जनप्रतिरोधको नमुना कालीकोट

नालापानीको लडाईलाई नेपालको इतिहासमा गौरवपूर्ण र वीरतापूर्ण इतिहासको रुपले लिने गरिन्छ । जहाँ घरेलु हतियारको भरमा गोर्खालीहरुले अत्याधुनिक हतियारद्वारा सुसज्जित अंग्रेजका फौजलाई धुलो चटाएका थिए । अहिले ठीक त्यस्तै घटनाको स्मरण गराउने खालको घटना कालीकोटमा भएको छ । त्यहाँ निशस्त्र स्थानीय युवाहरुले सेना र सशस्त्र प्रहरीको घेराबाट सम्पूर्ण निर्वाचन सामाग्री कब्जामा लिएर नष्ट गरिदिए । अनि पक्राउ गरिएका आफन्तलाई हतियारधारी फौजबाट छुटाउनको लागि स्थानीय महिला, बुढाबुढी र बालबच्चाहरु नै उर्लिए । स्थानीयले पक्राउ गरिएका आफन्त छुटाए र सशस्त्र जत्थाले निशस्त्र गाँउले सामु माफी माग्यो । तर पनि यो घटना राष्ट्रिय मिडियामा छाएन । त्यतिबेला मिडियाकर्मीहरु भीआइपीहरुका दैनिकी खोज्दै हिँडिरहेका थिए ।

जनयुद्धकालीन आधारइलाका मानिने कालीकोटको सेरापाटामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि एउटा मतदान केन्द्र तोकिएको थियो । नेकपाकी महिला नेतृ एवम् कालीकोटकै स्थानीय बासिन्दा धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ का अनुसार चुनावको मौकामा त्यँहाका स्थानीय जनताले आ–आफ्ना घरहरुमा कम्युनिस्ट पार्टीका झण्डा गाडेका थिए । चुनावी सुरक्षामा खटिएको सेना र सशस्त्र प्रहरी पुगेर स्थानीयका घरहरुबाट झन्डा निकाल्यो र दुईजना युवाहरुलाई गिरफ्तार गर्‍यो । तर गाउँका सबै महिला, बुढाबुढी, केटाकेटी एकजुट भएर प्रतिरोध गरेपछि सेना र प्रहरीले पक्राउ गरिएका युवाहरु छोडिदिए । भोलीपल्ट विहान आएर स्थानीयसँग सेना र प्रहरीले गल्ती महसुस गर्दै माफी मागे ।

जनयुद्धकालका सहिद विमलको नामबाट राखिएको सिउनाको एउटा गाउँको नाम विमलटोल हो । त्यहाँ सानो एउटा स्थानीय बजार छ । त्यसको नाम लेनिन बजार हो । त्यहाँका सबैजसो मानिस नेकपामा संगठित छन् । संगठित नभएकाहरु पनि नेकपाप्रति आस्थावान छन् । त्यहाँ अन्य राजनीतिक पार्टीको उपस्थिति शुन्य छ । मंसिर ८ गते लेनिन बजारका युवाहरुले ठूलो साउन्ड सिस्टम लगाएर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को भाषणको अडियो रेकर्ड बजाइरहेका थिए । उक्त भाषण केही समय अगाडि मालकोटमा आयोजित एउटा सभामा गरिएको थियो । चुनावी सुरक्षामा खटिएको सेना र प्रहरीले विप्लवको भाषण नसुनाउ भन्दै हस्तक्षेप गरे र निर्देशन नाम गरेका स्थानीय युवालाई पक्राउ गरे । तर स्थानीयहरु घरघरबाट हँसिया, हथौडा, कुटो, कोदालो, बन्चरो, लौरो लिएर बाहिर निस्किए र सेनाप्रहरीको पञ्जाबाट पक्राउ गरिएका युवालाई खोसे । जनताको एकतादेखि तर्सिएर सेना प्रहरीले उनीहरुसँग माफी मागे ।

घरहरुमा गाडिएका झण्डा निकालेको र विप्लवको अडियो भाषण सुनाउन नदिएको कारण मुम्रा र सिपखानाका युवाहरु आक्रोसित भए । निर्वाचनको अघिल्लो दिन ९ गते ९ बजेको समयमा मुम्राको ७ नम्बर वडामा रहेको बुथकेन्द्रमा युवाहरु प्रवेश गरे र सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरी नष्ट गरिदिए । त्यहाँ दोहोरो झडप भयो सेना र सशस्त्र प्रहरीले आधुनिक हतियार फायरिङ गरेभने युवाहरुले ढुंगामुढा प्रहार गरे । लगातार २ घण्टासम्म भएको दोहोरो झडपमा परि प्रहरीका एकजना असई गीरिराज भण्डारी र प्रहरी जवान रामबहादुर चौधरी घाइते भए । उनीहरुको शरीरमा ढुंगाको गहिरो चोट छ । सुरक्षा फौजको गोलीबाट पनि दुईजना स्थानीय युवाहरु महेन्द्र शाही र टंक विक घाइते भए । घाइतेमध्ये महेन्द्र शाहीको छातीमा गोली लागेको छ तर उनको अवस्था खतरामुक्त छ । नेकपाकी नेतृ भृकटी भन्छिन् – ‘निकै आक्रोसित युवाहरुले सेना प्रहरीका हतियार खोस्ने योजना बनाएका थिए, हामीले हाम्रो पार्टीको नीति चुनाव खारेज गर्ने हो हतियार खोस्नु हँुदैन भनेपछि उनीहरुले निर्वाचन सामाग्री मात्र कब्जा गरेका हुन् । स्थानीय युवाहरुसँग झडप भएपछि सेना प्रहरी बुथकेन्द्र छोडेर प्रहरी चौकी रहेको स्थानतर्फ भागे ।’

निर्वाचनको दिन १० गते दिनभरी नै मालकोट र मुम्रा क्षेत्रमा तीनवटा सैनिक हेलिकप्टरले जङ्गल क्षेत्रमा गोली प्रहार गरिरहे । त्यो दिन जनयुुद्धको झल्को दिनेगरी हेलिकप्टरले सेना प्रहरी ओसारेको र गोली बर्साएको स्थानीय बताउँछन् । निर्वाचनमा बाहिर जेजस्तो आकँडा प्रस्तुत गरिएको भएता पनि मुम्राका ७ र ८ नम्वर वडा, सिपखानाका दुईवटा वडा र सिउनाको विमलटोलका बासिन्दाले एउटा पनि मतदान गरेका छैनन् । ९ वटा वडा रहेको मालकोटमा जम्मा एक सय भोट खसेको देखाइएको छ । त्यहाँ निर्वाचनका कर्मचारी र अन्य पार्टीका मानिसले नक्कली मत हालेको स्थानीय बताउँछन् ।

नेकपाका पोलिटब्युरो सदस्य एवम् कालीकोटकै स्थानीय बासिन्दा भरत बम ‘रणवीर’ ले कालीकोटको जनप्रतिरोधको घटनालाई एकीकृत जनक्रान्तिको कार्यनीतिसँग जोडिएको बताएका छन् । उनले शान्तिपूर्ण कार्यक्रमहरुमा प्रहरीले व्यापक हस्तक्षेप गरिरहेको र अन्य ठाउँमा बम विस्फोटका घटना भइरहेको बेला कात्तिक २५ गते रासकोट र २९ गते मुम्रामा हजारौं जनताको उपस्थितिमा चुनाव खारेजी सभा सम्पन्न गरेको बताए ।

दश वर्षीय जनयुद्धको अवधिमा कालीकोटबाट मात्र ४ सय ५४ जनाले बलिदान गरेका छन् । वर्तमान संसदीय व्यवस्थाप्रति अत्यन्त घृणा, कम्युनिस्ट आस्थाप्रति अविचलित र जनताको एकता नै कालीकोटका जनताहरुको विशेषता हो । खासखास समयमा दमनका विरुद्ध प्रतिरोधका नयाँ नमुनाहरु प्रस्तुत गर्दै आएको कालीकोटले यसपटकको निर्वाचनमा पनि आफ्नो विरासत दोहोर्‍याएको छ । स्रोतः रातोखबर साप्ताहिक, अंक १२० ।

२०७४ मंसिर २३ गते अपरान्ह ८ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :