सम्झिएर बेपत्ता उज्यालोलाई


चैत्र मासको उखुरमाउलो याम
नदीहरूलेझैं सल्लाहरूले सुसेली हालिरहेको
क्षण
तिमी हरायौ
जसरी हराउँछ यो युगमा मान्छेको अस्मिता
जसरी हराउँछ आमाकै हातबाट बच्चा
तिमी हरायौ
बेखबर छन् मनहरू
आँसुहरू झरेनन् आक्रोशहरू उम्लिए
तिमीले भन्यौ
यो देशमा नौलो विहान ल्याउनुपर्छ
चराहरूलाई उड्न दिनुपर्छ
पखेटा काट्नुहुन्न
के यो देशमा तिमीले
न्याय माग्नु गलत थियो ?
के यो देशमा तिमीले
हृदय खोलेर हाँस्नु गलत थियो ?
कुन चैँ भैरवनाथ गणले ढगमगाउन सक्ला
तिमीले बोकेको अस्मिता ?
कुन चैँ कानूनले वर्जित गर्न सक्ला
तिम्रो आस्थाको मसाललाई ?
कुन चैँ आगोले जलाउन सक्ला
आगो नै आगो बोकेको मान्छेलाई ?
कसरी समाप्त गर्न सक्ला
मसिनो हावाले आँधीलाई ?
कवि निरविक्रम प्यासीको कविता जस्तो
उदास सत्ताले
कसरी बुझ्छ होला
रातो रङको सौन्दर्य शास्त्र ?
तिमी भन्थ्यौ
विचारको हृदय जल्दैन
आस्थाहरू वेलुन भैmँ फुट्दैनन्
विचारहरू वारुद भैmँ हुन्छन्
हो रहेछ
विचारहरू फेरि वारुद हुन खोज्दैछन्
जून उदाएको यो सुमधुर साँझ
तिमीलाई सम्झिरहेछु
यो शीतल जुनेली प्रकाश तिमी नै हौ
यो मन्द मन्द प्रकाश तिमी नै हौ
यो उदाउँदै गरेको विहान तिमी नै हौ
प्रिय योद्धा तिमी हरायौ
अब हामी हराउनेछैनौ

२०७४ असोज ३ गते ८ : ३१ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :