एमसीसीविरूद्ध भोली बुटवलमा राजनीतिक दल/सङ्गठनले विरोध प्रदर्शन गर्दै

एमसीसीविरूद्ध भोली बुटवलमा राजनीतिक दल/सङ्गठनले विरोध प्रदर्शन गर्दै

काठमाडौँ : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हितविरुद्ध रहेको भन्दै यसको खारेजीको लागि बुटवलमा १० राजनीतिक दल/सङ्गठनले संयुक्त विरोध प्रदर्शन गर्ने बताएको छ ।

बुटवलमा १० राजनीतिक दल/सङ्गठनको बैठकले एमसीसीविरुद्ध मङ्गलबार (भदौ २२) गते बुटवलको ट्राफिक चोकमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकपछि संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले एमसीसी सम्झौताको देशव्यापी विरोध हुँदै आएको सन्दर्भमा यसलाई संसदबाट पास गराउन दवाव दिने उद्देश्यसहित उक्त परियोजनाका उच्च अधिकारी नेपाल भ्रमण गर्नु र सरकारले आकस्मिक रुपमा एमसीसी पास गर्ने उद्देश्यसहित संसद् अधिवेशन बोलाउनु संयोग मात्र नभएर गम्भीर षड्यन्त्र रहेको बताएका छन् ।

वक्तव्यमार्फत १० राजनीतिक दल/सङ्गठनले नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षाको सङ्घर्षमा एकताबद्ध हुन सम्पूर्ण देशभक्त नेपालीहरूमा अपिल गरेको छ । वक्तव्यमा एमसीसी परियोजना अमेरिकी सैन्य रणनीति हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको भन्दै त्यसले नेपालको असंलग्न परराष्ट्र नीतिमा गम्भीर नकरात्मक असर पुर्याउने बताइएको छ ।

वक्तव्यमा राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्री, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका विनोद मरासिनी, नेकपाका खोमा तरामु मगर, नेकपा मालेका रघुनाथ अर्याल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका डोलराज विश्वकर्मा, विवेकशील साझा पार्टीका केशवराज खनाल, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्की र राष्ट्रिय जागरण परिषद, नेपालका चित्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

मङ्गलबार बुटवलको पुष्पलालबाट जुलुस सुरु गरी ट्राफिक चोकमा पुगेर कोणसभा गर्ने आयोजकले बताएको छ । कोणसभामा सम्पूर्ण देशभक्त, मजदुर, किसान, युवा, विद्यार्थी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकारलाई सहभागिताका लागि आयोजकले अनुरोधसमेत गरेको छ । कोणसभामा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :