किन बारम्बार शीतल निवास धाउँछन् केपी वली ?

किन बारम्बार शीतल निवास धाउँछन् केपी वली ?

काठमाडौँ : केपी वलीको तारन्तरको शीतल निवास यात्राले पछिल्लो समय उनी निकै सकस र दबाबमा परेको देखाउँछ । आफ्नै गलत हर्कतका कारण बारम्बार पार्टीभित्र, संसद्भित्र र गुटभित्रै पनि अल्पमतमा परेका वली यतिबेला निरीह बनेर दैनिकजसो शीतल निवास धाइरहेका देखिन्छन् । मानौँ शीतल निवास उनको मनको औडाहा शीतल पार्ने छहारी बनेको छ ।

शीतल निवास राष्ट्रपतिको निवास र कार्यालय हो । शीतल निवासमा यतिबेला विद्या भण्डारी राष्ट्रपतिको पदमा आसीन छिन् । कुनै समय केपी र विद्या दुवै माओवादी जनयुद्ध मात्र होइन, गणतन्त्र र सङ्घीयताका पनि कट्टर विरोधी थिए । मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि वली र विद्याको ‘राजनीतिक सम्बन्ध’ झनै प्रगाढ बनेको राजनीतिको कखरा बुझ्नेजति सबैलाई थाहा छ ।

हठी, जिद्दी र एकोहोरो स्वभाव र कार्यशैलीका कारण वली रूपान्तरित नहुने पात्रका रूपमा स्थापित छन् । पुरानोमा अडिइरहन पनि नसक्ने र नयाँलाई स्वीकार पनि गर्न नसक्ने अकर्मण्यतावादी स्वभावका कारण वली इतिहासदेखि नै विवादित बन्दै आएका छन् । झापा विद्रोहताका तत्कालीन कोअर्डिनेसन केन्द्रको झापा सचिव हुँदाहुँदै सहयोद्धाहरूलाई धोका दिएर भारततिर भागेको बयान उनका तत्कालीन सहयोद्धा राधाकृष्ण मैनालीले आफ्नो पुस्तकमा खुलेर लेखेका छन् । द्वन्द्ववादी नहुनाको परिणाम उनी आफ्ना गल्तीकमजोरी कहिल्यै थाहा पाउँदैनन् र आत्मालोचना गर्नु वा सुधारिनुलाई आफू समाप्त हुनुका रुपमा बुझ्छन् ।

महाकाली सन्धिताका उनकै हठ, अदूरदर्शिता र जिद्दीले मुलुकमा गम्भीर राष्ट्रघात भयो । पार्टी नै विभाजन भयो । उनले आजसम्म पनि आफ्नो पहल र अगुवाइमा महाकालीमा राष्ट्रघात भएको स्वीकारेका छैनन् । राष्ट्रघाती पात्रलाई जनताले नक्कली राष्ट्रवादको नारामै अलमलिएर फेरि विश्वास गरे । अहिले उनी देश र जनतालाई त्यसको बदला लिइरहेका छन् ।

एउटा कुरा वा छाप मनमा परेपछि असफल सिद्ध भइसक्दा पनि पछि नफर्किने लहड र आत्मसमीक्षा वा आत्मालोचना गर्न नसक्ने उनको अधिभूतवादी, भौतिकवादविरोधी चिन्तनका कारण एउटा सानो झुण्डले सत्तास्वाद पाएको होला तर मुलुकले धेरै ठूलो क्षति बेहोर्नु परेको छ । उनको त्यो स्वभाव र शैली यतिबेलासम्म पनि कायम छ । आफ्नै सहकर्मीहरू माधव नेपाल र झलनाथ खनाललाई समेत विश्वासमा लिन नसकेका वली शीतल निवासकै आडका कारण एउटा सानो झुण्ड बनाएर बसेका छन् तर उनको अदूरदर्शिता विभिन्न काण्डका रूपमा पटकपटक प्रदर्शित भइसकेको छ ।

यो पनि सबैलाई थाहा भएको विषय हो, त्यही शीतल छहारीकै लागि वलीले विद्या भण्डारीलाई दोहोर्याएर राष्ट्रपति बनाएका हुन् । वलीकी विश्वासपात्र मानिएकी विद्या भण्डारीलाई दोहोर्याएर राष्ट्रपति बनाउने बेलामा सरकारी नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल वा उनको त्राण धानिदिन लागिपरेका पूर्वएमाले नेताहरू माधव नेपाल र झलनाथ खनाललाई पनि वलीको विद्याकार्डबारे राम्रो अनुमान भएको हुनुपर्छ तर त्यतिबेला उनीहरूले यो विषयलाई त्यति गम्भीर र महत्वका साथ लिएका थिएनन् । जब वलीले आफ्ना विरोधीहरूलाई तह लगाउन अवैधानिक र आफ्नो स्वार्थअनुकूलका काम गराउने माध्यम शीतल निवास अर्थात् विद्या भण्डारीलाई बनाइरहेको महसुस गरे, यतिबेला छाँगाबाट खसेको अनुभूति गरिरहेको हुनुपर्छ ।

राष्ट्रपतिजस्तो निर्विवाद र गरिमामय पदमा रहेकी विद्या भण्डारीको वलीभक्ति र गतिविधि देखेर सरकारी पार्टीका नेताहरू दाहाल, नेपाल र खनालहरू मात्र होइन, पूर्वसत्ताधारी पार्टी काङ्ग्रेस पनि चकित र हैरान भएको देखिन्छ । त्यसैले वलीको अध्यादेशकाण्डका विरुद्ध राष्ट्रपतिविरुद्ध महाभियोगको तयारीमा काङ्ग्रेसले पनि साथ दिएको हो भलै उनीहरू यो कार्ड प्रयोग गर्नुपर्ने अवस्थाबाट फिर्ता भइसकेका छन् । वलीले आफ्नो स्वार्थको दुरुपयोग गर्न शीतल निवासलाई स्थायी शरणार्थी शिविर बनाउनु र आफ्नो पद जोगाउन बारम्बार वामदेव कार्ड प्रयोग गर्नु यसको पछिल्लो उदाहरण हो । यद्यपि पुष्पकमल दाहाल, माधव नेपाल वा झलनाथ खनाल पनि नेपालको कम्युनिस्ट आन्दोलनका ख्रुस्चेभ र ब्रेजनेभहरू नै हुन्, अर्थात् मनमोहन अधिकारी र केशरजङ्ग रायमाझीका नयाँ अवतार । वलीको बदनामी र कलङ्कका कारण उनीहरूमाथि मानिसको दया पलाउनु बेग्लै कुरा हो । हुनत वली हर्कतबाट वाक्कदिक्क भइसकेका र अग्रगामी निकास पत्ता नलगाइसकेका जनता बरु पुरातनपन्थ नै ठीक हो कि भन्ने भ्रममा सडकमा दगुरिरहेको अवस्थामा वली वा उनका पछुवाहरूले आफूलाई कम्युनिस्ट वा वामपन्थ भनाउन पनि सरम लाग्नुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :