नेकपाले निर्धन उत्थान वित्त संस्थाबाट कब्जा गरिएको सावाँब्याज जनतालाई फिर्ता गर्यो

नेकपाले निर्धन उत्थान वित्त संस्थाबाट कब्जा गरिएको सावाँब्याज जनतालाई फिर्ता गर्यो

अछाम : नेकपा अछामले निर्धन उत्थान वित्त/लघुवित्तीय संस्थाले जनताबाट जबर्जस्ती असुल गरेको सावाँ र ब्याज रकम कब्जा गरी जनतालाई नै फिर्ता गरिदिएको छ । केही समयअघि नेकपा अछामले निर्धन उत्थानले जनतालाई करकापमा पारी असुल गरेको २६,६३० रुपैयाँ कब्जा गरेर जनतालाई वितरण गर्ने घोषणा गरेको थियो । इन्चार्ज नवीन र सेक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गरी कब्जा गरिएको उक्त रकम सम्बन्धित समूह वा व्यक्तिलाई फिर्ता गरिएको जनाएका छन् । विज्ञप्तिमा आगामी दिनमा उक्त हर्कत नरोकिएको खण्डमा र आफूहरूले अघि सारेका मागहरू सम्बोधन गरी कार्यान्वयन नगरिएमा पार्टीले जनताको साथ लिएर थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

नवीन र आखिरको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी आफ्नो स्थापना कालदेखि नै मानव जातिमाथिको अन्याय, अत्याचार, शोषण, दमन, राष्ट्रघात, जनघातका विरुद्ध र न्याय, समानता र स्वतन्त्रतालाई स्थापित गर्ने तथा आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारको सुनिश्चितताका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको कुरा आमजनताका सामु छर्लङ्गै छ । कोरोना महामारीले जनताको जीवन अस्तव्यस्त भइराखेको बेला राहत र रोजगारी दिनुको साटो जनतालाई चर्को सावाँ र ब्याज तिर्न बाध्य पार्ने कुरा पार्टीलाई अस्वीकार्य छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अछाम जिल्लामा जनतालाई सेवा–सुविधा दिने नाममा भ्रामक ढङ्गले विभिन्न क्षेत्रहरूमा वित्त÷लघुवित्तीय संस्थाले जनतालाई शोषण गर्ने ढङ्गले नयाँ स्वरुपमा साहूमहाजनको प्रथा कायम गर्न खोजिएको हुँदा यस शोषणबाट जनतालाई मुक्त गर्नका निम्ति हाम्रो पार्टीको केन्द्रीय नीतिअनुसार नेकपा अछामले विभिन्न समयमा वित्तीय/लघुवित्तीय संस्थाहरूलाई सुझाव–सल्लाह दिँदै जनविरोधी कामकारबाहीलाई रोक्न आग्रह गर्दा पनि अटेर गरेका हुँदा हाम्रो पार्टीले संस्थाका कर्मचारीहरूलाई नियन्त्रणमा लिई जनताबाट असुली गरेको सावाँ र ब्याज फिर्ता गर्न लगाएको थियो । पुनः जनतालाई शोषण गर्ने कार्य तीव्र पारिएको हुँदा हाम्रो पार्टी नेकपा अछाम निर्धन उत्थान वित्त/लघुवित्तीय संस्थाले कमलबजार न.पा. ६ हात्तीबाँझमा मिति २०७७/०८/२१ गते जनताबाट असुली गरेको सावाँ र ब्याज रु. २६,६३०।– (अक्षरेपी छब्बीस हजार छ सय तीस रुपैयाँ) नियन्त्रणमा लिन बाध्य भयो । उक्त रकम सम्बन्धित समूह वा व्यक्तिलाई फिर्ता गर्ने कुरा हामीले सार्वजनिक गरेअनुसार फिर्ता गरेको कुरा यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुका साथै आगामी दिनमा उक्त हर्कत नरोकिएको खण्डमा र निम्नलिखित मागहरू सम्बोधन वा कार्यान्वयन नगरिए पार्टी जनतालाई साथमा लिएर कारबाही गर्न बाध्य हुनेछ ।’

नेकपा अछामले निम्नलिखित ११ सूत्रीय माग पनि अघि सारेको छ :

१) वचतकर्ताहरूलाई सम्बन्धित लघुवित्तीय/वित्तीय संस्थाहरूले सेयर सदस्य बन्न पाउने अधिकारलाई सुनिश्चित गरियोस् ।

२) कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दी भएको बेला लिइएको महँगो ब्याजदरलाई मिनाहा गरियोस् ।

३) लगानी प्रवाह गरेबापत लिइने महँगो ब्याजदरलाई सर्वसुलभ कायम गर्नुका साथै सावाँ र ब्याज असुलीकार्य तीन महिनाको अन्तरमा गरियोस् ।

४) लगानी प्रवाह गर्दा अनुत्पादक क्षेत्रमा नलगाई उत्पादन क्षेत्रमा बढाई रोजगारी सिर्जना गरियोस् ।

५) सेवासुविधाका नाममा लिइने सबै शुल्क खारेज गरियोस् ।

६) राष्ट्रिय अर्थतन्त्रमा वित्तीय/लघुवित्तीय पुँजीले गरेको खास योगदानलाई वार्षिक प्रतिवेदन तयार गरी सार्वजनिक गरियोस् ।

७) निक्षेप÷वचतका आधारमा प्रत्येक वचतकर्तालाई नाफा र नोक्सानमा हिस्सेदारी बन्न पाउने व्यवस्था गरियोस् ।

८) सामाजिक उत्तरदायित्वका क्षेत्रमा गर्नुपर्ने लगानीलाई विशेष कोष खडा गरी कार्यान्वयन गरियोस् ।

९) कोरोना भाइरसको महामारी र विपत्बाट मृत्यु भएका वचतकर्ताले लिएको ऋण मिनाहा गरियोस् ।

१०) वित्तीय/लघुवित्तीय संस्थाले समूह वा व्यक्तिमा ऋण प्रवाह गरिसकेपछि समूह, व्यक्ति वा संस्थाको प्रगतिबारे अध्ययन गर्न सबै सरोकारवाला पक्ष रहने गरी एक महिनाभित्र अध्ययन प्रतिवेदन सार्वजनिक गरियोस् ।

११) वित्तीय/लघुवित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूको उचित वेतनको ग्यारेन्टी गर्नुका साथै निवृत्तिभरण (पेन्सन) व्यवस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :