इच्छुक र जनसंस्कृतिकर्मीको सम्बन्ध

सन्दर्भ १४ औँ सांस्कृतिक बलिदान दिवस

रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो । उहाँ क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक हुनु भएको छ । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी गर्यो । एक सातासम्म निर्मम यातना दिएर उहाँको हत्या गरियो  । २०४६ सालको जनआन्दोलन मार्फत जनताको सीमित नै भए पनि हक अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका इच्छुकको त्यसको रगत–पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उहाँको रगतलाई ठाडो घाँटी लगाएर घटघटी पियो । मध्ययुगीन शैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरूपयोग गर्दै क्रान्तिकारी योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर एक होनाहार सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमाएको गुमाएका छौँ । वर्तमान काठमाडौंका एसएसपी विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूर्ण यातना दिएका थिए । हिरासतमा उहाँलाई किन्ने प्रयास भयो । प्रहरीहरू उहाँबाट पार्टीको गोपनीयता भङ्ग गराउन चाहन्थे तर त्यहाँ उहाँले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नै अगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भन्नुभएको थियो– “मेरो देशभक्ति मेरो मुटु झिके पनि तपार्इंहरू झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।” उहाँको बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो । इच्छुकको शब्द र कर्मबीचमा मेल थियो । सर्वहारा संस्कृतिका पर्याय इच्छुकको आदर्श वाक्य थियो– “मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो ।” यस्ता आदर्शबोधी योद्धा इच्छुकको बलिदान महान् सहादतको सर्वोच्च शिखर पनि हो । वास्तवमा इच्छुक मुलुकको सुखद्, समृद्ध र सुन्दर भविष्यको दिशामा कृत–सङ्कल्पित क्रान्तिदूत हुनुहुन्थ्यो । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको सहादतले बलिदानीपूर्ण गौरवको सगर चुमेको छ । उहाँको बलिदानीपूर्ण जीवनगाथाले सिङ्गो क्रान्तिकारी पङ्क्तिमा निराशा र पलायन होइन, बरु थप ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । इच्छुकको उज्यालो गाथाले जनसांस्कृतिक आन्दोलनको दिशाबोध गरेको छ । भनिन्छ– असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिएका इच्छुकलाई जल्लादहरूका यातना शिविरमा दिएको चरम यातनाबाट मुच्र्छित भएपछि दुवै खुट्टामा समातेर महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुस्मनका अँध्यारा कालकोठरीमा दुस्मनकै सामुन्ने क्रान्ति र परिवर्तनको आगो ओकल्ने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गर्नुभयो । इच्छुकको शब्द र कर्मबीचको तादात्म्यले भावी पुस्ताका लाखौँलाख युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको एउटा कविको छातीमा दागिएको गोली नभएर यो देशलाई माया गर्ने, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाहरूका नाभीस्थलमाथिको प्रहार गरिएको गोली हो । आज उहाँलाई सम्झनु भनेको हाम्रो जीवनलाई विचार, आदर्श, दर्शन अनुसार बनाउन प्रतिवद्धता व्यक्त गर्नु पनि हो । यो नै इच्छुकको ओजत्व र स्वत्व हो ।

आज धेरैको मनमा एउटै कुरा खेलिरहेको छ– इच्छुक आज बाँचिरहनुभएको भए के लेख्नुहुन्थ्यो होला ? के बोल्नुहुन्थ्यो होला ? के गर्नुहुन्थ्यो होला ? आदि आदि । इच्छुकले आज धेरै कुरा देख्न पाउनुहुन्थ्यो । उहाँको बलिदान पश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । बलिदानका असङ्ख्य पिरामीडहरू खडा भएका छन् । आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू बेखबर छन् । सहिद परिवारहरूको विचल्ली भएको छ । सपनाहरू मरेका छन् । जनमुक्ति सेना बजारको मालमा परिणत भएका छन् । राष्ट्रियतालाई कुर्सीसित साटिएको छ । वर्गदुस्मन केहीका निम्ति हितैषी बनेका छन् । माओवादी केन्द्रको मुख्य नेतृत्वमा भयानक वैचारिक विचलनका आएको छ । अहिले विप्लवले क्रान्तिको रातो झन्डा उठाउनुभएको छ । आज यो झन्डा पनि खतरामुक्त रहेको छैन । यसलाई पनि विभिन्न दिशाबाट आएको दुषित हावाको झोक्काले ढलाउने, झुकाउने प्रपञ्च भइरहेको छ । निरन्तर सङ्घर्ष र सफलता असफलताका बीच फेरि पनि सङ्घर्र्ष, यही हो जीवन ! इच्छुक आज हुनुभएको भए सायद राम्रो सवक सिकाइदिनुहुन्थ्यो । यसका विरुद्ध उहाँ निश्चय पनि आगो ओकल्नुहुन्थयो । ढँटुवाहरूलाई झापड हान्नुहुन्थ्यो । हुन त व्यक्ति मात्र असल भएर केही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ । महान् साहित्यकार लु सुनले भन्नुभएको थियो– “आफ्नासित आँखा जुधाएर कुरा गर अनि दुस्मनसित औंला ठड्याएर कुरा गर ।” माओले भन्नुभएको थियो– “स्पष्ट होऊ र स्पष्ट कुरा निर्धक्क राख ।” कर्यकताले यही कुरा सिके, राजनीतिक स्कुलिङ नै यस्तै थियो । जनताको विजयको कुनै विकल्प छैन । इच्छुक आज हुनुभएको भए हाम्रो साहित्यिक–सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको राजनीतिको मूल्य कति माथि हुन्थ्यो !

यस्तो बेला माक्र्सवादी संस्कृतिकर्मीहरूको दायित्व कैयौँगुणा बढेको हुन्छ । सांस्कृतिक फाँटमा गम्भीर चुनौतीहरू नभएका होइनन् । महान् सम्भावनाहरू पनि प्रशस्तै छन् । माक्र्सवादी संस्कृतिकर्मीहरूले विशेष ध्यान दिनुपर्ने केही सन्दर्भहरूलाई यहाँ उल्लेख गर्नु मनासिव हुन्छ ।

१. माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनलाई गहिरोसित आत्मसात् गर्न आवश्यक छ । अन्यथा आज संस्कृति, साहित्य र कलाको क्षेत्र सही ढङ्गले अगाडि बढ्न सक्तैन । यसको निम्ति सिर्जनात्मक हुन पनि आवश्यक छ ।

२. समकालीन संस्कृतिकर्मीहरूले सामन्तवाद, साम्राज्यवाद र संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्दछ । यो क्षेत्रम हाम्रो प्रयास पुगेको छैन ।

३. संस्कृति पनि वर्गीय हुन्छ भन्ने कुरालाई समकालीन संस्कृतिकर्मीहरूले राम्ररी बुझ्न जरुरी छ । वर्गसमाजमा राजनीति जस्तै साहित्य, कला र संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । हामीले सामन्ती आभिजात्यवाद, उत्तरआधुनिकतावाद र संशोधनवादलाई राम्ररी चिन्नुपर्दछ । वर्गीय प्रतिबद्धता भएन भने त्यो वर्गसमन्वयवादमा फस्न पुग्दछ । हाम्रो आनदोलनमा कैयौँ मासिनहरू जानेर वा नजानेर फसेको हामीले देखेका छौँ ।

४. समकालीन संस्कृतिकर्मीहरूले राष्ट्रिय, जनवादी तथा वैज्ञानिक संस्कृतिको पक्षपोषण गर्नुपर्दछ । आज हामीकहाँ बाह्य संस्कृति हावी बन्दै गइरहेको छ । हाम्रो आन्दोलनमा सांस्कृतिक साम्राज्यवाद र उपभोक्तावादी संस्कृतिको व्यापक घुसपैठ, राष्ट्रिय संस्कृति र चिन्तनको मौलिक पहिचानका विरुद्ध उत्तरआधुनिकवादी सांस्कृतिक वर्णसंकरता, पुनर्लेखन, पुनर्गायन जस्ता मान्यताको पक्षपोषण, साम्राज्यवादी श्रेष्ठताको प्रचार–प्रसार जस्ता परिघटना बढ्दै गएका छन् । देशको राष्ट्रिय अस्मिता, स्वत्व र स्वाभिमान गम्भीर खतरामा परेको छ । यतिखेर राष्ट्रिय अस्मिता र स्वाभिमानको विषयलाई हामीले पहिलो कार्यसूचीमा राख्नुपरेको छ । साथे, लोकतन्त्रको आवरणमा बढ्दै गएको जनविरोधी चिन्तन र प्रवृत्तिको पनि हामीले विरोध गर्नुपर्दछ । आज मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम आदि शोषित पीडित वर्ग र समुदायका हकहितमाथि गम्भीर कुठाराघात भएको छ । आज पनि हाम्रो समाजमा धार्मिक अन्धविस्वास, रुढिबुढी, धामी–झाँक्री, बोक्सीप्रथा, छुवाछुत, पुनर्जन्म–पुर्वजन्म जस्ता सोंच अझै कायम छन् । आदर्शवाद, ईश्वरवाद, रहस्यवाद र आध्यात्मवादलाई अझै पनि मलजल हाल्न खोजिंदैछ । नेपाललाई धर्म निरपेक्षताको नाममा इसाई धर्मको प्रचारको केन्द्र बनाइएको छ । यसमा समकालीन संस्कृतिकर्मीहरू निकै चनाखो बनन आवश्यक छ ।

५. समकालीन संस्कृतिकर्मीहरूले सांस्कृतिक मूल्यवोध गर्न आवश्यक छ । सत्य, शिव र सुन्दरलाई हामीले सांस्कृतिक मूल्यबोधसित जोडेर हेने गर्दछौँ । सत्य यथार्थमा आधारित हुन्छ । शिव नैतिकतासित सम्बन्धित छ । सुन्दरले सत्य र शिवको साथमा सौन्दर्यात्मक आदर्श र सङ्गतिपूर्ण जीवनको अपेक्षा गर्दछ । सत्य, शिव एवम् सुन्दरलाई सामन्तवादको स्वार्थमा कैद गर्दै आएको छ । यसका विरुद्ध साम्राज्यवाद तथा उत्तरआधुनिकतावाद उभिएको छ । संशोधनवादले सत्य, शिव र सुन्दरलाई वर्गसमन्वयवाद, आदर्शवाद र अधिभूतवादको सिकार बनाउँदै आएको छ । समकालीन संस्कृतिकर्मीहरूले सत्य, शिव र सुन्दरलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, जनताको जनवाद र साम्यवादको उदात्त आदर्शसित जोडेर विकसित तुल्याउनुपर्दछ । यो क्षेत्रमा केही चिनत र मनन भएको भए पनि यो पर्याप्त छैन । यसलाई प्रभावर िबनाउन आवश्यक छ ।

६. समकालीन संस्कृतिकर्मीहरू सांस्कृतिक आदर्शको प्रश्नमा गम्भीर हुन आवश्यक छ । यो सांस्कृतिक मूल्यबोधको आधार पनि हो । सांस्कृतिक आदर्श भनेको सम्बन्ध ज्ञान, वर्ग तथा जनहित र सामञ्जस्यपूर्ण जीवनसित सन्बन्ध हो । यसले मुक्तिका निम्ति जीवनको उत्सर्ग गर्ने अमर सहिदहरू, बेपत्ता पारिएका योद्धाहरू र घाइते अपाङ्गहरूका त्याग, वीरता र बलिदानका उत्कृष्ट कीर्तिमानद्वारा आलोकित हुन्छ । यसले ज्ञान, सिर्जना, शिल्प, चिन्तन र जीवनशैलीमा प्रगति र स्तरीकरणको माग पनि गर्दछ ।

७. समकालीन संस्कृतिकर्मीहरूले वर्गीय, सांस्कृतिक तथा भावनात्मक रूपान्तरणमा जोड दिनुपर्दछ । दुनियाँ बुझ्ने मात्र ठूलो कुरा होइन, ठूलो कुरा त मुख्यतः बदल्नु हो भन्ने कुरालाई समकालीन संस्कृतिकर्मीहरूले राम्ररी बुझ्न आवश्यक छ । त्यसैले हामीले सकारात्मक रूपान्तरणको मूल्यलाई केन्द्रमा राखेर आझ्नो सांस्कृतिक गतिविधिहरू गर्नुपर्दछ ।

८. समकालीन संस्कृतिकर्मीहरूले आन्दोलनलाई केन्द्रमा राख्न आवश्यक छ । अन्यमा क्षेत्रमा जस्तै सांस्कृतिक क्षेत्रमा रूपान्तरण भन्नाले आन्दोलनलाई बुझाउँछ । यो वर्गसङ्घर्ष, दुईलाइन सङ्घर्ष र आत्मसङ्घर्षसित सम्बन्धित छ । सांस्कृतिक रूपान्तरणको कुरा गर्दा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई समझनै पर्दछ । यो भनेको सबैखाले जनविरोधी विश्वदृष्टिकोणका विरुद्ध सर्वहारा संस्कृतिको अवलम्बन गर्नु हो । यसले आत्मकेन्द्री व्यक्तिवादको विरोध गर्दछ । यसको मूल आशय कला साहित्य, संस्कृतिलाई समाजवादी यथार्थवादद्वारा आलोकित हुनु भन्ने को ।

९.समकालीन संस्कृतिकर्मीहरूले निरनतर क्रानितको सिद्धान्तलाई आत्मसात् गर्न आवश्यक छ । राजनीतिक क्रान्तिहरू सम्पन्न भइसके पनि सांस्कृतिक आन्दोलनको कार्यभार बाँकी रहन्छ । यसको चरित्र पनि दीर्घकालिक हुने गर्दछ । यो तुरुन्ताको तुरुन्त हुने विषय होइन । महान् चीनमा कमरेड माओले सांस्कृतिक क्रानित गर्नु पर्नाका कारण पनि समकालीन संस्कृतिकर्मीहरूले बुझ्न आवश्यक हुन्छ ।

१०. समकालीन संस्कृतिकर्मीहरूले मध्यमवर्गलाई रूपान्तरणको अभियानमा गोलबन्द गर्ने कुरामा पनि ध्यान दिन जरुरी छ । यसलाई क्रान्तिको, परिवर्तनको, रूपान्तरणको सेवामा लगाएर मात्र आजको दुनियाँमा हामी अघि बढ्न सक्तछौँ । यो वर्गसित रहेको राष्ट्रवादी चेतना र परिवर्तनप्रतिको आकाङ्क्षालाई मूर्तीकृत गर्न समकालीन संस्कृतिकर्मीलेहरूले विशेष धध्यान दिनैपर्दछ ।

११. एकीकृत जनक्रान्ति, सांस्कृतिक आन्दोलन र इच्छुक त्रैआयामिक मुल्य हुन् । यसलाई आत्मसात गर्न आवश्यक छ । इच्छुकको आदर्श र जनसंस्कृतिकर्मीहरूका बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

अन्तमा, इच्छुकका यी भनाइलाई स्मरण गर्रौँ– “सधैँ इमानदार र प्रतिबद्ध बनौँ, शब्द र कर्मप्रति, आदर्श र व्यवहारप्रति निष्ठावान् बनौँ । हाम्रो लेखन र सिर्जन अनुरूप हाम्रो जीवनशैली बनोस् ।” यसरी हामीले माक्र्सवादी संस्कृतिकर्मीहरूको गहन दायित्व बुझ्न सक्तछौँ । एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द हुनु हुने समकालीन संस्कृतिकर्मीलेहरूले आज यिनै कुराहरूलाई ध्यान दिन आवश्यक छ । यसलाई आत्मिक र भौतिक रूपमा आत्मसात् गरेर अघि बढौँ, विजय सन्निकट उभिएको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!