सलाम महान् स्टालिन !

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि माओवादी पार्टीले पनि स्टालिनमाथिको हमला सुरु गरेको थियो । त्यो यात्रा यहाँसम्म आएको छ । तसर्थ स्टालिनमाथिको हमला रोकिनुपर्छ । सम्भवतः स्टालिनका उत्तराधिकारी कमरेड सेर्गेइभको हत्यापछि अक्टोबर क्रान्तिकालमै साम्राज्यवादका दलाल ठानिएका जिमेनेव र कामेनेव गिरफ्तार गरिए । उनीहरूको बयानबाट कमरेड स्टालिनलाई नै मार्ने षड्यन्त्र भएको पोल खुल्यो । जसरी लेनिनको हत्या भएको थियो, हत्या प्रयासमा गोली लागेर बाँचेका लेनिनको त्यही कारणले शीघ्र मृत्यु भएको थियो । अर्कोतिर हिटलर विश्व विजयको घोषणासहित पूर्वी युरोप पस्दै थियो । उसको पहिलो निशाना रुस नै थियो । त्यस्तो अवस्थामा आन्तरिक समस्या समाधान नगरी बाहिरको दुस्मनसँग लड्न सम्भव थिएन । त्यस्तो विशिष्ट अवस्थामा कमरेड स्टालिनले अलि बढी नै बल प्रयोग गर्नुभयो ।

कमरेड लेनिनले आफ्ना अन्तिम अन्तिम चिट्ठीहरूमा स्टालिन रूखो र अव्यावहारिक भएका कारण राष्ट्रप्रमुख बनाउन हुन्न कि भन्ने खालको भावना पोख्नुभएको थियो । त्यसका दुई कारण छन्– एक, कमरेड क्रुप्स्कायाले विपक्षीको सूचनाबाट प्रभावित भएर लेनिनलाई अनावश्यक सूचना सम्प्रेषण गर्नुभएको थियो । दोस्रो, प्रतिकूल स्वास्थ्यका कारण लेनिनले आफैँले समग्र वस्तुगत अवस्थाको अध्ययन र मनन गर्न सक्नुभएन । लेनिनले आफ्नो बफादार सहयोद्धा र नेतामाथि अन्याय गरेको देखिन्छ । जिनोनेव र कामेनेव जर्मनका जासुस थिए ।

त्यो दमन अभियानपछि स्टालिनमाथिको हमला बन्द भयो । ख्रुस्चेभले, ‘स्टालिन हाम्रा पितासरह हुन् । स्टालिनका विरुद्ध बोल्नु सोभियत सत्ताविरुद्ध बोल्नु हो’ भनेको थियो । पार्टीभित्रको सङ्घर्षलाई निष्कर्षमा पु¥याएर मात्र हिटलरका विरुद्ध संयुक्त मोर्चाको प्रस्ताव स्टालिनले सार्वजनिक गर्नुभयो । लेनिनवाद लागू गर्ने कार्य लेनिनले होइन, कमरेड स्टालिनले गर्नुभएको हो । स्टालिन लेनिनवादका व्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ ।

भर्खरै अनिलजीले भन्नुभएजस्तै २०५७ सालमै स्टालिनमाथि हमला सुरु भएको थियो । स्टालिनमाथिको हमला हिटलरको समर्थन हो । नरेन्द्र मोदी दक्षिणएसियाको हिटलर हो । मोदीको पहलमा सदनमा ताली बजाउने प्रचण्ड–बाबुरामले हिटलरका विरुद्ध लड्न सक्छन् ? मोदीका दलालहरूले आजको हिटलरलाई पराजित गर्न सम्भव छैन । ज्ञानेन्द्र शाह र राजनाथ सिंहको थाइल्यान्डमा वार्ता के हो ? मोदी नाति राजा ल्याउन चाहन्छ, ज्ञानेन्द्र आफ्नै लागि अनुनय गर्दैछ । यस्तो बेला हामीले स्टालिनबाट सिक्नुपर्छ ।

भियतनाममा अमेरिका हारेपछि अन्यत्र क्रान्ति सफल भएको छैन । अमेरिकाले हारबाट सिक्यो । कम्युनिस्टहरूले जितबाट पनि सिकेनन् । सोभियत सङ्घको आन्तरिक कारबाहीमा साम्राज्यवाद र जिनोनेवहरू कारण थिए, स्टालिनको निर्णय परिणाम मात्र हो । हत्याको सुरुआत स्टालिनले होइन, प्रतिक्रान्तिकारीहरूले गरेका थिए । स्टालिनको कदम आत्मरक्षार्थ थियो । प्रतिक्रान्तिकारीले हत्याप्रयास लेनिनबाटै सुरु गरेका हुन् ।

लिनप्याओले ‘माओजत्तिको प्रतिभा जन्मन सय वर्ष लाग्छ र अरूका हजार शब्दभन्दा माओका एक शब्द बढी महत्वपूर्ण छ’ भन्थ्यो । उसले माओलाई देवता बनाएर शक्तिमा चाहिँ आफू पुग्ने रणनीति बनाउँदै थियो । महान् प्रतिभा जन्मन सय वर्ष लाग्ने भए माक्र्स र एङ्गेल्स, स्टालिन र माओ एउटै शताब्दीमा कसरी जन्मिए त ? माओका एक शब्द अरूका हजार शब्दभन्दा महत्वपूर्ण भए ऊ आफैँ किन मान्दैन त ? माओले प्रश्नहरू गर्न थाल्नुभयो । माओबाट आफ्नो स्वार्थ पूरा नहुने भएपछि हत्या षड्यन्त्र गरेको थियो । माओको हत्या प्रयासमा सोभियत सङ्घको नेतृत्व मुछिएको देखिन्छ । त्यसो नभएको भए लिनप्याओ रुसतिर शरण लिन भाग्ने थिएन होला ।

माक्र्सवादका आधारभूत प्रश्नमा दृढ रहँदै माक्र्सवादको विकास गर्नुपर्छ । वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग (दार्शनिक विमर्श) कै बीचमा विकास हुन्छ । छलफलदेखि छलफलले विकास सम्भव छैन । कुनै समय कडा मानिएको मेटासिट नामको विषादीले अहिले उडुस पनि मर्दैन । साम्राज्यवादले पनि माक्र्सवादका कयौँ पक्षहरू पचाउने प्रतिरोधी क्षमता विकास गरेको छ । त्यसैले नयाँ विकास नगरी विजय सम्भव छैन । माओले आफ्नो ९ औँ खण्डको कृतिमा ‘भारतका लोकतान्त्रिक नेताहरूभन्दा नेपालका राजाहरू प्रगतिशील छन्’ भन्नुभएको छ । भारतीय स्वार्थअनुसार नचलेका कारण भारतले ज्ञानेन्द्रलाई ल्यायो । व्यापारीले राजनीति गर्न सम्भव थिएन, टिक्न सकेन । ज्ञानेन्द्रको पराजयमा भारतीय नेताहरूको पश्चगामी चिन्तन पनि जोडिएको छ ।

माओले मात्रा र गुण, सापेक्षता, निरपेक्षता, निषेधको निषेधजस्ता कयौँ दार्शनिक प्रश्नहरूलाई सरलीकृत र विकास गर्नुभयो । अन्तरविरोधबारे कृति त्यसको साक्षी छ । आज उत्तरआधुनिकतावादबाट प्रभावित कतिपय युवाहरूले ‘पदार्थको लोप भयो’ भन्न थालेका छन् । पदार्थको लोप होइन, पदार्थ अदृश्य भएको हो । पदार्थको विच्छेद अनन्त छ । तरङ्ग आफैँमा पदार्थको सूक्ष्म रूप हो । माओले आफ्नै जीवनकालमा नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो ।

स्टालिन एकजना महान् विचारक हुनुहुन्थ्यो । विचारक नभैकन कोही पनि महान् नेता बन्न सक्दैन । लेनिनवादका महान् व्याख्याता स्टालिन नै हुनुहुन्थ्यो । लेनिनवादका प्रयोगकर्ता पनि मुख्यतः स्टालिन नै हुनुभयो । ट्राटस्कीले लेनिनवादको पक्षमा एउटा पनि अक्षर लेखेको छैन । ट्राटस्कीप्रति नरम र स्टालिनप्रति कटुता प्रकट गर्नेहरू लेनिनवादकै विरोधी हुन् ।

(२०७२ पुस २ गते काठमाडौँको एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश । यसको शीर्षक हामीले दिएका हौँ । –रातो खबर) स्राेतः राताेखबर साप्ताहिक

२०७४ पुस ७ गते विहान ११ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :