जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ

जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ

पश्चिमी पुँजीपति वर्ग, विशेषगरी जर्मन एकाधिकारी साम्राज्यवादी राजनीतिक तथा सैन्य प्रवक्ताहरू युद्धसँगै सुत्छन् र युद्धसँगै उठने गर्छन् । खासगरी युक्रेनमा रुसले आक्रमण गरेदेखि नै उनीहरूका सबै प्रयास अर्थतन्त्रलाई युद्धअनुकूल बनाउने रहेको छ भने हतियार उत्पादन नयाँ साम्राज्यवादी युद्धका लागि सैन्य शक्ति तयार पार्ने एउटा महत्वपूर्ण काम भएको छ ।

१६–१८ फेब्रुअरी २०२४ मा ६० औँ म्युनिख सुरक्षा सम्मेलन (MSC) म्युनिख, जर्मनीमा आयोजित हुँदैछ । उनीहरूले आयोजना गर्ने त्यो सम्मेलनमा साम्राज्यवादी लुटेरा तथा हतियारका एकाधिकारीहरूले युद्धको तयारी र सैन्य शक्ति तथा हतियार उत्पादन कसरी गर्ने र लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रतालाई धावा बोलेर कसरी घरेलु फासिवादको योजना बनाउने भन्ने विषयमा छलफल गर्नेछन् ।

अनुवादक : इन्द्रमोहन सिग्देल ‘वसन्त’

निःसन्देह यहाँ साम्राज्यवादका सबै लुटेरा प्रतिनिधिहरूका बीच आफ्नै देश र एकाधिकारीको हितको रक्षाका लागि उच्च तहमा वार्ताहरू हुनेछन् । यस सम्मेलनमा सबै साम्राज्यवादी देशहरूले युद्धका पक्षमा लबिङ गर्नेछन् । छोटकरीमा भन्नुपर्दा MSC साम्राज्यवादी एकाधिकारीहरूले विश्वको बाँडफाँट गर्न वार्ता गर्ने ठाउँहरूमध्ये एक हो । साथै ध्रुवीकरण तीव्र हुँदै गएको यो वर्षमा हुने सम्मेलन निकै चर्काचर्की र धम्कीपूर्ण वातावरणमा हुने प्रस्ट छ ।

यो सम्मेलन NATO को ‘हल्लाउन नसक्ने सुरक्षा (Unshakable defence)’ नामक पाँच महिना लामो अभ्यास सुरु भएसँगै हुँदैछ जसमा NATO का ३१ सदस्य र उम्मेदवार राष्ट्र स्विडेनका करिब ९०,००० सेना सहभागी हुनेछन् । यो स्पष्ट छ– यो अभ्यास रुसका विरुद्ध गरिने एक तयारी र आक्रामक अभ्यास हो । जर्मनी फेरि पाँच महिनासम्म यो अभ्यासको सैन्य आधार हुनेछ ।

युरोपको आर्थिक शक्ति जर्मनी सैन्य शक्ति पनि बन्न चाहन्छ र सोहीअनुसार तयारी गरिरहेको छ । चान्सलर स्कोल्ज, रक्षामन्त्री, जनरल स्टाफ, आन्तरिक मन्त्री, राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सबैले युद्धको तयारी र युद्ध अर्थतन्त्रको कुरा गरिरहेका छन् । यति मात्र होइन, उनीहरू समाजलाई पनि युद्धका आधारमा व्यवस्थित गर्न चाहन्छन् । जर्मनीले आफ्नो अर्थतन्त्र र समाजलाई साम्राज्यवादी युद्धका लागि तयार गरिरहेको बेला युरोपेली सङ्घका अरू देशहरूलाई युद्धका निम्ति उक्साइरहेको छ ।

नेटोका महासचिव स्टोल्टनबर्ग युक्रेनलाई थप हतियार पठाउन चाहन्छन् । उनले ईयूको अर्थतन्त्रलाई युद्धअर्थतन्त्रमा परिणत गर्ने प्रस्ताव राखेका छन् । यो जरुरी रहेको उनको भनाइ छ । साथै उनले ‘सम्भवतः दशकौँसम्म’ रुससँगको द्वन्द्वका लागि यो उपयोगी हुनेछ भनेका छन् ।
जर्मन रक्षामन्त्री पिस्टोरियसले ‘युरोपमा युद्धको खतरा हुनसक्छ र यसको मतलब हामी युद्धकोलागि तयार हुनुपर्छ’ भनेका छन् । जर्मनीका चिफ अफ द जनरल स्टाफ कास्र्टेन ब्रुअरले पनि बेल्ट एम सोनटाग अखबारमा जर्मन सेना पाँच वर्षभित्र ‘युद्धका लागि तयार हुनुपर्दछ’ भनेका छन् । ‘यसको मतलब युद्ध हुनेछ भन्ने होइन तर त्यो सम्भावना छ ।’

युक्रेन–रुस युद्ध (नाटो–रुस युद्ध भन्नु स्वाभाविक हुन्छ) बाट सबैभन्दा बढी फाइदा लिएको साम्राज्यवादी राइनमेटल एकाधिकारको नयाँ गोलाबारुद उत्पादन गर्ने कारखानाको उद्घाटनमा जर्मनी, डेनमार्क र पोल्यान्डका प्रधानमन्त्रीहरूको उपस्थितिले युरोपमा हतियार उत्पादन छिटो बढाउनुपर्छ भन्ने सन्देश दिएको छ । यसले जर्मन अर्थतन्त्र युद्धलाई केन्द्रमा राखेर पुनव्र्यवस्थित गरिँदैछ भन्ने देखाउँछ ।

जर्मन साम्राज्यवादी पुँजीपति वर्गले जोड दिएर युद्धको तयारी गर्दैछ । पहिलो र दोस्रो साम्राज्यवादी युद्धको सुरुआतकर्ता, जर्मन साम्राज्यवाद युद्धको केन्द्रीय आधार बन्न र तेस्रो विश्वयुद्ध छेड्न गहन रूपमा काम गरिरहेको छ ।

पोल्यान्डले जर्मनी र नेदरल्यान्ड्ससँग ‘सैन्य सेन्जेन’ सम्झौतामा हस्ताक्षर गरेको छ । ‘फ्रान्सेली, जर्मन र पोलिस नेताहरूको सहभागितामा पेरिसनजिकै सेन्ट–क्लाउडमा वेमर त्रिभुज आयोजित गरिएको छ ।’

युरोपेली पुँजीपति वर्गले लामो समयदेखि संयुक्त राज्य अमेरिकाबाट स्वतन्त्र रूपमा काम गर्ने उपायहरू खोज्दै आएको छ । साम्राज्यवादी युद्धको तयारीले नयाँ साम्राज्यवादी सङ्घ वा ब्लकहरू (उप–ब्लकहरू) को निर्माणका लागि सहज भूमिका निर्वाह गर्छ । परन्तु EU पुँजीपति वर्गले यति बेला संयुक्त राज्य अमेरिकाबाट अलग रहेर काम गर्न सक्दैन भन्ने कुरा बुझेको छ । यसले जर्मनीमा आधारित आफ्नो आर्थिक र सैन्य शक्ति बढाउन खोजिराखेको छ ।

यो बुझाइका आधारमा जर्मन पुँजीपति वर्गले EU मा आफ्नो प्रभाव र प्रभुत्व बढाउन कोसिस गरिरहेको छ र रुसी खतराको भाष्य प्रयोग गरी EU को सैन्य र आर्थिक उद्धारकर्ताको भूमिकामा EU देशहरूलाई आफ्ना पक्षमा ल्याउन कोसिस गरिरहेको छ ।

जर्मन पुँजीपति वर्गले नयाँ साम्राज्यवादी युद्धको तयारी गरिरहेको बेला आफ्नो अर्थतन्त्रलाई सैन्यीकरण गर्ने प्रक्रियामा देशमा फासिवादको सहारा लिँदै आएको छ । अन्धराष्ट्रवादका आधारमा समाजको ध्रुवीकरण भइरहँदा उसले फासिवादी तथा अलोकतान्त्रिक कानुन बनाउन हिचकिचाउने छैन ।

क्रिस्चियन डेमोक्य्राटिक पार्टी (CDU) सँगसँगै केही एकाधिकारवादीहरूले फासिस्ट अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीलाई भाबी सरकारका रूपमा तयार गरिरहेका छन् । AfD एक्लै सत्तामा आयो भने जनताको कडा प्रतिक्रिया हुने हुनाले त्यसमा CDU को संलग्नता चाहन्छन् । उनीहरूले समाजलाई फासिवादी पार्टीसँग घालमेल गराउन खोजिरहेका छन् ।

जे होस्, जनताको फासिवादविरोधी आक्रोश निकै चर्को छ । गत महिना जर्मनीका ५०० सहरमा ४० लाखभन्दा बढी मानिसले फासिवादविरोधी जनप्रदर्शनमा भाग लिएका थिए । फासिवादविरोधी प्रदर्शन र र्यालीहरू अझै पनि जारी छन् । परन्तु उदारवादी युद्ध–पिपाशु सरकारले यी प्रदर्शनहरूलाई शान्त पार्ने प्रयास गरिरहेको छ ।

जर्मन पुँजीपति वर्ग फेरि एकपटक साम्राज्यवादी युद्ध निम्त्याउने शक्तिका रूपमा देखापरेको छ । इतिहास दोहोरिँदैन तर साम्राज्यवादको चरित्रका कारण ठूला–ठूला साम्राज्यवादी राष्ट्रहरू विश्वमा प्रभुत्व जमाउन वा बजारको ठूलो हिस्सा कब्जा गर्न युद्धमा कहिल्यै पछि पर्दैनन् । विगतका युद्धहरूमा उनीहरूले भोगेको भारी पराजयबाट पाठ सिकेका छैनन् भन्ने होइन तर सम्भावित युद्धले अघिल्लोभन्दा ठूलो विनाश ल्याउने स्थिति भए पनि साम्राज्यवादी वर्गले आफ्नो आधिपत्य विस्तार गर्नका लागि साम्राज्यवादी आक्रमण र युद्धलाई कहिल्यै टार्न सक्दैन । जर्मन साम्राज्यवाद पहिलो र दोस्रो साम्राज्यवादी युद्धको सुरुआतकर्ता भए पनि यसले तेस्रो युद्ध सुरु गर्न पनि पछि पर्नेछैन । त्यसैअनुसार उसले अहिले तयारी गर्दैछ ।

साम्राज्यवादी युद्ध रोक्न सकिन्छ । सबै फासिवादविरोधी, साम्राज्यवादी युद्धविरोधी शक्तिहरू, विशेषगरी मजदुर वर्गले आफ्नो एकतालाई सुदृढ पारेर सङ्घर्षलाई अघि बढाएमा मात्रै यो सम्भव हुन सक्छ ।

एकातिर जर्मन पुँजीपति वर्गले आप्रवासीहरूप्रति शत्रुताका आधारमा समाजलाई ध्रुवीकरण गरिराखेको छ भने अर्कोतिर उनीहरूलाई थाहा छ, उनीहरू आप्रवासीबिना चल्नै सक्दैनन् । पुँजीवादले श्रमशक्ति उत्पादन गर्न नसक्नुका कारण यस्तो भएको हो । तैपनि पुँजीपति वर्गले आप्रवासीप्रति असहिष्णु भएको देखाएर श्रमिक वर्गलाई ध्रुवीकरण र विभाजन गर्ने र आफ्नो रक्तपातपूर्ण शक्तिको आयु लम्ब्याउने प्रयास गरिरहेको छ ।

वस्तुतः यी सबै सूचकहरूले साम्राज्यवादी व्यवस्थाको अन्त्य भइसकेको छ र उनीहरूले अर्को शताब्दी देख्न पाउने छैनन् भन्ने देखाउँछन् । किनभने पुँजीको सञ्चय तथा केन्द्रीकरण र गरिबीको वृद्धि र त्यसको परिणामस्वरूप लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रताको हनन एक–अर्कासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।

यहाँ कम्युनिस्टहरूको एउटा ऐतिहासिक कार्यभार रहेको छ— कम्युनिस्टहरूले साम्राज्यवादविरोधी, युद्धविरोधी र फासिवादविरोधी जनताको नेतृत्व गर्नुपर्छ र तदनुसार साम्राज्यवादविरोधी, युद्धविरोधी र फासिवादविरोधी शक्तिलाई एकताबद्ध गर्ने कार्यनीति अपनाउनुपर्छ ।

यसका साथै जनताको वास्तविक मुक्ति समाजवादबाट मात्र हुने हुनाले समाजवादलाई जनतासामु प्रस्तुत गर्नु पर्दछ । मजदुर वर्ग र उत्पीडित जनता निराशावादी हुँदैनन् । साम्राज्यवादी युद्धले समाजवाद निम्त्याउँछ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । मजदुर वर्गसँग गुमाउनका लागि हतकडीबाहेक केही छैन तर जित्नका लागि एक विशाल संसार छ ।

(नोट : यो टर्कीको एउटा माओवादी पत्रिका (https://ozgurgelecek51.net) मा २१ फेब्रुअरी २०२४ का दिन प्रकाशित लेख हो । समय सान्दर्भिक हुनाले त्यस लेखको भावानुवाद गरी पुनः प्रकाशित गरिएको छ ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :