मे दिवस जिन्दावाद

कविता

मे दिवस जिन्दावाद

मजदुरहरू !
महलमा मुछिएको पसिनाको मूल्य माग
धरहराको उचाइजस्तै सुस्केराको मूल्य माग
रगतले सिँगारेको गलैँचाको मूल्य माग
उडिरहने वायुपङ्खी पखेटाको मूल्य माग
श्रमिकहरू,
मे दिवस जिन्दावाद
मजदुर एकता अमर रहोस्
कोइलाखानी विस्फोटमा पुरिएकाको मूल्य माग
दलित भन्दै पर्खालबाहिर खेदिएकाको मूल्य माग
भिरपाखा गर्दागर्दै झरेकाको मूल्य माग
अस्पतालको औषधी नपाई मरेकाको मूल्य माग
गरिब मित्रहरू,
बर्गीय एकता जिन्दावाद
मे एक जिन्दावाद
घरमा रखौटी बनाई लुटिएकाको मूल्य माग
प्रवासी बनाएर कुटिएकाको मूल्य माग
सम्भ्रान्तको मोजका लागि बेचिएकाको मूल्य माग
नाफामुखी उपभोगमा पिसिएकाको मूल्य माग
क्रान्तिवीरहरू
श्रमिक एकता जिन्दावाद
वर्गसङ्घर्ष जिन्दावाद
पावेलका आमाहरूको जुलुसको मूल्य माग
व्यभिचारले च्यातिएका ब्लाउजहरूको मूल्य माग
भियतनामी चिहानका आस्थाहरूको मूल्य माग
इन्डो–चीनमा बगाइएको रगतको मूल्य माग
भोको पेटमा छट्पटिएका मजदुरहरू
महान् सहिद जिन्दावाद
वैज्ञानिक समाजवाद जिन्दावाद !

पेरिसबाट फुकिएका आवाजको मूल्य माग
खोसिएको स्वतन्त्रता र इन्क्लाबको मूल्य माग
जापानमा जलाइएका सहरको मूल्य माग
झुपडीमा सुकाइएका रहरको मूल्य माग
प्रकृतिमैत्री अन्तर्राष्ट्रिय पथिकहरू
साम्यवाद जिन्दावाद
महान् विचारकलाई लालसलाम
देश माग्दा झुन्ड्याइएका भगतहरूको मूल्य माग
गाँस माग्दा पोखिएका चेतनाको मूल्य माग
माटो माग्दा थुनिएका मन्डेलाको मूल्य माग
आशा माग्दा मारिएका प्राणहरूको मूल्य माग
आस्थाहरू हो
वर्गीय उत्पीडन समाप्त पार्न
समानताको युगलाई स्वागत गर्दै
उत्पीडनको जुवाभित्र जोतिएकाको मूल्य माग
स्वार्थी सम्राट्को मेसिनगनले भुटिएकाको मूल्य माग
जाग श्रमिकहरू, निद्राबाट अब जाग
आपसमा फुट्ने हैन, जुट्दै उज्यालो पथमा लाग
अन्तर्राष्ट्रिय मानवतावाद जिन्दावाद
इन्क्लाब जिन्दावाद
मे दिवस जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :