क्रान्तिकारी इटाभट्टा मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा सुजाता रोका

क्रान्तिकारी इटाभट्टा मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा सुजाता रोका

ललितपुर :  मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । हिरा इटाभट्ट फर्सिडोल, ललितपुरमा सम्पन्न अधिवेशनले सुजाता रोका संयोजक र मिलन श्रेष्ठ सह-संयोजक रहेको २३ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।

उक्त अधिवेशनमा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह-संयोजक ईश्वर तिमिल्सिना, बसन्त बोगटी, विनोद थापा, सचिवालय सदस्यहरू बालकृष्ण सिटौला, युवराज थापा, अर्जुन बोगटी, सरोज न्यौपाने, केशव बुढाथोकीको उपस्थिति रहेको थियो । अधिवेशनमा उपस्थित प्रमुख अतिथि र अतिथिहरूले शुभकामना मन्तव्यद्वारा अभियान सफलताको कामना गरेका थिए ।

अधिवेशनलाई शुभकामना दिँदै महासंघका संयोजक दिनेश शर्माले मजदुरहरूलाई मुक्त गर्न सबल र क्रान्तिकारी सङ्गठन आवश्यक पर्ने स्पष्ट गरे। उनले भने, “मजदुरहरूमाथि, इटाभट्टमा काम गर्ने मजदुरहरूमाथि जुन प्रकारको शोषण र कष्ट छ, त्यो विद्यमान शोषणकारी राज्यव्यवस्थाको उपज हो । यस प्रकारको व्यवस्था र त्यसको शोषणबाट मुक्ति सम्भव छ । त्यसका लागि सङ्घर्ष गर्नुपर्छ । त्यो सङ्घर्ष जुझारू र बलियो सङ्गठन बिना केवल एउटा मजदुरको सामर्थ्यले मात्रै सम्भव छैन । त्यसकारण मजदुरहरूलाई एउटा जुझारू र बलियो सङ्गठन चाहिन्छ, कम्युनिस्ट पार्टी चाहिन्छ । सम्पूर्ण मजदुरहरू सङ्गठित बन्नुपर्छ । त्यसरी मात्रै हाम्रो विजय सम्भव हुन्छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नै त्यो सङ्गठन हो, जसले तपाईहरूलाई मुक्त गर्ने सामर्थ्य राख्छ ।” 

पछिल्लो पटक एक लाख मजदुर सङ्गठित गर्ने लक्ष्यसहित महासंघले कारखाना जाऔँ अभियान सञ्चालन गरेको छ । यसैगरी महासंघले १३५ अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसको अवसरमा विशेष केन्द्रिकरण र धक्काको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :