नेत्रविक्रम चन्दको ‘माओवादी धारको एकता’ बारे केही कुरा

नेत्रविक्रम चन्दको ‘माओवादी धारको एकता’ बारे केही कुरा

‘…माओवादी धारलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा प्रचण्डजी र हामी सबै सहमत नै छौँ । पहिला हामी मोर्चा बनाउन सहमत भयौँ । एक चरण हामी यसमा जान्छौँ । माओवादीलाई एकतावद्ध गर्ने हाम्रो चाहना छ । बहसहरू छन्, विचारका प्रश्नहरू छन्, कार्यक्रमका प्रश्नहरू छन् । हामीले यो बीचमा अलग बाटो लियौँ । यसलाई हेर्ने दृष्टिकोण के हो ? ती विषयमा छलफल हुँदै जान्छ । प्रचण्ड हाम्रो अग्रज नेता हो, त्यसमा आपत्ति छैन । उहाँले एकीकृत जनक्रान्तिका सहिद पनि हाम्रा हुन् भन्नुभएको छ । हामीले ‘सी जाति’ बनाएका छौँ । अलग खालको संस्कार र संस्कृतिको विकास गरेका छौँ । यी विषयमा छलफल हुन बाँकी नै छ ।’

– नेत्रविक्रम चन्द, अनलाइन खबर, २०८० कात्तिक ६

लेखक : कृष्ण वाग्ले ‘रूपेश’

माओवादी धारको सारतत्व भनेको नेपालमा सामन्त, दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गर्दै नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादका निम्ति अघि बढ्नका लागि निरन्तर सङ्घर्ष गरिरहेको मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध पार्टी नै हो तर उनले भनेजस्तो हालको नेपालको दलाल पुँजीवादी सत्ताको नोकरका रूपमा सरकारको नेतृत्व गरिरहेको इतिहासका एक कालखण्डका भूपू माओवादीहरूलाई माओवादी धारमा राखेर विश्लेषण गर्न मिल्ने कुनै ठाउँ बाँकी राखेका छैनन् । उनीहरू जनघात र राष्ट्रघातमा विगतकै संसद्‌वादी पार्टीकै हारमा गएर प्रतिस्पर्धा गर्न पुगेका छन् । आजको सन्दर्भमा उनीहरूले देश, जनता र उत्पीडित वर्गप्रति सत्ताका केही अङ्ग (मुख्यतः तलदेखि माथिसम्मको सरकार) मा प्रवेशको डेढ दशक गुजार्दा उनीहरूको विचारधारा, पक्षधरता, भनाइ र गराइमा के तालमेल मिलेको पाउन सकिन्छ ? ढुक्कले भन्न सकिन्छ– हजारौँ तथ्यहरूले उनीहरू खास्साको संसद्‌वादी दल बनेर सरकार गठनको राजनीतिक समीकरणकै निम्ति कहिले एमालेसँग पार्टी एकता त कहिले नेपाली काङ्ग्रेससँग चुनावी तालमेल र सरकारमा सवैखालका संसद्‌वादी शक्तिसँग सहकार्य, राज्यका विभिन्न ओहोदामा छँदा गरिएको कमिसन काण्डमा उनीहरूको संलग्नता आदिजस्ता उसको सबैभन्दा बलियो आधारसहित भन्न सकिन्छ– त्यो उनीहरूको वैचारिक विचलन, आत्मसमर्पण र पछि हटाइसिवाय अरू केही होइन ।

शान्तिप्रक्रिया (संसदीय सङ्घर्षकाल) वा ०६२–०६३ वरपर उनीहरूमा सैद्धान्तिक र राजनीतिक विचलनहरू पैदा भएका थिए । ती एक हदमा माथि नउठ्दासम्म सच्याउन सकिने तहमै थिए । तर आज उनीहरू विचलनभन्दा निकै पर आत्मसमर्पण र पतनको पराकाष्ठामा नै हुत्तिन पुगेका छन् जहाँ उनीहरूलाई उठाउन खोज्दा उठाउने जनको समेत हालत खराब हुनेमा कुनै सन्देह छैन । कमरेड लेनिनले विचलनका सन्दर्भमा भनेका छन्, ‘विचलन अहिलेसम्म पूर्ण विकसित धारा होइन । विचलन भनेको यस्तो चीज हो जसलाई सुधार्न सकिन्छ । मानिसहरू पथबाट केही विचलित भएका छन् वा पथबाट विचलित हुन थालिरहेका छन् तर तिनीहरूलाई अझसम्म ठीक पार्न सकिन्छ ।’

– लेनिन, सङ्कलित रचना, भाग ३२

भूपू माओवादीहरू अर्थात् प्रचण्ड नेतृत्वको पार्टीको समस्या विचलनमा सीमित छैन । उसको पछिहटाइ त विसर्जनवादसम्म पुगिसकेको छ जसबारे लेनिनले भनेका छन्, ‘विसर्जनवाद एउटा गम्भीर विचारधारा हो । यो माक्र्सवादी विचारधारा होइन, सर्वहारा विचारधारा होइन, बरु उदार–पुँजीवादी विचारधारा हो ।’

– लेनिन, सङ्कलित रचना भाग २०

प्रचण्डहरूमा देखापरेको विसर्जनवाद सुरुमा विचलन हुँदै वर्गीय र राष्ट्रिय–आत्मसमर्पणवादमा फड्को मार्न पुगेको थियो । यहाँनिर लेनिनले भनेजस्तै, ‘अवश्य पनि विसर्जनवाद गद्दारीसित, कार्यक्रम तथा कार्यनीतिको परित्यागसित, अवसरवादसित विचारधारात्मक रूपले सम्बन्धित छ । …तर विसर्जनवाद अवसरवाद मात्र होइन, अवसरवादीहरूले पार्टीलाई गलत, पुँजीवादी बाटोतर्फ, उदार–मजदुर नीतिको बाटोतर्फ लगिरहेका छन् तर उनीहरू पार्टीलाई नै परित्याग गर्दैनन्, पार्टीको अस्तित्व मेट्दैनन् । विसर्जवाद त्यस मार्काको अवसरवाद हो जुन पार्टीलाई परित्याग गर्ने हदसम्म जान्छ । स्वतः प्रस्ट कुरा के भने पार्टी सदस्यतामा पार्टीको अस्तित्व नमान्नेहरू भएमा पार्टी रहन सक्दैन ।’

– लेनिन, सङ्कलित रचना, भाग १९

यो भनाइकै सारमा प्रचण्डहरूमा देखापरेको विचलनविरुद्ध पार्टीमा चलेका अन्तरसङ्घर्षका क्रममा पार्टीको निर्णय र वैचारिक मान्यतालाई लत्याउँदै, उल्ट्याउँदै संसद्को उपयोग, संविधानसभाको निर्वाचन, जसरी पनि संविधान भन्दै आफ्नो माओवादी पार्टी मान्यतालाई तोडमोड गर्दै रणनीतिक रूपमा माओवाद र संसद्वादलाई जोड्दै सुधारिएको संसदीय व्यवस्थाका नयाँ चाकर बनेको कटु यथार्थ सबैका सामु उभिएको छ ।
यसै प्रसङ्गमा लेनिनले भनेका छन्, ‘विसर्जनवादीहरू त्यस्ता निम्नपुँजीवादी बुद्धिजीवी हुन् जसलाई पुँजीपति वर्गले मजदुरहरूको माझमा उदारवादी भ्रष्टाचारको बिउ रोप्नका लागि पठाएको हुन्छ । विसर्जनवादीहरू माक्र्सवादप्रति विश्वासघाती र जनवादप्रति विश्वासघाती हुन् ।’

– लेनिन, सङ्कलित रचना भाग १९

ठीक यसैको सेरोफेरोमा भूपू माओवादीको नेतृत्व गरेका प्रचण्ड–बाबुरामबाट सोही स्तरको विश्वासघाती साबित भइसकेको सन्दर्भमा माओवादी धारको एकताको कुनै वैचारिक सान्दर्भिकता रहनेछैन किनकि माओवाद र संसद्वादको लामो सहकार्य वा सँगै प्रयोग सम्भव नै हुँदैन जो नेपालमा भइराखेकै छ । त्यो हुनुमा यो भन्न आनाकानी गर्नु पर्दैन– उनीहरू इतिहासका माओवादी अर्थात् भूपू माओावादीरू नै हुन् अर्थात् लोगोधारी माओवादी मात्र हुन पुगेका छन् जहाँ उनीहरूलाई माओवादी धाराको वैचारिक प्रतिबद्धता, निष्ठा, इमानदारी र समर्पण केही मतलब छैन, छ त केवल संसदीय कुर्सी–खेल कसरी आफूअनुकूल पार्ने, त्यो पनि सिङ्गो पार्टीको हितमा होइन, अमूक पार्टी प्रमुखलगायतको राजनीतिक स्थान सुनिश्चित गर्नु मात्र रहेको छ । यसर्थ माओवादी धारको एकताले खालि संसदीय जोड–घटाउमा केही अदली–वदली र विगत कालमा अलग भएका अन्य पार्टीका मानिसहरूलाई संसदीय यात्रा तय गर्न भने सहज हुन सक्ला ।

८ कात्तिक, २०८०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :