँडेका नेता यथास्थितिमै फर्केपछि वैज्ञानिक समाजवादका लागि विलम्ब अवश्य भएको छतरउनीहरू छिट्टै नै माक्र्सवाद विरोधीका रूपमा जनतासामु नाङ्गिएका छन् । सामूहिक उत्पादन र सामाजिक स्वामित्वद्वारा यो अन्तरविरोधको समाधान भएर वैज्ञानिक समाजवाद आउनेछ । यसका लागि सचेत पहल जारी राख्नुपर्ने आवश्यकता छ ।

माक्स–एङ्गेल्सले भन्नुभएको छ– गरिबी र अभावले वर्गको उत्पत्ति भएको थियो । गरिबी र अभावको अन्त्य भएपछि साम्यवाद आउनेछ । गरिबी र अभावको अन्त्य पुँजीवादले गर्न सक्दैन भन्ने पुँजीवादीकै तथ्याङ्कले स्पष्ट गरिसकेको छ । गरिबी र अभावको अन्त्य गरेर साम्यवाद ल्याउन वैज्ञानिक समाजवाद नै ऐतिहासिक रूपले आवश्यक छ । यसको विकल्प नवउदारवाद हुन सक्दैन । नवउदारवाद कति हिंसात्मक र आतङ्ककारी हुन्छ भन्ने अमेरिकालाई हेरे पुग्छ ।

अफगानिस्तान, लिबिया, इराक र सिरियामाथि भएको हिंसा र आतङ्कले प्रमाणित गरेको छ– अमेरिकाको नवउदारवाद कस्तो छ ? नवउदारवाद भनेको आखिर अन्धराष्ट्रवादी फासिवाद नै रहेछ । नेपालमा जब नवउदारवाद प्रवेश गर्यो, तब राष्ट्रिय उद्योग कि त नष्ट गरिए कि दलाल पुँजीपतिको हातमा बेचिए । सबभन्दा पहिले हेटौँडादेखि टेकुसम्मको रज्जुमार्ग काटियो । पाटन र बालाजु औद्योगिक क्षेत्र ध्वस्त पारियो ।

हिमाल सिमेन्ट कारखानादेखि भृकुटी कागज कारखाना विनाश गर्ने नवउदारवादी दलाल पुँजीवाद नै हो । नवउदारवादी दर्शनबाट निर्देशित दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवाद जन्मने कुरा मृगमरीचिका मात्र हो । यति धेरै कुरा स्पष्ट हुँदाहुँदै पनि गोरु ब्याउँछ र दूध खान पाइन्छ भन्नेमा भ्रमित हुनुपर्दैन । डबल नेकपा नामको गोरुबाट वैज्ञानिक समाजवाद नामको बाच्छो जन्मने आशा गर्नु महामूर्खता हुन्छ ।

निष्कर्ष

मूर्धन्य लेखकसँग मेरो अनुरोध छ– माक्र्सवाद र वैज्ञानिक समाजवादबारेको बहस ऐतिहासिक भौतिकवादी विश्व–दृष्टिकोणबाट गरौँ किनभने तातोपानीले घर जल्दैन । वैज्ञानिक समाजवाद इतिहासको अपरिहार्य आवश्यकता हो । माक्र्सवाद–लेनिनवाद–माओवाद विज्ञान भएकाले विज्ञानले विकासको माग गर्छ । यसको विकासले वैज्ञानिक समाजवाद सुनिश्चित गर्छ । हामी अनुसन्धानको प्रक्रियामा छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :