एमसीसीसँगै प्रचण्ड र देउवाको पुतला

एमसीसीसँगै प्रचण्ड र देउवाको पुतला

नेपाल आमाले प्रायः देशभक्तहरूलाई जन्म दिएकी छिन् । कथंकदाचित् दलालहरूले जन्म लिए भने नेपाली माटोले तिनलाई दुत्कार्ने गरेको छ । नेपाली जनताले बारम्बार देशभक्तहरूलाई सलाम गरेका छन् र राष्ट्रघातीहरूको पुतला जलाएका छन् । नेपाल विस्तार अभियानका क्रममा साम्राज्यवादी अङ्ग्रेजसँग लड्ने वीर भक्ति थापा, अमरसिंह, भीमसेन थापाहरूलाई नेपालीहरूले हृदयमा सजाएर राखेका छन् भने सुगौलीदेखि १९५०, १९६५, कोसी, गण्डक, टनकपुर, महाकाली, बिप्पा, अपर कर्णालीलगायत असमान सन्धिसम्झौता गर्ने शासकहरूका पुतला जलाउँदै आएका छन् । पछिल्लो अवधिमा बहुदलीय व्यवस्थाको आगमनपछि नेपाली जनताले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी वली, बाबुराम भट्टराईहरूको पुतला जलाउँदै आएका थिए । अमेरिकी साम्राज्यवादले लाद्न लागेको, साम्राज्यवादी रणानीति बोकेर आएको एमसीसी सम्झौता सदनबाटै पारित गर्छौं, समय देऊ भनेर एमसीसी अर्थात् अमेरिकी साम्राज्यवादलाई बिन्तीपत्र हालेर पनि नेपाली जनतालाई गुमराहमा राख्ने हिजोका क्रान्तिनायक प्रचण्ड अर्थात् आजका पुष्पकमल दाहाललाई नेपाली जनताले राष्ट्रघातको मतियार ठहर गर्दै पुतला बनाएर जलाएका छन् । त्यो पनि हिजो जनयुद्धमा सँगसँगै लडेका योद्धाहरूको, नेकपाको नेतृत्वमा एमसीसी, शेरबहादुर देउवा र पुष्पकमल दाहालको पुतला एकैसाथ जलाइएको छ । पुतला त बाबुराम भट्टराईहरूको पनि जलाइएको छ तर बाबुरामहरू कम्युनिस्ट आन्दोलन छोडेर धेरै टाढा पुगेकाले उनीहरूको कुनै गणना छैन, एकमुष्ट राष्ट्रविरोधी बिप्पा गर्ने शासकका रूपमा मात्र छ । नेपालका कम्युनिस्ट र विशेषगरी माओवादीहरूका लागि पुष्पकमल दाहालहरूको पुतला जल्नु यो अकल्पनीय र असहज दृश्य हो । यो घटनाक्रमले नेपालको जनयुद्धबाट आएको एउटा तहको कम्युनिस्ट नेतृत्व पनि विगतमा मनमोहन, केशरजङ्ग रायमाझी, मदन भण्डारी, केपी वली वा माधव नेपालजस्तै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विरुद्ध, दलाल शासक वर्गमा पतीत भइसकेको स्पष्ट घोषणा गरेको छ ।

तीन दशकअघि पुष्पकमल दाहाल जनयुद्धको तयारी गर्दै थिए । उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा तत्कालीन सत्तासँग माग राखे । तत्कालीन सत्ताको रक्षककका रूपमा शेरहादुर देउवाको नेतृत्वमा सरकारले देशको शान्ति, सुव्यवस्था हेथ्र्यो । पुष्पकमल दाहालको नाउँ प्रचण्ड थियो । उनले पार्टीको खुला मोर्चा जनमोर्चा नेपालका तर्फबाट मोर्चाका अध्यक्ष बाबुराम भट्टराईमार्फत तत्कालीन सरकारसमक्ष राखेका ४० सूत्रीय मागमध्ये एक चौथाइ माग नेपालको राष्ट्रियताका पक्षमा र भारतीय तथा अमेरिकी साम्राज्यवादी शोषण, दोहनका विरुद्ध थिए । ती माग पूरा गर्न नेपाल आमाका करिब दस हजार क्रान्तिकारी छोराछोरीले बलिदान दिए ।

आज समय फेरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड हुँदै फेरि पुष्पकमल दाहालमै फर्किएका छन् र विद्रोहको बाटो त्याग्दै पुरानै सत्ता र सरकार सञ्चालन गर्ने ठाउँमा अर्थात हिजो शेरबहादुर देउवाहरु भएको ठाउँमा पुगेका छन् । बाबुराम भट्टराई पनि त्यही ठाउँमा छन् । शेरबहादुर देउवा आज पनि त्यही ठाउँमै छन् । अर्थात् नेपालको राजनीति प्रकारान्तरले एउटै गोलचक्करमा रुमल्लिरहेको छ । नेपाली जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू अझ जटिल र सङ्कटग्रस्त बनेका छन् । बन्ने नै भए किनभने हिजो राष्ट्रियताको रक्षाका लागि लडेका पुष्पकमल दाहालहरू आज राष्ट्रघातको नेतृत्व गरिरहेका छन् । हिजो भारतीय साम्राज्यवादको अतिक्रमण र हस्तक्षेप अत्यधिक थियो । आज भारतसँगै अमेरिकी साम्राज्यवाद पनि नेपालको राष्ट्रियतामाथि अतिक्रमण र हस्तक्षेप गरिरहेको छ । विडम्बना नै भनौँ, हिजो भारतीय साम्राज्यवादी उत्पीडनका विरुद्ध सङ्घर्षमा उत्रिएका प्रचण्ड, बाबुराम र हिजो भारतीय साम्राज्यवादको उत्पीडिनको अन्त्यको समेत माग गर्दै जनतन्त्र र जनजीविकाका विषयहरू उठाएर जनयुद्ध गर्दा दमन गर्ने, टाउकाको मोल तोक्ने, १७ हजार नेपालीको रगत बगाउनेमध्येका एक शेरबहादुर देउवा नेपाली शासकको मुखुन्डो लगाएर अमेरिकी, भारतीय साम्राज्यवादी उत्पीडन लागू गर्ने र नेपालको सार्वभौमसत्ता जोखिममा पार्ने एउटै र उस्तै पात्र र प्रवृत्ति बनेका छन् । अमेरिकी साम्राज्यवादले नेपालमाथि षड्यन्त्र र बलपूर्वक लाद्न खोजेको एमसीसीका विरुद्ध सङ्घर्ष गर्ने देशभक्त, क्रान्तिकारी र जनताको आँखोमा छारो हाल्दै अमेरिकालाई रिझाउन उद्यत भएको अभियोगमा पुतला जलाइमाग्ने ठाउँमा पुगेका छन् । देशभक्त शक्ति, क्रान्तिकारी शक्ति र जनताले आज एकैचोटि एमसीसी, त्यसलाई लागू गर्न मरिहत्ते गरिरहेका देउवा र जनताको आँखा छल्दै एमसीसी पारित गर्ने प्रतिबद्धतासहित लुकीलुकी पत्र पठाउने पुष्पकमल दाहालको पुतला जलाएका छन् । नेपाली जनताका लागि यसप्रकारको कदम अनिवार्य बनेको छ । हिजो जनताले पुतला जलाएका राष्ट्रघाती शक्तिहरुको अन्त्य अनिवार्य भएजस्तै अब देउवा, बाबुराम, पुष्पकमल दाहालहरू अर्थात् नयाँ राष्ट्रघातीहरुको अन्त्य आवश्यक छ । यसका लागि फेरि भक्ति, भीमसेन र अमरसिंहका सन्तानहरू सडकमा निस्किसकेका छन् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :