छक्याउन आउनेलाई दिनै पर्छ चोट, यी जनतामारालाई किन दिने ‘भोट’ ?

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं,
दलालसत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौं २

झुक्याउन फेरि नि बोकी आउलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट ।

हाम्रो देशको नदीनाला बेची खाने यीनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यीनै हुन् २ ।

यो देशको स्रोत साधन लुटिखाने यीनै
मुल्यवृद्धि चर्काएर मस्ति गर्ने यीनै
सुकुमबासी बस्तीमाथि डोजर लाउने यीनै
भ्रष्टाचारको आहालमा रजाई गर्ने यीनै ।

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौं,
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौं ।

झुक्याउन फेरि नि बोकि आउलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट ।

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नै पर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनै पर्छ २ ।

उत्पीडित श्रमिकहरू सबै मिली उठौं
राष्ट्रभक्त नेपाली हो जुर्मुराउदै हिडौं
एकीकृत जनक्रान्तिको महासमरमा बढौं
मक्किएको यो व्यवस्था एकधक्कामा फालौं

जनसत्तालाई … ।

चुनाव खारेजी अभियानको सन्दर्भमा तयार पारिएको एउटा गीतका शब्दहरू हुन् यी । २०७४ बैशाख १ गते यो गीत लेखें र संगीत पनि तयार भयो । हतारहतार रेकर्र्ड पनि गरियो । सामना परिवारका थुप्रै कलाकारले गीत गाउनुभयो । यो गीतमा दलालसत्ताका अंगरक्षकहरूको चरित्र र कथित चुनावको सन्दर्भलाई केही प्रस्ट्याउन खोजिएको छ । कथित चुनावमा जनताको प्रतिकार जारी छ । बम विस्फोटका घटनाहरू रोकिएको छैन । संकटकालमा जस्तो गरी सेना परिचालन गरिएको छ । संसदवादी दल, सुरक्षाकर्मी र निर्वाचन आयोग एकअर्कालाई दोष देखाउँदै आफू चोखो बन्ने होटबाजीमा लागिपरेका छन् । कथित आचारसंहितालाई लत्याउँदै दलाल र पैसावाला उम्मेद्वारहरू २ किलोमिटरको बाटोमा समेत हेलिको प्रयोग गरेर राज्यकोषको दुरूपयोग गरिरहेका छन् । राजनीति पैसावाला दलाल र ठेकेदारको हातमा पुगेको छ भन्ने कुरा जनतालाई बुझ्न मुस्किल परेको छैन । संसदवादी व्यवस्थाका मतियार देउवा, केपी, प्रचण्डलगायत पुरानै प्रतिक्रियावादी, संशोधनवादी राग अलाप्दै छन् । होइन, हान्नै पर्नेहरूलाई हानेका छन्, देउवाको कार्यक्रममा पड्कियो रे नि ? केपी ओली र प्रचण्ड गएको कार्यक्रममा पनि विस्फोट भयो रे ? रामचन्द्रे, बर्षमान, जनार्दन, रामशरण महत त झण्डै पो गएनन् हई ? होइन कान्छा यी देश लुटाहालाई त ठिकै पो गरेछन् जस्तो लाग्छ जस्ले गरेपनि मलाई त ठिकै पो लाग्याछ ! हो है वा मलाई पनि ठिकै लाग्याछ आखिर देश लुट्ने यीनै त हुन् नि होइन र ? ताकेरै दलाल, भ्रष्टाचारी नेतै–नेतालाई हानेका छन् हो यीनलाई अझै पुगेन जस्तो लाग्छ ! मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा बजारको सिमाचोकस्थित ठूले दाईको चिया पसलमा भएको छलफलको सन्दर्भ हो यो । आजभोलि देशभर एकाबिहानै चोकचोक र हरेक चिया पसलमा चिसोको प्रवाह नगरेर मानिसहरू जम्मा हुन्छन् र यस्तैयस्तै बहस सुरु गरिहाल्छन् । ए… बाबु यी मुलाहरूलाई भोट दिएर केही हुनेवाला छैन मत चुनावका दिन मासुभात खाने घरमै मजाले सुत्ने विचार ग¥या छु, भोट हाल्न नजा केही हुन्न यी नकचरालाई भोट हालेर बुढी र केटाकेटीलाई पनि त्यही भनेको छु मैले त ! बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका १६ टाँगीया बस्ती ४६ वर्षका राममान भोलनको भनाइ हो यो । सर्वहारा वर्गका महान नेता माक्र्स र ऐङ्गेल्सले “भूदास प्रथाको पतन भएझै, पुँजीवादी व्यवस्थाको पनि पतन हुनेछ र पुँजीवादले सर्वहारावर्गको रूपमा आफ्नो चिहान खन्ने वर्ग जन्माउँदैछ” बताउनुभएको थियो । त्यस्तै आज उत्तरसाम्राज्यवादको पालनपोषणमा हुर्किएको दलाल संसदीय व्यवस्थाको चिहान खन्न वैज्ञानिक समाजवादी व्यवस्थाको आँधी–हुरी फैलाउनु पर्ने परिवेश सिर्जना भएको छ । शान्ति, समानता, समृद्धि र स्वाधीनताका लागि वर्तमान दलाल संसदीय व्यवस्था बाधक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका लागि पनि यो व्यवस्था झनै अवरोधक छ । दलाल संसदीय व्यवस्था भनेको लुटिखाने वर्गको व्यवस्था हो । राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने यसको परिचायक हो । त्यसैले, यो दलाल संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जबसम्म नेपाली जनताले यो व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न सक्ने छैनन् तबसम्म जनताको अधिकारमाथि यिनीहरूको धावा बोल्ने क्रम रोकिने छैन । यो विषयलाई आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले जोडतोडले उठाएको छ । माक्र्स र ऐङ्गेल्सले बताउनु भए झैं “पुँजीपति वर्गको विरुद्ध क्रान्तिकारीहरूले सर्वहारा क्रान्तिद्वारा आफ्नै राजनीतिक शासन सर्वहारा वर्गको अधिनायकत्वले शोषकहरूको प्रतिरोधलाई चकनाचुर पारेर नयाँ वर्गहीन, कम्युनिस्ट समाजको सिर्जना गर्नुपर्छ ।” आज नेपाल कम्युनिस्ट पार्टी माक्र्स ऐङ्गेल्सले बताउनु भए झैं दलाल वर्गको अधिनायकत्वलाई चकनाचुर पार्न चाहन्छ । जनताको मुटुमा किलासरह बनेर बसेको दलाल संसदीय व्यवस्थाको शोषणयुक्त समाजलाई जरैदेखि उखेलेर फाल्न चाहन्छ । यो सन्दर्भमा देखिएको एउटा सानो अन्तरविरोधको झलक कथित चुनावका सन्दर्भमा पनि देखा परेको छ । संसदवादीहरू बल लगाएर आफ्नो कथित संविधानको क्रियाशिलतालाई अघि बढाउन चाहन्छन् भने नेपाल कम्युनिस्ट पार्टी जनताको बलमा कथित चुनावको नौटङ्कीलाई ध्वस्त पार्न चाहन्छ । आजको अन्तरविरोधको चुरो कुरा यसैमा अन्तरनिहित छ । राज्य लाचार छ, निकम्मा छ र पदभ्रष्ट पनि छ । बाटो हिंड्ने बटुवालाई समाउँछ, हिरासत राख्छ अनि भन्छ बम पड्काउने मान्छे ! बजार गर्न जानेहरूलाई समाउँछ, प्रहरी हिरासतमा राख्छ अनि भन्छ विस्फोटक पदार्थ बोक्ने मान्छे ! कसले विस्फोट गरायो, कसले बम पड्कायो, किन विष्फोट गरायो ? अत्तोपत्तो पाउँदैन । विस्फोटका बारेमा कुनै तत्थ्य सार्वजनिक गर्न सक्दैन अनि कतै लुगा सुकाउने १ मिटर तार र टिभीको बिग्रेको रिमोट भेट्यो भने कुर्लन्छ बम बनाउने सामग्रीसहित अमुक व्यक्ति गिरफ्तार । राजनैतिक आस्थाको आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समात्छ, विभिन्न मुद्दामा फसाउँछ, हिरासत राख्छ, षड्यन्त्र गर्छ तर रोकिँदैनन् बम विष्फोटका घटनाहरू । किरियापुत्री बसेकै अवस्थामा बैतडीका सेक्रेटरी क. वासुदेव जोशीलाई लतार्दै प्रहरीले गिरफ्तार गर्‍यो । बेहोस अवस्थामा रहेका छोरालाई सघन उपचार कक्षमा उपचार गराइरहेका पार्टीका पीवीएम क. वीरजंगलाई काठमाडौंबाट अपहरण शैलीमा प्रहरीले समात्यो । ८८ बर्षका क. नन्दन अर्याल र ८५ बर्षका दरोगालाई बारा जिल्लाको सदरमुकाम कलैयाबाट हिरासतमा लियो । दुर्घटनामा सिकिस्त परेको विरामी अस्पतालमा उपचार गराउँदा–गराउँदै अस्पतालकै सैयाबाट केन्द्रीय सदस्य क. सुमनलाई विराटनगर न्युरो अस्पतालबाटै प्रहरीले समात्यो ।

भोजपुर बजारमा रहेको सहिद प्रतिष्ठानका संयोजक तथा जनयुद्धका गम्भीर घाइते कृष्णकुमार राई ‘ निशान’ जो एक्लै उठबस गर्न समेत सक्दैनन् त्यस्तो मान्छेलाई पूर्व जनसेना भएकै कारण पूर्वाग्रह राखेर पक्राउ गरिएको छ । आफैं विरामी अवस्थामा घरमा लडिरहेका दाङका मकर ओलीलाई पनि प्रहरीले छोडेन । विद्यार्थीलाई पढाइरहेकै अवस्थामा ताप्लेजुङ्गकी शिक्षिका शुशिला गौतमलाई विद्यालयकै कोठाबाट गिरफ्तार गरेर लग्यो । निर्वाचनकै सन्दर्भमा गठवन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदा बुटवलका पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलन स्थलबाटै समातियो । मानव अधिकारका लागि अहोरात्र खट्ने निर्वाचन आयोगले पर्यवेक्षकका लागि परिचयपत्रसहित पर्यवेक्षणमा हिँडेका मानवअधिकारकर्मी रौतहटका होमप्रसाद गौतमलाईसमेत हिरासतमा कोच्यो । यी त केही नमूना मात्र हुन् लाचार सरकारको गिरफ्तारीको । यी र यस्ता गतिविधि के हुन्, राज्यले बोल्नु पर्दैन ? कथित ठूला पार्टीका नेताहरूले भन्नु पर्दैन ? कथित लोकतन्त्रका मसिया ठान्नेहरूले देख्नु पर्दैन ? क्रान्तिकारी जनताले बुझेकै छन्, कि क्रान्तिकारीहरूका लागि राज्यका दमन उत्पे्ररणाका स्रोतहरू बन्ने गर्दछ । राज्यको दमनले प्रतिबद्धतालाई जगाउने गर्दछ । विचारमा आक्रोशको ज्वाला थपेर दन्काउने गर्दछ । त्यसले ठूला–ठूला विष्फोटहरू बोकेर ल्याउँछ । त्यही विस्फोटको भूमरीमा परेर ठूला–ठूला तानाशाहहरू खरानी हुन्छन् । हामीले यतिमात्र भन्न सक्नेछौँ, हेक्का रहोस् तिम्रा यी नौटङ्की तालले तिम्रो स्वार्थको स्वर्गलाई बचाउन सक्नेछैन । तिम्रो एकलौटी कालोयुद्ध जनताले स्वीकार गर्ने छैनन् । आंतकवादको नाममा युद्धको सहारामा आफ्नो स्वार्थ पूरा गर्ने तिम्रा अभिष्टलाई कदापि जनताले पूरा हुन दिने छैनन् । जसरी चीन कम्युनिस्ट पार्टीको तत्कालीन महासचिव छन् तु स्यूको दक्षिणपंथी अवसरवादी गुटको नेतृत्वले गर्दा सन् १९२४ देखि १९२७ सम्मको क्रान्तिकारी नीतिमा गडबड गरेर पार्टीको नीतिमा गम्भीर भड्काव पैदा भयो । जसको कारणले गर्दा तत्कालीन अवस्थामा क्रान्तिमा ठूलो क्षती व्यहोर्नु प¥यो । त्यसैगरी तत्कालीन माओवादीको नेतृत्वमा रहेर प्रचण्ड– बाबुराम मण्डलीले गरेको गम्भीर गल्तीले गर्दा आज नेपालको क्रान्तिकारी आन्दोलनमा समेत ठूलो धोका भएको छ । यो अवस्थाबाट मुक्त बन्दै एकीकृत जनक्रान्तिको महासमरलाई अघि बढाउन क. विप्लवको नेतृत्वमा पुर्नगठित पार्टी नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको शिरलाई उँचो बनाउने अभियानमा लामवद्ध बनेका छन् । दाङ जिल्लाको तुल्सीपुरमा भएको देउवाको कार्यक्रमका दौरान भएको विष्फोटनमा परेर एकजना म्यादी प्रहरी चौधरीको ज्यान गयो । राजनीतिक वृतमा र अहिले सुरक्षा निकायहरूमा पनि व्यापक बहस हुन थालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चरित्र राजनीतिक हो वा होइन ? के यो पार्टी साँच्चिकै आतंकवादमा विस्वास राख्दछ ? के यो पार्टीले उठाएका मुद्दाहरू राजनीतिक छैनन् ? यस्ता बहसमा घोत्लिन थालेको नेपालको बौद्धिक वर्ग, सुरक्षा निकाय, मानवअधिकारकर्मी र सबैले एकपटक फेरि निधार तन्काएर सोच्नु पर्ने बेला भएको छ । ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भने जस्तै कथित विश्लेषक र सुरक्षाविद्को भ्रष्ट अनुहार झल्काउँदै टुप्पिदेखिको बल लगाएर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारी देख्ने तिम्रा कुदृष्टिको मूल्याङ्कन नेपाली जनताले गर्ने नै छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समातेर जेल हाल्दैमा यो वैज्ञानिक समाजवादी आन्दोलन रोकिन्छ भन्ने लागेको छ भने फेरि एकपटक समाजशास्त्र, मानवशास्त्र र राजनीतिक अर्थशास्त्रको शिक्षा लिन र ‘राम–राम भन्ने तर काँध नथाप्ने’ परिपाटी जस्तै एकीकृत जनक्रान्तिले तिम्रा सबै भ्रमलाई च्यातचुत पारिदिनेछ । तिम्रा सबै कुदृष्टिहरूलाई नाङ्गेझार पारिदिनेछ । जसरी रुसमा लोकवादीले मानव इतिहासको बुझाइ गलत थियो, इतिहासको निर्माता वर्गहरू र वर्ग सङ्घर्षहरू होइनन् त्यसका प्रमुख व्यक्ति–नायक वीरहरू हुन् भन्दथे । त्यस्तै, आज कथित वुद्धिजीवी र सुरक्षाविद््हरूले नेकपाले उठाएको माग र मुद्दालाई आतकंवादको जामा पहि¥याएर हेर्ने उनीहरूको गलत दृष्टिकोणको पनि छिट्टै पर्दाफास हुनेछ । चीनमा सन् १९२७ अक्टुवरमा हुनान् च्याङ्सी सिमान्त क्षेत्रस्थित चिङ्काङ्शान पहाडमा ऐतिहासिक क्रान्तिकारी आधार क्षेत्र स्थापना गर्दै, १९२८ अप्रिलमा क. चु तेहको नेतृत्वमा रहेको नानछाङ विद्रोहमा भाग लिने सैन्य दललाई क. माओ नेतृत्वमा रहेको सैन्य दलसँग मिलाएर चिनी मजदुर तथा किसानको लाल फौजको चौथो सेनाको च्याङ काई सेकको नेतृत्वमा रहेको सेनालाई संयुक्त प्रतिरोध गर्दै चिङ्काङ्शान पहाडको आधार क्षेत्रलाई जसरी सुढृढ गरिएको थियो । त्यसै गरी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई अघि बढाउँदै दलाल संसदीय व्यवस्थाका हरेक जिवाणुहरूलाई नस्ट गर्न योजनावद्ध र संगठित अभियानमा लामवद्ध भएको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, दलाल सरकारको विकल्पमा जनसरकार, पुरानो सेनाको विकल्पमा नयाँ र सुदृढ जनसेना, पुरानो अदालतको विकल्पमा जनअदालतको पुनर्गठन गर्दै अघि बढेको छ । यसैको वरिपरी जनताको व्यापक समर्थनले गर्दा, कथित चुनावलाई खारेज गर्ने र जनसत्तालाई सुदृृढ गर्ने अभियानले शिखर चुम्दै गएको छ । सम्पूर्ण किसान, मजदुर, युवा, विद्यार्थी, महिला, कर्मचारी, सुरक्षाकर्मी, मध्ययमवर्ग र देशभक्त शक्तिहरू एकताबद्ध हँुदै गएका छन् । पुरानो सत्ताले फैलाएका अफवाहहरूलाई चकनाचुर पार्न लामबद्ध बन्दै अघि बढेका छन् । दलाल सत्तालाई ढाल्ने र वैज्ञानिक समाजवादी सत्तालाई आगमन गर्ने यो अभियानमा खाँचो परेको खण्डमा गोला, बारुद, बम मात्र हैन, सबैखाले क्रान्तिका औजारहरूलाई प्रयोग गर्न क्रान्तिकारीहरू कत्ति पनि पछि पर्नु हुँदैन भन्ने क्रान्तिकारी मान्यतामा अविचलित बन्दै गएका छन् । नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कथित चुनाव खारेजी अभियानले अवश्य सार्थक महत्वका साथ सफलता प्राप्त गर्दै अघि बढेको छ । र जनताले फेरी पनि भन्दै गएका छन्, झुक्याउन फेरि नि बोकी आउलान् नोट, यि राष्ट्रघातिलाई किन दिने भोट ?                   स्रोत : रातोखबर साप्ताहिक, अंक १२० ।

२०७४ मंसिर २३ गते अपरान्ह २ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!