राजधानी तनावग्रस्त, प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार, मन्त्रीको गाडीमाथि ढुङ्गामुढा, ठाउँठाउँमा झडप, ४० जना घाइते

काठमाडाैँ ः चिकित्सा क्षेत्रमा सुधारको माग राखेर २२ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका समर्थकहरूको कार्यक्रम भइरहेको समयमा प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्द अश्रुग्याँस र लाठी प्रहार गर्दा राजधानी तनावग्रस्त भएको छ । प्रदर्शनकारीले प्रदेशमन्त्रीका गाडीमा ढुङ्गामुढा गरेका छन् । केसीका समर्थकहरूको प्रदर्शनमा नागरिक समाज, अधिकारकर्मी, चलचित्रकर्मी, पूर्वप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, कार्यकर्ताका साथै काङ्ग्रेसको भ्रातृ सङ्गठन तरुण दलले समर्थन जनाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शन प्रभावकारी बन्दै गएपछि प्रहरीले लाठी र अश्रुग्याँस प्रहार गर्दा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ ४० भन्दा बढी घाइते भएका छन् ।

केसी समर्थकको प्रदर्शनस्थलमा पुगेका तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
झडपमा प्रहरी इन्स्पेक्टर खेम नेपालका साथै तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतसहित करिब ४० जना घाइते भएको जनाइएको छ ।
राजधानीको माइतीघरमण्डलाबाट नयाँबानेश्वरतर्फ जाँदै गरेको तरुण दलको ¥यालीलाई प्रहरीले रोकेपछि झडप भएको थियो ।
कार्यक्रममा डा. केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशील साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरूले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुसमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडप भएको आयोजकहरूले जनाएका छन् । नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले दमन गरेको थियो ।

प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेपछि नयाँबानेश्वर वरपरको क्षेत्र तनावग्रस्त बनेको हो । बानेश्वरवरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनकारीहरू आक्रोशित बनेर सरकारविरोधी नारा लगाइरहेका छन् ।

आक्रोशित तरुण दलका कार्यकर्ताले प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडी तोडफोड गरिदिएका छन् । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडी तोडफोड भएको हो । यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुङ्गा लागेर इन्द्रेणी फुडल्यान्डको बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

२०७५ साउन ५ गते अपरान्ह ४ : ०३  मा  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :