सपनाहरूको लावालस्कर : समकालीन माक्र्सवादी कविता

पुस्तक समीक्षा

मुलुकमा राजनीतिक मात्र होइन, सांस्कृतिक प्रतिक्रान्तिसमेत भएको छ । माक्र्सवादको जामा लगाएका दलाल पुँजीवादी बुख्याँचाहरू नक्कली समाजवादको खोटा सिक्का लिएर जनतालाई ढाँटिरहेछन् र देशलाई कङ्गाल पार्दै युवा बेचेर लास भित्र्याइहेका छन् । सपना देख्ने आँखाहरू बन्द गराइरहेका छन् शासकहरू अर्थात् विद्रोही मस्तिष्कमा ताला लगाउन उद्यत छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ र कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूलाई धमाधम गिरफ्तार गर्दै झूट्टा मुद्दा लगाएर हिरासत र जेलमा कोचिँदैछ । सपनाहरूको हत्या भइरहेको समयमा क्रान्तिकारी आशावाद बोकेका जीवित स्रष्टाहरूका कविताहरूको सँगालो प्रकाशित भएको छ– ‘समकालीन माक्र्सवादी कविता ।’ यो आजको माग र आवश्यकता हो । अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समितिको प्रकाशनमा सार्वजनिक भएको ‘समकालीन माक्र्सवादी कविता’ युगको आवाज हो । स्वप्नहन्ताहरूका विरुद्ध सपनाहरूको सगरमाथा हो । राष्ट्रघाती र जनघातीहरूका षड्यन्त्र र अत्याचारका विरुद्ध यो देशभक्ति र मुक्तिको दुन्दुभि हो । यो क्रान्तिको दावानल हो । यहाँ केही कविका कविता उद्धरण गरिएको छ ।

नेकपाका महासचिवसमेत रहेका स्रष्टा विप्लव वर्तमान सत्ताका विरुद्ध क्रान्तिको दावानल सिर्जना गर्न युवाहरूलाई आह्वान गर्दै ‘युगका सभ्य मान्छे’ कवितामा भन्छन् :
ओ ! युगका सभ्य मान्छे
धर्तीका मालिक
आऊ फेरि उठौँ र लडौँ
मुक्त संसार
साम्यवादका लागि ।
जनता हार्दछन्– यो झूट हो
ज्ञान निभ्दछ– यो पनि झूट हो
सत्य छोपिन्छ– मात्र भ्रम हो
के हारेनन् र मालिकहरूले हामीसँग ?
परमेश्वरले पनि त हारेकै हो मान्छेसँग
निराशा– अहँ असम्भव छ
विचार अजरअमर हुन्छ
लूट ढल्छ र मान्छे मुक्त हुन्छ
देखेनौ भूगोल–भूगोलको सीमा पनि त मेट्यौँ
आकाश र धर्ती पनि त जोड्यौँ
आऊ न आऊ फेरि उठौँ र लडौँ
मुक्त संसार साम्यवादका लागि
ओ युगका सभ्य मान्छे
धर्तीका मालिक
आऊ न आऊ फेरि उठौँ र लडौँ
मुक्त संसार साम्यवादका लागि ।

माक्र्सवादी कविहरूका कविताको यो पहिलो सङ्ग्रह हो भन्दा पनि हुन्छ । यसअघि जनयुद्धको समयमा तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घले अधिकांश जनयुद्धप्रति प्रतिबद्ध र केही छद्महरूका कवितासमेत समावेश गरेर समकालीन कविताहरू शीर्षकमा एउटा सङ्ग्रह प्रकाशनमा ल्याएको थियो । मातृका पोखरेलहरूजस्ता जनयुद्धविरोधीहरूका कविताका कारण उक्त कृति केही आलोच्य पनि बन्यो तर पनि समग्रमा त्यो परिवर्तनका पक्षमै थियो । संस्थागत रूपमा मालेमावादप्रति प्रतिबद्ध र सङ्गठित कविका कविताहरूको भने यो पहिलो प्रकाशन नै हो भने पनि हुन्छ किनकि यस प्रकाशनमा विगतमा झैँ माक्र्सवाद–लेनिनवाद–माओवादविरोधी र एकीकृत जनक्रान्तिविरोधी कविका कविताहरू पर्न पाएका छैनन् । अझ खुसीको कुरा त के छ भने जनयुद्धलाई समाप्त पारेर सामाजिक दलाल पुँजीवादी बनेको प्रचण्डमण्डलीको भक्तिगान गर्ने र न हाँस न बकुल्लाको चाल गर्दै क्रान्ति न संसद्वादको अकर्मण्यतामा फसेका केही स्वघोषित माक्र्सवादी कविहरूले आफूहरूबाहेक यो दुनियाँमा कोही पनि क्रान्तिकारी स्रष्टा छैनन् भनेर असली क्रान्तिकारी स्रष्टाविरुद्ध स्यालहुइयाँ चलाइरहेको समयमा विप्लव, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’, अनिल विरही, भेषराज भुसाल, आरपी तिमिल्सिना, झपेन्द्रराज वैद्यलगायत अग्रज र स्थापित स्रष्टाहरूले लेखेका कविता पनि यस सङ्ग्रहमा समेटिएको छ । प्रचण्डहरूले जनयुद्धको सपनामा आगो सल्काएर सिङ्गो क्रान्तिको भूमि नै खरानी पार्ने दुस्वप्न देखे पनि सपनाहरू साँचिरहेका नयाँ र पुराना विद्रोही स्रष्टाका कविताहरूले नयाँ क्रान्तिका पालुवाहरूको सृष्टि गर्न सम्भव छ भन्ने देखाएका छन् ।
हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ‘कुरूप डोगडीले दायर गरेको मुद्दा’ शीर्षक कवितामा भन्छन्–
उपियाँ र उडुसले चुसेर लखतरान भएका जिन्दगीहरूमा
हेमोग्लोबिन र ग्लुकोज चढाउँदै
निद्राको चक्की ख्वाएर बेहोस बनाएका मानिसहरूलाई
सपनाबाट विपनामा ल्याउँदै
युगको धाराप्रवाहप्रति जागरुक बनाउन
अघि बढिरहेको एउटा चेतनावाहक दस्तालाई
कुरूप डोगडीले बन्दुक तेस्र्यायो र सिङ्गो यात्रा रोकेको ठान्यो ।

विस्फोटक पदार्थ राखेर
झूट्टा मुद्दा त चलाइस् ए कुरूप डोगडी ।
तर त्यो विस्फोटक तेरै टाउकोमाथि पड्कने कुरा थाहा पाइनस्
मुद्दा त चलाइस् ए हराम डोगडी !
तर परिभ्रमित गरिरहेको पृथ्वीमाथि पनि चलाइस्
तेरो झूट्टा मुद्दाले पृथ्वी एक सेकेन्ड पनि रोकिँदैन
मुद्दा त चलाइस् ए नरपिचास डोगडी
तर बूढीगङ्गा बग्न पाइन्न भनेर चलाइस्
जतिसुकै बाँध बाँधे पनि
बूढीगङ्गा कर्णालीमा मिसिएर सागरमा पुगिछाड्नेछ ।

ए कुरूप डोगडी
तँ र उनीहरू त वादी–प्रतिवादी भइहाल्यौ
एक दिन सुन्दर डोगडीले
पर्दा च्यातेर गवाही दिनेछ
र अपराधी को हो ?
इतिहासले फैसला सुनाउनेछ ।

सम्पादकीय÷प्रकाशकीय भूमिकामा भनिएझैँ यस सङ्ग्रहले विशेषगरी तीनवटा मूल सन्दर्भ उठान गरेको छ ः प्रथमतः दस वर्षसम्म सञ्चालित जनयुद्ध र जनयुद्धका तत्कालीन नायकहरूले वर्गदुस्मनसँग आत्मसमर्पण गरेपछि एकीकृत जनक्रान्ति कार्यदिशा विकसित भएर कार्यान्वयनको चरणमा रहेको अवधिलाई समकालीनताका रूपमा परिभाषित गरेको छ । राज्यसत्ताको स्वरूप सामन्तवादी, अर्धसामन्तवादी हुँदै दलाल पुँजीवादमा भ्रष्टीकृत यो समयावधि नै प्रस्तुत कविताले बोकेको समकालीनता हो । यसरी हेर्दा २०५० को दशकदेखि २०७० को दशकको मध्य अर्थात् राष्ट्रिय रूपमा दलाल पुँजीवाद र अन्तर्राष्ट्रिय रूपमा भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षको समयावधि हो । राष्ट्रिय रूपमा सामन्तवादको केन्द्रीय अभिव्यक्ति राजतन्त्रको अन्त्य, रूपमा सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापना तर सारतः नयाँ जनवाद र सामन्तवादको स्थान दलाल पुँजीवादले कब्जा गरेको अवस्था र जनयुद्ध सञ्चालन गरेको मूल नेतृत्वले दलाल पुँजीवादलाई आदर्श बनाएर मालेमावादीहरूमाथि सामाजिक फासिवादी, दलाल पुँजीवादी शोषण, दोहन र अत्याचार लादिरहेको समय समकालीनताको परिभाषा बनेको छ । यो माक्र्सवादी विश्लेषण र संश्लेषणमा आधारित रहेको छ । राष्ट्रिय रूपमा दलाल पुँजीवादका विरुद्ध र अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवाद÷उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्र÷वर्गबीचको सङ्घर्षको चरण नै समकालीनता हो भन्ने सङ्ग्रहको प्रकाशकीयमा उल्लेख छ ।

यही सकालीनता झल्काउनका लागि धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को ‘परिवर्तन सुनिश्चित भै उदाउनेछ’ शीर्षक कविताका केही पदावली हेरौँ–
विगतका गद्दारहरूको बिँडो थामेर
फेरि एकचोटि विश्वासघात गरे पनि
स्वदेशी, विदेशी प्रभुप्रति तिमीले आत्मसमर्पण गरेर
क्रान्तिकै विसर्जन गर्न सयौँ षड्यन्त्र गरे पनि
समाजका अन्तरविरोधहरूले न यो यात्रा रोक्न सक्छ
इतिहासप्रति गरेका अपराधहरूले
न तिमीलाई चैनको जीवन जिउन दिन्छ ।

परिवर्तन त एउटा नियम हो, अविरल यात्राको
पात्रहरू जन्मन्छन्, हुर्कन्छन्, मर्छन् पनि
कसैको माफीमा तिमीले साफी पाए पनि
जनताको कठघरामा तिमीले उभिनै पर्नेछ
इतिहास मार्न खोज्ने तिमीले, इतिहासमा आफैँ मरेपछि
तिमीले छेकेर किन छेकिन्छ ? तिमीले रोकेर किन रोकिन्छ ?
महान् योद्धाहरू, परिवर्तनका पराक्रमीहरू इतिहासले जन्माउँदै गर्छ
र नेपाली समाजको परिवर्तन सुनिश्चित भै उदाउनेछ ।

विगतमा समाजवादी यथार्थवादी सिर्जनाहरूलाई प्रगतिशील वा अलि खुलेर भन्दा प्रगतिवादीसम्म भन्ने चलनजस्तै चलेको थियो । यसो गर्दा माक्र्सवाद, लेनिनवाद र माओवादबाट च्यूत भइसकेका, संशोधनवादी, संसद्वादी र नाउँमा मात्र माक्र्सवाद झुन्ड्याएका तर सिद्धान्त र व्यवहारमा सुधारवादी, यथास्थितिवादी र बुर्जुवाकरण भइसकेकाहरूले पनि आफूलाई प्रगतिशील, प्रगतिवादी वा माक्र्सवादी हुँ भनेर झुक्याएको अवस्था थियो तर अबको माक्र्सवादी स्रष्टा मालेमावादी स्रष्टा हो र हुनुपर्छ भनेर सङ्ग्रहले विशिष्टीकृत गरेको छ । यसअघि विभिन्न किसिमका अन्धविश्वास, रूढि, परम्परावाद, आस्तिकता वा सारमा अध्यात्मवादबाट प्रभावित र त्यससँग सालनाल गाँसिएका स्रष्टाहरूले पनि प्रगतिशीलताका नाउँमा माक्र्सवादको भ्रष्टीकरण गर्ने सुविधा पाइरहेका थिए । अब यो सङ्ग्रहको प्रकाशनपछि इतिहास र वर्तमानलाई त्यस किसिमको अवसरवादबाट मुक्ति दिलाउने प्रयास अघि बढ्ने देखिन्छ । तुच्छ स्वार्थमा अल्झिएर गैरमाक्र्सवादीलाई पनि माक्र्सवादी पगरी गुथाउने कुप्रथाको पनि अन्त्य हुने देखिन्छ । अबका माक्र्सवादी सिर्जना मालेमावादी सिर्जना हुन् र तिनले मालेमावाद र एकीकृत जनक्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्ने क्रान्तिका कलपुर्जाको काम गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
स्रष्टा अनिल शर्मा ‘विरही’ ‘दुख्छ’ शीर्षकमा लेख्छन्–
दुख्छ
विगत दुख्छ/आगत झनै दुख्छ
कोराकतिर
जिउँदै कोलमा पिसएिका चेपाङहरू दुख्छन्
गोलीले झ्याङप्वाल पारिएका
चिउरीका बुटाहरू दुख्छन् ।
शक्तिखोरतिर कन्टेनरका चाबी दुख्छन्
प्रतीक काका !
तिम्रो रगतसँग साटेका बन्दुकहरू
तिम्रो क्याप्टेनलाई दुख्न छोडेपछि
तिमीलाई मात्रै दुखेर के हुन्छ र !?

पुरानो क्याप्टेन जनयुद्ध अलपत्र छाडेर रगतसँग साटिएका हतियार दुस्मनलाई बुझउँदै उसकै पाउमा लम्पसार परेपछिको नयाँ यथार्थ अनिल शर्माको कविताले बोलेको छ र नयाँ हतियार बोकेर हिँड्न आह्वान गर्दै खलनायकहरूको कुरूप यथार्थलाई यसरी नाङ्गेझार पारेको छ–
दीपेन्द्र काका !
भन्नुस् न भन्या—
कोराक बौलायो कि क्याप्टेन ?
कोराकलाई दुखेर प्यारीडाँडालाई के हुन्छ र !
बलवान् प्यारीडाँडाले
अयोग्य घोषणा गरिदिन सक्छ
इन्सास खोसेर
जुठा हाडहरू बाँडिदिन सक्छ
धरधरी रोइदिन सक्छ
अप्सराहरूसँग छमछमी नाचिदिन सक्छ
प्यारीडाँडालाई कोसीको कहरभन्दा
लकरको गोपनीयता दुख्छ
दुख्छ/जताततै दुख्छ ।।

सङ्ग्रहका कविताहरूले नेपाली समाजको नयाँ वर्गविश्लेषण गर्दै अब स्रष्टाहरूले पनि दलाल पुँजीवादविरुद्ध एकीकृत जनक्रान्ति पक्षधर सिर्जना गर्नुपर्छ भन्ने सन्देश पनि दिएका छन् ।
समकालीन माक्र्सवादी कविताको यस सङ्ग्रहमा अनुदित कविता, सहिदका कविता, विगतलाई वर्तमानसम्म जोडिरहेका केही अग्रज÷स्थापित स्रष्टा र वर्तमानमा सिर्जनारत र नवोदित स्रष्टाहरूका सिर्जना समेटिएको छ । वर्तमानमा माक्र्सवादी धारामा धेरै स्रष्टा क्रियाशील रहे पनि यो सङ्ग्रह प्रतिनिधि समयका प्रतिनिधि स्रष्टाका प्रतिनिधि रचनाहरू बेकेर आएको छ । कयौँ स्रष्टाका सिर्जना यहाँ समेट्न छुटेका छन् । यसमा जनयुद्ध सिर्जित नयाँ यथार्थ, माक्र्सवादी, समाजवादी यथार्थवादी धारामै कलम चलाइरहेका अग्रज स्रष्टाका रचना पनि समावेश गरिएको छ ।

जनयुद्धकालीन कवि आरपी तिमिल्सिनाले जनयुद्धमा लामबद्ध दलित योद्धालाई फेरि एकीकृत जनक्रान्तिमा लामबद्ध गराएका छन् ‘धने अर्थात् विद्रोही’ शीर्षकमा–
हाम्रै हस्तिहाडले बनेका
सनातनी महलहरूमा
विद्रोहको मशाल झोस्न र
मेरै पौरखबाट बनेको
घन बजार्न कम्मर कसेको
म उही क्या !
रूप र चोला फेरेको
उहिले मलाई भकुर्ने साहूको घर
राता मान्छेसँगै ‘सेबोटेज’ गरेको
उहिलेको धनबिनाको धने कामी
उही क्या ! म धने अर्थात् कमरेड विद्रोही !
यस सङ्ग्रहमा समेटिएका रचनाहरूले दलाल पुँजीवादलाई समाजवादको जामा लगाइदिएर देश र जनतालाई दोहन गरिरहेको वर्तमान फासिवादी सत्ता र सरकारको यथार्थ चित्रण गरेका छन् ।
यो प्रतिबद्ध कविको रचनासङ्ग्रह हो । समकालीनता दलाल पुँजीवाद, निगम पुँजीवाद र उत्तरसाम्राज्यवादसँग श्रमिक वर्गले लडिरहेको एकीकृत जनक्रान्ति हो । जनयुद्धले निर्माण गरेको नयाँ यथार्थपछि विकसित एकीकृत जनक्रान्तिको सफल कार्यान्वयनले नै उत्पीडित श्रमिक÷सर्वहारावर्गलाई मुक्ति दिनेछ र वैज्ञानिक समाजवाद–साम्यवादको चरणसम्म पुर्याउनेछ भन्ने भाव यस सङ्ग्रहमा सङ्गृहीत कविताले बोकेका छन् । यस सङ्ग्रहमा सङ्गृहीत कविताले त्यसै दिशातर्फ लामबद्ध हुन र एकीकृत जनक्रान्ति सफल पार्न ऊर्जा दिनेछन् ।
यस सङ्ग्रहमा सङ्गृहीत ‘जीवन लक्ष्य’ शीर्षकको कार्ल माक्र्सको कवितामा देखिएको क्रान्तिकारी आशावाद यस्तो छ–
कठिनाइहरूदेखि रूने जीवन
मेरो लागि होइन
होइन मेरो आँधीजस्तो मनलाई
यो स्वीकार्य छैन ।
मलाई त एउटा महान र उँचो लक्ष्य चाहिन्छ
त्यसको लागि आजीवन सङ्घर्षको अटुट
सिलसिला चाहिन्छ ।
‘त्यो एउटा आँधीमय वर्ष’ शीर्षकको भ्लादिमिर इल्यिच लेनिनको कवितामा देखिएको क्रान्तिकारी आशावाद–
सबै एकजुट भएर खडा होऊ ।
जितको फैसला तिम्रो कसिलो मजदुर मुट्ठीमा ।
हिम्मतले छाती तान ! नराम्रा यी दिन हटेर जानेछन्
एकजुट भएर तिमी मुक्तिका दुस्मनका विरूद्ध खडा होऊ !
वसन्त आउनेछ, आइरहेको छ, त्यो आइपुगेको छ ।
हाम्रो बहुप्रतिक्षित अनौठो सुन्दर त्यो लाल मुक्ति
बढ्दै आइरहेछ हाम्रोतर्फ !
र ‘चिङ्गकाङ्गसानमा फेरि चढ्दा’ शीर्षकको माओ त्से तुङको कवितामा देखिएको क्रान्तिकारी आशावाद–
बादल छुने मेरो पुरानो चाहना थियो
र, म फेरि चढेँ चिङ्गकाङ्गसान ।
हाम्रो पुरानो किल्ला हेर्न
आएको छु धेरै दूरबाट ।
पुरानो दृश्यलाई फेरेछन् नयाँ परिवेशहरूले
जहाँतहीँ कोइली गाइरहेछन्, भँगेरा कराइरहेछन्
कलकलाइरहेछन् खोलानालाहरू,
र, बाटो पहाड हुँदै अकासिँदैछ,
एकपटक हुआयाङ्ची कटेपछि
छैन कतै अप्ठ्यारा चुनौतीहरू ।

हुरी र बतास मच्चिरहेछ
जहाँ छन् मान्छेहरू
झन्डा र ब्यानरहरू फहरिरहेछन् ।
कविताको सन्देश र महान् जनयुद्धमा बलिदान गर्ने सहिदका रचनाको क्रान्तिकारी आशावादमा समानता छ ।
‘जारी रहनेछ हाम्रो सङ्कल्पको यात्रा’ शीर्षक कवितामा सहिद स्रष्टा कृष्ण सेन ‘इच्छुक’ लेख्छन्–
लामो अँध्यारो रातपछि
झलमलाउने उज्यालो प्रभातजस्तै
आजको कालो अँध्यारो चिरेर
हाम्रो आस्थाको साम्यवाद
एक न एक दिन जरुर झुल्कनेछ
हाम्रो निष्ठाको बीजबाट
एक न एक दिन जरुर
नयाँ जीवनको नवाङ्कुर फुट्नेछ
र एक न एक दिन जरुर
हाम्रो सुखद र ऐश्वर्यपूर्ण भविष्यको
सुन्दर सयपत्री फुल्नेछ ।
त्यस्तै स्रष्टा सहिद अञ्जान विरहीको ‘प्यारो बन्दुक र म’ शीर्षक कविताले भन्छ–
युद्धभूमिमा यौटा सेना म
बन्दुकसँग रमाउँछु
क्रान्तिको मीठो सङ्गीत बज्ने
प्यारो बन्दुक
नयाँ लय, सुर, ताल जन्माउँछ
जब यो बजाउन थाल्छु
भय सारा हटेर जान्छ ।
त्यस्तै ‘बेलिसरा’ शीर्षक कवितामा स्रष्टा सहिद चुनु गुरुङ भन्छिन्–
टुकी बालेर सिरानीमा राखेको कागजात
सुन्दर संसारको दस्ताबेज
मयलले कलेटी परेको पटुकीमा बेरेर
भाले नबास्दै
एक ठाउँबाट अर्को ठाउँ पुर्याउँछे
हरेक फाँटमा सरिक हुन्छे बेलिसरा
तिमीले पत्ता लगाउन सके, के गर्छौ बेलिसरालाई ?
थुप्रै अमानवीय यातना चखाउला
सर्वाङ्ग नाङ्गो पारेर चिथोरौला, परान हालौला
चोक्टाचोक्टा पारेर मासु चपाउला बेलिसराको
तिम्रो सर्च अभियानले के सजाय दिन सक्छ बेलिसरालाई ?
मृत्युसँग खेलिसकेकी छे बेलिसरा, ऊ डराउँदिन
तिमी डराउँछौ आफ्नै अभियानको हारसँग
घाँसभित्र बम बोकेर हिँड्छे बेलिसरा
वास्तवमै राजनीतिक प्रतिक्रान्ति र सत्ताको सामाजिक दलाल र फासिवादी कदमले वर्तमानमा बेलिसराहरूलाई फेरि बन्दुक र बम बोकेर हिँड्ने अवस्थामा पु¥याएको छ । सङ्ग्रहमा उल्लिखित ‘हाम्रा गाउँँँबस्तीहरू’ शीषकको सहिद शिव श्रेष्ठको कविताले होस् वा नवराज शाही ‘छलाङ’ र रक्तिमका कविताले उस्तै विचार र सन्देश प्रवाह गरेका छन् ।
सङ्ग्रहमा अशोक सुवेदीको दिलमायाहरू ! निभा शाहको ‘दैया’, कुशल बोगटीको ‘आस्थाको बिम्ब’, भीम भारतीको ‘त्यो वेणी कब्जा गरेको दिन’, डा. शिवशङ्कर बस्यालको ‘यात्रीहरू’, नारायण नेपालको ‘इन्काउन्टर चाहियो सरकार’ करन दयालको ‘सपना’, आरोह नेपालीको ‘नहाँसेका मनहरू’, शोभा दुलालको ‘ऊ गयो’, अग्निराज पौडेल ‘अराप’ को ‘सायद चिन्दैनौ होला कमरेड’ शीर्षक कविताले सहिद, बेपत्ता योद्धाहरूको त्यागको स्मरण गर्दै विगतलाई भुल्ने दलाल र गद्दारहरूलाई दुत्कारेका छन् ।

यसैगरी सङ्ग्रहमा उषाकिरण ‘आजाद’ को तिमीलाई छूट छैन, करन दयालको सपना, कुलदीप थापामगर ‘अभिलाश’ को फागुन एक, खेम थपलियाको सहिद र काठमान्डु, खोमा तरामु मगरको के तिमी सपना देख्छौ ?, जनक महतारा ‘सङ्केत’ को परिचय फेरिएको उपनाम, जमुना श्रेष्ठको सपना, झपेन्द्रराज वैद्यको न्यायको खोजी, ढुण्डीराज अधिकारीको ख्वामितका आँखा, दुर्गा शङ्करको देश, देवराज देउकीको क्रान्तिको झुल्केघाम, पवित्रा तिमिल्सिना ‘सुशीला’ को सनराइज पथमा अविचल सनराइज, पारस राहादी मगरको म ढुङ्गो हुँ, प्रकाशसिंह रानाको गरौँ सङ्घर्ष, प्रतिबद्धको राता मान्छेहरू, प्रतीक चन्दको महोदय !, प्रसिद्धा शर्माको डीभी र ग्रिनकार्डको रात्रीभोज, बिहानी मगरको तिम्रो शरीर ढल्दा, विष्णु अद्वितीयको म आतङ्ककारी, बीपी विद्रोहीको बेनी आक्रमण, भेषराज भुसालको कसले चिनेको छैन र ?, यमन बस्नेत ‘गुञ्जन’ को गरिखाने जनताको मुक्तियुद्ध यो, युवराज नास्तिकको किसानहरूको सरकार, रचना केसीको वीरहरूको देश, रसुवाली कविको पार्टी कार्यालय र दास क्यापिटल, रूपा बुढामगरको म हिँडेको बाटो, लम्जेल सङ्घर्षशीलको दुई तिहाइ, शान्ता भण्डारीको तिमी मेरो किताब, सीता विक ‘सम्झना’ को बिदाइको हात हल्लाएको क्षण, सुमनसिंह पौडेलको अन्तिम उत्सव, सुरेश सुवेदीको एक हूल मान्छे, मुक्तान थेबाको ‘आमा र आगो’, हरिलाल महताराको हिरासत र हिमलाल पराजुलीको त्यसै कविता लेख्दिनँ म शीर्षकका कविता सङ्ग्रह गरिएको छ । सङ्ग्रहमा उदयबहादुर चलाउने ‘दीपक’, मोहलाल चन्द ‘आधार’, बन्धु चन्द, खुमा सुवेदी, रणबहादुर विकलगायत कतिपय स्रष्टाका कविता छुटेका छन् ।
सङ्क्षेपमा, यो सङ्ग्रहले विगतका खराब विरासतलाई तोड्दै एउटा नयाँ युगको आह्वान गरिरहेको एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद र साम्यवाद स्थापनाका लागि ऊर्जा दिने क्षमता राख्ने आशा गरिएको छ । सम्पादक तथा प्रकाशक अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समिति धन्यवादको पात्र बनेको छ ।

२०७६ वैशाख ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :