कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

bharat bam ranabeer

नेपाल कम्युनिस्ट पार्टीले समग्र राष्ट्र र जनताको मुक्ति र सम्बृद्धिको उद्देश्य प्राप्तिका लागी एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेको छ । यो कार्यदिशाले सबैको ध्यान केन्द्रित गरिरहेको बेला कथित स्थानीय चुनाव खारेजी तथा बहिष्कारमा कालीकोट र मुगुका कारबाहीमा कार्यदिशा व्यावहारिक अभ्यासमा व्यक्त पनि भएको छ । त्यसैले यसबारे सङ्क्षिप्त चर्चा गर्न आवश्यक छ ।

१) चुनाव खारेज तथा बहिष्कारको योजनाबारे

पहिलो कुरा, सरकारले नयाँ राज्य स्थापना गर्नका साथै शान्ति, स्थायित्व, विकास र समृद्धिको नवयुगको सुरुआत गर्न जारी संविधानको कार्यान्वयन जरुरी छ र त्यसनिम्ति चुनाव अनिवार्य छ भनेर कथित स्थानीय चुनावको घोषणा गरयो । तर यो रूप पक्ष मात्रै थियो । यो त नेपाली जनता र विश्व समुदायलाई भुलभुलैयामा पार्ने कदम थियो । किनभने सारतः यो चुनाव देश र जनतालाई नयाँ प्रकारको द्वन्द्वमा धकेलेर थप सङ्कट पैदा गरी नेपाल र नेपालीको अस्तित्व नै मेट्ने प्रतिक्रान्तिकारी षड्यन्त्र थियो । यही कटु सत्य जनतालाई समयमै सुसूचित गर्नका लागि पार्टीले चुनाव खारेजी तथा बहिष्कारको योजना बनायो । दोस्रो कुरा, सरकारले चुनावमार्फत हाम्रो पार्टीलाई महामूर्ख बनाएर जनताबाट अलग्याई नष्ट गर्ने कुत्सित मनसाय राखेकाले यसको खारेजी र बहिष्कार अनिवार्य बन्यो । जस्तो कि जसरी मान्छे बिरामी हुँदा उपचार गर्नु हुन्न भन्ने मान्छे महामूर्ख हुन्छ, सामान्यतः यो विरोधको मर्म कसैले बुझ्दैन र त मिर्गौला चोरी हुन्छ, घाँटीको समस्या पाठेघरको अप्रेसन, पाठेघरको समस्या घाँटीको अप्रेसन हुन्छ, परिणामतः बिरामीको अकाल मृत्यु हुन्छ । ठीक त्यसरी चुनावको विरोध बिरामीको उपचारको विरोधजस्तै थियो तर हामीले चुनावमार्फत हाम्रो देशको मिर्गौला चोरी गर्ने दलालको योजना अनि रोग एउटा अप्रेसन अर्कैको गर्ने साम्राज्यवादी षड्यन्त्रको विरोध र भण्डाफोर जरुरी ठान्यौँ । तेस्रो कुरा, चुनाव कार्यनीतिक कुरा हो । यसलाई रणनीति बुझ्ने वा बनाउने नेपाली कम्युनिस्ट आन्दोलनको समस्यालाई हल गर्न अहिले चुनावको विरुद्ध खडा हुँदा नै नेपाली क्रान्तिको हित हुने निचोडसहित चुनाव खारेजी तथा बहिष्कारको योजना बनायौँ । चौथो कुरा, हाम्रो पार्टीले चुनाव खारेजी तथा बहिष्कारको योजना बनाएर अहिलेको लोकतान्त्रिक गणतन्त्रको असलियत स्पष्ट पार्न र वैकल्पिक नयाँ धारा खडा गर्न चाहन्थ्यो । वास्तवमा राज्यले हामीप्रति लिएको नीति र गरेको व्यवहारले उसको असलियत स्पष्ट पनि भयो कि यो दलाल संसदीय फासिवादी गणतन्त्र हो र नयाँ स्वाधीन जनताको गणतन्त्र स्थापना आवश्यक छ ।

२) कालीकोट र मुगुका घटनाबारे

घटना १

मिति : २०७४ वैशाख २२ गते
स्थान : रास्कोट, ७ पुर्छेगाउँ, कालीकोट
प्रहरी सङ्ख्या २५, प्रहरीको उद्देश्य नेकपाको नेता र कार्यकर्ताको गिरफ्तारी
तर प्रहरीद्वारा नेकपा ब्युरो सदस्य विराटको छोराको विवाह वा जन्तमा हस्तक्षेप गरी विराटलाई नै गिरफ्तार गर्ने प्रयास भएपछि जनताद्वारा सशक्त प्रतिरोध । २ थान हतियारको क्षति र ५ प्रहरी घाइते भएपछि थप सशस्त्र, नेपाली सेना र प्रहरी गरी करिब १५० को सशस्त्र शक्तिले ३ घन्टाभन्दा बढी गाउँलाई घेराबन्दीमा राखे पनि अन्ततः रित्तो हात फर्किन बाध्य ।

घटना २

मिति : २०७४ वैशाख ३० गते
स्थान : राराछायानाथ नपा १२ शोवा गाउँ, मुगु
पार्टीको नेतृत्व र जनताको सहभागितामा मतदानका सबै सामग्री हरू ( मतदान पेटी, पत्र र अन्य कागजातलगायत सबै कब्जा, प्रहरीको हतियार कब्जा गरेर पनि पार्टीको नीतिअनुरूप फिर्ता गरेको ।

घटना ३

मिति : २०७४ वैशाख ३१ गते
स्थान : नरहरिनाथ गापा ६ माल्कोट
विवादको विषय : बहिष्कारको भोट खसालेर राज्यले नै धाँधली गरेपछि त्यसको जनता र पार्टीले शान्तिपूर्ण विरेध जनाउँदा प्रहरीद्वारा दमन र गोली प्रहार, १ जना धनरूप बटालाको मृत्यु (सहादत), अन्य ३ जना दानबहादुर बटाला, कुलबहादुर बटाला र बम (व्यासी) बहादुर विक घाइते ।

गोली चलेपछि पार्टीको नीति र नेतृत्वमा आक्रोशित जनताद्वारा मतदानका सबै सामग्री कब्जा गरी नष्ट गरेको र पार्टीको नीतिअनुरूप नै कब्जामा आएको प्रहरीको हतियार र अन्य सामग्री फिर्ता गरिएको ।

यो जनताको प्रतिरोधको उत्कर्ष हो । यो कारबाहीमा नेपाली सेनाले धरातलीय यथार्थ बुझेर नै दमन नगरेको र विप्लवको सेनाको आरोप खेप्नुपरेको अनि असईले प्रहरीलाई गोली हान्ने आदेश दिएर कार्यान्वयन नभएपछि आफैँ गोली चलाएको ।

३) एकीकृत जनक्रान्ति र कारबाहीका विशेषताहरू

क) नेतृत्व, जनता र सेनाको एकीकृत स्वरूप

सामान्यतः कुनै पनि क्रान्ति विशेषतः कम्युनिस्ट क्रान्ति सम्पन्न गर्न सही पार्टी नेतृत्व, सचेत, सक्रिय र सङ्गठित जनता (संयुक्त मोर्चा अनि अनुशासित र लडाकु सेना हुनु अनिवार्य हुन्छ र यी तीनै तत्वको भूमिका आआफ्नो ठाउँमा सापेक्षिक रूपले महत्वपूर्ण र प्रमुख भए पनि यसको सही ढङ्गले एकीकृत स्वरूप निर्माण गरेर मात्र अबको क्रान्ति सम्पन्न गर्न सकिन्छ । त्यसैले चिनियाँ क्रान्तिपछि कम्युनिस्टहरूले सेनालाई बढी जोड दिएको र जनताको भूमिका कमजोर पर्न गएको साथै नेपालमा गलत नेतृत्वको कारण देश र जनतालाई पटकपटक धोका भएको निष्कर्षसहित असल नेतृत्व निर्माण र जनताको भूमिकामा जोड दिनु अनि जनता र सेनालाई एकीकृत गर्नु एकीकृत जनक्रान्तिको विशेषता वा मान्यता हो । कालीकोट र मुगुको उल्लिखित ३ वटै कारबाही वा घटनामा यिनै विशेषता तथा मान्यता देखापरेका छन् । किनकि जनता अग्रमोर्चामा गएर लडेको छ र सफल पनि भएको छ तर उसले नेतृत्वप्रतिको आस्था विश्वास अनि सेनाको आडभोरसामा लडेको छ । जनताबाट नेता र नेताबाट जनता अलग्याउने साम्राज्यवादी रणनीति जनताले असफल बनाइदिएको छ । किनकि कमरेड प्रकाण्ड र कमरेड रणवीर ठूलो युवा शक्ति (जनताको भाषामा जनसेना) सहित आएका छन् भन्ने खबरले जनता उत्साहित भएका थिए । यसरी सही नेतृत्व, सचेत, सक्रिय र संगठित जनता र सेना (मनोवैज्ञानिक रूपमा नै सही) को एकीकृत स्वरूप निर्माण हुन सकेर नै ती कारबाही सफल भएका हुन् ।

ख) प्रवृत्ति, प्रविधि र साहसको एकीकृत अभिव्यक्ति

हामी सबैलाई थाहा छ, एकीकृत जनक्रान्तिको निशाना दलाल प्रवृत्ति हो । त्यसैले यो १ विरुद्ध ९९ को लडाइँ पनि हो । वास्तवमा ९९ लाई एकीकृत गरेर मात्रै अबको क्रान्ति सफल हुन्छ । जसरी कालीकोटको माल्कोटमा नेपाली सेनाले तटस्थता अपनाएर जनतालाई साथ दियो राप्रपा उम्मेदवारले बलिदान गरे यद्यपि पहिले उनी माओवादी क्रान्तिकारी नै थिए । यो १ प्रतिशत दलाल प्रवृत्तिविरुद्ध ९९ प्रतिशत स्वाभिमानी जनताको प्रवृत्तिलाई एकीकृत गर्ने नीतिको व्यावहारिक अभिव्यक्ति हो । त्यस्तै अबको क्रान्तिमा प्रविधि र साहसलाई एकीकृत गर्ने र प्रविधिमा पनि उच्च र निम्न प्रविधिलाई एकीकृत गर्ने विशेषता एकीकृत जनक्रान्तिको विशेषता हो जो कालीकोटको माल्कोट, रास्कोट र मुगुका कारबाहीमा देखिएको छ । पार्टीको केन्द्रीय योजनालाई एकरूपताको बुझाइसहित जनतामा पुर्याउनु, नेतृत्वसहित सहरमा रहेको युवा विद्यार्थीको केन्द्रीकरण र उपस्थितिले स्थानीय पार्टी र जनताको साहसलाई नयाँ उचाइमा उठाएको थियो ।

ग) युद्धमाथि क्रान्ति हाबी हुनु वा गराउनु

हाम्रो पार्टीले भनेको छ, एकीकृत जनक्रान्ति भनेको युद्ध हैन बरु यो त राज्यद्वारा लादिएको अन्यायपूर्ण युद्धको विरुद्ध र विकल्पमा सारिएको क्रान्ति हो । जो अहिलेको कथित स्थानीय चुनाव खारेजी वा बहिष्कार अभियानमा थय स्पष्ट भयो । हाम्रो पार्टीले भनेको थियो कि नेपालको शान्ति प्रक्रिया, संविधानसभा असफल भएको छ र राज्यले नयाँ द्वन्द्व वा युद्ध लादिरहेको छ । हामीले त शान्तिपूर्ण तरिकाले भनेका छौँ यो चुनावले देशलाई शान्ति र समृद्धि हैन द्वन्द्व र सङ्कटतिर धकेल्दैछ, प्रतिक्रान्ति, संसद्वाद र उपनिवेशवाद ल्याउँदैछ । त्यसैले यसलाई बहिष्कार गर्नुपर्छ र शान्तिप्रक्रियाको पुनः समीक्षा गर्नुपर्छ तर राज्यले यति भनेकै भरमा जथाभाबी धरपकड र गिरफ्तारी गरेको छ, यातना दिएको छ, झूट्टा मुद्दा लगाएको छ । यसरी शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्ने अधिकार पनि खोसेको छ, गोली चलाएर मान्छे मारेको छ । विडम्बना त के छ भने शान्तिको माला जपेर नथाक्ने संसदीय पार्टीहरूले मान्छे मारेका छन्, बम पट्काएका छन्, आगजनी गरेका छन्, गोली चलाएका छन् । यसरी विद्यमान राज्य र संसदीय पार्टीहरू युद्ध थोपरिरहेका छन् । यसको जबाफ पार्टीले क्रान्तिद्वारा दिँदै गएको छ । वास्तवमा कालीकोट र मुगुका जनताले राज्यले लादेको युद्धको जबाफ क्रान्तिको मान्यताद्वारा ढुङ्गाको प्रयोग गरेर दिएर जित पनि हासिल गरे । तर राज्यको हामीप्रतिको युद्धनीति बदलिएन र निरन्तरतामा गयो भने स्वाभाविक छ । जनताका ढुङ्गाहरू अपर्याप्त हुनेछन् र आधुनिक बन्दुकहरू एकीकृत हुनेछन् ।

घ) एकीकृत क्रान्तिकारी जनकारबाही

कालीकोटको माल्कोटको कारबाही विद्यमान दलाल राज्यको अन्त्य गरी स्वाधीन जनताको नयाँ राज्य स्थापना गर्ने उद्देश्यसहित स्वयम् जनताले अग्रमोर्चामा भाग लिएको छापामार, चलायमान र मोर्चाबद्ध कारबाहीका रूपको केन्द्रीकरण भएको एकीकृत क्रान्तिकारी जनकारबाही हो, यो हाम्रो एकीकृत जनक्रान्तिको नयाँ विशेषता पनि हो । वास्तवमा राज्यले नेपाल कम्युनिस्ट पार्टीका नेताहरू भएको ठाउँहरू पश्चिम नेपाल त्यसमा पनि पहिलो चरणमा कालीकोटलाई विशेष रूपले हेरेर केन्द्रीय योजनामा राखेको भए पनि यस्तै घटना हुने अनुमान गरेको थिएन ।

निष्र्कषमा के भन्न सकिन्छ भने एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा व्यवहारतः सही

साबित र सफल हुँदै गएको छ, अहिले चुनाव खारेजी अभियानमा कालीकोट मुगुमा भएका कारबाहीहरू यही कार्यदिशाको आलोकमा भएका हुन् । अब यो कार्यदिशाको समग्र र अन्तिम सफलताका लागि यसका विषेशताअनुरूप जनताको भूमिकालाई जोड दिऊँ र सङ्गठित गर्न लागिीपरौँ । क्रान्तिको निसाना राष्ट्रको दुस्मन दलाल प्रवृत्तिविरुद्ध सबैलाई एकताबद्ध गरौँ, सही नेतृत्व निर्माणमा जोड गरौँ अनि नेतृत्व र जनता जोडेर एकीकृत जनक्रान्तिका नयाँ सेना निर्माण गरौँ जसले राज्यले लादेको युद्धको अन्त्य गर्न सकोस् र स्वाधीन जनताको सत्ता वैज्ञानिक समाजवाद ल्याउन क्रान्ति सफल पार्न सकोस् ।

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :