जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपाल र नेपाली हेर्ने बाहिरी दृष्टिकोण बदल्न र आमूल परिवर्तनका लागि जनगणतन्त्र र वैज्ञानिक समाजवाद अपरिहार्य सर्त भएको बताएका छन् ।

सहिद सप्ताहको अन्तिम दिन सोमबार काठमाडौँमा सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको ‘शान्तिप्रक्रिया, संसदीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी प्रवक्ता कञ्चनले नेपालमा स्थापित संसदीय लोकतान्त्रिक गणतन्त्र कतै ‘लोग’ तन्त्र त भएन भत्रे प्रश्न गरे । नयाँ जनवाद÷समाजवाद स्थापित गर्न ठूलो बलिदान भएको तर रुसमा लेनिनले स्थापना गरेजस्तो र चीनमा माओले स्थापना गरेजस्तो जनवाद नभएर बेलायतले छाडेको ‘लोग’ तन्त्र अथवा दलाल पुँजीवाद, नवऔपनिवेशिक हुँदै प्रत्यक्ष उपनिवेशतिर गइरहेको बताए ।

प्रवक्ता कञ्चनले देशमा मिटरब्याज, लघुवित्त, व्यापारिक बैङ्कहरूबाट जनता लुट्ने प्रक्रिया, राष्ट्रिय पुँजीको विकास गर्न बन्द उद्योगहरू पुनस्र्थापित गर्न र नयाँ उद्योगहरू खोल्न नसक्नु दलाल पुँजीवादको चरित्र भएको पनि बताए । प्रचण्डलाई प्रश्न गर्दै उनले भने, ‘व्यक्तिगत रूपमा तपाईंहरू बहुमत सभासद्सहित एमसीसीविरोधी हुनुभयो तर व्यवहारमा टेबल ठोकेर पारित गर्नुभयो । यो कस्तो लोकतान्त्रिक गणतन्त्र भयो ?’

‘हुने र नहुनेबीचको खाडल व्यापक बनेको छ । यसको समाधान दिन सकिन्छ ?’, कञ्चनले अगाडि भने, ‘हो, यसको समाधान सम्भव छ । नयाँ आधारमा नयाँ एकता गराँ । नयाँ एजेन्डामा एकताबद्ध होऔँ ।’

पन्ध्र दिनअगाडि ‘पायोनियर डेइली’ ले प्रकाशित गरेको अशोक मेहताको लेखको प्रसङ्ग निकाल्दै उनले भने, ‘विदेशीहरूले हामीलाई कसरी हेर्छन् ? छिमेकी मुलुकहरूसँग कस्तो सम्बन्ध हो हाम्रो ? नेपालको दलाल पुँजीवादी व्यवस्थाले नेपाललाई हेर्ने विदेशीको दृष्टिकोण किन यस्तो बनायो ?’

उनले प्रश्न गर्दै अगाडि भने, ‘शेरबहादुरलाई तबेलामा छाडेर प्रचण्ड नै दिल्लीको उत्तम घोडा हो भत्रे भारतीय कूटनीतिज्ञहरू अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिङ पिङबारे त्यस्तै बोल्न र लेख्न सक्छन् ? तर हामीलाई यसरी हेप्नुको कारण हाम्रो दरिद्र अर्थव्यवस्था हो । त्यो अर्थव्यवस्था बदलौँ । त्यसका लागि ‘लोग’ तन्त्रको संस्थागत विकास गरेर होइन, जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सम्भव छ ।’

भर्खरै सत्ता गठबन्धन भत्काएर तरल राजनीतिक अवस्थामा रहेका प्रधानमन्त्री प्रचण्डकै अगाडि नेपालका संसद्वादी नेताहरूलाई हेर्ने भारतीय रबैयाको प्रसङ्ग निकालेपछि प्रचण्ड आक्रोशित बनेका थिए । भारतीय पत्रिका डेइली पायोनियर www.dailypioneer.com मा प्रकाशित अशोक मेहताको आलेखमा ‘Still, for Delhi, Prachanda is the right horse to back while keeping Deuba in the stable’ भनिएको छ ।

कार्यक्रमको अध्यक्षता धर्मशीला चापागाईंले गरेकी थिइन् । कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका प्रतिनिधि जनक शाहले पनि बोलेका थिए । कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

दस वर्षको जनयुद्धमा सँगै रहेर सङ्घर्ष गरेका पार्टीहरू सँगै बसेर अन्तरक्रियामा भाग लिएको उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :