समय साबितीको बयान

 

               कविता

सदनमा पोखिएको हल्लाहरूलाई
संविधानको खाका भन्नेहरू
सडकमा भोकले छटपटिएर रोइरहेको बालकलाई
घरठेगाना र बाउका नाम सोध्नेहरू
म चेतना भएर सडक र सदनमा जम्मा भएका लाशहरूलाई हेरिरहेछु
एउटा सार्वभौम सम्पन्न भएको देशमा एउटा सार्वभौम नागरिक भैसकेको कारणमा
विद्रोह गर्नु आफ्नै नैसर्गिक अधिकार भैसकेको कारणमा
म फेरि वाच्छित परिवर्तनका लागि गोली बन्ने प्रणसहित
आज पनि ख्वै कहाँ छन् विचारका बन्दुक भनेर चिच्याइरहेछु
र आफ्नो वरिपरि विचारका बन्दुकहरू खोजिरहेछु
तर बोकेको भनेर मलाई भनिएको विचारका बन्दुकहरू
मरिसकेको र ढल्नैढल्नै आँटेको बूढो सत्तावृक्षले तोकिदिएको टोड्कोमा थन्काएर
विचारका गरिएका सबैसबै कुराहरू चुराझैँ फुटिसकेको वर्तमानमा रमाएर
बसिरहेका म मान्छे भनाउँदा गन्हाउँदा सासहरूलाई गनिरहेछु
सत्ता अवसरका लागि गरिएका कानेकाने पिच्चको खेल र दङ्गाफसादका झेलहरूलाई हेरिरहेछु ।
लाजको त के कुरा भयो र ?
जन्मदात्री जननीकै समेत वास्ता नगरेर
उन्कै आाखाबाट उन्ले देखेकी सुन्दर स्वप्नलाई चोरेर
एउटा असल छोरो भएको यर्थाथलाई समेत कागतीझैँ निचोरेर
हरक्षण भ्रमहरू नै बान्ता गरेर
धोकाहरूको मात्र ढोका खोलेर
अचेल म बल्खु खोलानजिक खसीबजारमा खसी बोकाहरूकै भाउ स्वाट्ट माथि पुगेको देखिरहेछु
दिन प्रतिदिन यसैगरी खसी बोकाहरूकै मात्र भाउ बढाएर
कमिसन कुम्ल्याउन अभ्यास आयुधीहरू देखेर
आखिर उनीहरूको पनि इमान के हो र कतिको हो भनेर जोखिरहेछु ।
चित्त नदुखाउनु रे, मागभन्दा आपूर्ति कम भएपछि नै त भाउ बढ्छ रे
सक्ने भए जानु रे, किन्नु र खानु रे
नसक्ने भए अब आफू शतप्रतिशत शाहाकारी भएको घोषणा गर्नु रे ।
तर रिमालझैँ नछुट्टाउनु रे, देवकोटाले लेखेजस्तो, पागलजस्तो कविता त झनै नलेख्नु रे
यो यताको होइन, हुँदै होइन उतैकाको उर्र्दी रे भनेर भन्दै छ यताको बर्दीले !
छि : छि : यो झन कस्तो नक्चरो र निम्छरो कुरा ?
के म मात्रै हुँ निरिह बबुरा ?
साँच्चै बल्खु खोला निरको खसी बजारमा
बढ्दो भाउ पाएर बिक्न हतारिएका खसी बोकाहरूमा
पुच्छर हल्लाउँदै उनीहरूले प्रतिफल गरिरहेका म्याँम्याँ भन्ने स्वरहरूमा
म आफ्नै नेताहरूका प्रतिबिम्बहरू देखिरहेछु
मलाई समयमै नकिन्दा पछि पछुताउमा परेको पछुवा बन्नुपर्ला भन्दै
पहिले मलाई नै किन्नु भन्दै चिच्याइरहेको, औधी चिच्याइरहेको बिम्ब भेटिरहेछु
सुन सुल्टो खुट्टामा उल्टो जुत्ता लगाएर कता पुग्न हतारिएकाहरू हो !
राम्ररी सुन
यसै गरी तिमीहरूले गरेजस्तै गरी फेदीमै उल्टासुल्टा सब बक्दैमा शिखरमा पुगिने थियो भने
म धेरै वर्ष अघि नै मेरो सगरमाथाको सबैभन्दा बढी संख्याको सफल एकल आरोही बनेर
गिनिज बुकमा आफ्नो नाम चढाइसकेको हुन्थेँ हुँला
तर यर्थाथता त्यसो होइन, हुँदै होइन !
हजारौँले सहादत भएपछि प्राप्तिएको भनिएको यो परिवर्तनपछि पनि
तिमीहरूले गरेजस्तो सिर्फअखबारका पन्नापन्नामा मात्र पोखाएर गणतन्त्रको बिस्कुनलाई
म शहिद भएको छोराको बाउलाई रुवाउन चाहन्न !
उन्का आँखाहरूले सँगालेका सपनाका घरबारहरूलाई भत्काउन चाहन्न !
र त भन्दै छु :
उन्का त्यै स्वप्नाका खातिर, सबैसबैका घरबारका लागि
म तिमीहरूसितै गणतन्त्रको लागि फेरि पनि शहिद हुन तयार छु, एकदम तयार छु !
तर के साँच्चै तिमीहरू पनि मसँगै फेरि पनि गणतन्त्रका लागि शहिद हुन तयार छौ, एकदम तयार छौ ?
म पशुपतिमा तिमीहरूले जस्तो भोकको बदला महाभोग लगाएर
वा सजिलैसित वस्त्रहरू बन्न सक्ने कपासको लाखबत्ती बालेर स्वर्ग जाने सिँढी निमार्ण गर्न चाहन्न
म शब्दमा मात्र ओम मानी पेमे हुँ भन्दै निवार्णको गाथा गाएको भ्रममा
फेरि पनि बुद्धलाई घोर सामन्तीमा परिणत गर्न चाहन्न !
तिमीहरूले गरेजस्तो विवेक माथि वैभवको लालची घोडा दौडाएर
कसैबाट उपहार पाउँदा यो उपहारलाई यसै गरी उपयोग गर्नु भनेको छ भनेर
उपहार स्वरूप पाएको फलामको तात्तातो र रातो सुइरोलाई आफ्नी जननीको मुटुमा रोप्न चाहन्न !
साँच्चै तिमीले पत्यायौ र भन्यौ भन्दैमा मैले पनि तिमीहरूले भने सरी
शिरलाई पुच्छर र पुच्छरलाई शिर भन्नैपर्छ भनेर कहाँ लेखिएको छ र ?
फेरि शिर पुच्छर र पुच्छर शिर भैसकेका साबिती पनि उत्तरआधुनिकताको किताबको कुन पृष्ठमा भेटिएको छ र ?
र त भन्दै छु :
तिमीले पुज्यौ र ढोग्यौ भन्दैमा म उताकालाई पुज्न र ढोग्न चाहन्न !
त्यसरी पुजेर, ढोगेर यताकालाई भन्दा पनि म आफैँलाई ठग्न चाहन्न !
र त भन्दै छु, अन्तिमपटक भन्दै छु :
म आफैँले आज पर्यन्त पनि यसरी नै बोकिरहेको विश्वासलाई
तिमीहरूले गरे जस्तो गरेर, तिमीहरू जस्तो सर्प भएर, सर्प बनेर आफन्तलाई डस्न चाहन्न !
डसेर सिंहदरबारहुँदी पस्न चाहन्न, पसेर सिंहदरबारहुँदी रम्न चाहन्न चाहदै चाहन्न !
कारण म घन्टाघर हुँ घन्टाघर !
र त म सधैँसधैँ बाँचुञ्जेल समय साबितीको बयान गरिरहन्छु
यसैगरी समय साबितीको बयान गरिरहन्छु, गरिरहन्छु ।

२०७४ कात्तिक १९ गते विहान ९ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!