जनयुद्धको सामरिक दर्पण

पुस्तक परिचय

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका सहायक पृतनापति उदय चलाउने (दीपक) द्वारा लिखित पुस्तक ‘जनयुद्ध र जनमुक्ति सेना, सङ्क्षिप्त सिंहालोकन’ बजारमा आएको छ । ३ सय ३२ पृष्ठ लामो र मूल्य रु ३००।– पर्ने उक्त किताबमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ सालदेखि शान्तिप्रक्रिया सुरु नभएसम्म भएका फौजी कार्वाहीहरूलाई राखिएको छ ।

उक्त किताबलाई अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिले प्रकाशित गरेको हो । यो किताब कुनै साहित्यिक आख्यान नभएर जनयुद्धकालीन फौजी परिघटनाहरूको शृंखलाबद्ध प्रस्तुति हो ।

किताबमा प्रकाशकीय, लेखकीय, खण्ड १ मा पहलकदमीपूर्ण हमलाहरू, खण्ड २ मा जनमुक्ति सेना र शाही सेना–प्रहरीबीच लडाइँको तुलनात्मक अध्ययन, खण्ड ३ मा जनसेनाको विघटन : जनयुद्धको विघटन र अन्तमा परिशिष्टअन्तर्गत जनमुक्ति सेनाको प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित प्रतिवेदन र प्रेस वक्तव्यहरू रहेका छन् ।

पुस्तकको खण्ड १ मा लेखकले २०५२ सालदेखि शान्तिप्रक्रिया सुरु नभएसम्मका भएका १५ वटा फौजी कार्वाहीहरूको तथ्याङ्क र घटनासहितको संक्षिप्त व्याख्या क्रमबद्ध राखेको छ । यी १५ वटा कार्वाहीहरूलाई लेखकले १– होलेरी, राडी र सिन्धुलीगढी प्रहरीचौकी आक्रमण, २– प्रथम सफल कार्बाही बेथान, रामेछाप, ३– प्रथम सफल कमान्डो कालिकाटार, तनहुँ, ४– प्रथम सफल एम्बुस क्युबाङ, रुकुम, ५– अभियानात्मक कार्बाहीअन्तर्गत उच्च केन्द्रीकृत आक्रमण लहँँ, जाजरकोट, ६– प्रति–रणनीतिक कार्बाही महत, रुकुम, ७– पहिलो सदरमुकाम हमला दुनै, डोल्पा, ८– प्रहरी शक्तिमाथिको रणनीतिक हमला रुकुमकोट र नौमुले, ८– प्रहरी शक्तिमाथिको रणनीतिक हमला रुकुमकोट र नौमुले, ९– पुरानो सत्ताभित्र अन्तर्विरोधको विष्फोट होलेरी आक्रमण, रोल्पा, १०– शाहीसेनामाथिको पहलकदमीपूर्ण हमला दाङ आक्रमण, ११– शाहीसेनामाथि ‘काउन्टर अप्रेसनल’ कार्बाही लिस्ने–गाम भिडन्त, रोल्पा, १२– व्यवस्थित किल्लाबन्दीविरुद्धको आक्रमण सन्धिखर्क, अर्घाखाँची, १३– बाहिरी पङ्क्तिका उच्च प्रति–हमलाहरू : पण्डौन, खैरीखोला, सिद्धधारा, कृष्णभीर र लेउतीखोला, १४– भारतीय प्रविधिविरुद्धको हमला पिली, कालिकोट र १५– शाही निरङ्कुशताविरुद्ध प्रतिरोधको सन्देश तानसेन आक्रमण, पाल्पा गरी क्रममा प्रस्तुत गरेका छन् । चलाउनेद्वारा पुस्तकमा प्रस्तुत गरिएकामध्ये केही कार्बाहीहरूको राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय महत्वका पनि थिए । ती कार्वाहीहरूलाई लेखकले यसरी प्रस्तुत गरेका छन् :

शाहीसेनामाथिको पहलकदमीपूर्ण हमला दाङ आक्रमण

जनयुद्ध थालनीको करिब पाँच वर्षपछि माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०५७ माघ–फागुन) सम्पन्न भयो । यसै अवधिबीच २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास हुने्गरी नारायणहिटी दरबारमा नृशंस हत्याकाण्ड भयो । दरबार हत्याकाण्डले देशको राजनीतिक वातावरणमा निकै ठूलो हलचल ल्याइदियो । सुरुका केही दिनहरूमा उत्तेजक अभिव्यक्तिका बाबजुद माओवादी पार्टीले दरबारसँग सहकार्यको आफ्नो नीतिलाई निरन्तरता नै दियो । फलस्वरूप दरबार हत्याकाण्डपश्चात् गठित सरकारसँग वार्ताको प्रक्रिया (२०५७ साउन) समेत सुरु भयो । तीन चरणसम्म जारी वार्ता भने निष्कर्षविहीन भयो ।

२०५८ मङ्सिर ८ गते धक्कापूर्ण हमलाको मिति तय भइसकेको थियो । देशभरि साना–ठूला सयौँ कार्बाहीको योजना बनेका थिए । मुख्य कार्बाहीका रूपमा दाङको अञ्चल सदरमुकाम घोराही कब्जा रहेको थियो । उता मध्य–कमान्डअन्तगर्तको स्याङ्जा र पूर्वी कमान्डअन्तर्गतको सोलु सदरमुकाम पनि आक्रमणको निशानामा थिए । दाङको हमला ऐतिहासिक र भव्य रूपले सफल भयो । स्याङ्जा मुकाम हमला पनि शानदार सफल भयो तर सोलुखुम्बुको सदरमुकाम सल्लेरी कार्बाही भने निर्धारित समयमा हुन सकेन । दुई दिनपछि गरिएको सोलु–सल्लेरी कार्बाही पनि सफल नै भयो तर त्यहाँ रहेको नेपाली सेनाको क्याम्प भने कब्जा हुन सकेन ।

पश्चिम कमान्डको गण्डक केन्द्रित जनमुक्ति सेनाले पाल्पाको सदरमुकाम आक्रमण गरेको थियो । यो आक्रमणपूर्व गण्डक केन्द्रित जनमुक्ति सेनालाई शाहीसेनाले निकै ठूलो घेराबन्दी गरिरहेको थियो । पैदल र हवाई हमलाहरू दिनहुँजसो भइरहेका थिए । त्यही आक्रमण र घेराबन्दीकै बीचबाट गरिएको यो आक्रमण भएको थियो । यो अवधिमा देशभरि अरू सयौँ साना–ठूला कार्बाहीहरू भएका थिए । राजधानीको थानकोट र दधिकोटमा तथा सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा गरिएका हमलाहरू पनि निकै उच्चस्तरका थिए । तर, ती सबैको नेतृत्व तहमा भने पाल्पा आक्रमण नै रहन गएको थियो ।

लडाइँका क्रममा ७ जना प्रहरी र मेजरसहित १४ जना शाही नेपाली सैनिकको मृत्यु भयो । जनमुक्ति सेनातर्फ ७ जनाको क्षति भयो । शाहीसेनाका विरुद्ध पहिलो पहलकदमीपूर्ण यस आक्रमणमा सेनाका सयौँ अत्याधुनिक हतियारहरू कब्जा भए । ५ थान ८१ एमएम मोर्टार, ३ थान टुइन्च, ३ थान रकेट लन्चर, २ थान जीपीएमजी, २ थान वेस्ट स्नाइपर, १४ थान एलएमजी, ४८ थान एसएमजीसहित सयौँको सङ्ख्यामा एसएलआर तथा थ्री नट थ्री राइफल कब्जा गरिए । बम, गोलीहरूलगायत कैयौँ ट्रक युद्ध–सामग्रीसमेत कब्जा भयो । उता त्यही दिनमा गरिएको स्याङ्जा सदरमुकाम हमला जनसेनातर्फ बिना कुनै क्षति सदरमुकाममाथिको ऐतिहासिक सफल हमला बन्यो । सल्लेरीको हमला भने त्यो दिन हुन सकेन । कार्बाहीको लागि नजिकै पुगिसकेको बेला जनसेनाको एक जना सदस्यले ग्रिनेड विष्फोटको दुर्घटना गरिदिँदा निर्धारित योजना रद्द गरियो । दुई दिनपछि अर्थात् मङ्सिर १० गते गरिएको सल्लेरी हमलामा सेनाको ब्यारेकबाहेक सम्पूर्ण सदरमुकाम जनसेनाले कब्जा गर्न सफल भयो । कार्बाहीमा १४ जना जनसेनाको क्षति भयो । विगतका सम्पूर्ण लडाइँहरूको संश्लेषणसहितको यी आक्रमणहरूमा जनमुक्ति सेनाद्वारा कुशल युद्ध–क्षमताको प्रदर्शन गरियो । जनमुक्ति सेनाको यो एक व्यवस्थित र बृहत् हमला थियो । यी ठूला कार्बाहीको मद्दतमा देशैभरि अन्य थुप्रै साना र प्रचारात्मक कार्बाहीहरू भएका थिए ।

शाहीसेनामाथि ‘काउन्टर अप्रेसनल’ कार्बाही लिस्ने–गाम भिडन्त, रोल्पा

माओवादी पार्टीले शाहीसेनामाथिको हमला सुरु गरिसकेपछि उसले यसलाई निरन्तर बढाउन चाहन्थ्यो । पुरानो सत्ताको विघटन या कम्तिमा पनि उसलाई फौजी ढङ्गले समेत झुकाउन निरन्तर विजयको जरुरी थियो । दाङको केही समयपछि अछाम सदरमुकाम मङ्गलसेनको हमला र विजयले यो कुराको पुष्टि गर्दछ । त्यसको थप निरन्तरताका लागि दोस्रो धक्काको कार्यक्रम तय गर्यो ।

शाहीसेनाको अप्रेसन फोर्समाथि जनसेनाबाट गरिएको यो पहिलो हमला थियो । जो निकै शानदार सफल भयो । गाम सैन्य–बेसक्याम्पमाथि हमला प्रकारान्तरले अमेरिकी सैन्य रणनीतिका विरुद्धको हमला थियो । यो हमलामा शाहीसेनाको सर्मनाक पराजय भयो । जनाधार क्षेत्रलाई निशाना बनाएर सुरु गरिएको पुरानो सत्ताद्वारा सन्चालित ‘सर्च एन्ड डिस्ट्रोय’ नामक घेरा हाल र सखाप पारको नीतिमा आधारित जनसंहारकारी अभियानमाथि समेत भयङ्कर हमला भयो । गाम हमलापश्चात रोल्पा, रुकुमका प्रायः सैनिक क्याम्पहरू उठाएर सदरमुकाम र केही निश्चित इलाकामा केन्द्रित गरिए । जनसेनाले यी दुबै कार्बाहीमा अत्यन्त उच्च युद्धकौशल र साहसको प्रदर्शन गरे । जनसेनातर्फ करिब ४० जनाको क्षति भएको यो कार्बाहीमा सेना–प्रहरीहरूतर्फ एक सय बढी जनाको क्षति भयो । सेना–प्रहरीका सयौँ थान अत्याधुनिक हतियारहरू जनसेनाले कब्जा गर्न सफल भयो ।

भारतीय प्रविधिविरुद्धको हमला पिली, कालिकोट

२०६२ साउन २३ गते पिलीमा रहेको शाही सेनाको ब्यारेकमाथिको भीषण आक्रमण गरी अत्यन्त शानदार सफलता हासिल गरिएको थियो । पिली कार्बाही एकातिर जनयुद्धको आन्तरिक जीवनका उपर्युक्त प्रश्नहरूको जवाफ थियो भने अर्कोतिर जनयुद्धको इतिहासमै सबैभन्दा धेरै स्वचालित हतियार कब्जाको कार्बाही बन्न पुग्यो । जनसेनाद्वारा “दिउँसै जीपीएमजी र ८१ मीमी मोर्टारबाट आक्रमणको सुरुआत गरिएको थियो । त्यसपछि एसल्ट गु्रपहरू क्याम्पको तीनतिरबाट घेराबन्दी गर्दै (एक साइडमा भीर भएकोले) अघि बढेका थिए । लडाइँमा जनमुक्ति सेनातर्फ दुईदर्जन बढी र शाहीसेनातर्फ १५९ जनाको मानवीय क्षति भयो । ६४ जना शाहीसेनालाई जनसेनाद्वारा बन्दी बनाइयो । उनीहरूलाई केही समयपछि स–सम्मान छोडिएको थियो । कार्बाहीबाट १ थान ८१ मीमी मोर्टार, १ थान जीपीएमजी, टुइन्च मोर्टार २ थान, एसएमजी २ थान, ब्राउनिङ २ थान, एसएलआर ८० थान, इन्सास ७० थान र एलएमजी २० थान कब्जा भएका थिए ।

शाही निरङ्कुशताविरुद्ध प्रतिरोधको सन्देश तानसेन आक्रमण, पाल्पा

चुनबाङ बैठकले ढाडमा टेकेर टाउकोमा हान्ने नीति पारित ग¥यो । मध्यक्षेत्रले मुख्यतः राजधानी आसपास, पूर्व र पश्चिमले पूर्व–पश्चिम राजमार्गलाई युद्धक्षेत्रको निर्धारण गरी सैन्य–कार्बाहीका स्थानहरूसमेत छनौट गरिए । यो परिभाषामा सिङ्गो योजनाको केन्द्रीय टाउको राजधानी थियो भने कमान्ड, क्षेत्र र जिल्लाका टाउकाहरू पनि सापेक्षित रूपमा निर्धारण गरिएका थिए । सामान्यतः सहर, सदरमुकाम र सडक टाउकोको परिभाषामा राखिएका थिए । त्यसअन्तर्गत पश्चिम कमान्डको गण्डक केन्द्रित जनमुक्ति सेनाले पाल्पाको सदरमुकाम आक्रमण गरेको थियो । यो आक्रमणपूर्व गण्डक केन्द्रित जनमुक्ति सेनालाई शाहीसेनाले निकै ठूलो घेराबन्दी गरिरहेको थियो । पैदल र हवाई हमलाहरू दिनहुँजसो भइरहेका थिए । त्यही आक्रमण र घेराबन्दीकै बीचबाट गरिएको यो आक्रमण भएको थियो । यो अवधिमा देशभरि अरू सयौँ साना–ठूला कार्बाहीहरू भएका थिए । राजधानीको थानकोट र दधिकोटमा तथा सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा गरिएका हमलाहरू पनि निकै उच्चस्तरका थिए । तर, ती सबैको नेतृत्व तहमा भने पाल्पा आक्रमण नै रहन गएको थियो ।

दोस्रो खण्डमा जनमुक्ति सेना र शाही सेना–प्रहरीबीचको लडाइँको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । यसलाई रणनैतिक रक्षा, सन्तुलन र आक्रमण गरी तीन भागमा विभाजन गरिएको छ । गरिएको छ । यी सबै कार्वाहीको घटनाको स्थान, मिति, दुवैतिरको मानवीय क्षति र कैफियत अन्तर्गत सेना र प्रहरीका हतियार कब्जा भएको विवरणलाई तालिकामा राखिएको छ ।

र अन्तमा, तेस्रो खण्डमा २०६३ साल मंसीर ५ गते भएको विस्तृत शान्ति सहमतिद्वारा जनसेनाको विघटनः जनयुद्धको विघटन भएका तथ्यहरू राखिएका छन् । यस खण्डमा जनमुक्ति सेना विघटनका केही मुख्य घटना शृंखलाअन्तर्गत ब्यारेकीकरण, कथित अयोग्यताको आरोप र बहिर्गमन, अन्योलता र पलायनता, कथित समायोजन र विघटन शिर्षकहरूमा घटनाहरू व्यक्त गरिएको छ । यसैगरी परिशिष्टमा जनमुक्ति सेनाका प्रतिवेदन, वक्तव्यहरू राखिएका छन् ।

दस्तावेज विधाअन्तर्गत प्रकाशित उक्त किताबमा २०५२ सालबाट सुरु भई २०६३ साल मंसिर ५ गतेबाट विधिवत् अन्त गराइएको जनयुद्धको फौजी क्षमता, सैन्य बनावट, यिनीहरूलाई सञ्चालन गर्ने वैचारिक पक्ष, फौजी योजना निर्माण र जनयुद्धका योजनामा यसको भूमिकालाई तथ्यपरक तरिकाले पुस्तकमा प्रस्तुत गरिएको छ ।

माओवादी शान्ति–प्रक्रियामा आएपछि प्रचण्डले प्रत्येक जस्तो प्रशिक्षण, भेला अन्तर्वार्तामा “हामी जित्न नसकेर शान्ति प्रक्रियामा आएको, अब जित्नका लागि शान्ति प्रक्रियामा आएको” भन्ने गर्दथे । बाबुराम भट्टराईले गएको फागुन १ गतेको कान्तिपुरमा हामीले फौजी रूपमा पुरानो सैन्य फौजसँग हारेकाले संसदीय व्यवस्थामा आएको तर्क पेश गरेका छन् तर यथार्थमा र अझ भन्नुपर्दा यो पुस्तकलाई अध्धयन गर्ने हो भने प्रचण्ड र बाबुरामका कथनहरूलाई ठाडै अस्वीकार मात्र गर्दैन कि जनयुद्धमा भएका फौजी कार्वाहीहरूलाई अध्ययन गर्ने हाने भनें तत्कालीन सत्ताको सुरक्षा शक्ति हार्दै गएको थियो र जनयुद्धले विजय प्राप्त गर्र्दै गरेको थियो भन्ने सत्यतालाई घटनापरक तथ्यहरूद्वारा पुष्टि गरिएको छ ।

त्यसैले पनि वास्तविकरूपमा जनयुद्ध के थियो, त्यसकालमा सैन्य शक्ति कस्तो थियो, पुरानो सत्ताअन्तर्गतको सैन्य शक्ति कसरी पराजित हुँदै गएको थियो, जनयुद्ध कसरी विजयोन्मुख भइराखेको थियो भन्ने बुझ्नका लागि यो किताब निकै नै महत्वपूर्ण रहेको छ । स्रोत : रातो खबर साप्ताहिक,

२०७४ चैत २७ गते बिहान ११ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :