सञ्चारमाध्यम र यसमा प्रयोग हुने भाषा

अभिव्यक्तिको माध्यम भाषा हो । पत्रकारिता वा सञ्चार पनि अभिव्यक्तिकै माध्यम भएकाले यसको माध्यम पनि भाषा नै हो । लेख्य, कथ्य वा साङ्केतिक कुनै पनि माध्यममा भाषा आवश्यक पर्छ । पत्रकारितामा मानक भाषाको प्रयोग हुनु आवश्यक छ । सकेसम्म सबै राष्ट्रिय भाषा आवश्यक भए पनि नेपाली भाषाकै माध्यममा अधिकांश सञ्चारमनध्यम सञ्चालित छन् । साहित्यमा भाषिका अर्थात् क्षेत्रीय भाषाको प्रयोग पनि राम्रो मानिन्छ तर राष्ट्रिय स्तरका सञ्चारमाध्यमले भने मानक भाषा नै प्रयोग गर्नु राम्रो मानिन्छ ।

भाषा कुनै पनि राष्ट्र र समाजको महत्वपूर्ण र संवेदनशील शक्ति हो । रोगहरूले संवेदनशील अङ्गहरूमा पहिला प्रहार गरेझैँ मुलुकका दुस्मनहरूले पनि पहिला भाषामाथि आक्रमण गर्छन् । कुनै भाषालाई कमजोर पार्न सकिएमा त्यसका माध्यमबाट संस्कृति र आस्थामाथि प्रहार गर्न सजिलो हुने कुरा दुष्टहरूलाई थाहा हुन्छ । यसका लागि उनीहरूले सञ्चारमाध्यम, साहित्यकला र संस्कृतिमाथि प्रहार गर्ने नेपालको राष्ट्रियता कमजोर पार्न भारतीय शासकहरूले भाषिक अतिक्रमण बढाइरहेका छन् । संस्कृतिकर्मी अनिल शर्माका अनुसार– त्यसैले विश्वका शक्तिशाली सञ्चारले विश्वभरि भाषा र संस्कृतिमाथि अतिक्रमण गरिरहेका छन् ।

नेपालको सन्दर्भमा भारतीय टेलिभिजन, चलचित्र, गीत, पुस्तक, पत्रिका, इन्टरनेट, सामाजिक सञ्जाल, भारतपरस्त नेता, शासक, प्रशासक र पत्रकारहरूबाट नेपाली मौलिकता र संस्कृतिमाथि नराम्ररी अतिक्रमण भएको छ । शर्मा भन्छन्, फौजी हमला नगरीकन साम्राज्यवादले देशहरू कब्जा गर्दछ । त्यसप्रकारको सांस्कृतिक साम्राज्यवादले गैरसैनिक घुसपैठ गर्दछ । भौतिक, मानसिक र नैतिक रूपमा समाजलाई कमजोर बनाएपछि आफ्नो इच्छाअनुसार नचाउन थाल्छ । उच्च प्रविधि र कलाको प्रयोग गरेर मान्छेका इच्छालाई बदल्न सकिन्छ । जनमतलाई आफ्नो स्वार्थअनुसार ढाल्न सकिन्छ । मार्ता होर्नेकरको त्यससम्बन्धी टिप्पणी छ, ‘कसैले पनि जनमतलाई प्रभाव पार्ने कुरामा आधुनिक सञ्चारमाध्यमको क्षमतामाथि विवाद गर्दैन । सञ्चारमाध्यमहरू जुन निरन्तर रूपले थोरै मानिसहरूको हातमा केन्द्रित भइरहेका छन् शासक वर्गहरूका लागि स्वीकार्य सीमाहरूभित्र ‘विचार र दृष्टिकोणहरूलाई प्रवाह’ गर्न र यसरी ‘स्थापित विशेषाधिकार र प्राधिकारका लागि कुनै सम्भावित चुनौतीलाई’ त्यसले ‘आकार ग्रहण र शक्ति सञ्चय गर्न सक्नु’ भन्दा पहिले विचलित बनाउन लाग्छन् ।’ शक्तिशाली सञ्चारमार्फत जनमतलाई प्रभावित गर्नु, सत्ताधारीहरूको हितविपरीतका विचार र सूचना प्रवाहमा नियन्त्रण गर्नु र त्यसमार्फत अरूचिकर विचार तथा सूचनालाई जन्मनुपूर्व नै गला रेट्नु नेपालसहित विश्वभरिका मुख्य सञ्चारसाधनको विशेषता रहेको उनको भनाइ छ । उनी भन्छन्, तीतो यथार्थ के हो भने निरङ्कुश शासन व्यवस्था भएका देशहरूमा बन्दुकको बलमा जनतालाई दमन र नियन्त्रण गरिन्छ । बहुलवादलाई निरुत्साहित गरिन्छ । लोकतान्त्रिक भनिएका देशहरूमा सञ्चारमाध्यममार्फत बहुलवाद नियन्त्रण भैरहेको छ ।

सञ्चारमाध्यम र भाषा

१) प्रायः सञ्चारमाध्यममा प्रयोग हुने भाषा र सङ्केत निम्नलिखित छन् :
क) लेख्य भाषा (शब्द, वाक्यांश र वाक्यको माध्यमबाट लेखेर)
ख) कथ्य (बोलेर)
ग) साङ्केतिक (हाउभाउको माध्यमबाट)
घ) तस्बिर, चित्र र कार्टुनको माध्यमबाट
ङ) दृश्यको माध्यमबाट

२) पत्रपत्रिकाका किसिम
क) दैनिक
ख) साप्ताहिक
ग) अर्धसाप्ताहिक
घ) पाक्षिक
ङ) मासिक/द्वैमासिक/त्रैमासिक/चौमासिक

अर्धवार्षिक पत्रिका

च) म्यागेजिन/समसामयिक सङ्कलन

३) विद्यूतीय सञ्चार
क) अनलाइन पत्रिका
ख) फेसबुक/ट्विटर आदि

४) दृश्य/श्रव्य
क) टेलिभिजन
ख) रेडियो
ग) अनलाइन टीभी
घ) अनलाइन लाइभ रेडियो

भाषा जीवित हुन्छ । समाजमा आएको विकास वा परिवर्तनअनुसार भाषामा पनि परिवर्तन वा विकास आउँछ । नेपालमा एक सय बीसभन्दा बढी भाषिक समुदाय छन् तर नेपाली भाषा नै सबैभन्दा बढी बोलिने भाषा हो । यो नेपाल, भारत र अन्य मुलुकका करोडौँ मानिसले प्रयोग गर्छन् ।

समाजझैँ भाषा पनि वर्गीय हुन्छ । उच्च खानदान कहलिएका सम्भ्रान्त वर्गले राज होस्, सवारी होस्, आइस्योस्, गइस्योस्जस्ता भाषा प्रयोग गर्छन् भने आम नेपाली जनसमुदायमा त्यसैलाई आदरार्थी क्रिया आउनुस्, जानुस्जस्ता शब्द प्रयोग गर्छन् भने बोलीचालीमा आए–गए, आइज, जाजस्ता क्रियाहरू प्रयोग गरिन्छ । यसरी सम्भ्रान्त वर्गले बोल्ने भाषा र जनसधारणले प्रयोग गर्ने भाषामै वर्गीय अन्तर पाइन्छ ।

सञ्चारमाध्यमको भाषा सरल, सरस, सहज, ठेट, पत्यारिलो, तथ्य र स्रोतहरूमा आधारित हुनुपर्छ ।छापामाध्यमको भाषा प्रयोग गर्दा लेख, समाचार, फिचर, विश्लेषण, छोटकरी समाचार के हो छुट्ट्याएर प्रयोग गर्नुपर्छ । प्रत्येक समाचारदाता, लेखकका बीचमा पृथकता वा विशिष्टता छुट्ट्याउने भाषा, शब्द, वाक्य निर्माण, प्रयोग र शैलीले नै हो । राजनीतिक वृत्त र लेखक वक्ताहरूमा केपी ओली, चित्रबहादुर केसी,लेखकहरूमा खगेन्द्र सङ्ग्रौला, युग पाठक, अनिल शर्माहरूका बीचको पृथकता र सरसता उचित शब्दहरूको उचित स्थानमा प्रयोग, उनीहरूको शैलीगत विशिष्टता वा पृथकताले नै नाम छोप्दा पनि यो कसको भाषा र शैली हो भन्ने छुट्ट्याउन र चिन्न सकिने कारण भाषिक प्रयोगमा मौलिकता र विशिष्टता नै हो । समाचार वा लेखको शीर्षक आकर्षक, साङ्केतिक, सम्पूर्ण समाचार, विचारको प्रतिनिधित्व गर्ने, सूचनामूलक हुनुपर्छ ।

छापामा प्रयोग हुने सबै शब्दहरू दृश्यमाध्यम वा पर्दामा प्रयोग हुँदैनन् । जस्तै पत्रिकामा छापिने लेखक/विचार/टिप्पणी/फिचरमा ‘माथि नै भनिसकियो, अघि नै उल्लेख गरिसकियो’ भन्न सकिएला तर टेलिभजन र रेडियोमा त्यसो भन्न मिल्दैन किनकि टीभी र रेडियोको माथि हुँदैन पहिला वा यसअघि नै जस्ता शब्दहरू यसमा प्रयोग गर्न सकिन्छ ।

सञ्चारमा प्रयोग गर्नु हुने र नहुने शब्द, वाक्यांशहरू : प्रयोगमा आइरहने तर दोहोरिइरहँदा झिँझो लाग्ने शब्दहरू, जस्तै : भन्नुभयो, बताउनुभयो…को एकनास र निरन्तर प्रयोग राम्रो हुँदैन ।

प्रयोग गर्नु नहुने उखानटुक्काहरू : जस्तै : बूढी मरीभन्दा पनि काल पल्क्यो भन्ने पीर (अग्रज ज्येष्ठ महिलाहरूलाई अवहेलना गर्ने शब्द), उसै त बुहारी, भट्मास खाकी, नाच्न जान्दिन आँगन टेढो, काम छैन बुहारी पाडाको…कन्या वा उठाउँदै पोख्दै गर् (बुहारी वा महिलालाई अवहेलना गर्ने शब्दहरू), दलितजस्तो, च्यामेजस्तो, अँगारजस्तो कालो, भकभके, डुँडो, अन्धो, एकहाते, थोते,कामी, दमाई, पोडे वा सार्कीजस्तो (जाति वा समुदायलाई होच्याउने शब्दहरू) । राष्ट्रियतामा आँच आउने, जाति, लिङ्ग, धर्म, भाषा, क्षेत्र, समुदायमा विभेद र विद्वेष ल्याउने किसिमका शब्दहरू पनि प्रयोग गर्नु हुँदैन, जस्तै : कसैले देशै कब्जा गरिदिएको भए पनि सुखी हुने थियौँ, लिजमा दिन पाए पनि हुन्थ्यो आदि ।

व्यवस्थाअनुसार शब्दको प्रयोग हुने गर्छ, जस्तै : राणाकालमा श्री ३ सरकारका जुनाफमा, राजतन्त्रकाल र पञ्चायतकाल : श्री ५ …वीरविक्रम शाहदेव सरकार, जनपक्षीय पत्रकारिता : कमरेड… आदि ।

समाजको विकासअनुसार भाषाको पनि विकास हुँदै र पुरानो सत्तामा प्रयोग हुने गरेको भाषा, शब्द र शैली परिमार्जन/लोप/अन्त्य हुँदै नयाँको विकास हुँदै जान्छ । शाहीकालमा जनयुद्ध लडिरहेका योद्धाहरूलाई राज्यसत्ताले आतङ्ककारी भनेर समाचार सम्प्रेषण गराउँथ्यो, पञ्चायती शासकहरूले विद्रोहीहरूलाई अत (अराष्ट्रिय तत्व) भनेर बदनाम गराएका थिए । जनयुद्धकालमा भाषामा पनि सबैभन्दा धेरै क्रान्ति र उथलपुथल आयो । युद्धपत्रकारितामा युद्धका क्रममा सेना, कमान्डर वा कमिसारले प्रयोग गर्ने भाषाहरू नै प्रयोग भए र ती स्थापित पनि भए, जस्तै : कार्यदिशा, रणनीति, कार्यनीति, जनयुद्ध, छापामार, गुरिल्ला, जनसेना, कमान्डर, कमिसार, पीबीएम, सीसीएम, राइफल, सकेट, पाइप बम, कुकर बम, बम, बारुद, एसल्ट, डिफेन्स, मोर्चा, लडाइँ, सहादत, बलिदान, त्याग, शौर्य, गद्दार, दलाल, शाही अमेरिकी सेना, दुस्मन, भाइचारा, मित्रशक्ति आदि ।

हिन्दी, अंग्रेजी र अन्य विदेशी भाषाको अनुचित प्रयोग (दुरूपयोग)

नेपाली भाषाको चिनारी शब्दलाई हिन्दीको पहिचान शब्दले खाइदिएको छ । त्यस्तै नेपाली भाषाको टोपीलाई अङ्ग्रेजी भाषाको क्यापले निलिदिएको छ । टोपी मात्र प्रयोग गर्दा हुनेमा कतिपयले क्यापटोपी, जुत्ता मात्र प्रयोग गर्दा हुनेमा बुटजुत्ता, सीमा मात्र प्रयोग गर्दा हुनेमा बोर्डर सिमाना, बाबाआमाको स्थानमा ड्याडीममी, काकाकाकीको ठाउँमा अङ्कल–आन्टी, दिदीलाई सिस्टर, पुस्तक वा किताबलाई बुक आदि अङ्ग्रेजी शब्दको दुरूपयोगले गाँजेको छ ।यसमा भारतपरस्त तत्वहरूले गरेको भाषिक–सांस्कृतिक अतिक्रमण र हिन्दीकरण गर्ने षड्यन्त्र प्रमुख खतरा छ । कतिपय भारतपरस्तहरूले हिन्दी भाषालाई नेपालको राष्ट्रभाषा बनाउने प्रस्तावसमेत गरेका छन् ।

भाषिक साम्राज्य सांस्कृतिक साम्राज्यकै अर्को रूप हो । झ्यालझ्यालबाट छिरेका हिन्दी भाषाका टेलिसिरियलको दुष्प्रभाव, हिन्दी गीत, सिनेमा आदिको मनपरी प्रयोग र हिन्दी पात्रको नाम आफ्ना बालबालिकामा सार्ने रोग, (रिक्की, पिङ्की आदि) ले नेपाली समाजलाई गाँज्दै लगेको छ । गाडी, ट्याक्सी, सिनेमा हल, भित्ताहरू, टीभीका पर्दा, सामाजिक सञ्जालहरूमा हिन्दीको अतिक्रमण भएको छ । अब हुँदाहुँदा नेपाली सामानको बिक्रीमा पनि भारतीय नायकनायिकको तस्बिर नछापिनहुने अवस्था उत्पन्न गराइएको छ ।

नेपाली टीभीमा समेत हिन्दी भाषाका धार्मिक प्रवचनहरू लगाइनाले धार्मिक/सांस्कृतिक अतिक्रमण बढ्दै गएको छ । धर्म परिवर्तनले अर्को नराम्रो रूप लिँदै गएको छ । नवधनाढ्य वर्ग र सहरी बसोबासीहरूमा अङ्ग्रेजी भाषाप्रतिको बढ्दो मोहका कारण पनि नेपाली भाषा अतिक्रमति भइरहेको छ । अब बाबा, आमा, दिदी भिनाजु, दाजु, बहिनी, फुपू, फुपाजु, काका, काकी, भतिज, भतिजी, खाजा, कलम, परीक्षा, हजूरबुबा, हजूरआमाजस्ता मौलिक शब्दहरू अङ्ग्रेजी भाषाको मारमा परेर अस्तित्व धान्ने नसक्ने अवस्थामा पुगेका छन् । यसको मार नेपाली सञ्चारमाध्यमले पनि भोग्नु परिरहेको छ ।

बिग हाउस र मल्टिमिडया सञ्चालन गरिरहेकाहरूले नेपाली भाषामाथि अतिक्रमण गर्ने ‘बिग इन्ट्रेस्ट’ नै देखिन थालेको छ– राष्ट्रियतादेखि भाषासम्म अतिक्रमण । बिग हाउसहरूले चलाएको भाषा मान्य हुने, उनीहरूले रोजेको पात्र उचित हुनेजस्तो हुँदै गएको छ । त्यसमाथि भाषिक माफियाहरूले नेपालको मौलिक भाषामाथि अन्धाधुन्ध आक्रमण गरेर भाषिक तोडफोड र अराजकता नै मच्चाउन थालेका छन् । विद्यालय, कलेज र बोर्डिङ स्कुलहरूको नाम विदेशी राख्ने र रकम असुल्ने धन्दामा लागेकाहरूले नेपाली भाषाको मौलिकतामाथि नै प्रहार गरिरहेका छन् ।

प्राविधिक शब्दहरू

एउटा दक्ष वा सक्षम पत्रकारमा समाजमा प्रचलित सबै विषयको सामान्य ज्ञान हुनु आवश्यक हुन्छ । बिग मिडिया, कर्पोरेट हाउसहरूमा विषयगत रिपोर्टर र सम्पादकहरू हुनाले त्यति गाह्रो नहुने भए पनि निजी वा कमजोर लगानीका सञ्चारमाध्यममा विषय विशेषज्ञहरूको छेलोखेलो नहुने भएकाले एउटै संवाददाताले धेरै विषयको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । प्राविधिक विषयहरूको रिपोर्टिङ गर्दा धेरै ध्यान पु¥याउनुपर्छ । भाषिक सर्वेक्षण नहुनु, शिक्षामा व्यापार हुनु, बोर्डिङ स्कुलप्रतिको बढ्दो मोह, रोजगारका लागि कम्तीमा भारतदेखि टाढामा अस्ट्र्ेलियासम्म, भ्रूणमै विदेश पलायनको सपना, मुलुक बेरोजगार र असमानता जन्माउने राष्ट्रिय कारखानाजस्तो हुनुलगायत कारणले नेपाली भाषामाथि अतिक्रमण बढेको छ । यसको परिणम सञ्चारमाध्यममा पनि यसको असर परेको छ ।

हिज्जेको प्रयोगमा हुने त्रुटिहरू

१) पट्टि (तिर) पट्टी (घाउमा बाँध्ने टालो वा अङ्ग्रेजीमा ब्यान्डेज), तीर (धनुषकाँधमा प्रयोग हुने ताँदोजडित शस्त्र), तिर (तर्फ), हानी (हानेर), हानि (नोक्सानी), फुल (पन्छीजन्य प्राणी : कुखुरा वा चराको अन्डा, पुलिङ्गी प्राणीको अण्डकोष जनाउने शब्द), फूल (पुष्प) आदि । नेपालभाषामाबा ओल (बाबा आउनुभयो), खिचा ओल (कुकुर आयो) । अति आदर गर्दा बा अनाच्वन (बा आउनुभयो) हुन्छ तर प्रयोगको झन्झटले बा ओल र खिचा ओललाई एउटै स्तरमा प्रयोग गरेको पाइन्छ । यसको असर नेपाली भाषासम्म पनि आइपुगेको छ । स्तरीय वा मानक भाषामा ढाड वा पिठ्युँले शरीरको पछिल्लो भाग भन्ने जनाउँछ तर पश्चिमतिरका केही भाषिकाहरूमा पिठ्युँलाई कन्नो भनिन्छ । यो शब्द प्रयोग गर्दा मानकमा मलमूत्र विसर्जन गर्ने स्थान बुझिन्छ ।

अधिकांश लेखकले स, श, ष, ब, व, ट, त आदिमा गल्ती गर्ने गरेको पाइन्छ । त्यस्तै हलन्त हुँदा र अजन्त हुँदा अर्थमा आउने फरकपनको एउटा उदाहरण : भनिन् (उनीबाट भन्ने काम भयो), भनिन (ऊबाट भन्ने काम भएन वा भनिएन), गाइन् (उनीबाट गाउने काम भयो), गाइन (उसले गाइन अर्थात् ऊबाट गाउने काम भएन ।यी दुवै क्रियामा हलन्त हुँदा र नहुँदा अर्थ र आदर दुवैमा फरक पर्‍यो । यसैगरी हरु–हरू, अरु–अरू, रुप–रूप, रुख–रूख, तत्व–तत्त्व, महत्व–महत्त्व, झ्–झ्, फ्–फ् जस्ता पदहरू एकपटक प्रयोग गरिसकेपछि भुल्नु हुँदैन । उद्धरण ‘   ’, साङ्केतिक चिह्नहरू ?,   !,   ,,   :,   –, कहाँ लगाउने/प्रयोग गर्ने, कहाँ नगर्ने भन्नेमा अन्योलदेखि लिएर एकातिर लगाउने, अर्कातिर नलगाउने र कहीँ एकल (सिङ्गल) र कहीँ दुईवटा (डबल) लगाउने गरिएको छ । एउटा उद्धरणभित्र अर्को उद्धरण प्रयोग गर्नुपरेमा मात्र दुईवटा उद्धरण चिह्न लगाउने, अन्यथा एउटै लगाउँदा हुने प्रचलन छ । त्यस्तै, तपाईं, तिमी, तँ वा ऊजस्ता सर्वनाम सबैलाई एकै किसिमले प्रयोग गर्ने गरिएको छ पार्टी महासचिवदेखि चोरडाँकासम्म सबैलाई एउटै आदर हुने गरी । यस्तो प्रयोगमा एकरूपता ल्याउनुपर्छ ।० देखि ९ सम्म (६ बाहेक किनकि ६ को ठाउँमा छ प्रयोग गर्दा क्रिया बुझाउने भएकाले अलमल हुने गरेको छ) का अङ्कलाई मितिबाहेक अक्षरमै प्रयोग गर्दा प्रस्ट हुन्छ । ‘जनता’ शब्द कसले प्रयोग गर्ने, स्थानीय बासिन्दा कहाँ प्रयोग गर्ने भन्नेमा अलमल र विरोधाभास देखिन्छ । एउटा नेताले भाषण गर्दा प्रयोग गर्ने जनता, जनसमुदाय शब्दको ठाउँमा पत्रकारले स्थानीय बासिन्दा अथवा स्थान तोकेर वासी (काठमाडौँबासी) जस्ता पदावली प्रयोग गर्दा राम्रो हुन्छ ।

प्रहरी निकाय वा अन्य प्राविधिक क्षेत्रका निकायले प्रयोग गर्ने कयौँ शब्द दुरुस्तै प्रयोग गर्दा विरोधाभास मात्र होइन, हास्यास्पद पनि देखिन्छ । जस्तै : चेकजाँच । क्यापटोपी र बुटजुत्ता लगाएर हिँडेको युवक । यहाँ चेक र जाँच भनेको एउटै अर्थ हो भने क्याप टोपी र बुट जुत्ता भनेको पनि एउटै अर्थ हो ।

सम्बोधनमा : कुनै पार्टीको कुनै नेता त्यो पार्टीका लागि वरिष्ठ, विशिष्ट, सर्वमान्य वा अमान्य हुनसक्छ तर पत्रकारले प्रयोग गर्दा उसको सबैले चिन्ने र मान्य हुने पदलाई सम्बोधन गर्नुपर्छ । जस्तै : एमाले (यहाँ नेकपा एमाले भनिरहनु पर्दैन किनकि यतिबेलासम्म नेपालमा एमाले एउटै छ । अब दुईवटा भएछ भने फलानोले नेतृत्व गरेको एमाले भन्न सकिन्छ) का वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल अथवा काङ्ग्रेस (यहाँ पनि नेपाली काङ्ग्रेस भनिरहनु पर्दैन किनकि नेपालमा काङ्ग्रेस नाम गरेको र अस्तित्वमा रहेको पार्टी एउटै छ) का वरिष्ठ नेता रामचन्द्र पौडेल…भनिरहनु पर्दैन किनकि एउटा पार्टीका लागि कोही वरिष्ठ होला तर सबै जनता वा सर्वसाधारणका लागि ऊ वरिष्ठ हुनु र नहुनुसँगै कुनै अर्थ हुँदैन । समाचारमा ठेट शब्द, अनुकरणात्मक शब्द, उखानटुक्का, वाक्यांशहरूको प्रयोगलाई अतिशयोक्ति मानिँदैन तर त्यो सान्दर्भिक भने हुनुपर्छ ।

कसले के भन्दा सामान्य रूपमा भन्यो, दाबी गर्‍यो, धारणा राख्यो, जोड दिएर भन्यो वा टेबुल ठटाएर भन्यो त्यो एकिन नभईकन जहाँ पायो त्यहीँ प्रयोग गर्नु हुँदैन ।

आम रूपमा झट्ट सुन्दा असामान्य लाग्ने तर कसैले सार्वजनिक रूपमा प्रयोग गरेका शब्दहरू उद्धरण दिएर प्रयोग गर्न सकिन्छ जस्तै : अमेरिकी राष्ट्रपति ट्रम्पले जनगणतन्त्र कोरियाका नेता किम जोङ उनलाई ‘रकेट ब्वाई’ र ‘मिसाइल म्यान’ को संज्ञा दिँदै उनी आत्महत्याको बाटो हिँडिरहेको दाबी गरे ।

जनगणतन्त्र कोरियाका नेता मार्सल किम जोङ उनले भने अमेरिकी राष्ट्रपतिको सम्बोधनलाई ‘कुकुर भुकाइ’ को संज्ञा दिँदै कोरियालाई आफ्नो देश र जनताको सुरक्षाका लागि आणविक विकासको पूर्ण अधिकार रहेको धारणा व्यक्त गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति र कोरियाली नेताको वाक्युद्धलाई ‘केटाकेटीको झगडा’ को संज्ञा दिँदै कोरियालीहरू ‘बरु घाँस खाएर बाँच्ने तर आत्मसमर्पण नगर्ने’ धारणा व्यक्त गरे ।

तत्सम शक्दहरू : संस्कृत भाषाबाट आएका शब्दहरू जस्ताका तस्तै प्रयोग गर्नुपर्छ । जस्तै : रविबार, सोमबार, मङ्गलबार, बुधबार, बृहस्पतिबार, शुक्रबार, शनिश्चरबार, वैशाख, ज्येष्ठ, आषाढ, श्रावण, भाद्र, आश्विन, कार्तिक, मार्ग, पौष, माघ, फाल्गुण, चैत्र आदि । यिनलाई नेपाली भाषाले पचाइसकेकाले आइतबार…, जेठ–असार आदि प्रयोग गर्न सकिन्छ । आगन्तुक शब्दहरू (अन्य भाषाबाट तद्भव हुँदै आएर नेपालीकरण भएका शब्दहरू) नेपाली भाषाको उच्चारणस्थानअनुसार प्रयोग गर्ने : इन्डोनेसिया, मलेसिया, कम्युनिस्ट आदि शब्दमा प्रयोग भएका स वर्ण प्रयोग गर्दा दन्त्य स नै प्रयोग गर्ने । कसैको भनाइ उद्धरण गर्दा समाचारको उद्देश्य पूरा गर्ने वा पुष्टि गर्ने किसिमको उद्धरण बनाउने ।

भाषा, व्याकरण, हिज्जे नजान्ने र मौलिक शैली नभएको व्यक्ति सञ्चारमाध्यममा सबैभन्दा कमजोर व्यक्ति हो । अब त प्रविधि नजान्ने व्यक्ति पनि सबैभन्दा कमजोर व्यक्ति हो । घटना भइसक्छ । प्रविधि– मोबाइल, नेट, वाइफाई, डाटा, ल्यापटप आदि नहुँदा आफूभन्दा अरूले पहिले सूचना पाइसक्छ । पहिला कापी, कलम, टेपरेकर्डर, क्यामेरा, गाडीभाडा, सञ्चारसाधन अनिवार्य मानिन्थ्योअब त्यतिले मात्र पुग्दैन ।

प्रयोग गर्नै नहुने शब्द : आतिथ्य (आतिथ्यता), औचित्य (औचित्यता), तादात्म्य (तादात्म्यता), चेकजाँच, क्यापटोपी, बुटजुत्तालगायत । फेसबुक पत्रकारिताले सबैलाई सूचनामा पहुँच त पुर्‍याइदिएको छ तर नेपाली भाषामा भ्रष्टीकरण गरेर नेपाङ्ग्रेजी बनाइदिएको छ ।

२०७४ कात्तिक १९ गते विहान ८ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :