क्रान्तिको दावानल

लेखक : अशाेक सुवेदी

हेर्दाहेर्दै, भोग्दाभोग्दै र लड्दालड्दै एक साथ
सुटुक्क मिलाएपछि वर्गदुस्मनसँग चोचोमोचो
र गर्न थालेपछि दुस्मनहरूको पाउपूजा
त्यागिदिएका हौँ हामीले तिमीलाई तिरस्कारपूर्वक ।
घृणा गर्नेलाई प्रेम र
प्रेम गर्नेलाई घृणा गर्दै
दुस्मनसँग मितेरी र
गरेपछि सहयोद्धासँगै दुस्मनको व्यवहार
घोषणा गरिदिएका हौँ तिमीलाई सपनाका दलाल
र गरिदिएका हौँ करार तिमीलाई क्रान्तिका व्यापारी ।

हो, अब फेरिएको छ
तिम्रो वर्ग र हाम्रो वर्ग
उत्थान भएको छ तिम्रो वर्गको
भुलेका छौ तिमीले झुप्रा–छाप्राहरूलाई
र लगाएका छौ हुर्हुरी आगो
चेपाङ, तामाङ वा अरू आधारभूत वर्ग–बस्तीहरूमा
तिम्रा अर्ना र डामेर छोडिएका साँढे चराउन
बिमाख पारिएका छन्
जनबस्ती र सुकुमबासी टहराहरू ।

हराएपछि दुस्मनका महलका चोठाकोठाहरूमा र
लहसिएपछि सुरा र सुन्दरीहरूमा
देख्न थालेपछि हिजो आफैँ बसेका
जनताका बुकुरालाई गोठ र छाप्रा
र जलाउन थालेपछि तिनै छाप्रामा दनदनी आगो
घोषणा गरेका हौँ तिम्रो प्रतिक्रियावादमा पतनको ।

ए पूर्वकमरेडहरू
अर्थात्
ए पूर्वमित्रहरू
वा भनौँ
ए पूर्वसहयोद्धा र सहकर्मीहरू
बन्ने भए गधा धोएर गाई
हुने थिएनन् कहीँ पनि गाईगोठहरू
जन्मिने थिएनन् कहीँ पनि
सुन्दर बाच्छाबाच्छीहरू
गर्ने थिएनन् बाँऽबाँऽऽ
र डुल्ने थिएनन् रनबन
दिने भए कुनै पनि रङको गोरुले बाल्टिनभरि दूध
किन पाल्नुपथ्र्यो गोठमा दुधालु गाई–भैँसी ?

नपुग्दै शिखरमा, फेदीबाटै
यात्रा टुङ्गिएको घोषणा गरेपछि
भनेका हौँ हामीले उसलाई धोकेबाज र कायर
आफ्नै यात्राका लागि खर्पस बोकेका सहयोद्धाहरूलाई
लडाएर हिउँहुरीमा र
हुत्याइदिएर हिमखाडलहरूमा
आफू मात्र सुटुक्क ओत लागेपछि सुरक्षित पालहरूमा
घोषणा गरेका हौँ हामीले गद्दार !

ए पूर्वकमरेडहरू हो !
कहाँ हरायो तिम्रो आलोचनाचेत र
कहाँ फाल्यौ तिमीले
हिजोका धारिला तर्कशक्ति
र गरिरहेका छौ अरण्यरोदन !
फल्ने भए अमिलो ज्यामिरको बोटमा
सुस्वादु सुन्तला
कसले गथ्र्यो सुन्तलाखेती ?
ढुक्क होऊ र छोडिदेऊ पागलपूर्ण भ्रम
दिँदैनन् गोरुहरूले दूध
र लाग्दैनन् अक्करमा धानचामर
कतै बचेका छन् भने भित्री अन्तरकुन्तरमा
हिजोका सुन्दर सपनाका झिल्काझिल्की
गर बुख्याँचाहरूसँग विद्रोह र
आऊ
उर्वर छ मैदान र
लटरम्म फलेका छन् सपना
सपनाको मैदानमा आऊ र
तयार होऊ साकार पार्न हिजोका सपना ।

हो, अब भेट त अवश्य हुने नै छ पूर्वकमरेड
जसरी भएथ्यो हिजो
निशाचर सत्ताका मालिकका रक्षकहरूसँग
भएर आमनेसामने युद्धमैदानमा
हिजो उसले जस्तै
खाएका छौ तिमीले पनि हाम्रा होनहार योद्धाहरूलाई
जसरी खाएथे हिजो
नानाथरी शाही साम्राज्यले
हाम्रा दसौँ हजार सहयोद्धालाई
भेट त भएकै थियो हिजो पनि उनीहरूसँग
लडाइँका मोर्चाहरूमा
हो, हुनेछ हाम्रो भेट पनि त्यसरी नै

कि तिमी/तिम्रो वर्ग रहनेछैनौ
कि हामी !
तर विश्वस्त छौँ हामी हाम्रो विजयप्रति
किनकि
आजसम्म बचेका छैनन्
संसारका कुनै पनि तानाशाहहरू
र क्रान्तियात्रा बहेको छ
झन्झन् उर्लंदो र वेगवान् नदी भएर
अघि–अघि बढिरहेको छ
श्रमिक–सर्वहाराहरूको क्रान्ति–दावानल बनेर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :