प्रचण्डको खराब स्कुलिङ र कम्युनिस्ट पार्टी निर्माणको प्रश्न : रूपेश

 
नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको जनयुद्धसँग जोडिएको तत्कालीन ने.क.पा. (माओवादी) रूप र सार दुवै फेरिएर एमाओवादी बनेसँगै उक्त पार्टीमा हुर्र्किएको आर्थिक जीवनबारे मसिनो अध्ययन, विश्लेषाण र खराबीहरूको समाधानसहित संश्लेषण नगर्ने हो भने आजको अवस्थामा कुनै पनि हालतमा सच्चा कम्युनिस्ट पार्टी निर्माणको काम असम्भव हुन जानेछ । विगतको करिब एक दशकको सशस्त्र सङ्घर्ष वा सफल माओवादी आन्दोलनको अभियान र एक दशककै हाराहारीको विसर्जन, पलायन, आत्मसमर्पण र दक्षिणपन्थी संशोधनवादी धारामा नवसंशोधनवादी यात्रा हुँदै भएको माओवादी आन्दोलनका प्रमुख नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामलगायतको पतनले माओवादी आन्दोलनसँग जोडिएर धेरै प्रश्न उठेका छन् । जनयुद्ध जनताको मुक्तिका लागि लडिएको युद्धराजनीति थियो वा उद्यम÷व्यवसाय थियो ? जसबारे विसद् विश्लेषण आवश्यक पर्दछ जो यहाँ चर्चा गरिनेछैन । यहाँ मात्र आर्थिक जीवनमा देखापरेका खराबीबारे विशेष चर्चा गरिएको छ । माओवादी आन्दोलनमा देखापरेका वैचारिक, राजनीतिक र सांस्कृतिक खराबी र विसर्जनभन्दा डरलाग्दा आर्थिक खराबीबारे पनि शान्तिप्रक्रियायता (विशेष २०६२) पार्टी समितिहरू र जनस्तरबाट कैयौँ प्रश्नहरू उठ्दै आएका थिए । प्रतिक्रान्तिको भग्नावशेषबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीको गठन र पुनर्गठनका कठिन कार्यभारहरू अघि बढाउँदै गर्दा विगतमा सोही धार र स्कुलबाट आएका नेता र कार्यकर्ताको ठूलो पङ्क्तिले ती आर्थिक खराबीसँग सम्बन्धित सवालहरूको उचित जबाफ र समाधान दिन सक्नुपर्छ । माओवादी चालू संसदीय व्यवस्थाको फासिवादका विरुद्ध एउटा निश्चित विचार, मूल्य र सैद्धान्तिक मान्यता एवम् प्रस्तावहरूका आधारमा नेपाली समाज र राज्यव्यवस्थाको अग्रगामी रूपान्तरण गर्न स्थापित संस्था, पार्टी र अभियान थियो । त्यो संस्था स्थापनायता खासखास घोषित लक्ष्य लागू गर्दै जानेक्रममा विशेषतः शान्तिप्रक्रियायता कतिपय महत्वपूर्ण राजनीतिक प्रस्तावहरूबाट पछि हट्न पुगेको थियो र आखिरीमा एउटा सानो हिस्सा सुधारिएको (नयाँ कलेवरमा) संसदीय व्यवस्थामा पतन हुन पुगेको माओवादीका प्रमुख नेतृत्वमा रहेका प्रचण्ड–बाबुराममा देखापरेको विचलन, विसर्जन, पुँजीवादी चिन्तन, राष्ट्रिय एवम् वर्गीय आत्मसमर्पणवादी सोचाइका कारण उनीहरूले देशीय संसद्वादी धार र वैदेशिक साम्राज्यवादीहरूसमक्ष आफ्नो हार स्वीकार गरी आत्समर्पण गरेको छन । माओवादी आन्दोलनमा देखापरेको उक्त विचलन र विसर्जन कम्युनिस्ट आन्दोलनमा मात्र होइन, यसका अन्य कैयौँ सवालहरूमा पनि थुप्रै विसङ्गति र विकृतिहरू बोकेर देखापरेको थियो । जब उनीहरु सही विचार र कार्यदिशाबाट पलायन हुन पुगे तब तिनको आर्थिक जीवनमा पनि अकल्पनीय खराबीहरू छरपस्ट देखिन पुग्यो । कतिपय सवालमा त्यस्ता आर्थिक खराबीहरू नेपालका पुराना संसद्वादी दल र तिनका नेतामा समेत देखापरेको थिएन । जनयुद्धको समय माओवादी अभियन्ताहरूलाई निजी सम्पत्तिबारे खासै चिन्ता थिएन । बरु पार्टीमा बुझाएका पनि थिए । शान्तिप्रक्रियामा आएयता केही अति दुःखमा थिए । केही हिस्सा वा प्रतिशत भने अभिजातवर्गमा नै परिणत हुन पुगेका थिए । यो माओवादी आन्दोलनको पछिल्लो शान्तिप्रक्रियको एक दशकको परिणामको कटु यथार्थ हो । विगतमा सामूहिकतामा जोड दिने माओवादी संस्कृति शान्तिप्रक्रियासँगै क्रमशः निकृष्ट निजी स्वार्थको राजमार्गमा ओरालो लागेको देखिन्थ्यो । जनयुद्धका नायक प्रचण्डमा विलासी जीवन, सुखसुविधा कति नराम्रोसँग देखियो भन्ने विषयमा रचनात्मक आलोचनाको चेतनाले लैस जनसांस्कृतिक महासङ्घमा आबद्ध जनकलाकार योद्धाहरूले आफ्नो रचनामा एक कार्यक्रम २०६३ मा भएको जिल्ला सदस्यहरूको केन्द्रीकरणमा कलामार्फत व्यङ्ग्य गर्दा ग्रहण गर्नुका साटो नेतृत्वलाई बढी हमला भएको जबाफ उनले दिएका थिए । त्यसयता संसदीय राजनीतिको दैनिकीमा प्रवेश गरेसँगै उनले ती नकारात्मक आर्थिक जीवनमा गुणात्मक छलाङ नै मार्न पुगे । भ्रष्टाचारविरुद्ध जुझारु अभियान नै चलाएको माओवादीले २०६३ फागुन १ गते त उक्त पार्टीका प्रमुख नेता प्रचण्डले खुल्लामञ्चबाट यतिसम्म भन्न भ्याएका थिए– संसारमा भ्रष्टाचार नगर्ने पार्टी छ भने त्यो माओवादी हो । अब हामी छिट्टै जिल्ला सदस्यसम्मको सम्पत्ति पार्टीकरण र सर्वहाराकरणको नीति ल्याउँदैछौँ । जब उनको काठमाडौँ प्रवेश भयो अनि ती वाचा सबै संसदीय हावाले उडाइदियो । जिल्ला सदस्यको सर्वहाराकरणको त कुरै छाडौँ, कैयौँ केन्द्रीय सदस्यहरू पो निजीकरणको राजमार्गमा दौडने प्रतिस्पर्धामा देखापरे । पुराना संसद्वादीकै लहरमा सरकारमा छँदा वा संविधानसभामा रहँदा माओवादीको नाम भ्रष्टाचारमा नराम्रोसँग जोडिने अवस्थासम्म पुगेको थियो ।

शान्तिप्रक्रियासँगै एमाओवादीमा कस्तो आर्थिक सूचक देखिन थाल्यो भने जमिनदारको छोरो होइन, व्यापारव्यवसाय चलाउने पुँजीपति होइन, रोजगारी पनि छैन तर तिनीहरूको भन्दा माथिल्लो जीवनस्तर जिउने नेता र केही कार्यकर्ता देखापर्दै थिए । माओवादी नेताहरू सत्तामा त पुगेकै थिएनन्, पुरानो संसदीय दलाल पुँजीवादी सत्ताको (राज्यको) आंशिक अङ्गमा उसैको कारिन्दा वा नोकर बनी सरकार, राजनीतिक नियुक्ति, संविधानसभामा सामेल भए । त्यहाँ उनीहरूमा सत्ता र शक्तिको दुरुपयोग देखाप¥यो । चाहे त्यो जनसेनाको रकमको अपारदर्शिता होस् वा सगरमाथा चढ्ने बहानामा राज्यको दुरुपयोग गर्ने चिन्तन र संस्कारमा किन नहोस् । चिनियाँ व्यापारी प्रकरण, पोखरा विमानस्थलको कमिसन प्रकरण, सरकार गठनमा भएका आर्थिक चलखेल, आईएनजीओसँगको अनुचित सांठगाँठ र शान्ति समिति नामका स्थानीय समितिहरू, स्थानीय तहमा भएको दलीय संयन्त्र आदि यसको सबुतका रूपमा देख्न सकिन्थ्यो ।

जनयुद्ध थालनीयता माओवादीको आर्थिक जीवनमा निम्न विशेषताका समस्याहरू उजागर भएका थिए :

आलोक प्रवृत्तिमा व्यक्त आर्थिक समस्या

सांस्कृतिक रूपमा कम्युनिस्ट आचरणको विकासमा जोड दिनु व्यक्तिगत सम्पत्ति र परिवारसम्बन्धी विचार नीतिको विकास र कार्यान्वयनमा विशेष ध्यान दिनु क्रान्तिकारीहरूको जिम्मेवारी थियो । स्मरण रहोस्, जनयुद्धको ऐतिहासिक पहलपछि पनि यो सवालमा झन् बढी सर्वहाराकृत हुनुको सट्टा बढी अराजक हुँदै गएर फजुलखर्ची, नोकरशाही र तलबी मानसिकताको विकासको खतरा बढेको थियो । यसको नियन्त्रणका लागि सिङ्गो पार्टीले समयमै सही आमनीतिका आधारमा दृढतापूर्वक अगाडि बढ्न जरुरी ठानेर पार्टीले तत्कालीन समयमा (२०५७ मङ्सिर) मा शुद्धीकरण अभियानबारे विशेष सर्कुलर नै जारी गरेको थियो । तत्कालीन समयमा आलोक प्रवृत्तिमा सुरुमा निम्नपुँजीवादी आर्थिक अराजकतावादी चिन्तनले क्रमशः विकास गर्दै नोकरशाही पुँजीवादी चिन्तनमा विकास गर्दै गयो । आफ्नो इच्छा र स्वार्थअनुसार कार्यकर्तालाई पैसा बाँड्ने र भौतिक उत्पेरणाद्वारा कब्जामा राख्ने प्रयत्न, खानपिन र बसाइमा नोकरशाहको जस्तो गर्न जनताबाट जबर्जस्ती पैसा असुल गर्ने प्रक्रिया हुँदै सारतः सर्वहाराकरणतिर होइन, वर्ग उठाउनेतिर उद्यत हुनु आलोक प्रवृत्तिका आर्थिक खराबीका विशेषताहरू थिए ।

जनयुद्ध सन्तुलनको चरणमा पुग्दा व्यक्त आर्थिक समस्या

जनयुद्धको करिब ६ वर्षको विकासक्रमसँगै पार्टी, सेना र जनसत्ता एवम् जनआधारमा व्यापक विकास भएको थियो । सकारात्मक विकाससँगै केही समस्याका भ्रूणहरू देखिन थालेका थिए । जनयुद्धको विकाससँगै पार्टीको भौतिक र सर्वहाराकरणको प्रश्न एउटा सामान्य थेगो बन्न जाने र पार्टीका खासखास नेता र कार्यकर्ताको जीवनस्तर र दिनचर्या जनसमुदायको भौतिक अवस्थाभन्दा कैयौँ गुणामाथिको रबाफपूर्ण र सम्पन्न वर्गको जस्तो हुँदै जाने डरलाग्दो चुनौती विकासको छोटो अवधिमा देखिँदै आएको थियो । लवाइखुवाइ, हिँडडुल, पारिवारिक भरणपोषण, शिक्षालगायत व्यवस्थापनका सबै पक्षमा सामान्य आर्थिक अराजकता देखापरेको थियो । यसले भविष्यमा आर्थिक विसङ्गति र भ्रष्टाचारको विकराल रूप लिन नपाओस् भन्ने हेतुले पार्टीले विशेष शुद्धीकरण अभियान सञ्चालन गरेको थियो । पहिलो वार्ताकाल पार गर्दै जनयुद्धले गुणात्मक विकास गरेसँगै पार्टीमा देश र जनताको मुक्तिका निम्ति त्याग, तपस्या र बलिदानद्वारा जनताको सेवा गर्ने उद्देश्यले होइन, भौतिक साधन र स्रोतको उपभोगका निमित्त नेतृत्वमा पुग्ने वा पूर्णकालीन कार्यकर्ता बन्ने गलत प्रतिस्पर्धात्मक समेत सानो अंशमा देखापरेको थियो । यसको ज्वलन्त उदाहरण जनयुद्धको थालनीयताका कष्टसाध्य दिनहरूमा निकै दुःख र फारोतिनो गरेर जनताको सेवामा समर्पित कतिपय नेता तथा कार्यकर्ताहरूको समेत जीवनस्तर क्रमशः विलासी र फजुलतिर उठ्दै गएको थियो ।

प्रवासको भद्दा संस्कृति

जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गर्दै गर्दा पार्टीको हेडक्वार्टर प्रवास अर्थात् भारतमा केन्द्रित थियो । जतिबेला प्रवास भारतमा विकास भएर गएको नेतृत्वको भारीभरकम सञ्जाललाई दृढतापूर्वक तोड्न तथा कडा परिश्रम र क्रान्तिकारी मान्यताअनुसार देशभित्र जनताको बीचबाट कार्य सञ्चालन विधि र कार्यशैलीको विकास हुनु पर्दछ भन्ने कुरालाई तत्कालीन रणनीतिक प्रत्याक्रमणको राजनीतिक प्रस्तावमा निकै जोड दिइएको थियो । नयाँ स्थितिमा सङ्गठनात्मक र कार्यशैलीमा शुद्धीकरणको प्रक्रिया पार्टी हेडक्वार्टर र सर्वोच्च नेतृत्व पङ्क्तिबाट नै अगाडि बढ्न जरुरी छ भनिएको थियो । यसको अर्थ के थियो भने प्रवासमा मूल नेतृत्वमै व्यवस्थापन, कार्यशैली, आर्थिकलगायत गम्भीर समस्याहरू देखापरेका थिए । यसलाई घुमाएर प्रवासको भद्दा संस्कृतिको संज्ञा दिइएको थियो ।

वर्ग उत्थानबारे

२०६२ सालमा सम्पन्न माओवादीको चुनबाङ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीमा डरलाग्दा आर्थिक समस्याहरूलाई इङ्गित गर्दै वर्गउत्थानबारे एक उपशीर्षकमा त्यसबारे विश्लेषण गरिएको थियो । त्यसमा भनिएको छ, ‘पुरानो सत्ता भत्काएर नयाँ सत्ता (विकासको जुनसुकै स्तरमा भए पनि) निर्माणपछि स्वाभाविक रूपमा समाजमा भएका सबै खराबीहरूले पार्टी र आन्दोलनमा प्रवेश गर्दछन् । सत्तामा पदप्रतिष्ठा, आर्थिक र भौतिक साधनस्रोतको प्रचुरता रहेको हुन्छ । त्यो भौतिक परिवेशले सर्वहारा रूपान्तरणतिर अगाडि बढ्दै गरेको मानिसलाई समेत नोकरशाही पुुँजीवादको दिशातिर धकेल्न बल गर्दछ । …..हामीले भोलि फौजी रूपले काठमाडौँ कब्जा गरिसकेपछि पनि यी समस्याहरू घट्ने होइ्न, झन् बढ्ने कुरा निश्चित छ । जसको निदानको निम्ति पार्टीले विशेष शुद्धीकरण अभियानको आवश्यकता बोध गरी आचारसंहितासहित तमाम आर्थिक विसङ्गति र खराबीहरूका विरुद्ध सङ्घर्ष गर्ने निर्णय नै गरेको थियो ।
जब चुनबाड. बैठकले माओवादी आन्दोलनमा २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनमा भ्रूणका रूपमा हुर्र्किएको नवसंशोधनवादी धार वा विचलनको निर्णायक उत्कर्ष पार गरेको थियो त्यसयता वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत तमाम क्षेत्रमा फोहोरका डङ्गुरहरू थुप्रिन थालेका थिए जुन फोहोर विगतका संसद्वादीलाई समेत जित्नेसम्मका रहेका थिए । यसरी एउटा निश्चित विचार र राजनीतिमा विचलन आइसकेपछि त्यसले निजको आर्थिक एवम् सांस्कृतिकलगायत क्षेत्रमा समेत खराबीहरू निम्त्याउने गर्दछ । एमाओवादी पार्टीको आर्थिक जीवनमा पनि विगत जनयुद्धकालको तुलनामा हेर्दा कैयौँ डरलाग्दा पलायन एवम् आर्थिक विचलनहरू देखापरेका थिए । यसलाई बेलैमा पहिचान गरी नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनलाई सार्थकता दिन सकिएला ।

एमाओवादीभित्र निम्न विशेषताका आर्थिक विसङ्गतिहरू देखापरेका थिए :

१. नोकरशाही तरिकाले २÷४ जनाले संस्थापन पक्षका नाममा पार्टीकोष छाडा तरिकाले उपभोग गर्ने ।

२. पार्टीको नीति र निर्णयविपरीत नेतादेखि कार्यकर्तासम्म अनेकौँ बहानामा आर्थिक निजी लाभको कारोबारमा तल्लीन हुने ।

३. आवश्यकताका नाममा ठेकेदार, तस्कर र दलालसँग अनावश्यक साँठगाँठ गर्ने एवम् व्यावसायिक पार्टनरसिपसम्म गरी कमिसन खाने ।

४. पार्टी, निकट सङ्गठनको नाम बेचेर टेन्डर लिने र कमिसन खाने ।

५. पार्टीको सामूहिक निर्णयबेगर केही मानिसको इच्छाअनुसार सम्पत्ति जोड्ने एवम् विशेष सुविधा उपयोग गर्ने ।

६. सर्वहाराकरणको नीतिविपरीत केही मान्छेको बसाइका निम्ति करोडौँको घरजग्गा खरिद गर्ने, करोडौँ अनुत्पादक पुँजी जोड्ने, अर्काेतिर हजारौँ पूर्णकालीन कार्यकर्ता दैनिकी चलाउन नसकेर भौँतारिनुपर्ने ।

७. पार्टीका नाममा अर्थ सङ्कलन गर्ने, सके सबै खाने, नसके जतिसक्दो पचाउनतिर लाग्नु । संस्थागत गर्न नसक्नु ।

८. केही हजार÷लाख सम्पत्ति पार्टीकरण गरेको बहानामा विलासी जीवन बिताउने र नयाँ परिवेशको पगरी गुथ्ने ।

९. विचार राजनीतिक उत्प्रेरणाले प्रशिक्षित गर्न बहस गर्नेभन्दा पनि भौतिक सुखसुविधा र प्रलोभन बाँड्ने र सही बहसलाई समेत प्रभावित गर्नु ।

१०. विचार बहसका कारण भिन्न मतका पक्षमाथि जनताबाट स्वेच्छिक सहयोग सङ्कलनमा समेत पार्टी सत्ताको दुरुपयोग गरी रोक्नु र आर्थिक एवम् भौतिक नाकाबन्दीको अभ्यास गर्नु ।

११. माओवादी जनसत्ता विघटन भएको, पुरानो सत्ता रूपान्तरण पनि नभएकाले सही न्याय दिन नसक्ने सङ्क्रमणकालीन फाइदा उठाउँदै जनताको न्यायको काममा आर्थिक लेनदेन गर्ने, कतिपय सवालमा त सही न्याय दिनेभन्दा आर्थिक केन्द्रित हुने सोचाइ देखिएको थियो ।

१२. पार्टी केन्द्रदेखि तलसम्म आय–व्यय अनुमोदन प्रायः समाप्त पारिदिने ।

१३. विकास निर्माणलगायत काममा ठेकेदारसँग निश्चित रकम लिएर गुणस्तरमा ध्यान नदिने ।

१४. उत्पादन र श्रमकार्यमा पटक्कै भाग नलिने ।

१५. सहकारीहरू सिद्धान्तअनुसार त कुरै छाडाँै, निजी कम्पनीअनुसार पनि सञ्चालन गरिएन, बरु थाहै नदिएर खरिदबिक्री गर्ने काम भए ।

१६. जनसेनाको स्थायी बसाइको आयव्यय सार्वजनिक नगर्नु, आईएनजीओसँग महिला सञ्जालमा सहवरण गरी गुजारा चलाउनु ।

१७. आफ्ना छोराछोरी निजी विद्यालयमा जसरी पनि पढाउनैपर्ने, पारिवारिक जीवनस्तर श्रमिक किसान जनताभन्दा माथि हुनैपर्ने र क्रान्तिकारीको ब्याज खानैपर्ने पाखण्डपूर्ण समस्यामा फस्नु ।

१८. पार्टीमा एकजना लागेपछि अरूले उत्पादनकार्य पटक्कै नगर्ने, सबै पार्टी निर्भर हुन खोज्ने ।

१९. जनता र शुभचिन्तक एवम् पार्टी सदस्यसँग लिएको सापटी रकम फिर्ता नगर्नु, गरिहाले पनि ढिलाढाला गर्दै टार्दै जानु ।

२०. शान्तिप्रक्रियामा आएका साम्राज्यवादी डलरको प्रभावमा परेर द्वन्द्वपीडित शब्दको गलत ढङ्गले प्रयोग गर्नु ।

२१. नीति उत्पीडित, गरिब र निमुखाको लिने तर भोगचलन भने पुँजीवादीको गर्ने ।

२२. पार्टी निकटका पत्रपत्रिकाको विज्ञापन सङ्कलनमा पार्टीनाम र नेताको नाम जोड्ने, मोटो रकम सङ्कलन गर्ने र त्यसमा पुँजीवादको बजार नीतिअनुरूप कमिसन खाने कार्य गर्नु ।

२३.विद्यार्थी, मजदुरलगायत सङ्गठनले आन्दोलनको उठान गर्ने र अधिकारको सवाल संस्थागत गर्नु त कता हो कता, उल्टै आर्थिक प्रलोभनमा फस्दै बार्गेनिङ गर्नु ।

२४. विगत कालमा कब्जा गरिएका वा पार्टीले किसानहरूको हितमा सङ्घर्ष चलाएका जमिन र सम्बन्धित जमिनदार र दलालसँग मिलोमतो गरी किसानको हित र पार्टीनीतिको उल्लङ्घन गर्नु ।

२५.खर्च घटाउने र आम्दानी बढाउनेभन्दा भैपरीमै रमाउने । यी आर्थिक विसङ्गति मात्र होइन, यसले पार्टीभित्र सम्पन्न नवधनाढ्य वर्ग र विपन्नहरूको अलगअलग वर्ग बन्न पुगेको थियो भने केन्द्रदेखि तलसम्म केही सीमित व्यक्ति जो पदीय मुख्य नेतृत्व र ओहोदामा थिए ती टाठाबाठाहरूको दिनप्रतिदिन सम्पन्न हुँदै जाने स्थिति बन्नु । अर्काेतिर कार्यकर्ताहरूको ठूलो पङ्क्ति बेरोजगार, अभाव, चरम उत्पीडनको सिकार बन्ने, पारिवारिक सङ्कटको घेरामा पर्दै जाने स्थिति देखाप¥यो । शान्तिप्रक्रियासँगै पार्टीको एउटा हिस्सा कसरी हुन्छ, पैसाका निम्ति नेपाली उखानमा जस्तै सित्तैँमा चुक पनि धार्नी खाने भनेजस्तै भ्रष्टाचार, तस्करी, कमिसनमा लागेका थिए । माथिका आर्थिक खराबीहरू तत्कालीन एमाओवादीमा व्यक्त भएका थिए । तर उक्त पार्टीमा विगतकालमा लामो समय काम गरेका नेता तथा कार्यकर्ताले त्यस पार्टीको गलत विचार र राजनीतिक कार्यदिशासँग सम्बन्धविच्छेद गरे पनि आर्थिक खराबीका कैयौँ विशेषताहरूबाट अझै मुक्त भैनसकेको अवस्थामा निर्मम सङ्घर्षद्वारा मात्र ती खराबीहरूमाथि विजय हासिल गर्न सकिनेछ ।

यीलगायत कैयौँ आर्थिक विचलन र विसङ्गतिहरूले घेरिएको थियो एमाओवादीको आर्थिक जीवन । परिवर्तनका निम्ति गरिएको बलिदानलाई किनबेच गरी विचार र मान्यताबाट च्यूत बन्दै अन्ततः संसदीय व्यवस्थामा साष्टाङ्ग दण्डवत् गर्न पुगेको एमाओवादी राजनीतिक रूपले एमालेकरण मात्र होइन, आर्थिक क्षेत्रबाट पनि व्यक्तिगत स्वार्थीहरूको दलाल पुँजीवादी एवम् संशोधनवादी झुण्ड बन्न पुगेको छ । सर्वहारावर्गको हुँकार गर्नेहरूमा कति धेरै कमजोरी देखापरेका थिए भने मुख्य नेतृत्वमा नै गम्भीर समस्या देखिएको थियो जब कि माओवादी नेतृत्व सत्तामा त पुगेकै थिएन । उनीहरूले पछिल्लो समय पनि पार्टी समर्थकलाई विचार राजनीतिबाट भन्दा पनि सत्ताको प्रयोगबाट सरुवा, रोजगारी, बढुवा, स्थानीय निकाय र प्रदेशको पदको वितरणको आश्वासनदेखि विकासे कार्यक्रमको भुलभुलैयाका प्रलोभनहरू बाँड्नेसम्मका गतिविधिमा उद्यत देखिए । उनीहरू क्रान्ति र जनतालाई एकातिर थन्क्याएर पार्टीका नाममा करोडौँको स्थायी सम्पत्ति जोड्नतिर लागेका थिए र आत्मरति गर्दै भन्दथे– हामीले झोलाको पार्टी कार्यालयलाई करोडाँै र अर्बौंको बिल्डिङसम्म ल्याइपु¥यायौँ… आदिआदि ।

आफ्नो नेतृत्वमा राज्यसत्ता हात नपर्दै जनसेनाको करोडाँै हिसाब पारदर्शी गर्न नसक्ने, पार्टीको समितिमा आयव्यय विवरण पेस गर्न नसक्नेले राज्यसत्ता र मुख्य पद नै पाएको अवस्थमा त्यो राज्यको आर्थिक जीवनले के नियति बेहोर्नुपथ्यो होला ? गम्भीर प्रश्न खडा भएको छ । यो अवस्थाले नेपालको पुरानै पार्टीको गल्ती दोहोरिने, समाजवादी आन्दोलनको रोग निवारण नहुने सङ्केत गरेको सहजै बुझ्न सकिन्छ । केही मानिसको गल्तीका कारण एउटा अग्रगामी व्यवस्थाले नै बलिदान गर्नुपर्ने अवस्था सुखद होइन । केही मानिसको भ्रष्ट, पाखण्डी विचलनको रक्षा गर्न पार्टी र समाजवादी आन्दोलनले किन क्षति बेहोर्ने ? आज माओवादी आन्दोलनको पुनर्गठनको यात्रा पार गर्दै नेपाल कम्युनिस्ट पार्टीको नयाँ कार्यभार अघि बढाउँदै गर्दा सच्चा कम्युनिस्ट पार्टी निर्माणको कार्यभार पूरा गर्ने नेता तथा कार्यकर्ता दुवैले यो प्रश्नको वैज्ञानिक समाधान दिने गरी यी खराबीविरुद्ध सशक्त रूपले लड्ने आवश्यकता निर्माण गरिदिएको छ किनकि जनताको सेवा गर्ने तथा आमजनतालाई राज्यसत्ताको मालिक बन्ने एवम् अधिकार सम्पन्न तुल्याउनेबाहेक सर्वहारावर्गको राजनीति, पार्टी र त्यसअन्तर्गतको सङ्गठनको अर्काे कुनै उद्देश्य हुनै सक्तैन । यसर्थ नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण र त्यसका नेता कार्यकर्ताले जनता र राष्ट्रको सेवाबाहेक अन्य स्वार्थ राख्छ भने बिनाहिच्किचाहट त्यसलाई पन्छाउने आँट गर्नुपर्दछ जसले ती खराबीका कारण नेपालको कम्युनिस्ट आन्दोलनले अपूर्णतामा विश्राम लिन नपरोस् ।

आजको सन्दर्भमा भने एमाओवादीभित्र हुर्किएका आर्थिक खराबीले कम्युनिस्ट पार्टीमा निम्न विशेषताका समस्याहरू निम्त्याउन सक्छ :

अर्थवादको समस्या

हरेक काममा खालि आर्थिक स्वार्थलाई मात्र केन्द्रमा राख्ने, अर्थका लागि जस्तो पनि काम गर्न तयार हुने, विचार र सिद्धान्तलाई एकातिर मिल्काइदिने, दर्शन र विचारले खान दिँदैन भन्नसम्म पछि नपर्ने विशेषता अर्थवादका रूपमा देखा पर्दछन् । सैद्धान्तिक मूल्य र मान्यता हराएपछि दल, कार्यकर्ता र उक्त पार्टीको नेताबाट जनताले रूपान्तरणको आशा कसरी गर्न सक्दछन् । जुन देशमा इमानदार समूह छैन, पार्टी छैन र त्यसको नेता कार्यकर्ता छैन भने त्यो देश र त्यहाँका जनताको हालत के हुन्छ ? नेपालको विगतको विशेषतः संसदीय व्यवस्थाको अवधिले प्रस्ट पारेको छ । वैचारिक आस्थाबिनाको राजनीतिक जीवनले आमूल परिवर्तनको मूल्यबोध गर्न सक्तैन । भोगविलास र सुविधामा होइन, नेताको उचाइ निष्ठा र इमानदारीमा चहकिलो हुँदै जान्छ जसको ज्वलन्त उदाहरण माओवादी जनयुद्धका प्रचण्ड–बावुराम खुम्चिएको सर्ट र पाइन्टमा भर्खरै शान्तिप्रक्रियामा आउँदा कति स्थापित थिए । जब उनीहरूमा खराबीहरू आए तब उनीहरू टल्किएका काला कोट र पोसाकमा पनि फिक्का देखिन पुगेका थिए । मानिसको आर्थिक कमजोरीको आधारलाई उसको ‘नेचर’, ‘कल्चर’ र ‘सिग्नेचर’ सजिलै फेरिँदैन भनेजस्तै विशेष आर्थिक नीति नबनाउने हो भने आर्थिक जीवनको खराबीबाट मानिस मुक्त हुन ठूलै महाभारत छिचोल्नुपर्ने हुन्छ किनकि नेपाली आम प्रचलन नै बनेको छ– ‘धन देखेपछि महादेवका पनि तीन नेत्र बल्दछन्’ भन्ने जनबोली छ । कैयाँै समस्याबाट पार भएका मानिसहरू आर्थिक सवालमा भने प्रायजसो फेल हुने गर्दा रहेछन् । यसर्थ अर्थवादको चिन्तनलाई राम्रोसँग पर्दाफास गर्न सकिएन भने कम्युनिस्ट पार्टी निर्माणको कार्यभार र वैज्ञानिक समाजवादी आन्दोलन अपूर्ण हुने निश्चित छ ।

उपभोक्तावादको समस्या

उपभोक्तावादले आफ्नो आवश्यकता पूर्तिका लागि जेसुकै र जस्तोसुकै काम गर्न पनि तयार हुने वा समस्यालाई वस्तु उपयोग, भोग र प्रयोगको दृष्टिले मात्र हेर्ने र सोहीअनुसार क्रियाकलाप गर्ने गर्दछ । नेपाली समाजको फेरिएको चरित्रसँगै दलाल पुँजीवाद र निगम पुँजीवादको आर्थिक विशेषताले समाजमा हदैसम्मको उपभोक्तावादी संस्कृतिको गुणात्मक विकास भइरहेको छ । यसले सिद्धान्त, विचार, मूल्य–मान्यता, नैतिकता सबै तोडेर उपभोगको पूर्ति गर्न जे पनि गर्न तयार हुन्छ जसको प्रभाव कम्युनिस्ट पार्टी सदस्यमा पनि आफ्नो समस्या समाधान गर्ने सही तरिका खोज्ने, अपनाउने भन्दा उपभोक्तावादकै सिकार बन्ने सम्भावना बढी रहन्छ । यसबाट कम्युनिस्ट सदस्य मुक्त हुन सकेन भने अन्ततः उपभोक्तावादी संस्कार र संस्कृतिले निजको विचारलाई खोल मात्र बाँकी राखेर निलिदिन्छ ।

राजनीतिक श्रेष्ठताको समस्या

आज आर्थिक जीवन र प्रणालीले जुन समस्याहरू बेहोर्दैछ अन्ततः त्यहाँबाट उम्कन सकेन भने कम्युनिस्ट पार्टीका सदस्यमा जुन राजनीतिक श्रेष्ठताको नैतिक प्राधिकार नै आवश्यक पर्दछ । त्यसको अभावमा जनताको नेतृत्व गर्न त के आन्दोलनमा भाग लिनसमेत असम्भव हुनेछ जसको उदाहरण हामीले क्रान्तिकालमा निकै दुःख गरेका चाउचेस्कुलाई पछिल्लो समय विलासी जीवनको भ्रष्ट संस्कृतिका कारण उनैलाई गोली हान्ने चिट्ठा खोल्नुपर्ने भयो र त्यो समय चिट्ठा लिनेको भीड नै लागेको थियो । आज नेपालमा पनि आमजनताले नेपाली चाउचेस्कु प्रचण्डलाई कारबाही हुँदैन ? भन्ने आमजिज्ञासा राखेको पाइन्छ । अर्थवाद, उपभोक्तावाद र राजनीतिक श्रेष्ठताको समस्याले अन्ततः फरक वैचारिक शिविरमा आत्मसमर्पण र विसर्जनबाहेक अर्को कुनै निष्कर्ष निस्कनेछैन । यसको ताजा दृष्टान्त माओवादी पार्टीको विसर्जन र पतनले पर्याप्त मात्रामा पुष्टि गरिदिएको छ ।

आर्थिक खराबीसँग ठीक तरिकाले सङ्घर्ष नचलाउने र सही अर्थप्रणाली अवलम्बन नगर्ने हो भने आर्थिक जीवनका समस्याले कम्युनिस्ट पार्टीलाई आजको दलाल पुँजीवादको दबदबा रहेको समयमा सही तरिकाले अघि बढ्न दिनेछैन ।
२०७५ साउन ५ गते मध्यान्ह १२ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :