एमाले–माके गठबन्धनको अन्तर्य : विप्लव, महासचिव, नेकपा

आजको दिन किसान, मजदुर र देशभक्तहरूका लागि खुसीको दिन हो । देशभक्त नागरिकका लागि खुसीको दिन हो । यस अवसरमा म सबैसँग खुसी बाँड्न चाहन्छु । जारका विरुद्ध मजदुरको कुरा गर्दा लेनिनलाई देशनिकाला गरिएको थियो । जारहरूले महिलालाई मतदानको अधिकार पनि दिएका थिएनन् । दर्जनौँ मजदुरबराबर पुँजीपति र सामन्तको एक मत मानिन्थ्यो । देशको निर्माण ठूलाबडा र सम्राट्ले गर्छन् भन्ने ठानिन्थ्यो । कसैले नपत्याएका मजदुर र किसान उठे । कसैले कल्पना नगरेको क्रान्ति सम्पन्न भयो । रुसको नयाँ इतिहास निर्माण भयो । इतिहासका निर्माता जनता हुन् भन्ने कुरा स्थापित भयो ।

नेपालका सबै नेता र बुद्धिजीवीले नेपाल सङ्कटमा रहेको ठान्छन् । तर सङ्कटबाट निकासा कसरी भन्नेमा एकरूपता भएको छैन । हामी एउटा निष्कर्षमा पुग्नुपर्छ । म भर्खरै थबाङबाट फर्कें । त्यहाँका प्रहरीले ‘सर, एनजीओको कार्यालय हेर्नुहोस् कस्तो छ ? हामी भाडामा बसेका छौँ, पानी चुहिन्छ, नाङ्गो टिनको चिसो आउँछ, सफा छैन’ भनेका थिए । दलाल र नागरिकको बीचमा यस्तो अवस्था छ । सिमानामा हरेक दिन विदेशीले नेपालीलाई मार्छ, अपहरण गर्छ, लुटपाट गर्छ, सरकार छ कि छैन भन्ने अवस्था छ । त्यसकारण जनता निरास छन् । के हामी नागरिकको मनोबल उठाउन सक्छौँ ? तर एकथरी शासकहरू चुनावको हल्ला गरेर देश झन् लुट्ने ध्याउन्नमा छन् । त्यसैले हामीले आफ्नो मनोबल उठाउनुपर्छ र सडकमा आउनुपर्छ । हामी निराश भयौँ भने दलालहरू खुसी हुन्छन् ।

हामीले त्यसो भन्दा युद्धको धम्की दिएको आरोप लगाइन्छ । हामीले युद्ध होइन, सङ्कट टार्न खोजेको हो । हामीले देश बचाउने विषयमा सोच्नै नपाउने ? जारबाट जारकै सेनाले रुसलाई बचाएको थियो । सोभियत सेनाले हिटलरबाट विश्वलाई बचाएको थियो । चिनियाँ सेनाले जापानबाट चीनलाई बचाएको थियो । नेपाली सेनाले पनि सोच्नुपर्छ । हामी दास भएर बाँच्नुभन्दा बलिदान रोज्छौँ । देशलाई हामीबाट, देशभक्तबाट होइन, दलालबाट खतरा छ । सत्य कुरा जनतामा नजाओस् भनेर हाम्रा गतिविधि नियन्त्रण गर्न खोजिएको छ । गोरखापत्र र रेडियो नेपाल वा टेलिभिजनको कुरा मात्र सुनाउन त्यसो गरिएको छ ।

प्रचण्डहरू काठमाडौँ आएर, पाँचतारे होटेलमा पसेर बिग्रिए । हामी बिग्रेका छैनौँ । दलालबाट मुक्ति सम्भव छैन । पुँजीवादभित्र समाधान होइन, विस्फोट छ । अमेरिकाले सात समुद्रपारिबाट आएर एसियामा युद्ध भड्काउन हुन्छ भने उत्तरकोरियाले आत्मसुरक्षा गर्न किन नपाउने ? पुँजीवादले शान्ति दिन सक्दैन । पुँजीवाद भनेकै युद्ध हो । त्यसैले आज युरोपलाई समाजवाद चाहिएको छ । ट्रम्पले अमेरिकालाई पहिलो बनाउने नारा दिएका छन् । अमेरिका नै पहिलो शक्ति हुनुपर्ने, अरू दोस्रो हुनैपर्ने कारण के छ ? अरूले प्रतिस्पर्धा नै गर्न नपाउने किन ? अमेरिका पहिलो हुनुपर्ने ट्रम्पको विचारलाई अमेरिकी बुद्धिजीवीहरूले नै हिटलर प्रवृत्ति भनेका छन् ।

स्थायी सरकार भनिने कर्मचारीको प्रमुख मुख्य सचिव भागेर विदेशी संस्थामा जागिर खान जाँदासमेत सरकारले थाहा नै पाउँदैन । भ्रष्टाचारीहरू एनसेलजस्ता राजस्वमाराहरूलाई सरकार कारबाही गर्न सक्दैन । बरु ढाकछोप गर्नतिर लाग्छ । तीजजना आईजीलाई भ्रष्टाचार मुद्दामा कारबाही हुन्छ तर तिनका मुख्य सूत्राधार नेताहरू कारबाहीमा पर्दैनन् । डाफरकाण्डका दोषी कृष्ण सिटौला कारबाहीमा पर्दैनन् । डाफरकाण्डमा प्रहरी मात्र दोषी थिएन ।

काङ्ग्रेसी नेताहरू लोकतन्त्रको गीत गाउँछन् तर लोकतन्त्रप्रति उनीहरूलाई नै विश्वास छैन । एमाले पार्टीले पटकपटक देश चलाउने मौका पाएको छ । तर एक लौरो खानासाथ थचक्क बस्छ । देश बनाउने कुरा गर्नासाथ चौतर्फी घेराबन्दी हुन्छ । माओवादी केन्द्र त दुगला भएको छ । जसले बोलायो उसकै पछाडि लाग्छ । चटकेहरूले बाम गठबन्धन भनेका छन् । यो ‘दाम–नाम’ गठबन्धन हो । केपी र प्रचण्डले समाजवाद जन्माउने दाबी गरेका छन् । उनीहरूको गर्भमा दिल्ली र वासिङ्टनको भ्रूण छ । दलालको भ्रूण छ । त्यसबाट झन् खतरनाक पुँजीवाद जन्मन्छ ।

यो देशमा क्रान्तिकारी र देशभक्त शक्ति मिल्नुपर्छ । भ्रष्टाचार गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । माथिल्लो कर्णालीको विद्युत्गृह तथा सबस्टेसन नेपालमा रहनुपर्छ । त्यसको प्रयोगकर्ता नेपाली हुनुपर्छ र जनताले चाहेको सेयर लिन पाउनुपर्छ । अन्यथा त्यहाँ लडाइँ हुन्छ । विदेशीलाई टाउकोमा टेक्दा बोल्न नपाउने कुरा स्वीकार हुँदैन । अरू देशले शब्द तलमाथि पर्दा त माफी माग्नुपर्छ ।

केपी ओलीलाई महाकालीको पाप छ । महाकालीबाट अर्बौं आउँछ भन्थे । अर्बौं रुपैयाँ आयो कि खरानी आयो ? यो दिल्ली दलालीको पराकाष्ठा हो । शेरबहादुरले भारतको ‘नदी जोड्ने’ परियोजनामा हस्ताक्षर गरेर आएका छन् । सिकन्दर महान्को कथाजस्तै दलाल र मातृघातीको भविष्य हुँदैन । देश बचाउन बन्दुक चाहिन्छ भने हामी तयार छौँ । चुनावले शान्ति र समृद्धि होइन, दलाल बढाउँछ, भ्रष्टाचार अझ तलसम्म लैजान्छ । बीपीले २०१७ सालपछि ‘कुनै समय म एक्लैजस्तो भएँ तर ममा प्रजातन्त्रप्रति अटल आस्था थियो’ भनेका थिए । नेपाल अहिले अक्टोबर क्रान्तिको संघारमा छ । क्रान्ति, विद्रोह लाद्ने विषय होइन तर हामी मुक्ति र स्वतन्त्रताको नेतृत्व गर्नेछौँ । (२०७४ कात्तिक ८ गते सहिदमञ्च, काठमाडौँमा व्यक्त विचारको सम्पादित अंश । शीर्षक हामीले दिएका हौँ ।)

२०७४ कात्तिक १६ अपरान्ह ४ः०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :