आजसम्म उठेन सम्झना विकको शव

बलात्कारी र हत्यारालाई कारबाही गर्न सम्झनाका आफन्तको माग

काठमाडौँ : गत बुधबार बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका २ खिकाला गाउँकी १२ वर्षीया सम्झना विकको शव अझसम्म उठेको छैन । बलात्कारी र हत्यारालाई पत्ता लगाएर कारबाही नभएसम्म शव नउठाउने आफन्तको अडानका कारण उनको शव नउठेको हो ।

नागरिक दैनिकका अनुसार उनको हत्या भएको चार दिन पुगेको छ तर अहिलेसम्म आफन्तले शव बुझ्न मानेका छैनन् । सम्झनाको शव चार दिनदेखि जिल्ला अस्पतालमा राखिएको छ । पोस्टमार्टम गरिएको भए पनि हत्यारा पत्ता लगाएर कारबाही नहुँदासम्म शव नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा दबाब दिँदै आएका छन् ।

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिरनजिक भेटिएको थियो । मन्दिरभित्र बलात्कारपछि धारिलो हतियारले टाउको र शरीरमा हानेर हत्या गरेको अवस्थामा शव फेलापरेको थियो । सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ ।

समाचारअनुसार सम्झना गाउँकै मष्टा आधारभूत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन् । कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन् । उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो । सम्झनाले दुई दिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन् । उनले यसपालिको दसैँमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजूरआमा हासु कामीले बताइन् । सम्झनाले सामान मागेको साता दिन नपुग्दै उनले सधैँका लागि संसार छाडेकी छिन् ।

बुधबार दिउँसो करिब १२ बजेको थियो । परिवारका तीन बहिनी र हजूरआमा (बज्यै) सँगै बसेर दिउँसोको खाना खाए । यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो । घरमा खाना खाएर सम्झना घरभन्दा आधा घन्टा टाढा रहेको गोठमा गएकी थिइन् । तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन् । नजिकैको मन्दिरमा लगेर उनको बलात्कारपछि हत्या भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :