क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

चितवन : क्रान्तिकारी महिला सङ्गठन, नेपालले साङ्गठनिक अभियान अन्तर्गत चितवन जिल्लाको प्रथम भेला सम्पन्न गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा शान्ति बिक, उपाध्यक्षमा मधु बजगाई र मनमाया बिक, सचिवमा अरुणा राउत, सहसचिवमा कुसुम खड्का, कोषाध्यक्षमा अञ्जु खड्का र सदस्यहरूमा भगवती घिमिरे, मिना बिक, सुशीला बिक, सुकमाया तामाङ, विष्णु बिक, भावना बिक, कमला दबाडी, बिष्णुमाया लामिछाने चौधरी, लक्ष्मी दर्लामी मगर, रुपादेवी सेन्चुरी, इन्दिरा गुरुङ, सरिता बिक पबित्रा नेपाललाई निर्वाचित गरेको छ । साथै भेलाले दुई सदस्य पछि थप गर्ने निर्णय समेत गरेको छ ।

सङ्गठनकी केन्द्रीय सदस्य शान्ति बिकको अध्भ्यक्षमा सम्पन्न एकता भेलामा आयोजक समितिका तर्फबाट बिमला भुजेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन अरुणा राउत थापाले गर्नु भएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज ध्रुब, संयोजक बिकास, सहसंयोजक दुर्गा सुवेदी, कार्यालय सदस्य बाबुराम प्यासी, सङ्गठनका बागमती प्रदेश सहसंयोजक बिमला भण्डारी, एकीकृत दलित मुक्ति मोर्चा, नेपालका चितवन जिल्ला अध्यक्ष रामचन्द्र बिक, सहिद परिवारका तर्फबाट खड्गबहादुर कुँवर, मजदुर नेताहरू ओम लामिछाने, दिनेश घिमिरे लगायत पार्टी र सङ्गठनका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रम सुरुवात हुनुभन्दा अगाडि सप्तगण्डकी क्याम्पसमा रहेको सहिदका सम्झनामा निर्मित शालिकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजनामा सहिद सप्ताह कार्यक्रम अन्तर्गत एक सभाको आयोजना गरिएको थियो।

कार्यक्रममा मजदुर सङ्गठनका तर्फबाट ओम लामिछाने, सहिद अनिश कुवरका बुवा खड्ग कुवर, दलित नेता रामचन्द्र बिक, सङ्गठनका प्रदेश सहसंयोजक बिमला भण्डारी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ध्रुव खड्काले शुभकामना व्यक्त गर्नु भएको थियो । बोल्ने बक्ताहरूले महिलाको समस्या दिनप्रतिदिन बढ्दै गएको तर क्रान्तिकारी महिला सङ्गठनहरू सशक्त र व्यापक बन्न नसकेको तर्फ यो भेला एक अवसर हुन सक्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीले समसामयिक विषयसहित महिला आन्दोलनका बिबिध पाटाहरूको चर्चा गर्नु भयो । देशैभरि महिला एवम् बालबालिका माथि यौन हिंसा बढेको तर सरकारका न्याय निरुपण गर्ने निकायहरू पीडित मैत्री नभएको उहाँको जिकिर थियो ।

महिलामाथि उत्पीडनका केही स्वरूप मात्रै फेरिएको तर उत्पीडनका नयाँनयाँ स्वरूप जारी रहेको बताउँदै उहाँले जनयुद्धले जागृत गरेको चेतनाले महिलाको राजनैतिक क्षमता हिजो भन्दा आज फराकिलो बनेको छ । महिला आन्दोलनभित्र देखा पर्ने विभिन्न कमिकमजोरीका विरुद्ध पनि सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनु भयो ।

भेलामा प्रमुख अतिथि अम्बिका मुडभरीले पेश गर्नु भएको एक्काईस सदस्यीय चितवन जिल्ला समितिको प्यानल प्रस्ताव सर्वसम्मत रूपले पास गरेको थियो । निर्वाचित समितिलाई पार्टीका तर्फबाट जिल्ला सहसंयोजक दुर्गा सुबेदीले बधाई दिनु भएको थियो । नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष शान्ति बिकले आफ्नो प्रतिबद्धता सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

भेलाले निम्न समसामयिक प्रस्ताव पनि पास गरेको छ :–

१– सलिन पोखरेलको विद्यालयमा भएको मृत्युको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारवाही गरियोस्
२– महिलामाथि हुने सबैखाले उत्पीडन अन्त्य गरियोस्
३– हिंसा पीडित महिला र बालिकाहरूको पुनःस्थापनाको ग्यारेन्टी गरियोस्
४– बलात्कार र हिंसा परेका बालिका र महिलाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरियोस्
५– महँगी, कालाबजारी र भ्रष्टाचारको अन्त्य गरियोस्
६– दलाल तथा माफियाहरूलाई कारवाही गरियोस्
७– शिक्षा, स्वास्थ्यमा भएको भइरहेको निजीकरण र माफियाकरण बन्द गरियोस्
८– क्रान्तिकारी महिला आन्दोलन गोलबन्द गर्न सम्पूर्ण महिलाहरूलाई एकताबद्ध गरौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :